Date:2017/12/15 |Friday

जलवायु परिवर्तनकोे चपेटामा सुन्दर भुगोल

Posted on: September 01, 2017 | views: 112 | कृष्णप्रसाद सिग्देल

हिमालयको काखमा अवस्थित प्राकृतिक सुन्दरताले सजिएको ठाउँ, अनि मौलिक सभ्यता र संस्कृतिले सजिएको तपोभूमि हो नेपाल । यहाँको विभिन्न भौगोलिक धरातलमा पाइने साँस्कृतिक विविधता, विभिन्न ठाउँ र समयमा मनाइने चाडबाड नेपालको अर्को विशेषता हो । नेपाललाई यस्तै विभिन्न प्राकृतिक र सांस्कृतिक विविधताले सिंगारेर चिरिच्याट्ट पारेका छन् । त्यसैले नेपाल प्रकृति एवं संस्कृति प्रेमीको पहिलो रोजाइ बन्न सफल भएको छ । नेपालको पश्चिमाञ्चल विकास क्षेत्रमा रहेका मनाङ र मुस्ताङ जिल्लाहरू, हिमालपारिको सुन्दर भूगोलका रूपमा परिचित छन् । प्राकृतिक सुन्दरता र सांस्कृतिक सौन्दर्यका धरोहर मानिने ती जिल्ला हालैका वर्षमा जलवायु परिवर्तनले सिर्जित समस्याले रुमल्लिइरहेका छन् । 

अन्नपूर्ण र धौलागिरी हिमालको काखमा रहेका मनाङ र मुस्ताङ पर्यटकीय हिसाबले निकै महŒवपूर्ण मानिन्छन् । नेपालको पर्यटन विकासमा ती दुई जिल्लाले महŒवपूर्ण योगदान दिएका छन् । त्यहाँको भू–बनोट, प्राकृतिक सुन्दरता र संस्कृति अन्तर्राष्ट्रिय जगतलाई नै लोभ्याउने खालका छन् । विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गले ती दुई जिल्लालाई एक आपसमा जोडेको छ । थोराङ्ग पास, यहाँको प्रसिद्ध गन्तव्य हो । यो मनाङ र मुस्ताङ जिल्ला जोड्ने प्रमुख मार्ग पनि हो । थोराङपासबाट मनाङ हुँदै मुस्ताङ जाँदाको पदमार्ग फरक, फरक महŒव र आकर्षणका प्राकृतिक सुन्दरता मात्र नभएर विभिन्न कालखण्डका धार्मिक एवं सांस्कृतिक पदचिहृनहरू पनि भेटिन्छन् । 

मनाङ जाँदा, मनाङको पहिलो बस्तीका रूपमा परिचित छ, तालगाउँ । चारै दिशामा अग्ला पहाडले घेरेका गाउँलाई छोएर बगेको छ, मस्र्याङ्दी नदी । लमजुङ जिल्लाको सिमानामा पर्ने भएकाले त्यस गाउँमा लमजुङ र मनाङ दुवै ठाउँको मिश्रित संस्कृति पाइन्छ । त्यहाँ रहेको ताल छहरा अन्नपूर्ण पदमार्गको विशेष आकर्षण हो । त्यसलाई मनाङ जिल्लाकै सुन्दर झरनाका रूपमा पनि लिइन्छ । ताल आइपुगेका पर्यटक त्यहाँको प्राकृतिक सुन्दरता र गुरुङ संस्कृतिमा रमाउने गर्छन् । त्यसरी सुरु हुने, हिमालपारिको त्यो यात्रा ताल गाउँबाट मस्र्याङ्दी नदीको किनारैकिनार भएर नै सुरु हुने गर्दछ । पदयात्रीले त्यहाँको चट्टान, भीरपाखा, पखेरा, हिमाली जीवनशैलीसँग मितेरी लगाउँदै यात्रा अगाडि बढाउँछन् । तालबाट हिँड्ने प्रायःजसो पदयात्रीले बास बस्ने ठाउँ तिमाङ हो । तालबाट तिमाङसम्मको पदमार्गका बस्तीमा हिन्दू र बौद्धमार्गीको मिश्रित संस्कृति पाइन्छ । बगरछाप र दानक्यूमा बौद्धमार्गीको बाहुल्यता छ । त्यहाँ पुराना गुम्बा, स्तूपा र मानी बनाइएका छन् । समयअनुसार त्यहाँ बौद्ध परम्परा अनुसारका संस्कृति मनाउने गरिन्छ । मनाङमा निर्माणाधीन अवस्थामा रहेको हिमाली रंगशाला पनि तिमाङमा पर्दछ र त्यो पनि अन्नपूर्ण पदमार्गको अर्को आकर्षण हो । तिमाङ, मनास्लु हिमाल दृश्यवलोकनका लागि उपयुक्त ठाउँ पनि हो । त्यसो त तिमाङले खेल पर्यटनको प्रचुर सम्भावनासमेत बोकेको छ । तिमाङपछि थानचोक, कोतो हुँदै चामे पुगिन्छ । थानचोक र तिमाङको संस्कार एवं संस्कृतिमा खासै भिन्नता छैन । कोतो र चामेमा बौद्धमार्गीको बाहुल्यता छ । त्यहाँका बासिन्दाले ल्होसार, तीरजात्रा र घोडेजात्रा भव्यताका साथ मनाउने गर्छन् । 


चामे बेग्लै विशेषता भएको पर्यटकीय गन्तव्य हो । त्यहाँबाट मनास्लु, लमजुङ र अन्नपूर्ण हिमालनजिकै देखिन्छन् । त्यहाँ बौद्धमार्गीको बाहुल्यता रहे पनि केही हिन्दू मठ, मन्दिरसमेत निर्माण गरिएको छ । दुवै धर्मावलम्बीको मिश्रणले चामेलाई झन् सुन्दर बनाएको छ । चामेसम्म मोटरबाटो पुगे पनि अधिकांश पर्यटकहरू तालगाउँबाट पैदल यात्रा गर्न रुचाउँछन् तर तिनीहरूले पदयात्राका लागि दुई दिनको समय गर्नुपर्छ । चामेबाट अगाडि बढेपछि निस्याङ उपत्यका सुरु हुन्छ । निस्याङ उपत्यकाको पहिलो गाउँ तलेखु हो । त्यसपछि भ्राताङ गाउँमा पुगिन्छ । भ्राताङ नजिकै रहेको स्वर्गद्वारी पवित्र तीर्थस्थल हो । यहाँका मानिसमा गुरुङ र घले जातिका मानिस मरेपछि तिनको आत्मा त्यसै ठाउँमा गएर बस्छ भन्ने जनविश्वास रहिआएको छ । त्यसपछिको अर्को गन्तव्य हो, ढिकुरपोखरी । ढिकुरपोखरीपछि पिसाङ । 

हिमाली क्षेत्रको पदयात्रामा लेक लाग्ने सम्भावना हुने भएकाले त्यहाँको प्रकृतिसँग घुलमेल हँुदै बिस्तारै यात्रा अघि बढाउनु उचित मानिन्छ । पिसाङबाट करिब दुई घण्टाको उकालो उक्लेपछि घ्यारु गाउँमा पुगिन्छ । त्यो गाउँ हिमाली दृश्यावलोकनका लागि निकै प्रख्यात छ । भग्नावशेषको रूपमा रहेको प्राचीन घले राजाको किल्ला त्यहाँको बेग्लै आकर्षण हो । घ्यारुबाट करिब दुई घण्टाको पैदल यात्रापछि पुगिन्छ, ङावल । त्यहाँबाट चारै दिशामा हिमालहरू देखिन्छन् । त्यहाँ बुद्ध धर्मको पढाइ हुने बुद्ध पाठशाला पनि छ । ङावलबाट करिब एक घण्टाको ओरालो हिँडेपछि हुम्दे गाउँमा पुगिन्छ । त्यहाँ विमानस्थल पनि छ । जहाजमा आउने पर्यटकहरू पोखराबाट सिधै हुम्दे आउने गर्छन् । त्यसैले हुम्देलाई मनाङको केन्द्रबिन्दु पनि भन्ने गरिन्छ । निस्याङ उपत्यका र अन्य हिमशृंखलाको दृश्यावलोकनका लागि पनि त्यस ठाउँ निकै प्रसिद्ध मानिन्छ । भ्राका गाउँबाट करिब आधा घण्टाको हिँडाइपछि पुगिने गाउँ हो, मनाङ । मनाङलाई गुम्बा, मानी, हिमाल, ताल, तलाउको संगमस्थलभन्दा फरक पर्दैन । त्यसै गाउँको सामुन्ने देखिने गंगापूर्ण हिमाल र त्यसै हिमालको काखमा रहेको गंगापूर्ण ताललाई त्यस गाउँको गहना मानिन्छ । त्यसैले त्यहाँ पर्यटकहरूको चहलपहल पनि अन्तको भन्दा बढी नै हुन्छ । त्यहाँ तीन वर्षको एकपटक बदेन पर्व मनाउने गरिन्छ । त्यो त्यहाँको रोचक सांस्कृतिक पक्ष हो । मनाङ पुगेका पर्यटकहरू कोही खाङ्सार भएर तिलिचो तालतर्फ लाग्छन् भने कोही थोरङ्–लातर्फ । मनाङबाट तिलिचो तालतर्फ लाग्दा पहिला खाङ्सार गाउँ पुग्नुपर्छ । 

अन्नपूर्ण पदयात्रामा आएका अधिकांश पर्यटकहरू मनाङबाट सिधै थोरङ्–लातर्फ लाग्छन् । मनाङबाट टंकीमनाङ, गुन्साङ, याकखर्क, लेदरलगायतका सुन्दर गाउँ पार गरेपछि थोरङ् फेदी पुगिन्छ । थोरङ् पास गर्दा आफ्नो अनुकूलता हेरी थोरङ् फेदी या थोरङ् टपमा एक रात बस्नु पर्छ । मनाङको बाटो भएर मुस्ताङ जाने पर्यटकका लागि अन्तिम बास बस्ने ठाउँ पनि त्यही नै हो । ५४१६ मिटर उचाइमा रहेको थोरङ् पास गर्नका लागि झिसमिसेमै उठेर आफ्नो बाटो तताउनु पर्छ । त्यहाँ हावा, हुरी चल्न थालेपछि थोरङ् पास गर्न अलि अप्ठ्यारो हुन्छ । थोरङ् पास गरेपछि मुस्ताङ जिल्लाको मुक्तिनाथ पुगिन्छ । मुक्तिनाथ हिन्दू र बौद्ध धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल हो । त्यहाँ भारतीय तीर्थयात्रीको पनि निकै भीड लाग्छ । मन्दिर परिसरमा रहेका १०८ धारा यहाँका थप आकर्षण हुन् । तीर्थालुहरूले त्यहाँका धारामा नुहाएर पूजापाठ गर्ने चलन छ । तिनै धारामा स्नान गरेर पूजापाठ गरेपछि मुक्ति मिल्नेछ भन्ने जनविश्वास गरिन्छ । मुक्तिनाथ मन्दिर आसपासमा नरसिंह गुम्बा पनि छ । मुक्तिनाथ आएका तीर्थयात्रीले त्यस गुम्बाको पनि दर्शन गरेर फर्कन्छन् । 

कुनै बेला २८ दिन लामो अन्नपूर्ण पदयात्रा अहिले मोटर बाटो बनेपछि निकै छोट्टिएको छ । तै पनि त्यहाँको मौलिक शभ्यता, संस्कृति, हिमाली जनजीवन तथा प्राकृतिक सुन्दरता पर्यटकका आँखाबाट कहिल्यै मेटिँदैनन् । त्यसैले त्यहाँ वर्षेनी हजारौं पर्यटकको भीड लाग्ने गर्छ । अन्नपूर्ण पदमार्गले स्पर्श गरेका ती प्राकृतिक सुदरता, धार्मिक तथा सांस्कृतिक सम्पदाहरू राष्ट्रका अमूल्य निधि हुन् । तिनको संरक्षणका लागि सबै पक्षबाट सहकार्य गरिनु आवश्यक रहेको छ । 

पहिला हिउँ मात्र पर्ने त्यस हिमाल पारिको जिल्ला मनाङ र मुस्ताङमा पानी पर्दैनथ्यो तर हिजोआज पानी पर्न थालेको छ । सधैं हिउँ मात्र पर्ने भएकोले त्यहाँका बासिन्दाले घर पनि माटोले नै छाएर बनाएका छन् । त्यहाँ निर्माण गरिएका बाटो, घाटो, पुल, पुलेसाहरूको पुनः निर्माण गरिनुपर्ने आवश्यकताको महसुस गरिन थालिएको छ । खोलाको छेउ, छाउमा तटबन्ध निर्माण गरेर घरजग्गाको संरक्षण गर्नेतर्फ समेत सोच्नुपर्ने बेला आएको छ । ती स्थानहरूमा हिउँदका दिनहरू तात्तातो बन्दै गएका छन् भने हिउँ पर्ने मात्रा र समयमा पनि परिवर्तन आएको पाइन्छ । लामो समयसम्म खडेरी पर्ने र त्यसपछि मुसलधारे पानी परि विभिन्न प्रकोपहरू निम्त्याउने समस्याले गर्दा आगामी दिनमा यहाँको जनजीवनमा थप असर पर्ने देखिन्छ । 

प्रकृतिको बरदानसावित बनेको सुन्दर भुगोल, जलवायु परिवर्तनको चपेटामा पर्दै गएको छ । यहाँका बासिन्दासँग जलवायु परिवर्तनको विश्वव्यापी समस्यासँग जुध्ने सामथ्र्य त छैन नै । नखाएको विष लागेर पीडित बनेका मनाङ र मुस्ताङवासीहरूसँग अनुकूलनका उपायहरू अवलम्बन गर्दै अगाडि बढ्नुको विकल्प देखिँदैन् ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं