Date:2017/11/25 |Saturday

कांग्रेस खुम्चिनुको कारण

Posted on: August 11, 2017 | views: 75 | दामोदर पौडेल

लोकतन्त्र, शान्ति र समाजवादको अविजित लक्ष बोकेको नेपाली कांग्रेसको लक्ष विश्वव्यापी मान्यतामा आधारित मात्र छैन, अपितु नेपाल र विश्वका सबैजसो मूलधारका राजनीतिक दलहरू प्रत्यक्ष वा परोक्षरूपमा यही विचारको सेरोफेरोमा छन् । नेपालमा एमाले तथा माओवादी केन्द्रसमेतले लोकतन्त्र, आर्थिक विकास तथा समानता र शान्तिलाई आत्मसात गरेका छन् । समाजवादका प्रमुख दुई पक्ष आर्थिक समानता र बहुलवादमा आधारित लोकतन्त्रले विश्वव्यापी आधार तयार गरेको छ । नेपालमा भने त्यो ऐतिहासिक मान्यता बोकेको दल कांग्रेस आफंै अलमलमा देखिन्छ । दलका नेताहरूका कमजोरीको कारण दल अविचलितरूपमा अगाडि बढ्न सकेको छैन । कम्युनिष्टहरूले लोकतान्त्रिक समाजवादको कुरा गरे पनि उनीहरूमा पूर्णरूपमा रूपान्तरणको आधार देखिइसकेको छैन । लोकतन्त्र, बहुलवाद, समाजवादसमेतलाई समानता, शान्ति र विकासको आधार मान्ने दल बाहिर रहेका र वैचारिक कारणले अन्य दलहरू पूर्णरूपमा लोकतान्त्रीकरण भएको भन्नेमा विश्वस्त भई नसकेकाहरूको अहिलेसम्म पनि कांग्रेस पहिलो छनोट हुनु बाध्यताजस्तो बन्न पुगेको छ ।

पदको लोभ वा कांग्रेसभित्रको बेथितीबाट वाक्क भएकाहरूमध्ये केही निष्क्रिय हुन पुगेका छन्, केही पलायन भएका छन् । कतिपय मानवीय कमजोरीका कारण केही कांग्रेसबाट सधैंका लागि जस्तै गरेर बाहिरिएका पनि छन् । यसपटक चुनावमा जनप्रियभन्दा पनि नेताहरूका नजिकका र पैसा खर्च गर्नेहरूले टिकट पाएकोले कांग्रेसले सोचे जति राम्रो गर्न नसकेको अनुभव भइरहेको छ । एउटा मात्र उदाहरण दिँदा लमजुङको सुन्दरबजार नगरपालिकामा मेयर पदमा कांग्रेसका आधिकारिक उम्मेदवारले र विद्रोहीले बराबर जस्तै मत पाउनु यसको एक पक्ष हो । यो टिकट दिने पनि गल्तीको कारणले शिद्धान्तहीनताको अवस्थामा कांग्रेस जाँदैगरेको परिणामको एउटा उदाहरण हो ।

अब इतिहासमा जाउँ । नेपाली कांग्रेसको स्थापना काललाई हेर्दा सरकारको बारेमा राम्रो जानकारी भएका र विद्रोहमा आवश्यक पर्ने सबैजसो खर्च गर्ने सुवर्ण शमशेर र अन्य राणाहरूको नै राणाशासन अन्त्य गर्न अहंं भूमिका छ । उनीहरूको भूमिका नभएको भए राणा शासन केही लम्बिने र धेरै जनधनको क्षति हुने थियो । बीपीको तिलस्मी व्यक्तित्व र विद्धताले जनतालाई लोकतन्त्रको पक्षमा गोलबद्ध गरेको हो । यिनै कारण समेतले देशमा २००७ सालमा प्रजातन्त्र आयो ।

त्यसपछि नै पदको रस्साकस्सी पनि सुरु भयो । पञ्चायत व्यवस्था ल्याउनका लागि कम्युनिस्टहरू र केही कांग्रेसहरूले राजालाई सहयोग गरे । लोकतन्त्रको पुनस्र्थापनाका लागि बीपी र सुवर्णले आफ्नै किसिमले र फरक लाइनजस्तो देखिने गरेर इमानदारीका साथ काम गरे । गणेशमान, कृष्णप्रसाद, गिरिजाप्रसाद आदि नेताहरूको इमानदार क्रियाशीलता र लोकतन्त्रको पक्षको अडानको साथमा लाखौं कांग्रेस पक्षधरहरूले योगदान दिए । तर २०१५ सालमा दुई तिहाई बहुमत ल्याउने कांग्रेसले त्यसपछि कहिल्यै पनि संसदमा त्यो संख्या पु¥याउन सकेन । यसको पछाडि कम्युनिष्टहरूका झुठा नारा र राजाका कांग्रेस विरोधी अभियान र कांग्रेस विरोधीलाई प्रोत्साहन दिने कार्य प्रमुख रहेको मान्न सकिन्छ । यद्यपि, कांग्रेसले आफ्ना कमजोरीहरूको कारणले पनि धेरै गुमाउनु परेको हो ।

बीपीले भनेका थिए कि प्रतिबन्धितकालमा आफ्ना कार्यकर्ता र नेताहरू सुनजस्तो अवस्थामा छोडेकोमा पित्तल भएछन् र कम्युनिस्टहरूलाई पित्तल छोडेकोमा सुन भए छन् । रुकुम जस्तो कांग्रेसको गढ पछि कम्युनिस्ट गढ किन बन्यो भन्ने सवालको जवाफ खोज्नुपर्ने कि नपर्ने भन्ने पनि अहं विषय नै थियो । कम्युनिस्टहरू झोला लिएर गाउँगाउँमा सिद्धान्तको प्रचार गर्न शिक्षकसमेत भएर गए । गरिब र मध्यम वर्गसम्म सजिलै पुगे । कांग्रेसहरू केही अपवादबाहेक बन्दुक चलाउने, रूखमा कांग्रेसको झण्डा टाँग्ने, जुलुस निकाल्नेमै व्यस्त रहे । मार्न र मर्न तयार हुने जनतालाई संगठित नगर्ने कार्य नै कांग्रेसले घर पोलेर खरानी बनाएजस्तो भयो । बन्दुक चलाउने, रूखमा कांग्रेसको झण्डा टाँग्ने, जुलुस निकाल्नु नराम्रो होइन तर कांग्रेसजन जनतासँग जति नजिक हुनुपर्ने हो त्यो हुनै सकेन ।

कांग्रेसले हरेक लोकतान्त्रिक आन्दोलनको नेतृत्व ग¥यो, तर कम्युनिस्टहरूको मत बढ्दै गयो । लेखेर राखे हुन्छ कि सोभियत रुसमा कम्युनिस्ट व्यवस्था अन्त्य नभएको भए र चीनले व्यावहारिक रूपमा साम्यवादी विचार त्यागेर अगाडि नबढेको भए र आफ्नो प्रचार अभियान नछोडेको भए नेपालमा कम्युनिस्ट झण्डा धैरै पहिला नै गाडिएको हुने थियो होला । पञ्चायतले थुनेका कांगे्रसका सन्तानहरू अहिले कम्युनिस्टहरूले थुनेको अवस्थामा हुन्थे वा मारिन्थे ।

त्यो तथ्यलाई गणेशमान र गिरिजाप्रसादले राम्रोसँग बुझे । उनीहरू प्रचार अभियानमा ज्यानको बाजी लगाएर हिँडे । गणेशमानको उमेर बढी भएकोले गिरिजाप्रसादले जस्तो संगठनमा जान नसकेकोले गिरिजाप्रसाद कोइरालाको संगठन क्रियाकलाप अब्बल रहृयो ।

विसं. २०४६ सालको आन्दोलनपछि केही नेताहरूले गिरिजाप्रसादले संगठन गरेको फल आफू खाने भनेर पनि होला गणेशमानको मानमर्दन गर्न खोजे । त्यसमा गणेशमान पनि झुक्किए । अर्थात त्यागी एवं जनप्रियको फ्युजन हुन पाएन । गिरिजाको जनप्रिय पक्षको एकथरीबाट कदर भएन । अर्कोतर्फ २०४६ सालको जनआन्दोलनपछि काठमाडांैको खुलामञ्चमा गिरिजाले लोकतन्त्रको जित, कांग्रेस, कम्युनिस्ट र पञ्च सबैको होभन्दा हुटिङ भयो, तर त्यही कारण कांग्रेसले चुनावमा बहुमत ल्याएको हो भन्दा फरक नपर्ला ।

पहाडमा पञ्चको बलियो आधार थियो । तैपनि कम्युनिस्टहरूका व्यवहारले उनीहरू डराएका थिए, पञ्चहरू कांग्रेससँग पनि आस्वस्त थिएनन् । तर गिरिजाप्रसादको कारणले पहाडमा पञ्चहरू कांग्रेसमा प्रवेश गर्ने लहरै चल्यो । पहाडमा पनि कांग्रेस अपेक्षा गरिएभन्दा बलियो भयो । गिरिजाप्रसादकै कारण लोकतन्त्र पुनस्र्थापनापछिको पहिलो चुनावमा कांग्रेसले बहुमत प्राप्त ग¥यो । तर अर्काथरीलाई गिरिजाको मेहनत र चलाखीको फल उनले जनतामा जाने अर्थमा पाउनु पर्दछ भन्ने लागेन । त्यही कारणले कांग्रेसमा सदैव विग्रह भइरहृयो ।

अर्कोतर्फ पञ्चहरूलाई सुरक्षा र उचित सम्मान मात्र दिए हुनेमा गिरिजाप्रसादले ठूला पद पनि दिए । त्यसले पुराना कांग्रेसहरूमा वितृष्णा जाग्यो । कांग्रेस उचितरूपमा फस्टाउन सकेन । कृष्णप्रसादको गिरिजाप्रसादको जस्तो जनाधार नभएर पनि उनलाई गिरिजाप्रसादको विरोध गर्ने र पदको लोभ गर्ने चासो रहने अवस्थाको सिर्जना गरियो । तीन नेताहरू तीनतिर भएपछि बिग्रेको घरलाई अरूले बिगार्न जरुरी नपर्ने जस्तै भयो । यसरी गुट उपगुटको राजनीति अझ व्यवस्थितरूपमा अगाडि बढ्यो, कांग्रेसमा ।

आफ्नो एकछत्र राज भएपछि कांग्रेसमा गिरिजाप्रसादलाई अरू बढी योग्य भए पनि आफ्नालाई नै उच्च पदमा पु¥याउने इच्छा पनि जाग्यो होला । गिरिजाप्रसादमा आफू लोकप्रिय भएर पनि कांग्रेसीहरूले नै विरोध गरेकोले दलभित्रका विरोधीलाई हतात्साहित गर्ने प्रवृत्ति पनि बढ्यो ।

गिरिजाप्रसादका राजनीतिक चेला शेरबहादुर देउवालाई गिरिजा विरोधीहरू र दरबारियाहरूले समातेर प्रधानमन्त्रीको लागि उक्साए । उनी प्रधानमन्त्री बने, लोकतन्त्रलाई दरबारमा बुझाए, दल फोरे । त्यसपछि कांग्रेसको साख अरू गि¥यो । गिरिजाप्रसादले प्रयास गरेर दललाई एक बनाए । देउवाले गिरिजाप्रसादको उत्तराधिकार त पाए तर उनले पहिला आफूलाई दल फोर्न सहयोग नगर्ने रामचन्द्रजस्ता केहीलाई बदला लिने र जसरी पनि आफंै दलको सभापति र प्रधानमन्त्री बन्ने इच्छा राखे । उनी सभापति बन्नुको प्रमुख कारण पैसाको खर्च, उनको साथमा दल फोर्नेहरूलाई मूलधारको बन्ने चाहना, गिरिजाप्रसादको कामको शैलीबाट असन्तुष्ट भएर नै गिरिजाप्रसाद जीवित छंँदैमा विकल्प खोज्नेहरूको सहयोग प्रमुख रहृयो । कतै गोप्यरूपमा उनी र उनका सहयोगीहरूले जातीय कुरा उठाएर पनि भोट पाए भन्ने पनि गरिन्छ । अब सुनिन्छ, शेरबहादुर देउवा पनि आफ्नी पत्नी आरजु देउवालाई प्रधानमन्त्री बनाउने एक सूत्रीय लक्षमा छन् । उनले रामचन्द्र पौडेल वा विमलेन्द्र निधि जस्तालाई प्रधानमन्त्री बनाएको भए देउवा राजनेता बन्ने र दलको रक्षक तथा दललाई बलियो बनाउने हस्ती हुन पुग्थे ।  तर त्यो हुने देखिँदैन ।

देउवाले दललाई आफ्नो फाइदाका लागि ध्वस्तै बनाउने भए भन्ने चर्चा चुनाव ताकाबाटै चलेको हो । उनले आफ्नो पक्षकाहरू जति नै अलोकप्रिय भए पनि स्थानीय चुनावमा टिकट दिएर कांग्रेसलाई घाटा पु¥याए । त्यही काम खुमबहादुरबाट पनि भयो भनिन्छ । यहाँसम्म कि भरतपुर महानगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा माओवादी भएको भए दुवै पद जित्ने र पोखरामा माओवादी मेयर र उपमेयरमा कांग्रेस भएको भए जित्ने सम्भावना पनि हुन सक्ने अनुमान थियो । तर यतिबेला कांग्रेसले घाटाको सम्झौता गरेको भनाइ व्याप्त छ । यद्यपि प्रचण्ड र उनको बागडोर नै कति बलियो छ र हुनेछ भन्ने सवाल छँदैछ ।

व्यक्तिगत महŒवाकांक्षा, आन्तरिक राजनीतिक इश्र्या, पदका लागि गुट, जनतामा भिज्नेभन्दा माथिमाथिको राजनीति गर्ने सस्तो र सजिलो सोच, ग्रासरुटका कार्यकर्ताको बेवास्ताको कारण कांग्रेस खुम्चिँदै छ । यो प्रवृत्तिको उल्टो दिशा लिन सक्नु नै कांग्रेसको भविष्य हुन सक्छ ।

साथै, कांग्रेसको विचार कालजयी भएकोले यो दल अर्को कांग्रेसको जस्तै विचार लिने दल सशक्त नभएसम्म कांग्रेसको आवश्यकता देख्नेहरूको संख्या उल्लेख्य रहनेछ र यो सत्य पनि हो । कांग्रेसको विचार विश्वको सर्वस्वीकृत विचार हो र यो विचार नेपालका कुनै पनि अरू ठूला दलले लिन सकेका छैनन् । लोकतन्त्र नै यस्तो परिपाटी हो जहाँ विगतका गल्तीबाट सिकेर राम्रो बाटो अवलम्बन गर्न सकिन्छ । यो चुरोलाई कांग्रेसजनले बिर्सेकै छन्जस्तो लाग्दैन । जब यो पक्ष कांग्रेसमा प्रबल हुन्छ, त्यति बेला कांग्रेस २०१५ सालको हैसियतमा जान सक्छ र एमालेजस्ता दलहरूलाई पनि अझ पूर्ण लोकतान्त्रिक बनाउन सक्छ ।

आज केपी ओली देशमा लोकतन्त्रको सुरक्षाका लागि कांग्रेस जस्तो बलियो लोकतान्त्रिक विकल्प आवश्यक छ भनिरहेका छन् । त्यो अर्तिलाई समेत बिर्सेर कांग्रेस नेता पदको पछाडि लागेका छन् । एमालेलाई लोकतान्त्रिक बनाउन कांग्रेसको पनि भूमिका भएकोमा अब त्यो भन्ने हैसियत कांग्रेस नेतामा रहने पनि हो कि होइन । किनभने कांग्रेसकै संसर्गबाट एमाले २०४६ सालको संविधानअन्तर्गतको संसदीय व्यवस्थाको आलोचनात्मक समर्थकबाट लोकतन्त्रको संरक्षक हु भन्न सक्ने हैसियतमा पुगेको छ । तर जनतामा कांग्रेसको अविजित विचार अर्थात् समानता, विकास र शान्तिका लागि लोकतन्त्र र ती सबैको समुच्चय भनेको समाजवाद भन्ने भावना र व्यवहार जनतामा लाग्न सक्ने हो भने कांग्रेस हैसियतको अर्थमा अविजित हुन सक्छ, किनभने लोकतन्त्रमा एउटै दल सधंै जित्नु लोकतन्त्रका लागि शुभ होइन । यो हुनका लागि एकता र इमानदारी मात्र होइन क्रियाशिलता पनि चाहिन्छ । विगतका गल्तीबाट सिकेर कांग्रेसमा प्रकाशमान, विमलेन्द्र निधि, सशांक कोइराला, शेखर कोइराला, गगन थापा, रमेश लेखक, सीतादेवी यादव, चित्रलेखा यादव, मीन विश्वकर्मा, बद्री पाण्डे, विश्वप्रकाश आदिजस्ता नेताले गुट बिर्सेर एक भएर अगाडि बढेमा लोकतन्त्रको पक्षमा रहेका निराशहरूलाई जगाएर कांग्रेसको नेतृत्वमा सबै दलहरूको साथ लिएर जनताको हित गर्न सक्छन् । अन्यथा गुटको राजनीतिले दल पतन भएपछि आफू जितिँदैन र आफ्नो हैसियत पनि रहँदैन, लोकतन्त्र र समाजवादको कुरा त टाढाको विषय हुन्छ ।

pddamodar65@gmail.com


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं