Date:2017/08/22 |Tuesday

समस्या : नीतिमा होइन नेतृत्वमा

Posted on: August 10, 2017 | views: 26 | राजन कार्की

बीपीको मान्यता थियो– लगानी र उत्पादनबीच निश्चित सम्बन्ध हुनुपर्छ । नेपाली कांग्रेसले नेपालको राजनीतिमा सात दशक लगानी गरिसक्यो, उत्पादन के भयो ? लगानी र उत्पादनमा समन्वय, निश्चित सम्बन्ध कायम हुन सकेन । जसका कारण समाजवाद एकातिर, कांग्रेस अतिवाद र अवसरवादतिर ढल्कँदै गएको देखिन्छ । कांग्रेसको समाजवादी रूखले देश विकासलाई न छहारी दिनसक्यो, न त्यो रूखमा फल नै लाग्यो ।

नेपाली कांग्रेसको समाजवाद आदर्श हो, आदर्शवादी सोचले ओतप्रोत छ । जति सुन्यो, उति सुनौं सुनौं लाग्छ, कांग्रेसको समाजवाद । अलिकति जग्गा, एक हल गोरु, दुहुनो गाई । अहा, काम गर, दूध र भात खाउ । योभन्दा उत्तम समाजवाद अरु के हुनसक्छ । तर, यो समाजवादको वरिपरि कतै छ नेपाली कांग्रेस ? हो, पटकपटक यही नाराले जनतालाई मोहित पा¥यो, मत दिए र कांग्रेसले पटकपटक चुनाव जित्यो, सत्तामा गयो । अहिले पनि नेपाली कांग्रेसको नेतृत्वमा सरकार छ । सरकार हातमा भएको कांग्रेससँग व्यवहारमै समाजवाद छ कि छैन ? यो प्रश्नको जवाफ स्वयं सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि दिन सकेनन् ।

अर्को ठूलो पार्टी एमाले, झालेमाले देखिन्छ । महाकाली सन्धि गर्दा भारतको पक्षमा उभिएर नेपालको सूर्य पश्चिमबाट उदाउँछ भन्ने यिनै महारथी हुन् । २० वर्षमा डीपीआर पनि बनेन, महाकाली भारतको पोल्टामा गयो, पूर्वको सूर्य पूर्वबाट उदाइरहेको छ, पश्चिमबाट सूर्य उदाउँछ भन्ने हाँसी हाँसोमै सीमित भइरहेको छ । ओली अहिले चुपचाप छन्, प्रकृति बदल्ने उनी र उनको पार्टी जनताको आँखामा भ्रम छर्न व्यस्त, अभ्यस्त भइरहेको छ ।

एमालेका माधव नेपाल, झलनाथ खनाल, केपी ओली प्रधानमन्त्री भए । तर, महाकाली सन्धि पास गराउँदा माधव नेपालले भनेका थिए– अब नेपालले स्याटेलाइटबाट विद्युत निकासी गरेर नेपाललाई झलमल्ल पार्छ । उनको रौतहटमा अस्ति मात्र सडक निर्माण गर्दा खनेको खाल्डोमा ३ जना बालबालिकाको डुबेर मृत्यु भयो । झलनाथ झल्लु भाषण गरिरहेका छन् । केपी ओली भान्सामै ग्यासको पाइप पु¥याइदिन्छु, हावाबाट बिजुली निकालिन्छ, समुद्रमा नेपाली पानी जहाज चलाइन्छ भनिरहेकै छन् । एमाले सपनामा छ, विपनामा नेपाललाई धुलो, धुवाँ, बाढी पहिरो, अनियमितता र अनैतिकताले थिच्दै गएको छ । सुधार शून्य, सन्निपातले रनन्न र सनन्न भएर बिग्रँदो छ नेपाल ।

रहृयो, राजनीतिक केन्द्रमा उभिन सफल नेकपा माओवादीको । कौटिल्यले भनेझैं जतिसुकै दूध र घ्यूमा डुबाएर राखे पनि निम कहिल्यै गुलियो हुन्न । माओवादी ३ पटक सरकारको नेतृत्वमा पुग्यो र अहिले पनि सरकारमा सहभागी छ तर माओवादी जनताको जिब्रोको गुलियो स्वाद बन्न सकेन । जनताको अपेक्षा र आकांक्षामा खरो उत्रिन सकेन । तर्साउने, तेस्र्याउने र स्वार्थ पूरा गर्ने माओवादी नीति हिजो पनि थियो, आज पनि छ । माओवादी टुक्राटुक्रा भयो, तैपनि प्रचण्ड नेपाली राजनीतिक मैदानमा प्रतापि बनिरहेका छन् । सिंहदरबारमा को बस्ने, कति टिक्ने र कसरी आलोपालो गर्ने भन्ने उनको किङपिनको भूमिकामा कुनै परिवर्तन आएको छैन ।

माओवादीले १७ हजारजनाको हत्या ग¥यो, हत्याको वातावरण बनाएकै हो । जनयुद्ध किन गरियो ? यसको कारण माओवादीले भन्नसक्छ ? सक्छ भने उसले जनताका सामु प्रस्ट पारिदिनुपर्छ । हुने खाने र हुँदा खानेबीचको द्वन्द्व निराकरण गर्ने उद्देश्य थियो भने राजनीतिक परिवर्तन भयो, आर्थिक परिवर्तन किन हुन सकेन ? गरिबी घट्यो कि बढ्यो ? गरिब राजनीतिज्ञहरू नवसामन्त कसरी बने ? स्वयं माओवादीका ख्याउटे नेताहरू १२ वर्षभित्र बादशाही जीवन बिताउने हैसियतमा कसरी पुगे ? लठ्ठी टेकेर र पलेटी कसेर दालभात गुन्द्रुक खाने प्रचण्ड र उनका मतियारहरू आज सम्भ्रान्तले पिउने हृवीस्कीमा लठ्ठिन सक्नुको रहस्य के हो ? जो लडाकु थिए, ती अधिकांश हतियार मात्र बन्न पुगे । धेरैको जीवन नष्ट भइसक्यो, जो बाँचेका छन्, तिनीहरू कष्टकर जीवन बिताइरहेका छन् । पाइथागोरस भन्ने विद्वान्ले लेखेका थिए– जसले हत्या र पीडाको बीउ रोप्छ, उसले आनन्द र प्रेम फलाउनै सक्दैन । यो भनाइ र माओवादी नेतृत्वको कृत्यमा कतै भिन्नता छ र ?

अर्थात अबको निकास आर्थिक विकास भन्छन् सबै ठूला दलहरू । तिनैले राज्य सञ्जालमा भागबण्डातन्त्र स्थापित गरिसके । लोकतन्त्र भनेको विधि, नीति र समानताको सिद्धान्त मानिन्छ । भागबण्डा कसरी लोकतन्त्र भयो ? यिनले बिगारेको विकास हुटिट्याउँले आकाश थामेको गफजस्तो भयो कि भएन ?

महात्मा गान्धीले उहिल्यै भनेका थिए– सच्चा डाक्टर त्यही हो, जसले रोगको जरो पत्ता लगाउन सक्छ । निरंकुशताले देश बर्बाद पा¥यो, राजतन्त्र हटाएपछि, बहुदललाई लोकतन्त्रको नामकरण गरेपछि देश विकास हुन्छ भनेर दुवै काम गरियो । तर, देश विकास होइन, विनाश भइरहेको छ । राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक रूपमा देश विनाश हुनुको कारण के हो ? यसको निराकरण के के हुनसक्छ ? यस विषयमा गम्भीर वादविवाद र बहस हुनुपर्छ । तर साना नेताहरूको कुरा कोही सुन्दैनन्, ठूला नेतालाई सत्तालाई उखुका रूपमा चुस्दैमा फुर्सद छैन ।

कति लोमहर्षक छन् पार्टीका घोषणापत्रहरू । चुनाव सकियो, घोषणापत्र पनि थन्कियो । वास्तवमा समस्या नीतिमा होइन, नेतृत्वमा छ । सबैको धारणा देश विकासकै छ । तर आ–आफ्ना विकासमा लागेका छन् नेताहरू । यही कारण हो– परिवर्तनको १२ वर्षपछि पनि एकजना राजनेताको जन्म हुन सकेन ।

प्रजातन्त्रको बिडा उठाएको नेपाली कांग्रेस, आफ्नो सिद्धान्तमा उभिएको छ कि अर्काको सिद्धान्तमा उभिएर समाजवाद समाजवाद भनिरहेको छ, स्वयं कांग्रेसीहरू रनभुल्लमा परेका छन् । पार्टी कार्यालयमा बीपीको फोटो छ, बीपीवाद पार्टीभित्र छ कि छैन, नेताहरू नै अलमलमा छन् । झापा आन्दोलनमा मान्छे काटेर आएको एमाले प्रजातान्त्रिक अभ्यास त गरिरहेको छ तर नैतिकता उसमा पनि छैन । जुन उद्देश्यका लागि सशस्त्र युद्ध गरेर माओवादी आयो, त्यो उद्देश्य सिंहदरबारको बेलायती बैठकमा मुर्छा परेको सबैले देखिसके । पेरिसडाँडामा पार्टी कार्यालय छ, डाँडामा काँडा मात्र देखिन्छ, जुन काँडाले फेरि जनतालाई घोचिरहेको छ ।

समष्टिमा भन्नुपर्दा, राजनीतिक परिवर्तन भयो, विकासको नीतिमा पनि सबैको समर्थन छ तर नीतित्व, इमान कसैमा पनि भएन । इमान नभएको राजनीतिले परिवर्तनलाई बेल पाक्यो जनताका लागि हर्ष न बिष्मात बनाइरहेको छ ।

आजको दिनमा प्रत्येक नागरिकको थाप्लोमा २२ हजारको विदेशी ऋणभार छ । दुःख, पीडा, अपेक्षा, आकांक्षा अनेक छन् जनताका । देशको जिम्मेवारी लिन्छु भन्ने नेताहरूले ती सबै भारहरू उठाउनुपर्ने हो । भारजति जनताकै थाप्लोमा बजारेर ५२ किलो, ७० किलोसम्मका फूलका हार गलामा पहिरिन लाज नमान्ने नेताहरू लोकतान्त्रिक नेता भइरहेका छन् । कुनै पनि नेता अथवा मन्त्रीलाई राष्ट्रिय गान गाउन लगाउनु, गाउन सक्दैनन् । राष्ट्रको झण्डाको बयान गरभन्दा भन्न सक्दैनन् तर पार्टीको झण्डाका बारेमा उनीहरूलाई कण्ठस्थ थाहा छ ।

हैटी र इथिओपिया असफल मुलुक थिए, आज उनीहरू विकासको गतिमा अग्रसर भइसके । हामी ५ वर्षपछि अर्थात् सन् २०२२ सम्ममा विकासशील मुलुक बन्न अग्रसर भएका छौं । विकासशील मुलुक बन्नका लागि सुशासन, सुरक्षा र समृद्धिका ढोकाहरू खोलिनुपर्छ । हामी कुशासन, असुरक्षा र अनियमितताका अनेकन हथकण्डाहरू गरिरहेका छौं । नियमन र नियामक निकायहरूलाई, अदालतलाई समेत पार्टीकरण गरेर अघि बढेका छौं । अन्याय, अराजकता, अविश्वासले कसरी विकासशील बन्नसक्छौं ?

भर्खर कानुनका विज्ञ डा. युवराज संग्रौलाले भनेका छन्– नेपालमा कोही प्रजातन्त्रवादी र साम्यवादी छैनन् । किनभने यिनको राजनीतिमा आर्थिक विकासको कुनै विचार नै छैन । राजनीतिक व्यवस्था नै होइन । यो लोकतन्त्रका सिद्धान्तहरू समाप्त गरी स्थापित गरिएको केवल वैधानिक अवस्था हो । ज्ञानेन्द्र र राजनीतिक दलका बीचमा द्वन्द्वको परिणति यो व्यवस्था हो । यो कुनै पनि हालतमा प्रगतिशील व्यवस्था होइन । यो व्यापारिक–क्रिस्टियानिटी, पश्चिमी हस्तक्षेप र भारतीय विवेकशून्यतावादी महत्वहरूलाई मञ्च दिने व्यवस्था हो । यसमा थुप्रै रमाएका छन् । तर, यो ‘खुसी सिस्नोघारीमा आराम गरेजस्तै हो ।’

यसकारण हामी विकास विकास भनेर लोकतन्त्रलाई बारुद बनाइरहेका छौं र अर्को द्वन्द्व तैयार पारिरहेका छौं । राष्ट्रलाई केन्द्रमा राखेर विकासको खाका तैयार गर्न हामी असफल भएका छौं । जब हाम्रो लक्ष्य नै चाटचुट, लाटलुट पार्नेमा सीमित छ, यस्तो हाटहुटे तरिकाले विनाश मात्र जन्माउँछ । हामी विनाशको कृष्णभीरे पहिरो बनिरहेका छौं । नेताहरूसँग यो पहिरोको हाँक रोक्ने अक्किल, हैसियत र जाँगर पटक्कै छैन ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं