Date:2017/12/15 |Friday

दैलेखका सम्पदा–संस्कृति अतिक्रमित

Posted on: August 05, 2017 | views: 55 | बुलु मुकारुङ

हिजोआज मलाई दुल्लू–दैलेखको माया र चिन्ता लाग्न थालेको छ । यसो हुनुमा त्यस क्षेत्रका संस्कृति तथा सम्पदा नै हुन् । इतिहास बोल्ने शिला, ज्वाला अनि देवालहरू हुनु साथै लोकगीत, लोकबाजा र लोकनाच हुनुले यो क्षेत्र महत्वपूर्ण छ । करिब तीन हप्ताअघि दुल्लू–दैलेख पुगेर फर्केपछि मलाई यी सम्पदा तथा संस्कृतिले गम्ल्याङ अँगालो हालेका हुन् । यहीँबाट नेपालका धेरै जात–थर बनेको अर्थात् उद्भव भएको पनि थाहा हुन आयो । जस्तै दुल्लूबाट दुलाल, लम्सुबाट लम्साल, कट्टीबाट कट्टेल, पराजुलबाट पराजुली, रिजुपोखराबाट पोखरेल, खड्काबाडाबाट खड्का, भुर्तीबाट भुर्तेल, रूपाखेतबाट रूपाखेती, नेपाबाट नेपाल आदि । भौतिक तथा अभौतिक दुवै खाले संस्कृतिले सम्पन्न देखिन्छ दुल्लू–दैलेख । 

इतिहास लेखनका लागि मठ, मन्दिर, देवाल तथा ऐतिहासिक दरबार, कोट, शिलास्तम्भ साथै शिलालेख–अभिलेख, ताम्रपत्र, भोजपत्र, लालमोहर, चिना–चिठा आदि अत्यन्तै आवश्यक हुने गर्छ । संस्कृति भन्नाले भौतिक तथा अभौतिक हुन्छन् । भौतिक संस्कृतिमा प्राचीन दरबार, कोट, देवाल, मन्दिर, चौतारो, धारा–कुवा, प्रस्तार स्तम्भ वा खम्बा आदि पर्छन् भने अभौतिक अर्थात् अष्पृष्य संस्कृति समाजमा रहेका नाचगान, बाजा, गीत, लोकविश्वास, परम्परा, प्रचलन, धामी–झाँक्री, लोककथा आदि हुन् । विगतको द्वन्द्वले भौतिक तथा अभौतिक दुवै खाले संस्कृतिको क्षय नभएको होइन । नयाँ, नवीन वा पृथक संस्कृति निर्माण गरिने परिवर्तनका नाममा थुप्रै अविवेकी दुष्कार्य पनि नभएका होइनन् । उक्त कार्य आज गलतसावित भइसकेको छ । आफ्नै इतिहास, सम्पदा तथा संस्कृति नामेट वा ध्वस्त पारेर संस्कृति–सम्पदाको कुरा गरिनु पनि मुख्र्याइँ मात्रै होइन महामुख्र्याइँ भएको छ ।  

आज विश्वको ध्यान अनि आकर्षण लुम्बिनी, पशुपति, सगरमाथालगायत अनेकन धार्मिक अनि पवित्र स्थलमा रहेको छ । सुदूर पश्चिमका त्रिपुरा सुन्दरी, मालिकाअर्जुन, उग्रतारा, शैलेश्वरी, बैजनाथ, बडीमालिका साथै पूर्वाञ्चलका हलेशी महादेव, गढिमाई, जानकी मन्दिर, बुढासुब्बा, बराहक्षेत्र, पाथिभरा आदि धार्मिक क्षेत्रले आन्तरिक तथा बाहृय आकर्षण बटुल्दै छ । तथापि हामी आफ्नै महत्वपूर्ण संस्कृति–सम्पदालाई उपेक्षा गरिरहेका छौं । यसैगरी नेपालका अभौतिक अष्पृष्य संस्कृति भाषा, भेषभूष, नाचगान, बाजागाजा तथा परम्परा प्रचलन आदि विषय–वस्तुका खोज अध्ययन अनि अभिलेखनका लागि वर्षेनी पर्याटकादिका आगमन स्मरण योग्य सन्दर्भ भए तापनि बिर्सिरहेका छौं । र खोज्दैछौं आधुनिकता र विकास कस्तुरीले सुवास खोजे जस्तै । 

दैलेख महोत्सव इतिहास लेखनका लागि भनिएकाले अत्यन्तै सान्दर्भिक देखिन्छ । यसो त इतिहासकार प्राडा.राजाराम सुवेदी, डा. जीवेन्द्रदेव गिरी, डा. मधुसूदन गिरी आदि विद्वान्का दुल्लू–दैलेख अवलोकन यात्राले पनि बोझिलो तुल्याएको छ । तथापि मेरो नितान्त निजी खोज, अध्ययन तथा अवलोकन यात्राले दुल्लू–दैलेखका ऐतिहासिक सम्पदाहरू संरक्षणविहीन रहेको पुष्टि भयो । २२ खम्बे पञ्चदेवाल पुग्दा देवाल परिसरभित्र अज्ञात व्यक्ति सुतिरहेका भेटिए । ती सुरापानले गर्दा बेहोस जस्तो देखिन्थे । सिंहको प्रस्तार मूर्ति बाँसको झ्याँङमा लडिरहेको देखियो । देवालका खोपीभित्र दिसापिसाबले दुर्गन्धित थियो । के यो संरक्षण विहीनता होइन र ? के पुरातत्व विभागले केवल बोर्ड मात्रै टाँगेर दायित्व पूरा होला ? 

त्यसपछि मैले ज्वाला, शिरस्थान, नाभिस्थान, कोटिला आदि अवलोकन अध्ययनका लागि (सुमित गौतम भाइसँग) प्रस्थान गर्दा बाटैमा अर्को देवाल–खम्बा भेटियो । त्यसको पनि सुरक्षा हुन सकेको थिएन । देवालसँगै सटाएर घर बनाइएको छ । केही देवालका ढुंगाहरू छरिएका छन् । शिरस्थान तथा नाभिस्थान ज्वाला, मन्दिर अनि पुराना सत्तल–पाटी पौवाले पनि जीर्णोद्धार पर्खिरहेकै छ । सय वर्ष पुगेको समीको रूख दर्शनीय छ । ज्वालाहरू आध्यात्मका निम्ति अद्भूत अनि अविराम पनि छन् । त्यहाँ भएका प्राच्य प्रस्तार ढोका–झ्याल कुनबेला कसले उडाइदेला भन्ने चिन्ता त्यत्तिकै देखिन्छ । पादुकाका केही प्रस्तर मूर्तिहरू पनि बगरमा छरपष्ट देखिन्छन् । यो विरक्तिपूर्ण दारुण अवस्था कसले सम्हाल्ने ? 

सबभन्दा दारुण–दुरुह अवस्थामा भएको कीर्ति–खम्बा हो । जो दुल्लू बजारमा अवस्थित छ । दुल्लू पुग्दा शिवरात्रि मान्न पञ्चकोशी धर्मगतिमा भेला भएकी श्रीमती कृष्णा शाही (६५) ले भनिन् यहाँ जंगबहादुर शाहका पुख्र्यौली दरबार, कोटघर थियो । केही मठ–मन्दिरसहित ती दरबारहरू विगतको युद्धले भत्कायो । अहिले पटाङ्गिनी मात्र बाँकी छ । ऊ परको देवाल पनि भत्किँदैछ । कसैले वास्ता गरेको छैन । करिब सत्तरी वर्ष पुगेकी माता विद्या गिरी, प्रकाश शाह (४८), माधवी शाह मल्ल, विश्वदीप शाह (३७) आदि थुप्रै महिला–पुरुष उपस्थित छन् । भजन–कीर्तन पनि हुँदैछ मादल बजाएर । उनीहरू भन्छन् यो संरक्षण र सुरक्षा गर्ने हैसियत हामीसँग छैन । स्थानीय प्रशासनले पनि रखबारी गर्न सकेको छैन । 

स्थानीय बासिन्दा नगेन्द्रबहादुर खड्का (४३) का अनुसार ‘कीर्ति–खम्बा’ वि.सं. १४१४ को र यो खस भाषामा लेखिएको सानो खम्बा वि.सं. ९१२ तिरको हो । सँगै टाँसेर बनाउँदै गरेको घर हरिप्रसाद रिजालको हो । किन यसरी मिचेको ? खोई उहाँ व्यापारी हो बिल्डिङ बन्दैछ । अनि यो बिल्डिङ कसको हो ? मैले अर्को ठूलो महल देखाउँदै सोधेँ । यो राजीव गुप्ताको हो । लेखिएको छ गुप्ता महल । कहाँ छन् ? अहिले भैरहवातिर छन् । अनि रिजाल ? पर चोकमा व्यापारिक पसल छ । उतै होलान् । यो खम्बालाई अढेस लगाएर राखिएको कसको ट्याक्टर हो । उही गुप्ताको हो । यो गिट्टी बालुवाले कीर्ति खम्बा पुर्ने चाहिँ को हो नि ? उही रिजाल । यस्तो दुखद आलाप सकेपछि म त्यहाँ बस्न सकिनँ । आँशु नै खस्लाजस्तो भयो दृश्यावली देखेर । उपेक्षा र बलमिचाइको पनि हद हुन्छ । 

नेपालको खस भाषा, संस्कृति र इतिहास भनेको विपुल–विहङ्गम सभ्यता पनि हो । कुनै बेला खस–संस्कृतिको साम्राज्य इराक–इरानदेखि बर्मा, जाबा–सुमात्रासम्म फैलिएको थियो । मल्ल राज्य सिञ्जा–जुम्लाले सिञ्चित गरेको दुल्लू–दैलेखले संरक्षण पर्खेको कति भयो थाहा छैन । के हिन्दूधर्मी, के बौद्धमार्गी वा के खस, के किरात सबै संवेदनशील किन नहुने ? नेपाली इतिहास, सम्पदा र संस्कृतिको संरक्षण, सम्वद्र्धन अनि प्रवद्र्धनका निम्ति किन एकजुट नहुने ? कर्णाली भेगका सम्पदा मात्र जुम्लीको होइन । समग्र नेपाल नेपालीको हो । अबका दिनमा ६ नं. प्रदेशको जिम्मेवारी पनि हो । 

दुल्लू–दैलेखमा रहेको नेपाली भाषा, सम्पदा, संस्कृति तथा इतिहासको उपेक्षा नहोस् भनेर दैलेखका सीडीओ सापलाई फोन सम्पर्क गरेको थिएँ पत्रकार गोविन्द केसी मार्फत् । तत्कालीन संस्कृति तथा पर्यटनमन्त्री जीवनबहादुर शाही महोत्सव उद्घाटनका बेला भेट भएकै हो । शिरस्थान ज्वालामा भेट हुँदा पनि विषयगत कुरा भएकै हो । हाम्रा अमूल्य निधि अनि धरोहरहरू संरक्षित हुन् । कीर्ति–खम्बाजस्ता ऐतिहासिक सम्पदामा क्षति क्षय नहुन् । पुरातत्व विभाग पनि उदासिन नहोला अब । नत्र दुल्लू–दैलेखबाट निकट भविष्यमै खस–नेपाली इतिहासको शीघ्र विसर्जन हुने देखिन्छ । कृपया बचाऔं दुल्लू–दैलेखका सम्पदा–सम्पत्ति, बचाऔं नेपाली इतिहास । यी ऐतिहासिक सम्पदाहरू मानव अतिक्रमणबाट बचोस् । 



Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं