Date:2017/11/23 |Thursday

कथा–झुण्डिएको कोट

Posted on: September 02, 2017 | views: 137 | सीता आस्था ढुंगेल

कालो एकदम कालो र अनौठो दृश्य देख्छु । अलिक टाढैबाट हेर्छु । मान्छे हो कि भन्दा मान्छेजस्तो पनि छैन । निर्जीव जस्तो । फेरि बतासले यताउति हल्लिन्छ पनि । एकपटक आँखा चिम्म गरेर सम्झन्छु त्यो के हो ? अचम्म लाग्छ, म कतै भ्रममा त छैन ? कोही मान्छेले आत्महत्या त गरेको होइन ? कताकता मन डराउँछ, आङ् सिरिङ भएर आउँछ । जिउभरिका रौं ठाडाठाडा हुन्छन्, शरीर झुसिलो भएर आउँछ । 

बिस्तारो त्यो दृश्यतर्फ पाइला बढाउँछु । फेरि ठिङ्ग उभिन्छु । वरिपरि हेर्छु, सुनसान देख्छु । मात्रै म एक्लै । फगत म एक्लै । घरि गुहार गुहार भनेर चिच्याउन मन लाग्छ, घरि एक्कासि गएर अङ्गालो हाल्न मन लाग्छ, तर मन दोधार हुन्छ । यो गराँै कि त्यो गराँै । साँझ झमक्क पर्छ । घाम अघि नै डुबिसकेको छ । जुन पनि पिल्पिलाउँदै बादलको घुम्टो उघार्दै हुन्छ । म त्यत्तिकै बेचैन घर फर्कन्छु । 

साँच्चै भन्दा आँखा भरिभरि, सपना भरि, अनि मन भरि भएको छ । खाना खाने मन छैन । दुईचार गाँस जबरजस्ती टिपेर म ओच्छ्यानमा गएर पल्टिन्छु । जताततै अर्थात् मनभरि, ढोकाका भित्ताभरि त्यही दृश्य देख्छु । सबै सुतिसकेका छन् । रात निक्कै छिप्पिसकेको छ । बाहिर झ्याउँकिरी झ्याउँझ्याउँ कराइरहेका छन् तर मेरो मन स्थिर छैन र आफ्नो बसमा पनि छैन । के हराए जस्तो के गुमाए जस्तो । 

रातभरि निद्रा पर्दैन, कहिले उत्तानो, कहिले कोल्टो गर्दै रात बिताउँछु तर सदाको भन्दा लामो र अप्ठ्यारो भएर बित्छ रात ।

आफ्ना दैनिक कामकाजहरू पनि बिर्सिएर, आफूलाई पनि बिर्सन बाध्य भएर, पुनः त्यही दृश्यतर्फ लाग्छु । मनमा अनेकन तर्कनाहरू आउँछन्, विचार विभिन्न खाले आउँछन् । तै पनि त्यस दृश्यको बारेमा गम्भीर भएर निरन्तर वास्तविकताको खोजिमा लागिरहन्छु । हिजो झँै आज पनि परैबाट हेर्छु । छेउमा पुग्ने साहस र सामथ्र्य छैन । उस्तै छ । हिजोको दृश्य जे थ्यो, आज पनि त्यही छ । न आफूतर्फ फर्किएर केही बोल्छ, न म उसलाई बोलाउन सक्छु । हिजैदेखि मैले उसमाथि आँखाहरू ओच्छ्याउँदा इशाराले बोलाउन पनि सकेन । 

ऊ मान्छे हो भने उसमा मानवीयता होला ! साथ र सहयोग चाहिएला उसलाई पनि । कसैबाट माया नपाएर पो यो एकान्तमा यसरी आएर बसेको त होइन ? बसेको भन्दा बसेकोजस्तो नलागेर उभिएको जस्तो देखिने, मुख फोरिहालौं जस्तो लाग्छ । फेरि डर पनि लाग्छ । मार्छ कि ता ! अनि बाबा आमाको सपना जल्छ कि म बिना !! आखिर शङ्का उपशङ्का जति बढायो उति बढ्ने हो । हेर्दाहेर्दै जसको टाउको हातखुट्टा देखिन थाल्छ । म लठ्ठ पर्छु । आहा !! हिजोको कुरूप दृश्य आज कति सुन्दर मान्छे ! आफन्तहरू कोही सम्झिन सकिन । मात्र त्यही अपत्यारिलो दृश्य । त्यही केन्द्रित भइरहेँ । 

बिस्तारै मेरा आँखाहरू रसाउन थाले । मन ढक्क फुल्यो । ऊप्रति खै कुन्नि किन हो, माया जाग्न थाल्यो । बास हरायो, रातहरू अप्ठ्यारा बन्न थाले । दिनहरू असजिला बन्न थाले । आफ्नो शरीरको भार आफैँलाई थाम्न नसके जस्तो भयो । दिनहँु त्यस दृश्यतर्फ धाउन थालेँ । 

बिस्तारो उसले मतर्फ हेरेको जस्तो लाग्छ । मलाइै नै डाकेजस्तो लाग्छ । म बोल्न सक्दिन । ऊ पनि बोलेको छैन । म उसको छेउतिर पाइला लम्काउँछु । नजिकनजिक हुँदै जान्छु । जङ्गलको बीच एकान्त ठाउँ, घरहरू पनि खासै देखिँदैन । लाग्छ त्यहाँ पहिलाको पुरानो बस्ती चाहिँ हुनुपर्छ । जहाँ घरका भित्ताहरू मात्र छन् । छानो छैन कतै । काठका खम्बाहरू छन् । कतै बाख्राको पुरानो पुरानो खोर छ, तर हालको कुनै नयाँ घर र बस्ती भने छैन त्यहाँ । मलाई घर र बस्तीको कुनै पर्वाह छैन । बेपर्वाह यौटा दृश्यमा केन्द्रित छु । हिजो निर्जीवजस्तो देखेको आज सजिवझैँ लागेर उसतर्फ वास्तविकता बुझ्न आतुर छु । 

बिस्तारैबिस्तारै पाइलाको गतिलाई बढाउँदै लान्छु । घरिघरि घरको पनि याद आउँछ । बाबा विदेश हिँड्नुभएको पन्ध्र दिन भइसक्यो । केही खबर छैन । आमा यही पीडामा छट्पटि राख्नु भाछ । म यसरी घरमा नभनि हिँडेकी छु । मनमा अनेकन कल्पनाहरू आउँछन् जान्छन् । खाली मेरो जिज्ञासाको अर्थ चाहिएको छ मलाई । 

म कसैगरी मन मुटु थामेर, साहस बटुलेर हिम्मतका साथ त्यो दृश्य भएको ठाउँमा पुग्छु । आश्चर्य, त्यो त रक्ताम्मे एउटा कोट पो रहेछ । हो झुण्डिएको कोट ! पहाड खसेझैँ भयो । मेरा हातखुट्टा सिथिल भए । मन बेचैन र लाचार भयो । थचक्क भुइँमा बसेर भाव बिहृवल भएँ । त्यो कोट त मेरो बाबाको पो हो त । कसरी यहाँ ? फेरि रक्ताम्मे...!!! 

हिजोको सम्पूर्ण जिज्ञासा यसरी मेटियो, शोक भएर । बिस्तारै यता उति हेर्छु । अलिक पर ढुङ्गामा मान्छे सुतेको देख्छु । दगुरेर त्यहाँ पुग्छु । 

ऊफ ...मेरो बाबाको लाश ...।

विर्तामोड, झापा


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं