Date:2017/12/15 |Friday

संघर्ष र गुणात्मक फड्को

Posted on: August 02, 2017 | views: 52 | एम.एल.नेपाली

संघर्षको जुनसुकै वस्तुले पनि पुरानो गुणबाट नयाँमा फड्को मार्छ । यसरी मारिने फड्कोको स्तर संघर्षले नै निर्धारण गर्छ । अर्थात वस्तुको विकास शृंखलाको क्रममा आमूल रूपान्तरणको धक्काको स्वरूपले काम गर्छ । यही निरन्तर वर्ग संघर्षको स्वरूपले गर्दा परिवर्तनका लागि नयाँ गुणको प्रादुर्भाव हुन्छ । यसै किसिमको धक्का एवं संघर्षले नै समाजमा उत्पीडनका विरुद्ध एक फड्को र अन्यायका विरुद्ध गति तीव्र हुन्छ भन्ने संघर्ष द्रूतरूपमा सम्पन्न हुन्छ । 

अन्यायविरुद्धको लडाइँको फड्कोको विकास यसको संघर्षशील घटनाको चरित्रमा भरपर्छ, यसैमा निर्भर हुन्छ । प्रतिक्रियावादी सत्ताको विरुद्ध चालु एउटा विस्फोटबाट समाजको नयाँ रूपान्तरणको गतिको चरित्रका घटनामा शक्ति उत्पन्न हुन्छ । उदाहरणतः इलेक्ट्रोनले प्रोटनलाई ठक्कर दिँदा त्यो एकदम नयाँ तत्वहरुमा (प्रोटन) परिणत हुन्छ । यसमा सजिव प्रकृतिका झड्काहरु क्रमिक अवस्थामा अघि बढ्छन । रुसमा सन् १९१७ को महान् अक्टुबर समाजवादी क्रान्ति बोल्सेभिक पार्टीको नेतृत्वमा चालु हँुदा सर्वहारा वर्गले आफ्नो आधिपत्य जमायो । यो प्रथम विश्व सर्वहारा वर्गको क्रान्तिको तीव्र फड्को थियो । मूलतः यो समाज रूपान्तरणको गुणात्मक फड्को थियो भन्न सकिन्छ । 

यद्यपि, रुसमा सन् १९०६ मा राजतन्त्रको अन्त्यले मात्र समाजमा गुणात्मक फड्कोको स्वरूप ग्रहण गर्न सकिरहेको थिएन । हामीले खोजेको महान् तर गुणात्मक फड्कोको अवस्था त्यतिबेला रुसमा प्राप्त भएको थिएन । अहिले नेपालमा सामन्ती राजतन्त्र अन्त्य हुनुले मात्र पनि नेपाली क्रान्तिकारी वर्गका लागि नेपाली क्रान्तिको गुणात्मक फड्कोको अवस्था उपलब्ध भई नसकेको ठान्नुपर्ने अवस्था सिर्जना भएको छ । 

जब नेपालमा सर्वहारा वर्ग, गरिब, दलित उत्पीडित जातिको मुक्तिका लागि न्यायपूर्ण नयाँ युगको सृजनाको उद्देश्यले महान् जनयुद्ध चालु भयो । त्यसको लक्ष्य पुँजीजीवी वर्गको आधिपत्यलाई समाप्त गरी त्यसमा सर्वहारा वर्गको नेतृत्वमा नयाँ शासन सत्ता स्थापना गर्ने भन्ने थियो, तर त्यो जनयुद्ध पूरा सफल हुन सकेन । क्रान्तिकारी वर्गले पुँजीजीवी बुर्जुवा वर्गसँग सम्झौता गरी निरंकुश सामन्ती राजतन्त्रको अन्त्य गरी नयाँ संविधान बनाउन सफल भयो । तर, माओवादीले मालेमावादको आलोकमा क्रान्तिकारी प्रगतिशील वर्गको सत्ता निर्माण गर्न सकेन । नेपाली क्रान्तिकारी वर्गले गुणात्मक फड्कोको वस्तुगत आधार बनाउन सकेन । फड्को रूपान्तरणको एउटा कोर्ष मात्र पूरा गर्न सक्यो । तर गुणात्मक फड्को विशेषता र चरित्रमा रहेर पुरानोको ठाउँमा नयाँको आमूल रूपान्तरण स्थापित गर्न सकिएन । अर्थात १० वर्षको महान् जनयुद्धमा सत्र हजार नेपाली वीर योद्धाहरुको त्याग, तपस्या र बलिदानले नौलो जनवादी क्रान्ति सम्पन्न गरेर सर्वहारा वर्गको नेतृत्वमा शासनसत्ता स्थापना गर्न सफल हुन सकेन । न जित, न हारको अवस्थाबाट माओवादी क्रान्ति सकिएको हो, अहिले ।

पूर्ण युद्ध जित्न, क्रान्तिका बाँकी कार्यभार पूरा गर्न अब क्रान्तिको गुणात्मक फड्कोविना सम्भव हुनै सक्दैन । नेपाली समाज सामन्तवादको अन्त्य र पुँजीवादी संरचनामा भर्खर प्रवेश भएको अवस्था हो । यही भन्नुपर्छ हामीले । अझै सामन्त ठालुहरु, शासकहरु राज्यको शासन सत्तामा आप्mनो वर्चश्व कायम गरेर बसेको अवस्था छ । किनकि सरकार फेरिए पनि राजनीतिक व्यवस्था परिवर्तन भए पनि समाजका उत्पीडनहरु, अत्याचारहरु समाप्त हुनै सकेका छैनन् । राज्यका उपरी संरचनामा दलित, शोषित, उत्पीडित वर्गलाई सहजरूपमा स्थापित गर्ने संरचना निर्माण गर्न सकेन क्रान्तिकारी वर्गले । क्रान्तिकारी वर्गले सत्तारुढ वर्गलाई चुनौती दिएर आम रूपान्तरणको गुणात्मक फड्को तथा सांस्कृतिक रूपमा परिवर्तनका धक्काहरु ल्याउन सक्नुपर्छ, अब ।

क्रान्तिकारी वर्ग नीतिमुखी होइन, नेतामुखी भयो । अब सच्याउन नसकिने गरी कमजोरी अघि बढिसकेका छन् भने पार्टी नै विघटन गर्नेबारे सोच्न सकिने भनेर क. प्रचण्डले पार्टीको समीक्षा बैठकमा बोल्न बाध्य भए । क. प्रचण्डको नेतृत्वमा महान् जनयुद्धको सुरुवात भयो । यसले आम दलित, गरिब, सर्वहारा वर्गको मुक्तिका लागि एउटा ठोस बाटो निर्देश गरेको थियो । यसले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको संश्लेषण गरेर नेपाली क्रान्तिमा मालेमावादको सही प्रयोग गरेर एउटा नयाँ युगको सृजना गर्ने आँट गरेकै हो । त्यसमा मालेमावादभित्र प्रचण्डपथ नेपाली नौलो जनवादी क्रान्तिको दिशामा एक विशिष्ट प्रयोगको रूपमा ल्याइएको थियो । त्यो एउटा अजय विचार थियो । तर त्यसलाई शान्ति प्रक्रियामा आएपछि बचाउने पहल भएन । राज्यसत्ता र जनवादको मोडेलको नयाँ अभ्यास पनि माओवादीले गर्न सकेन, बरु संसदीय चुनावकै भासमा डुब्यो । 

जनसत्ताको साँचो अभ्यास र प्रयोग माओवादी क्रान्तिकारी वर्गले गर्न सकेन । माओवादीले नेपाली क्रान्तिलाई विजयको उन्मुखसम्म ल्यायो तर विजयको खुसी चुम्न सकेन । महान् सपना बोकेको क्रान्ति एउटा सम्झौतामा टुंगियो ।

समाज नयाँ संरचनामा जाँदा नयाँ फड्को मार्दै जानुपर्ने हुन्छ । यसमा नयाँ सोच र विचारको विकास गर्नै पर्छ । यसका लागि समाजको नयाँ कार्यशैली, नयाँ संरचना, नयाँ विचार र व्यवहार सुदृढ बनाउनै पर्छ । आफनो वर्ग र श्रमजीवी वर्गबीचको एकताको आधारमा मध्यम वर्गलाई संघर्षबाट आप्mनो संरचनामा ल्याउने पहल गर्नु उपयुक्त भएको निर्णय माओवादी पार्टीले गरेको देखियो । त्यस्तै अहिले क्रान्तिकारी वर्गले सर्वहारा वर्ग र दलित उत्पीडित वर्गमा एकाकार हुने संकल्पसहितको कार्ययोजना र कार्यनीति निर्माण गरेर काममा लाग्नु अनिवार्य भएको माओवादीले महसुस गरेको देखियो । कांग्रेस, एमाले पार्टीको राजनीतिक वर्गचरित्र र समाजमा उनका कार्यको वर्ग विश्लेषण प्रचण्डबाट भएको छ, यो सही छ । 

पार्टीको निर्णयमा विकास निर्माणका साना ठूला कामबाट जनताको मन जित्ने भनियो, तर यो नारा जस्तै हुन्छ कि भन्ने भयो किनकि हेटौंडामा उद्घोष गरिएको उत्पादन बिग्रिएर, सेलाएर गयो । यतिबेला पनि पार्टी चुस्तदुरुस्त कामकाजी बनाउने भनिएको छ तर त्यो व्यवहारमा ल्याउन प्रचण्ड, बादल र अन्य केन्द्रीय नेतामा हिम्मत, साहस र आँट छ त ? भन्ने विषय बाहिर आएको छ । क्रान्तिलाई हाँक्ने ताकत विचार, जनसंगठन र नेतृत्व हो त्यसलाई पुनर्जीवित गर्ने कार्यनीति बनाउन सक्नुपर्छ, पार्टीले ।

प्रचण्ड, बादल र सिंगो माओवादी पार्टीले अबको क्रान्तिको लाइन के हो भनेर स्पष्ट विचार दर्शनको चित्र आम जनतालाई दिन जरुरी छ । मात्रा मात्राबाट गुणात्मक फड्को मार्ने कार्यदिशा निर्माणको अवस्थामा छौं, हामी अहिले । बुर्जुवा वर्गसँग मिलेर निरंकुश सामन्ती राजतन्त्रको अन्त्यको पहल एउटा फड्को थियो । जसबाट अहिले नेपाली समाज सामन्तवादको अन्त्य र पुँजीवाद उन्मुख एउटा अवस्थामा आएको छ । राजनीतिक रूपले एउटा युग फेरिएको हो तर शासन गर्ने वर्ग र शासक जातिहरु त्यही छन् । सामन्तवादी राज्यको संरचना र ठालु शासकीय प्रवृत्ति ध्वस्त भइसकेको छैन । त्यसले उत्पादन गरेको पछौटे सामाजिक, सांस्कृतिक सोच र व्यवहार अन्त्य हुनै सकेको छैन । मात्रात्मकरूपमा बाहिरी वस्तुहरुमा परिवर्तन आएको कुरा साँचो हो तर सारमा केही परिवर्तन आएको देखिँदैन । अंशगत रूपमा दलित उत्पीडित जनतालाई सत्ताको सानो कुनै स्वरूपमा शासक वर्गले स्थान दिएको देखिन्छ । तर त्यो समानुपातिक हक अधिकारको रूपमा सम्बोधन भएको देखिँदैन ।

अहिले पार्टीको बैठकबाट पूर्ण रूपान्तरण र उथलपुथलको कार्ययोजना अघि बढाउने वस्तुगत आधार तयार भएको छ । ती रूपान्तरण र उथलपुथलका एजेण्डालाई भरपुर आन्दोलनको रूपमा उठाउन जरुरी छ । माओवादी केन्द्र यो अग्रगामी विचार, चेतना उठेको वर्गले अहिले पार्टीको सतहमा उठेको समस्या मात्र समाधान गर्ने होइन । पार्टीको यो शक्ति प्रचण्ड, बादल आफैं रूपान्तरित हुँदै पछौटे प्रतिक्रियावादी, उपभोगतावादी, आत्मसुरक्षावादी पद, प्रतिष्ठा, नाम, सुख भोगमा लागेर क्रान्तिका बलिदानीपूर्ण गौरवता र जुझारूपनलाई तिलाञ्जलि दिएर विचार स्खलित भएका आदतका सत्ताहरुलाई नष्ट गर्ने ठोस कार्ययोजना बनाउनुपर्छ । पश्चगामी सोचहरु जसले शोषण उत्पीडनलाई जीवित राख्ने पहल गर्छ, सुधारको गोलचक्करमा फसाइरहेको हुन्छ ती निरंकुश धार अन्त्यको कार्यक्रम पार्टीले ल्याउनुपर्छ । 

बुर्जुवा सुधारवादी वर्गले समाजमा देखिएका समस्यालाई बुभ्mन मात्र चाहन्छ, बदल्न चाहँदैन । मुख्य कुरा त बदल्ने हो । अब अन्यायलाई बदल्ने ताकतालाई माओवादी पार्टीले संरक्षण गर्ने कार्यनीति बनाउनुपर्छ । पार्टीभित्र देखिएको अस्वाभाविक अन्तरविरोधको सवाल, अग्रगामी र पश्चगामी वर्गबीचको गुटगत लडाइँलाई अन्त्य गर्न माओवादी पार्टीले कार्यनीति ल्याउनुपर्छ । त्यस्ता प्रतिक्रियावादी चिन्तनधारलाई जहाँ टेक्यो त्यही ध्वस्त हुने नीति बनाएर अघि बढ्दै सुदृढ एवं बलियो पार्टी बनाउने पहल गर्नै पर्छ । यही कार्यले क्रान्तिका बाँकी कार्यभार पूरा गरेर विजयको लक्ष्यमा पुग्न सक्छांै हामी ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं