Date:2017/09/19 |Tuesday

व्यङ्ग्य - जय झोले

Posted on: September 02, 2017 | views: 47 | शिखण्डी

झोलाकै जमाना छ, आज । बिनाझोला कसैले केही पनि पाउन सक्दैन । झोलाको महिमा अपरम्पार छ । त्यसैले पनि झोलाको विषयमा भजन कीर्तन गर्नेहरुको ताँती सबैतिर पाउन सकिन्छ । लाग्छ, झोलाविना कसैको जीवन सार्थक हुन सक्दैन । ‘अरे, ए जीना भि कोही जिना है लल्लु’, एउटा बाइस्कोपमा अमिताभ बच्चन नाम गरेका हिरोले यसै भनेका थिए । ठ्याक्कै यस्तै भएको छ अहिले, झोला नबोक्नेहरुको जिन्दगी । झोलालाई सामान्य ठान्नेहरुको अवस्था दयनीय र दुःखदायी छ । झोला बोक्ने र त्यस झोलामा महान वस्तुलाई सजाउने काम गर्नेहरुको जीवन सधैं उज्यालोउज्यालो नै देखिन्छ ।

एकफेर नजर दिनुस् त, सडकमा हिँड्ने सबै मानिसको काँधमा र हातमा झोला देखिन्छ । कसैको काँधमा सुन्दर झोला हल्लिरहेको हुन्छ भने कसैको काँधमा कुरूप झोला पनि देख्न सकिन्छ । तर जस्तो रूपरंगमा भए पनि झोला बोकेका नै हुन्छन् मानिसले । महिलाका हातमा काँधमा झोला त उहिलेदेखि नै देखिएको हो, तर हरेक पुरुषको हातहातमा, काँधकाँधमा झोलाको बहारले झोला नबोक्नेहरु त जुङ्गा नभएका पो हुन् कि भन्ने लाग्न थालेको छ ।

यहाँ पिलास्टिकको झोलाको कुरा गरिएको होइन, किनभने पिलास्टिकको झोला त लगभग हराएर गइसके जस्तै भएको छ । कुनै सामान किन्न गए पनि झोला काँधमा भिड्नै पर्छ, छायाँ जस्तै बनाएर । झोला नबोक्नेलाई त दुकानदारले पनि वास्ता गर्दैनन् । योसँग त झोला पनि छैन, यसले के सामान किन्ला र ! यस्तै सोच्छ दुकानदार अर्थात पसलेले । 

उहिलेउहिले त थोङ्गाको प्रयोग व्यापक हुँदै आएको हो । कहिले काँही त किलोका किलो चिनी पनि त्यही थोङ्गामा यसले धेरै पटक ओसारेको छ । अहिले त थोङ्गा त विस्मृतिमा पुगिसक्यो । अहिलेका मानिसलाई थोङ्गाको कुरा सुनाउने हो भने बुढापाकालाई अचेल इन्टरनेटको कुरा सुनाएभन्दा पनि चर्को हुनसक्छ । पिलास्टिक अझै विस्थापित भएको छैन बरु, थोङ्गा त्यसरी हराइसकेको छ । झोलाकै अर्को रूप थियो त्यो कागजी वस्तु । पिलास्टिक हटाउने कुरा भइसक्दा पनि थोङ्गाले पुनरजीवन पाउन सकेको छैन । पाउने छाँटकाँट पनि देखिँदैन । किनभने त्यो थोङ्गाले गर्नुपर्ने कुनै पनि जोडदार काम गर्न सक्दैन । त्यो हिसाबले त झोला धेरै बलियो र सहयोगी । यही सम्झिँदै आएका छन् झोलेहरुले ।

आफूत परियो थोङ्गे । अचेल झोलेहरुको दिन नै हो भन्दा हुन्छ । झोला छ त सबै छ झोला छैन त केही पनि छैन, ‘छन् गेडी सबै मेरी छैनन् गेडी सबै टेढी’ भने जस्तै । त्यसैले पनि होला यो धतुरेलाई अहिले आएर अलिकत िचिन्ताले भने सताएको छ । किनकि यसले  झोलाको महात्म्य कहिले पनि पढेन र झोलाका विषयलाई लिएर कहिले पनि चिन्तन गरेन । यतातिर चिन्तन गर्दै गएको भए यसले पनि मौकामा सानदार चौका चै हान्ने रहेछ । तर त्यो अवसर नै यसले गुमायो । अब त ‘किन चाउरिस मरिच आफ्नै पिरोले’ भन्नुपर्ने भइसकेको छ । पहिले नै दायाँबायाँ नसोचेर झोलाको महात्म्यतर्फ विशेष ध्यानदृष्टि दिएको भए आज यो पनि यसको लगोँटिया यार ‘गुलटेन’ जस्तै माथि पुगिसक्थ्यो होला । बेलामा बुद्धिको बिर्को नखोल्दा कति गाह्रो हुँदो रहेछ भन्ने यसले विचार गर्न थालेको छ । अब गाडी खुलिसकेपछि पछुताएर के नै हुन्छ र ?

झोला बोक्ने धेरै मानिसमध्ये एउटा झोला कुनै पनि बेला काँधमा खाली नछोड्ने मानिस हो ऊ अर्थात गुलटेन । उसले गाउँदेखि नै झोला बोक्न सुरु ग¥यो । उसले झोला बोक्दा यसले भने हातैमा किताब बोकेर खाली खुट्टा स्कुल धाएको हो । ऊ चैँ तरकारी बोक्ने जालिदार झोलामा भए पनि किताब बोकेर ल्याउँथ्यो, ‘हुने बिरुवाको चिल्लो पात सरी’ । हुनेखाने त स्टिल र सिल्भरका बस्ता (किताब बोक्ने बाकस) नै ल्याउँथे । तिनका कुरा भो नगरौं । 

गुलटेनको सोच भने दीर्घकालिक थियो । त्यसैले त उसले आज झोला बोकेरै आफूलाई माथि उकासेको छ । ऊ त अहिले ठूलो मानिस भएको छ । ऊ कति ठूलो भएको छ भन्ने उसको चालढालले देखाउँछ । उसको झोलाको रूपरंग नै फेरिएको छ, कुनै नेताको चुनाव जित्ने बित्तिक्कै शारीरिक चालढाल नै फेरिएजस्तो । अहिले त यही छ नि, नेताहरुको निकट बस र आफूले चाहेको कुरा गर । र त्यसका लागि झोला बोक्नु अपरिहार्य भएको छ । झोला बोक्न वा झोला बोकेर पनि त्यसको सही र सार्थक प्रयोग गर्न जानिएन भने त्यो झोलाको कुनै अर्थ रहँदैन ।

यो मामिलामा गुलटेन एक नम्बरको छ । झोलाको बानी लगाउनैका लागि ऊ घरबाट तरकारी तिउन किन्ने झोलामै किताब बोकेर आउँथ्यो । त्यही तरकारीको झोलाले ऊ आजको उच्च तहको झोले हुन पुगेको छ र उसको झोला पनि अब सानदारको झोलामा परिवर्तित भइसकेको छ ।

एकदिन आफ्नो शरीरको अङ्ग सरह नै मानिएको झोला बोकेर गुलटेन यस धतुरेको कुटियामा आइपुगेको थियो । उसलाई निकट पाएपछि उसको झोलाको कुरा सुन्न मन लाग्यो । उसलाई झोलाको महŒवबारे खुलेर प्रकाश पार्न मजस्तो अदना मानिसले अनुरोध गरेपछि उसले झोलाका विषयमा धेरै कुरा बतायो । 

ऊ भन्दै थियो, ‘यो झोलाले मानिसलाई कहाँदेखि कहाँसम्म पु¥याउँछ, तँलाई थाहा नै छैन । यदि थाहा भएको भए आज तँ मभन्दा माथि पुगिसक्थिस् । तर हेर, झोला बोकेर मात्रै पनि हुँदैन, त्यो झोलामा आफ्नो प्रयोगका लागि कम र अरुको प्रयोगका लागि धेरै किसिमका वस्तुलाई आश्रय दिनुपर्छ । अनि समयसमयमा ती वस्तुहरुको प्रयोग गर्न सक्नुपर्छ । अनि मात्रै यो झोलाले काम दिन्छ । होइन भने यसले कुहिएको टमाटर र आलु बोक्नेबाहेक अरू केही काम गर्न सक्दैन । 

गुलटेनको लेक्चर सुनेर यो रन्थनियो । रन्थनिनुबाहेक यसले अरु केही गर्न सकेन । किनभने झोला बोकेरै आज उसको जीवन नै परिवर्तन भइसकेको छ । त्यसैले त भन्दैछ गुलटेन, जय झोला । 

मैले पनि उसको प्रशंसा गर्दै भनेँ, जय झोले । जय झोले ।  

 

  

   


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं