Date:2017/10/21 |Saturday

निरन्तरताको अन्तरघात

Posted on: August 06, 2017 | views: 91 | इन्द्रबहादुर बराल

विशेषतः अन्तरघात भन्ने शब्दावली बालिग मताधिकारको सन्दर्भमा बढी नै प्रयोग भएको पाइन्छ । जब कुनै पनि सन्दर्भ वा विषयलाई लिएर कुनै पनि किसिमको चुनाव हुन्छ, त्यसमा हारजित सामान्य प्रक्रिया हो । कुनै पनि राजनीतिक दल होस् वा कुनै सामान्य संस्था वा अरू कुनै निकाय, जसमा पनि चुनाव हुन्छ भने हारजित त्यहाँ हुन्छ नै । विशेषगरी राजनीतिक सन्दर्भमा भने चुनाव वा निर्वाचनका प्रसंग आउँदा अन्तरघातका सन्दर्भ सँगै जोडिएर आइरहेका हुन्छन् । पराजित हुनेहरू पराजयको पीडा बिर्सन पनि अन्तरघातलाई जिम्मेवार ठान्ने गरिरहेका हुन्छन् । 

हालै सम्पन्न स्थानीय तहको निर्वाचन धेरै लामो समयको अन्तरालपछि भएको सबैलाई थाहा भएको विषय हो । यसरी लामो समयदेखि थाँती रहेको स्थानीय चुनावमा उम्मेदवारीको आकांक्षी धेरै हुनु वा तिनको लर्को लाग्नु अस्वाभाविक होइन । यसरी आकांक्षीको लर्को लागेकाले प्रतिस्पर्धीलाई उचित व्यवस्थापन गर्न नसक्दा अन्तरघातको स्थिति अलि बढी भएको हो भन्न हिचकिचाउनु पर्दैन । स्थानीय तहका दुवै चुनावहरूको समीक्षाबाट विशेष गरेर प्रमुख तीनै दलहरूको निचोड अधिकमात्रा पराजयको कारण अन्तरघात रहेको देखिएको हो । प्रमुख प्रतिपक्षी नेकपा एमालेले समेत अन्तरघातका कारण आशातीत सफलता प्राप्त हुन नसकेको निष्कर्ष आफ्नो बैठकबाट निकालेको थियो । हुन पनि, अन्तरघातको बाढी नै आएको बेला अन्तरघातले हारियो भन्नु स्वभाविकै पनि होला । तर स्वतन्त्र रूपमा विश्लेषण गर्ने हो भने एमालेले अन्तरघात भयो भन्ने बाजा बजाउनु अहम्ताको द्योतकमात्र हो भन्न सकिन्छ । 

नेकपा माओवादी केन्द्रभित्र पनि अन्तरघात भयो भन्ने हल्ला छरपष्ट रूपमा बाहिर आउनुलाई लाज छोप्ने तत्कालीन औजार हो भन्दा सम्भवतः अन्याय ठहरिँदैन होला । कहिले दोस्रो त कहिले तेस्रो स्थानमा बसेर संघर्षरत नेकपा एमालेले पहिलो र दोस्रो चरणको स्थानीय चुनावमा पहिलो बन्दा उन्मादले अन्तरघात भयो भन्ने निष्कर्ष निकालेर दम्म प्रदर्शन गर्न खोजेको भन्नु बेठीक नहोला । बालिग मताधिकारको आधारमा गरिने कुनै पनि किसिमको निर्वाचनमा यदाकदा अन्तरघातका घटनालाई सामान्य ठान्ने गरिन्छ । तर अन्तरघातको सिधा असर पर्नेहरूलाई भन्ने अवश्य पनि असामान्य र अस्वाभाविक नै हुन्छ । त्यसैले यस्ता घात अन्तरघात, अतिशय बेइमानीपूर्ण र घृणित खेलहरूले राजनीतिलाई पनि दुषित बनाएको हुन्छ । विशेष गरेर बालिग मताधिकारको आधारमा गरिने निर्वाचनमा घात अन्तरघातका छिटाहरू छिटपुट लाग्ने गरेका हुन्छन् । यो यथार्थलाई पनि राजनीतिमा संलग्न हुनेहरूले बिर्सनु हुँदैन ।

यस्तो घात अन्तरघातको बेलाबखतमा नमिठो स्वाद चाख्दै आएको नेपालकै पुरानो र ठूलो पार्टी नेपाली कांग्रेस यस पटकको स्थानीय तहको निर्वाचनमा झनै नराम्रोसँग अन्तरघातको चक्रव्युहमा फस्यो । कतिपय स्थानमा त उम्मेदवार चयनमा देखिएको त्रुटिले चुनावमा आशातीत प्रगति हुन सकेन भने कतिपय ठाउँमा अन्तरघातका कारण नै पार्टीले लज्जास्पद हार व्यहोर्नु प¥यो । 

नेपाली कांग्रेसले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमात्रै होइन २०४८ सालमा प्रजातन्त्र पुनस्र्थापनापछिको पहिलो आम निर्वाचनमा तत्कालीन पार्टी सभापति एवं पूर्वप्रधानमन्त्रीलाई कसरी अन्तरघात गरेर हराइयो भन्ने तथ्य खाँटो बसेकाले नकोट्याउनु नै बेस होला । धेरै चर्चामा नभए पनि प्रजातन्त्र प्राप्ति पछिको पहिलो आम निर्वाचन २०१५ मा केही अन्तरघातका गाइगँुइ जानकारहरूबाट सुन्न पाइन्थ्यो । तथापि त्यस बेलाको घात अन्तरघातले अहिलेको जस्तो चर्चा पाउन सकेको थिएन, जुन अहिले सुनि राखिएको छ । खुला र स्वतन्त्रतामा एकले अर्कोलाई रोकेर आफू अघि बढ्ने मार्ग प्रशस्त गर्नु त्यति अस्वाभाविक नहुन सक्छ । तर यस्ता घात अन्तरघात र षडयन्त्रबाट पार्टीले आफ्नो उद्देश्य प्राप्तिका मार्गमा भने अवश्य अवरोध झेल्नै पर्ने हुन्छ । सन्तनेता कृष्णप्रसाद भट्टराईलाई ग्रायण्ड डिजाइनको जालोमा पारेर मदन भण्डारीदेखि विद्या पाण्डे भण्डारीसम्मलाई लगाइएको गुन एक थरी कांग्रेसले कहिले पाउने हुन्, थाहा छैन । नेपाली कांग्रेसका यी संघर्षशील योद्धालाई पराजित गराउनका लागि खेलिएको अन्तरघातको खेलका बारेमा अहिले पनि बेलाबखत चर्चा परिचर्चा हुँदै आएको विषय हो । र यो नमिठो गरी नेपाली मनमा घाउ बनेर गढेको छ ।

पहिलो निर्वाचन २०४८ र पछिको उपनिर्वाचनमा भएका यस्ता घृणित खेलहरूले एकथरी कांग्रेसलाई पक्कै पनि शान्ति मिलेको छैन होला । किनकी, अरूलाई ढाट्न सकिएला तर आफूलाई कहिल्यै सकिँदैन । त्यसैले त्यस्ता धोकेबाज र षड्यन्त्रकारीलाई अवश्य शान्ति मिल्ने छैन । अहिलेको घात अन्तरघातको परिणाम पनि त्यसैको एउटा निरन्तरता हो भनिरहँदा गलत नठहर्ला । जबसम्म नेपाली कांग्रेसले घात अन्तरघात र षड्यन्त्रको निरन्तरतालाई तोड्न सक्तैन तबसम्म यस्ता दुःख घटनाको सामना गर्न नेपाली कांग्रेसमा जोडिएका सबैले सदा तयार नै रहनु पर्छ । अब राजनीतिकलाई एउटा कुनामा अन्तरघातको हिस्सा पनि चाहिने रहेछ वा दिनु पर्दोरहेछ भन्ने यथार्थता बुझ्न आवश्यक छ । 

अब लागौं किन यसरी घात र अन्तरघातले निरन्तरता पाई राख्छ भन्ने विषयतर्फ । यसतर्फ दृष्टिकोण दिइरहँदा केही विचारणीय तकर्हहरूमा ध्यान दिनु जरुरी हुन्छ होला । नेपालीमा एउटा उखान छ, एउटाको जरा नउखेली अर्काको औषधि हुँदैन अरे । त्यही कारणले नेपाली राजनीतिका ढुकढुकी कृष्णप्रसाद भट्टराईलाई तत्कालीन अवस्थामा भयानक डरलाग्दो षड्यन्त्र गरेर हराइयो । त्यसपछिको प्रधानमन्त्री भयो, त्यस विषयमा भनिरहनु नपर्ला किनभने त्यो घामजस्तै छर्लंगै छ । अब त्यतातिर कोट्याइ नराखौं किनकि ती दुवै पीडक र पीडित हामी सामु छैनन् । तर त्यस किसिमको कालो प्रवृत्ति भने आजसम्म पनि जीवितै रहेको छ भन्ने प्रमाण भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनाट अवगत हुन गएको छ । 

त्यसैले पनि यो आलेखको शीर्षक नै ‘निरन्तरताको अन्तरघात’ रोजिएको हो । झट्ट शीर्षक हेर्दा उट्पट्याङ खालको देखिए पनि यसको गर्भियता निकै गहिरो छ । अरूको प्रहारबाट जोगिन त्यति गाह्रो छैन तर आफैंभित्रको मर्मान्त हुनेगरी हानिएका बाँणले कांग्रेसलाई आहत पु¥याएको छ । तथापि यतिका धेरै घात अन्तरघातका बाबजुद प्राप्त उपलब्धि (स्थानीय चुनावको उपलब्धि) लाई कम आँकलन गर्नु हँुदैन । सतहमा नदेखिने जग मुनिका इट्टा ढुंगाले धानेको पार्टी नेपाली कांग्रेस एमालेको दम्भबाट हच्चकने पार्टी किमार्थ होइन । एउटा सत्य के हो भने कांग्रेसका सामु तात्तातो केही प्रतिकूल घटना थिए जसले गर्दा पार्टीलाई केही हानी नोक्सानी भने भयो । एउटा पारिवारिक विरासतबाट पार्टी नेतृत्व अन्यत्र पुग्दा आहत हुनेहरू पनि जानी नजानी अन्तरघाती खेलमा फँसेका पनि हुन सक्छन् । स्थानीय तहको पहिलो र दोस्रो चरणमा सम्पन्न चुनाव पार्टीको तेह्रौं महाधिवेशनको छाँया पनि परेको भान हुन थालेको छ । पार्टीभित्र (ने.का) एक ज्यान दुई मनले काम गरेको पनि पाइयो । यस पटकको चुनाव पनि नेपाली कांग्रेस पार्टीमा संस्थापन पक्षलाई कमजोर देखाउन अर्को पक्षको भूमिका रहेको हो कि भन्ने आशंका गर्न सक्ने ठाउँछ । दाङ र डडेलधुरा जिल्लामा देखिएका अस्वभाविक पराजयको पछाडि पक्कै पनि अन्तरघातको अहम भूमिका भएको हुनुपर्छ ।

नेपाली कांग्रेस पार्टीको भर्खरै सम्पन्न समीक्षा बैठकले के कस्तो निर्णय र निष्कर्ष निकाल्यो, थाहा छैन । तर अन्तरघातका सुधारलाई भने अनुशासनको घेरामा ल्याउनै पर्दछ । यसो भनिरहँदा बिरालोको म्याउँ गर्ने मुख कस्ले थुन्ने ¤ भन्ने पनि हुन सक्छ । पार्टी नेतृत्व हत्याउन नसक्ने अनि तेरो र मेरो भनेर अंशवण्डा गर्नाले पनि सर्वथा लोकप्रिय र चुनाव जित्न सक्नेलाई पन्छाएर राम्रो होइन हाम्रो चयन अर्को अन्तरघातको कडी बन्न पुग्यो । यदि चुनावको बेला नेताहरूले आआफ्ना नजिकका कार्यकर्तालाई हप्काउने र सम्झाउने कार्य गरेको भए यति धेरै अन्तरघातले ठाउँ पाउने थिएन कि ? नेताहरू त्यहिँ नेर चुकेका हुन वा जे सुकै होस् भनी आँखा चिम्लिए, यसै भन्न सकिँदैन । जे होस् अहिलेको स्थानीय निर्वाचनमा देखिएको विसंगति र विकृति आगामी समयमा हुने बाँकी रहेका चुनावमा नभित्रिउन । साथसाथै नेताहरूले पनि पार्टीभित्र न्यायको अनुभूति अधिकतम गराउने कोसिस गरुन्, त्यसैमा पार्टीको बृहत् हित हुनेछ । अन्यथा निरन्तरताको अन्तरघातबाहेक केही हुनेछैन ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं