Date:2017/08/22 |Tuesday

सम्झौताले निम्त्याएको संकट

Posted on: August 09, 2017 | views: 23 | कालिदासबहादुर राउत क्षत्री

भरतपुर महानगरपालिकाले निर्वाचन भएको दुई महिनाभन्दा पनि बढी समयमा जनप्रतिनिधिहरू पाएको छ । लामो समयको रस्साकस्सीपछि यो अवस्था सिर्जना भएको हो । यसले कस्तो सन्देश प्रवाह गरेको छ भन्ने आम नागरिकलाई थाहा भएको कुरा हो, लामो व्याख्या गरिरहनु नपर्ला । भरतपुरको १९ नं. वडाको चुनावमा सूर्य चिहृनमा ६ ठाउँमा स्वस्तिक चिहृनमा छाप लगाएर हँसिया हथौडा चिहृनमा एक ठाउँमा मात्रै छाप लगाउने एमालेका भोटर हुन् भन्ने स्वतः प्रस्ट छ । यस्ता भोट १ सय ८३ वटा छन् । भित्री सहमतिमा एमालेकै भोटरले रेणु दाहाललाई जिताएका हुन् भन्ने छर्लङ्ग प्रमाणित हुन्छ । यसरी जितिसकेका देवी ज्ञवालीलाई कालान्तरमा त्यो भन्दा माथिल्लै पोर्टफोलियोमा निश्चय नै पार्टीले लैजान्छ भन्ने चर्चा पनि बाहिर आएको छ । 

गणतन्त्रकालीन अन्तरिम संविधानका बेला तत्कालीन प्रमुख कार्यकारीहरूले भविष्यमा यसको परिणति के हुन्छ भन्ने ज्ञाताहरूसँग छलफल नगरी आफ्नै मनोगत ढंगबाट बारम्बार सम्झौता गर्दा मधेसकेन्द्रित विद्रोह देशकै निम्ति क्यान्सरमा रूपान्तरित हुँदैछ । तराई हिंसामा पश्चिमाको प्रकारान्तरले संलग्नता छ भन्ने अनुभूत हुँदै आएको हो । यसैबीच, केही दिनदेखि पूर्वी नेपाल अरुणपारिका नौ जिल्ला लिम्बुवानहरूको मुक्तिमोर्चाले बन्द गराएको छ । विसं. १८३१, साउन २२ मा भएको सम्झौतामा राई लिम्बूको आत्मनिर्णयको अधिकार तत्कालीन खस शासकले अपहरण गरिदिएको हुँदा सो फिर्ता पाऊँ भन्ने तत्तप्रवृत्तहरूको यो संघर्षको मक्सद हो । 

दार्जिलिङ क्षेत्र महिनौंदेखि अशान्त छ । पश्चिम बंगालबाट दार्जिलिङ क्षेत्रलाई छुट्याएर छुट्टै प्रान्त बनाउनका निम्ति एक शताब्दिदेखि कसरत जारी हुँदै आएको देखिएको छ । अङ्ग्रेजको पालादेखि नै दार्जिलिङ क्रिष्चिएनको एक मुख्य केन्द्र रही आएको र यहीबाट ततसम्बन्धी गतिविधि सञ्चालित हुँदै आइरहेको घामझंै छर्लङ्गै रहेको तथ्य सर्वविदितै छ । त्यताबाट नेपालमा भित्रिने नेपाली भाषीहरूको मुख्य उद्देश्य पनि प्रलोभन दिएर धर्म परिवर्तन गराउने हो भन्ने आँकलन गर्न सकिन्छ । यसरी नै मेची अञ्चलका बासिन्दामध्ये कैयन्लाई भित्रभित्रै प्रभावमा पारिरहेको खबर पनि बाहिर आइरहेका नै हु्न । पूर्वी नेपालमा पश्चिमाकै बन्दोबस्तमा वर्षौंदेखि पृथक सोचका साथ विद्रोह हुँदै आइरहेछ, सो भविष्यमा दार्जिलिङसँग जोडेर पश्चिमाको डिजाइनको ‘गोर्खाल्यान्ड’ स्थापना गर्ने मक्सद नै देखिन्छ भनिरहँदा अतिशय नहोला । 

पश्चिमाकै डिजाइनमा जातीय संघीयता माओवादीमार्फत भित्र्याइएको भए तापनि संविधानसभाले अर्कै डिजाइनको संघीयता पास ग¥यो । यो सबैलाई ज्ञात भएको विषय हो । जनभाषामा भन्ने हो भने मुछेर गाँस बनाउँदै क्वाप– क्वाप निल्ने डिजाइन फेल भए पनि चौतर्फी चुनौती धारिलो बनिरहेछन् । 

नेता– राजनेता र दार्शनिकमा भिन्नता हुन्छ नै । नेताहरूसँग दूरदर्शिता हुँदैन, तत्कालको चुनौतीको सामना गर्ने र आगामी चुनाव कसरी जित्ने भन्ने मात्रै सोचको घेरामा यिनीहरू बन्धक भएका हुन्छन् । दार्शनिकहरू चाहिँ यो नीति– सिद्धान्त अनि एक्सनले कति शताब्दीसम्म कस्तो असर पार्छ भन्ने विषयलाई गहिरोसित खोतलेर एउटा निश्चित धारणा बनाएका हुन्छन् । 

हाम्रो देशमा नेताहरूको कुनै अभाव छैन । भविष्यतिर सोच्ने, देख्ने दार्शनिकहरू पनि हाम्रो मुलुकमा देखिँदैनन्– भेटिँदैनन् । विगतका क्रान्तिहरूले नेपाली घरघरमा, गाऊँगाऊँमा नेताहरू बग्रेल्ती दियो । भविष्यद्रष्टा दार्शनिकहरू चाहिँ क्रान्तिले दिएनछ । त्यसैको अभावमा विगतका सम्झौता–समझदारीले देशलाई आक्रान्त बनाइरहेछ । मधेसी उन्मादका बारे सबै छर्लङ्गै छन् । अरुणपारिका नौ जिल्लाका विषयमा पनि कपोलकल्पित सम्झौताका नाममा बार्गेनिङ गर्दै आइरहेछन् । क्रान्तिले जिम्मेवार नायक–सहनायकहरू नदिएकोले होला, यो अवस्थालाई झन्–झन् समस्याग्रस्त बनाउँदै आइरहेछ । अनसन बस्ने एकल समूहले क्रान्तिका सबै उपलब्धिलाई उप्काउन सक्ने संकेत दिइरहेछन् । 

मुलुकमा भएको पहिलो जनआन्दोलनपश्चात् २०४८ सालमा २० हजार अस्थायी शिक्षकविना परीक्षा स्वतः स्थायी गिरिजाप्रसाद कोइरालाको पालामा भएदेखि संस्थागत भयो– सजिलै हुनेरहेछ भन्ने प्रवृत्ति बढ्यो । २०६३ सालमा पनि १५ हजार शिक्षक आन्तरिक प्रतिस्पर्धाका नाममा विनापरीक्षा ४० हजार शिक्षक स्थायी भए । ०६१ सालदेखि ०६५ सालसम्म नियुक्त शिक्षक सहजरूपमा परीक्षा लिएर स्वतः स्थायी गरिनुपर्ने शिक्षकहरूको माग छ । जागिर खाइरहेका शिक्षकहरू कुनै न कुनै बहाना मिलाएर आन्दोलनका लागि काठमाडौंमा एकत्रित भइरहेछन् । सरकारकै कमजोरीले यस किसिमको बेथिति र अराजकता बढिरहेछ । विज्ञहरू भन्छन् विभिन्न किसिमबाट भइरहेका आन्दोलनहरूलाई मज्जाका साथ हेरिरहेका छन् । वास्तवमा आजका दिनमा हेर्दा जो सुकैलाई पनि लाग्न सक्छ आन्दोलन ग¥यो, त्यसपछि त जस्तोसुकै माग पनि पूरा भइहाल्छ भन्ने सन्देश बाहिर गइरहेको छ । निश्चय पनि यस्तो सन्देशले सकारात्मक मार्ग देखाउँदैन । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं