Date:2017/10/21 |Saturday

चलचित्र उद्योगः विकास र विस्तार

Posted on: August 05, 2017 | views: 40 | भरत शाक्य

नेपालमा चलचित्र निर्माणको ५० वर्ष पूरा भइसकेको छ । परिपक्व उमेर पुगेको नेपाली चलचित्रको विकासक्रम विभिन्न कालखण्डको आधारमा चलचित्र निर्माण, प्रविधि र प्रभावको आधारमा व्याख्या र विश्लेषण गर्न मिल्छ । नेपाली चलचित्रको निर्माण, प्रविधि, प्रभाव, बजारका आधारमा विस्तारको लेखाजोखा पनि गर्न सकिन्छ । उमेर पुगेको नेपाली चलचित्रलाई चलचित्र उद्योगको रूपमा लेख्न खोज्दा भने सजिलो स्थिति छैन । 

चलचित्र उद्योग भन्नाले चलचित्रको सम्पूर्ण पक्ष लेखन, निर्माण, निर्माणका लागि उपकरण स्टुडियो, छायाङ्कन, सम्पादन, अन्य प्राविधिक पक्ष, प्रशोधन, उत्पादन, प्रवद्र्धन, आर्थिक कारोबार आदि सबैको सुव्यवस्थित र योजनाबद्ध व्यवस्थापन भन्ने बुझ्नुपर्दछ । 

नेपाली चलचित्रको स्थापित गरेका मान्यताहरूको अध्ययन गर्ने हो भने नेपाली चलचित्र उद्योगको जग नै हालिएको देखिँदैन । नेपाली चलचित्र उद्योगको न्यूनतम रूपमा बढेको पाइन्छ । अहिले जे जसरी चलेको छ, जसरी अघि सरेको छ त्यसैलाई नेपाली चलचित्र उद्योगको रूपमा स्वीकार गरेर यसको विकास र विस्तारको स्वरूप हेर्ने र हुनुपर्ने अथवा नेपाली चलचित्र उद्योग यस्तो भै दिए हुन्थ्यो । 

नेपाली चलचित्रको निर्माणको प्रारम्भिककालमा बनेका चलचित्रहरू ‘आमा’ परिवर्तन ‘हिजो आज भोलि’ चाँहि मान्यतालाई स्वीकार गरेर बनाइएका चलचित्रहरू थिए । चलचित्र उद्योगको रूपमा स्थापित गर्न बनाइएको थिएन । 

चलचित्र आम संचारको सशक्त माध्यम मात्र हैन यो सृजनात्मक अभिव्यक्ति र मनोरञ्जनको पनि माध्यम हो भन्ने बुझाइपछि व्यावसायिक नेपाली चलचित्रको निर्माण सँगसँगै नेपाली चलचित्र उद्योगको खाका तयार हुन थालेको हो । 

चलचित्रलाई अभिव्यक्ति, निर्देशकको सृजनाको अभिव्यक्तिको माध्यमको रूपमा सैद्धान्तिक रूपमा स्वीकार गरिएको छ । सृजनात्मक अभिव्यक्ति र त्यसबाट उत्पादन हुने सिर्जना वस्तु बौद्धिक सम्पत्तिका रूपमा रहन्छन् । त्यस्तो उत्पादन कल–कारखानाबाट उत्पादन भएका बजारका वस्तु जस्ता हुँदैनन् । 

यस्तो बौद्धिक सम्पत्तिमा विशेषतः चलचित्रमा लेखन पक्षको सृजना, कलाकार र प्राविधिकहरूको कला र त्यसको फलस्वरूप तयार भएको अन्तिम उत्पादन, पूर्ण चलचित्र कलात्मक र मौलिक मूल्यका आधारमा वर्गीकृत हुन्छन् । 

नेपाली चलचित्रले उद्योगको रूपमा स्थापित हुन चलचित्र अभिव्यक्तिको माध्यम हो भन्ने नै मान्यताअनुरूप चलचित्र उत्पादन गर्न खोजेको हो तर नेपाली चलचित्रहरू सृजनात्मक अभिव्यक्तिको माध्यमको रूपमा भने कमजोर रहे । हुन त नेपाली चलचित्र निर्माणको स्वर्णिम समय भनेर चलचित्र निर्देशकहरू प्रकाश थापा, तुलसी घिमिरे, नीर शाह, यादव खरेल आदिले चलचित्र निर्देशन गरेको समयमा उदाहरणीय नेपाली चलचित्रको समय भनिएको छ । तर नेपाली चलचित्र निर्माणको निरन्तरताको क्रममा सृजनात्मक अभिव्यक्ति कम भएका संख्यात्मकरूपमा मात्र गणना गर्न मिल्ने ठूलो संख्यामा चलचित्र निर्माण भए । ती चलचित्रहरू नेपाली भाषामा बनेका थिए, बौद्धिक सम्पत्तिका रूपमा मूल्यवान् थिएनन् । नेपाली चलचित्र उद्योगमा यसबाट पुगेको एउटै मात्र सकारात्मक फाइदा नेपाली भाषामा बनेका चलचित्रहरूले अन्य विशेषतः हिन्दी भाषामा बनेका नेपाली चलचित्रहरूलाई विस्थापित गरे र नेपाली दर्शकहरू बढाए । यसबाट पुगेको नकरात्मक प्रभाव मौलिकतामा ह्रास, स्तरीयतामा कमजोरी र नेपाली चलचित्र उद्योग पेशागत हुन सकेन । नेपाली चलचित्र उद्योगको स्वरूप धराशयी हुन पुग्यो । 

चलचित्र उद्योग : 

विश्वमा विभिन्न किसिमका चलचित्र उद्योगहरू स्थापित छन् । बौद्धिक उद्योग, साँस्कृतिक उद्योग, सेवा उद्योग र मनोरञ्जन उद्योगका रूपमा चलचित्र उद्योगको अभ्यास देश, व्यवस्था, समाज र परम्पराअनुरूप भएका छन् । 

नेपाली चलचित्र उद्योगसँग प्रत्यक्ष सम्पर्कमा रहेको अमेरिकी चलचित्र उद्योग (हलिउड) र भारतीय चलचित्र उद्योग (बलिउड) मनोरञ्जन उद्योगका रूपमा विकसित छन् । नेपाली चलचित्र उद्योगमा यसैको ठाडो प्रभाव छ । अधिकांशले, चलचित्रकर्मीहरूले पनि नेपाली चलचित्र उद्योग मनोरञ्जन उद्योगका रूपमा नै बुझेका छन् । 

विरोधाभाषपूर्ण कुरा के छ भने सरकारले नेपाली चलचित्र उद्योगलाई सेवामूलक उद्योगको रूपमा व्यवहार गर्ने गरेको छ । यसले सम्पूर्ण चलचित्र उद्योग भनेको चलचित्र निर्माण हुन्छ र चलचित्र भवनहरूमा प्रदर्शन हुन्छन्, त्यहाँ आर्थिक कारोबार हुन्छ । सरोकारको विषय अरु छैन भन्ने बुझिन्छ । 

अर्को उल्लेख्य कुरा नेपाली समाज, संस्कृति र नेपाली चलचित्रका दर्शकले नेपाली चलचित्रलाई मनोरञ्जनका लागि मात्र भनेर स्वीकारेको छैन । मौलिक नेपाली चलचित्र नेपाली साँस्कृतिक कथावस्तु, सामाजिक व्यवहार, सृजनात्मक कला र समयानुकूल प्रविधिमा निर्माण गरिएको नै सफल र व्यवसायिक रूपमा उत्कृष्ट ठहरिएको छ । यसर्थ नेपाली चलचित्र उद्योग मनोरञ्जन उद्योगको रूपमा मात्र विकास र विस्तार हुन नै सक्दैन । सेवामूलक नेपाली चलचित्र उद्योग हुने हो भने यसले चलचित्रको कलात्मक सृजनात्मक निर्माण पक्ष र उद्योगमा संलग्न ठूलो संख्याको चलचित्रकर्मी र चलचित्र प्रदर्शनका लागि चलचित्र भवनसम्म पुग्नुअघिका उद्योगका पाटा र खुड्किलाहरू ओझेलमा पर्ने हुन्छन्, यसले उद्योगमा कहिल्यै पूर्णता हुँदैन । नेपाली चलचित्र उद्योग झन् कमजोर र काम नलाग्ने हुन्छ । 

त्यसरी नै मनोरञ्जन उद्योगको रूपमा विकसित हलिउड र बलिउडको प्रतिस्पर्धामा अनेक प्रसंगबाट नेपाली चलचित्र उद्योग पछाडि पर्दछ । अत्याधुनिक प्रविधि र नेपाली साँस्कृतिक विषयमा सृजनात्मक शक्ति प्रयोग गरेर मनोरञ्जन उद्योगमाथि प्रतिस्पर्धा गर्न सकिने स्थिति छ । त्यसैले 

नेपाली चलचित्र उद्योग सृजनात्मक, साँस्कृतिक तथा मनोरञ्जनात्मक उद्योगका रूपमा विकसित र विस्तारित हुन आवश्यक छ । 

प्रस्तावित राष्ट्रिय चलचित्र नीतिले पनि नेपाली चलचित्र उद्योगलाई सृजनात्मक, साँस्कृतिक तथा मनोरञ्जनात्मक उद्योगको रूपमा विकास गर्नलाई नै चलचित्र नीतिको आवश्यकता रहेको वकालत गरेको छ । 

नेपाली चलचित्र उद्योगले नेपाली दर्शकका लागि गुणस्तर र संख्यामा नेपाली चलचित्रको माग पूरा गर्न सक्नुपर्छ । अन्तर्राष्ट्रिय सम्पर्क, समसामयिक प्रविधि र प्रवृत्तिको जानकारी, बजार र रुचिको अध्ययन, अभ्यास र सृजनाका लागिसमेत अन्य देश र सर्जकका चलचित्र प्रदर्शन हुनु आवश्यक छ । भूमण्डलीयकरणका कारण पनि त्यसलाई रोक्न सकिन्न, तर नेपाली चलचित्रको व्यापार नै विस्थापित हुने गरी अन्य देशका चलचित्रले नेपाली चलचित्र उद्योग बिग्रन दिन मिल्दैन । नेपाली संस्कृति सामाजिक संरचना र सद्भाव माथि हस्तक्षेप हुन दिन मिल्दैन । 

नेपाली चलचित्र उद्योगको दिगो विकासका लागि सम्पूर्ण प्राविधक क्षमता सहजरूपमा उपलब्ध हुन र व्यवस्था गर्न आवश्यक छ । समयानुकूल यस्ता प्राविधिक उपकरण, प्राविधिज्ञ र विज्ञहरूको सुव्यवस्था, प्रशिक्षण, कार्यशाला हुन आवश्यक छ । 

नेपाली चलचित्र उद्योगका लागि दक्ष सृजनशील प्राविधिक, चलचित्र कर्मीहरूको आवश्यकता पूर्ति गर्ने उपाय सृजनात्मक कलाको सम्मान गर्ने संस्कृतिबाट शुभारम्भ भएर उचित शैक्षिक वातावरणमा फैलनुपर्छ । प्राज्ञिक क्षेत्रमा कला र चलचित्र कलाप्रतिको सम्मान र लगावप्रति प्रोत्साहनको आवश्यकता छ । 

प्राकृतिक रूपमा नेपाली भूमि चलचित्र छायांकनको स्टुडियो नै हो भन्ने गरिन्छ । नेपाली चलचित्र उद्योगको सुव्यवस्थाले नेपालमा चलचित्र पर्यटनको प्रवद्र्धन गर्न सक्छ । लगानीका लागि स्वदेशमा ठूला भरपर्दा लगानीकर्ता र विदेशका स्थापित लगानीकर्ता नेपालमा भिœयाउन सकिने अवस्था बनाउन सकिन्छ । 

नेपाली चलचित्र उद्योगले मनोरञ्जन मात्र नभएर नेपाली भाषा र सँस्कृतिको नेपाली प्रकृति र कलाको उचित सम्मान गरेको नेपालीले हेर्न चाहन्छन् । नेपाली मौलिकता र साँस्कृतिक पहिचान विश्वव्यापी रूपमा व्यापक भएको र त्यसको परिणामतः नेपाली जीवन स्तर समृद्ध भएको हेर्न नचाहने को होला । नेपाली चलचित्र उद्योगले यो चाहना मूर्त रूपमा कार्यान्वयन गर्न सकोस् भन्ने कामना कस्को पो हुँदैन होला । 

नेपाली चलचित्र उद्योग सृजनात्मक, साँस्कृतिक तथा मनोरञ्जनात्मक उद्योगका रूपमा स्थापित हुँदा थुप्रै चुनौती थपिन सक्छन् । यद्यपि, राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा अवसरका ढोकाहरू पनि खुल्नेछन् । 

यसैलाई आधार मान्ने हो भने नेपाली चलचित्र उद्योगको विकास र विस्तार सृजनात्मक, साँस्कृतिक तथा मनोरञ्जनात्मक उद्योगका रूपमा अघि बढाउनु अनिवार्य छ । 

अहिलेको अवस्था :

नेपाली चलचित्र उद्योगको अहिलेको अवस्था विभिन्न दृष्टिकोणबाट विश्लेषण गर्न मिल्ने स्थिति छ । एकातर्फ अव्यवस्था र विनायोजना निश्चित गन्तव्यविना अघि बढेको उद्योग छ । अर्कोतर्फ स्वचालित अत्याधुनिक प्रविधि, लगानी र चलचित्रकर्मीहरूको जमात चलचित्र उद्योगमा कार्यरत छ । 

नेपाली चलचित्र उद्योगलाई सृजनात्मक, साँस्कृतिक तथा मनोरञ्जनात्मक उद्योगका रूपमा स्थापित गर्न निर्धारण गरिएका अन्तर्राष्ट्रिय मापदण्डहरू सबै भेटिन्छन् । ठूलो संख्यामा आदिवासी, जनजातिबाट आफंै सांस्कृतिक मूल्य मान्यताका चलचित्र बनिरहेका छन् । ठूलो संख्यामा लगानी र रोजगारी चलचित्र उद्योगले दिएको छ । अन्तर्राष्ट्रिय स्तरका नेपाली चलचित्रहरू बनेका छन् । विदेशी विशेषतः हिन्दी चलचित्रलाई व्यापारमा विस्थापित गर्न सक्ने प्रतिस्पर्धी चलचित्र निर्माण र प्रदर्शन भइरहेका छन् । 

ठूलो संख्यामा निर्माण भएका चलचित्रहरूको संख्याअनुरूप गुणस्तरमा प्रश्न चिहृन उब्जन्छ । नेपाली मौलिकताको खोजी गर्नुपर्दा चलचित्र औंलामा गणना गर्न पाइँदैन । 

नेपाली चलचित्र उद्योगको अहिलेको अवस्था वास्तवमा विरोधाभाषपूर्ण छ । नेपाली चलचित्र उद्योगको इतिहास, सिद्धान्त र व्यवहार त्रुटिपूर्ण र भ्रामक छ । नेपाली चलचित्र उद्योगको गन्तव्य चलचित्र नीतिस्पष्ट नभएको र कार्यान्वयन नभएको अवस्था छ । नियमन निकाय जिम्मेवार नभएको र दिशाहीन देखिन्छ । पेशागत संस्थाको प्रभावकारी उपस्थिति छैन । नेपाली चलचित्र उद्योगमा प्राज्ञिक अभ्यास लगभग शुन्यको स्थितिमा छ । तथापि नेपाली चलचित्र उद्योग जीवित छ, गतिशील छ । नेपाली चलचित्र उद्योग काठमाडौंकेन्द्रित छ, तथापि प्रदर्शन र प्रवद्र्धनका महोत्सवका क्रियाकलापले नेपालभर अनि नेपाली फैलिएका विश्वभर बजार विस्तार भएको छ । ठूला कर्पोरेट क्षेत्रबाट चलचित्र उद्योगको लगानी नभएको स्थितिमा रेमिट्यान्स लगानी व्यापक भइरहेको छ । 

समस्या र समाधानका उपायहरू :

नेपाली चलचित्र उद्योगका ठूला समस्याहरूमा निम्नानुसारमा रहेका छन् :

क) प्राज्ञिक दुर्बलता, ख) नीतिगत अस्पष्टता, ग) नियमन निकायको बेवास्ता, घ) पेशागत अदक्षता, ङ) नैतिक मूल्यमा ह्रास र अपारदर्शिता 

नेपाली चलचित्र उद्योग पहिलेको तुलनामा विकास र विस्तार भएको मान्न सकिन्छ तर सुव्यवस्थित र योजनाबद्ध ढंगबाट अघि बढ्दा अहिले जस्तो विरोधाभासपूर्ण स्थिति रहँदैन । विकास र विस्तारको गति तीव्र र उपलब्धिपूर्ण हुन्छ । अहिलेको जस्तो स्थितिमा कुनै पनि बेला नेपाली चलचित्र उद्योग दुर्घटनामा पर्न सक्छ । अतः समस्या समाधानमा उपाय एकीकृत रूपमा, सामूहिक सहकार्यमा निर्णय गरेर कार्यान्वयन एकताबद्ध रूपमा गरिनुपर्छ । 

क) नेपाली चलचित्र उद्योग अनुभवका आधारमा मात्र अघि बढाउनु हुन्न, अध्ययनमा कमजोरहरूको थलो र जमातबाट चलचित्र उद्योग बचाउन सकिन्न, प्राज्ञिक थलोको रूपमा सम्मानित उद्योग बनाउनुपर्छ । प्राज्ञिक अभ्यासका लागि ठाउँ खुला छाडिनुपर्छ । अध्ययन अध्यापनमा प्रोत्साहन, प्रशिक्षणको व्यवस्था, गोष्ठी, कार्यशाला र अनुभव आदानप्रदानको आयोजना र अवसर मिल्नुपर्दछ । 

ख) नेपाली चलचित्र उद्योगका लागि स्पष्ट राष्ट्रिय नीति र नियमावलीको व्यवस्था हुनुपर्छ । त्यसको कार्यान्वयन तत्काल गरिनुपर्छ । अल्पकालीन र दीर्घकालीन योजना बनाउने र व्यावहारिक कार्यान्वयन सर्वसम्मतिमा गरिनुपर्छ । 

ग) नियमन निकाय चलचित्र विकास बोर्ड स्वायत्त र राजनीतिक नियुक्तिबाट मुक्त हुनुपर्दछ । नियमन निकाय सम्पूर्ण चलचित्रकर्मीहरूका छाता निकाय र आस्थाको केन्द्रको रूपमा विकास गरिनुपर्दछ । नियमन निकायको साँगठनिक स्वरूपमा परिवर्तन काम गर्ने शैली र व्यवस्थापनमा आधुनिकीकरणको आवश्यकता छ । 

घ) नेपाली चलचित्रका पेशागत संस्थाहरू गैर सरकारी संस्था जस्तो हुनुहुन्न । पेशागत संस्थाहरूको दर्ता र कार्य चलचित्र विकास बोर्डमा हुने र नियमन निकायबाट नेपाली चलचित्र उद्योगको साझा हितका लागि कार्यगत संस्थाको रूपमा विकास गरिनुपर्दछ । 

ङ) नेपाली चलचित्र उद्योग र उद्योगमा संलग्न चलचित्रकर्मी समाजका विशिष्ट, समाजका उपमा हुन भन्ने स्थिति सृजनाका लागि सामाजिक मूल्य, मान्यता र नैतिकताका प्रतिबद्ध हुन आवश्यक छ । स्वविवेकी र आचारसंहिता पालनामा कटिबद्ध हुन आवश्यक छ । 

त्यसरी नै नेपाली चलचित्र उद्योग, उद्योगी, उद्योगमा गरिएको लगानी, लगानीको प्रतिफल पारदर्शी हुनुपर्दछ । नेपाली चलचित्र उद्योगको क्रियाकलाप र त्यसको परिणाम समाजको हितका लागि अन्य वर्ग र राष्ट्रिय हित, समृद्धिका लागि पनि लाभदायी हुनुपर्छ । 

अन्त्यमा, नेपाली चलचित्र उद्योग विकास र विस्तार हुँदा प्रत्यक्षरूपमा नेपाली चलचित्रमा क्रियाशील हरेक चलचित्रकर्मीलाई सकारात्मक प्रभाव पर्छ । त्यसले ठूलो संख्यामा आश्रित परिवारलाई फाइदा पुग्छ । अप्रत्यक्ष रूपमा राष्ट्रिय हितलाई सहयोग पुग्छ । 

नेपाल चलचित्र उद्योगको इतिहास जे जसरी अघि बढेको भए पनि नेपाली चलचित्र उद्योग नेपाली चलचित्रमा संलग्न, शुभचिन्तक र रुचि राख्नेहरूबाट अहिलेको स्थितिसम्म आई पुगेको छ । नेपाली चलचित्र उद्योगलाई प्रतिष्ठित उद्योगका रूपमा स्थापित गर्न सक्ने सबै पक्षहरू हामीसँग छ र सबल बनाउन सकिन्छ । 

नेपाली चलचित्र उद्योग चाहेजस्तो हुन नसक्नुमा चलचित्र उद्योगको सुव्यवस्था र योजनाको अभाव नै हो । यसका लागि नेपाली चलचित्र उद्योग सेवामूलक र मनोरञ्जन उद्योगका रूपमा होइन, सृजनात्मक, सांस्कृतिक तथा मनोरञ्जन उद्योगका रूपमा स्थापित हुन पर्छ । सोही अनुरूप राष्ट्रिय चलचित्र नीति सरकारी स्तरबाट अविलम्ब आउन आवश्यक छ । राष्ट्रिय चलचित्र नीतिअनुसार नेपाली चलचित्र उद्योग अघि बढाउन नेपाली चलचित्रसँग सम्बद्ध निकायहरू विशेषतः नियमन निकाय चलचित्र विकास बोर्डको सांगठनिक स्वरूप परिवर्तन हुनुपर्छ । चलचित्रका पेशागत संस्थाहरू गैरसरकारी संस्था जसरी जिल्ला प्रशासनमा दर्ता भएर होइन चलचित्र विकास बोर्डको दर्ता भएर संचालन हुनुपर्दछ । नेपाली चलचित्र क्षेत्र प्राज्ञिक क्षेत्रको रूपमा अघि बढ्नु पर्छ । नेपाली चलचित्रको हरेक क्रियाकलाप, आर्थिक कारोबार पारदर्शी हुनुपर्दछ । हरेक चलचित्रकर्मी समाजको सम्मानित नागरिक नेपाली चलचित्र उद्योग सम्मानित उद्योग र राष्ट्रिय गौरवको क्षेत्र हुनुपर्छ । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं