Date:2017/09/19 |Tuesday

गुटउपगुटले साहित्यलाई हानी पु¥याएको छ

Posted on: September 02, 2017 | views: 55 |

साहित्यकार शीतल गिरीको कलम विशेषतः साहित्य र संस्कृतिमा चल्दै आएको छ । विगत लामो समयदेखि साहित्य र संस्कृतिको सेवामा सक्रिय रहँदै आएका लेखक शीतल गिरीको बाल्यकाल सुदूर पश्चिमको कञ्चनपुर र रौतहटको गौरमा बित्यो । केही वर्षयता उनी राजधानीमै बसेर आफ्नो लेखनकर्मलाई निरन्तरता दिँदै आइरहेका छन् । हालै लेखक गिरीसित समकालीन साहित्यका विषयमा लामो कुराकानी भएको थियो । उनीसँग भएको कुराकानीको मूल अंश प्रस्तुत छ ।  

  तपाईंको लेखनका सन्दर्भमा केही कुरा राखिदिनुस् न । 

म नेपाली भाषा एकदम कम बोलिने समाज भएको तराईको दुर्गम गौरमा हुर्किएको हुँ । त्यहाँ तीसको दशकमा साहित्यको बारेमा चर्चा चलेको, गोष्ठी हुने गरेको भएको मलाई थाहा छैन । कञ्चनपुर जिल्लाको महेन्द्रनगरको श्री वैद्यनाथ हाई स्कुलमा कक्षा ६÷७ मा पढ्दा सो विद्यालयका हेडमास्टर श्रीधर पन्तको पहलमा प्रत्येक शुक्रबार कुनै न कुनै रचनात्मक कार्यक्रम भइ नै रहन्थ्यो । कविता वाचन कार्यक्रम पनि हुने गरेको थियो । पहिलो प्रभाव मलाई विद्यालयको र त्यसपछि पाठ्य पुस्तकमा छापिएका कविताको परेको हो । सानैदेखि जिज्ञासु स्वभावको म बसाइसराइ गरी गौर आएपछि त्यहाँ रहेको ऐतिहासिक ‘कलाकुञ्ज पुस्तकालय’को सदस्य बनेर नेपाली र हिन्दी भाषाका पुस्तकहरूको अध्ययन गर्ने मौका पाएँ । मैले सो पुस्तकालयमा उपलब्ध प्रायः जति हिन्दी उपन्यास दिल खोलेर पढ्ने अवसर पाएँ । 

यसरी विभिन्न विधाका पुस्तकहरू पढिसकेपछि मलाई पनि केही न केही लेख्ने प्रेरणा जाग्यो । त्यही समयमा एउटा बृहत् कवि गोष्ठीमा मेरो “नारी” शीषकको कविता प्रथम भयो । सो कविता ‘महाकाली’ कविता संग्रहमा समावेश छ । त्यसपछि निरन्तर साहित्यको फाँटमा नियमित रूपले आफ्नो उपस्थिति कुनै न कुनै रूपबाट जनाउँदै आएको छु । त्यसो त २०३८ सालको चैत महिनाको सागर साप्ताहिकमा “मृत्यु” मेरो पहिलो प्रकाशित रचना हो । सो कविता अमर गिरीको नाममा छापिएको छ । अमर गिरी नाम भएका कवि पहिलेदेखि नै रहेको थाहा पाएपछि भने चालिसको सुरुदेखि शीतल गिरीको नामबाट लेख्न थालेको हुँ । 

आफ्नो समग्र जीवनलाई कसरी बुझ्दै हुनुहुन्छ ? वा बुझिसक्नुभयो ? कि बाँकी नै छन् ?

अरू जस्तै म पनि आफ्नो जीवन बुझ्ने प्रयत्नमै छु । बुझिसकेँ भन्नुको अर्थ हो— झुठो बोल्नु हो । जीवनको रहस्य भनेको बाँच्नुमै छ । जो हरेस खान्छ उसले केही बुझेको हुँदैन । गतिशील भएको हुँदा पछि पछिकाले पनि बुझ्ने प्रयत्न गर्ने नै छन् । यसो भनौं, जीवनका गुत्थीहरू फुकाउन समय सदुपयोग गर्ने नै छन् । 

तपाईंलाई आफ्ना मौलिक कृतिहरू निकालेपछि कस्तो प्रकारको अनुभूति हुने गर्छ ? 

आफ्नो मौलिक कृति प्रकाशित हुँदा नरमाउने को होला र ! रमाइलो अनुभूति ममा पनि भएको छ । साथै अझ विश्वसनीय कृति लेख्न सकँु भन्ने जिम्मेवारी बढ्न गएको अनुभूति हुन्छ । म इतिहास र सांस्कृतिक साथै दर्शनमा रमाउने, काम गर्ने मानिस भएकोले मेरो कामलाई समाजले मन पराएर गरेको सम्मान स्वीकार गरेको छु । समाजले यथार्थ बुझेर क्षमताअनुसारको सम्मान, योग्यलाई गरोस् भन्ने चाहन्छु । जसलाई गरे पनि योग्यलाई गरेको राम्रो । तर अयोग्यलाई सम्मान, अमुक मन्त्रीको भिनाजु भएको नाताले इतिहासकारको रूपमा एकजना व्यक्तिलाई गतसाल एक प्रख्यात पुरुषको नामको सम्मान भिडाइएको थियो, जसको इतिहास लेखनमा कुनै योगदान नै छैन— दिँदा सम्मानको अपमान भएको छ । यस्तो कहिले नहोस् । नहोस् सम्मानको गरिमा घटाउनु हँुदैन जस्तो लाग्छ मलाई । सम्मान दिने र लिने दुवैमा गर्वको अनुभूति हुन सक्यो भने सम्मानको सार्थकता रहन्छ ।

आफूले अहिले बिताएको यो जीवनबाट कतिको सन्तुष्ट हुनुहुन्छ ? 

जीवनका पाटाहरू थुपै्र छन् । म साहित्य मनपराउने र लेख्ने भएको हँुदा जब चाहेको जस्तो रचना गर्न सक्छु, अवश्य जीवनदेखि सन्तुष्ट भएको पाउँछु । र यही सन्तुष्टिले मभित्र अझ धुइपत्तालका साथ नयाँ कार्यमा लाग्न घच्घच्याउँछ । र म अध्ययन र लेखनमा जुटछु । यस्तो सक्रिय र सार्थक जीवनबाट असन्तुष्ट हुने त कुरै आउँदैन । असन्तुष्ट भनेको चाहेको जति काम गर्न नसक्नुमा मात्र हो । 

नेपालको आम मोफसलीय साहित्यिक गतिविधिलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ? 

कुरोको चुरो भनेको मोफसल र केन्द्र यति नै हो । देशमा जेजस्तो राजनीतिक परिवर्तन आए पनि मुख्य कुरो सुविधा केन्द्रमा रहने कि चारैतिर छरिने भन्ने हो । जबसम्म बाँच्नका लागि, सुविधाका लागि, कमाउनका लागि अथवा जुनसुकै बहानामा केन्द्रमा बसाई सर्ने व्यवस्था रहन्छ, तबसम्म केन्द्र भञ्जनको स्थिति आउँदैन । सम्पूर्ण कुराको सुविधा सम्पन्न जब मोफसल हुन्छ तब कोही केन्द्र ताक्दैनन्, जब मोफसलकाले केन्द्रको वास्ता गर्न छाड्छन् तब स्वाभाविक्रूपमा भञ्जन हुन्छ । त्यसो त केन्द्र भनेको मोफसलका आएर बनाएको थलो न हो । यो आफंै आफूमा बनेको त होइन, हो बन्ने वातावरण चाहिँ थियो । त्यो वातावरण अन्त पनि बनाउन सक्नु प¥यो, बस कुरा यत्ति हो ।  

अहिले धेरै पुस्तकहरू प्रकाशित भएका छन् । भित्रैसम्म छोएका वा रमाएर एकै बसाइमा अध्ययन गरिएका कृतिहरू कत्तिका छन् त ?

वर्तमान समयमा निस्केका फलानो फलानोको त नभनौं, जसमा गम्भीर पाठक तान्न सक्ने क्षमता हुन्छ, रहन्छ त्यस्तो कृति आख्यान होस् या अन्य जेसुकै, मलाई मन पर्छ । मेरो पहिलो रोजाइ भनेको इतिहास, संस्कृति र दर्शन नै हो । राम्रा कृतिहरू मेरो पहँुचमा रहेसम्मको, खोज्दा सहजै उपलब्ध भएसम्मको पढ्ने गरेको छु । नढाँटी भन्नु पर्दा नेपालीभन्दा पनि हिन्दी पुस्तकले मेरो पढ्ने तलतल प्रायः मेटाउने गर्छ । यो एक वर्षको अवधिमा मैले अध्ययन गरेका कृतिमा ः नेपालका जातीय संस्कार, भाग १, २ र ३, को हुन् त नयराज पन्त, जिन्दगीका मोडहरू “परशु प्रधान”, (४) योजनगन्धा “विनोदप्रसाद धिताल”, (५) कमलेश्वर की यादगारी कहानियां, हिडिम्ब, सन्झ्याल, ओसोको सर्वसार उपनिषदलगायत रहेका छन् ।  

यतिका मान्छेहरू नेपालमा साहित्य लेख्छन् ? तपाईंले नै यसरी परिश्रमपूर्वक साहित्य किन लेख्नु प¥यो होला ? 

साहित्य लेख्नु, पढ्नु भनेको पनि एउटा लत हो । कतिपय मानिस तास खेल्नमा आनन्द मान्छन्, कोही यौनमा रमाउँछन्, कोही भ्रमण गर्न चाहन्छन्, कोही परिकार बनाउन जुट्छन्, कसैलाई के खाने त कसैलाई केही गर्ने लत लागेको हुन्छ । कुनै लत समाजको नजरमा राम्रो हुन्छ, इज्जत पाएको हुन्छ, कुनै अपमानित हुन्छ । हो, ममा पनि लेख्ने र पढ्ने अनि साहित्यिक वातावरणमा रमाउने लत लागेको छ । यस कुरामा मलाई सन्तोष छ, यो लतलाई कुलत भन्ने र हेला गर्ने गरेको पाएको छैन, बरु सम्मान गर्ने पाएको छु । र म स्वयं सम्मानित पनि भएको छु । मलाई कसैले लेख भनेर मैले लेखेको पनि होइन । यस्तो लेख्नुपर्छ भनेको हुँदा त्यस्तै लेखेको पनि होइन । तर पनि म लेख्छु, किन ? मलाई लाग्छ प्रश्न यही हो । जुन कुरो म अघि मैले जसरी सोचेर लेखिएको पाउन्न त्यस विषयमा लेख्न मन पराउँछु र लेख्छु । कसैको करले, पुरस्कारको लोभले लेख्ने गर्दिन । मेरो लेखनको एउटै उद्देश्य हो— आफूले थाहा पाएको जानेको कुरा समाजका अगाडि ल्याउनु ।  

साहित्यमा कल्पनाभन्दा यथार्थ बढी आउनुपर्छ मलाई जस्तो लाग्छ । मानव समाजको सचेत नागरिक लेखक हो समाजलाई रूपान्तरण गर्नका लागि सांस्कृतिक रूपमा परिवर्तन हुनु जरुरी छ । सांस्कृतिक रूपमा परिवर्तन नभई राजनीतिक रूपमा परिवर्तन हुँदैन, त्यसैले समाज परिवर्तनका लागि स्रष्टामा सचेतनाको अति आवश्यक छ । 

जीवन सुखदुःखको समिश्रण हो । साहित्य जीवनको भोगाइ हो । जीवन संघर्षको अर्को नाम हो । संघर्ष भनेको गति हो । गतिविहीन जीवन मरेतुल्य हो । हरेस नखाई गतिशील बनेमा एकदिन पक्कै सफल भइन्छ । साहित्य पनि जीवनको प्रस्तुति हो जसमा इतिहास लुकेको हुन्छ, वर्तमान हाँसेको हुन्छ र भविष्यप्रति आशावान बन्छ । म साहित्यलाई विगतको अध्ययन गरेर वर्तमान सुखमय बनाउने कला भन्छु, र यस लतमा रमाएको पनि छु ।


डायस्पोरा लेखनलाई तपाईंंको दृष्टिबाट कसरी मूल्याङ्कन गर्नु हुन्छ ? 

साहित्य भनेको साहित्य हो, यो र त्यो हुनसक्दैन । क्षमता भएका, प्रतिभा भएकाले जहाँ जसरी लेखे पनि भएकै छ । सलमान रुस्दी, बंगलादेशी लेखीका तसलिमा नसरीन जहाँ जसरी बसे पनि उनीहरूले आफ्नो लेखनलाई डायस्पोरा भनेको जस्तो लाग्दैन । क्षमता भएकाले भनिरहनु पनि पर्दैन । एक त होस्टल्याण्डलाई कर्मभूमि बनाउने बित्तिकै सिर्जना गरिएको साहित्य डायस्पोरा भन्ने जुन हल्ला छ नेपालमा त्यो दुई किसिमबाट बढी प्रचारित हुन गएको छ ः १. होस्टल्याण्डमा मरी मरी काम गरी रमकजम्मा गरेकाहरूलाई फुर्काएर केही झार्ने समूह नेपालमा छ, तिनीहरूको चलखेल र अर्को २. होस्टल्याण्डमा बसेर केही कमाएका र आफ्नो नाम कमाउन केही लेखीटोपलेकाहरूले चलाएको हल्ला । यथार्थमा होस्टल्याण्डलाई कर्मभूमि बनाएका लेखकले होमल्याण्डलाई सम्झेर होस्ट र होम–ल्याण्डको संस्कृति, प्रकृति, सुखदुःख इत्यादी सम्झँदै दुवैबीच तुलना गर्दै लेखिएको साहित्य मात्र डायस्पोरा साहित्य हो । जसले जे पायो त्यही लेखेको चाहिँ होइन र हुन सक्दैन । राजबकै कुरा लीऊ उहाँ नेपालमा बस्दा पनि साहित्य लेख्नु हुन्थ्यो, उता बस्दा पनि लेख्दै हुनुहुन्छ । वहाँहरू जस्ता केहीमा प्रतिभा छ, साहित्य लेख्नु हुन्छ यहाँ बस्दा र उहाँ बस्दाको कुरा नै आउँदैन । आफूले भोगेको देखेको यथार्थ साहित्यमा आउने हो, उताको भोगाइ यताको भन्दा अवश्य फरक छ, अनि साहित्यलेखनमा अलि फरकपन आउँछ, यो फरक पन नै नेपालमा हल्ला गर्ने जमातले भने जस्तो डायस्पोरा भने होइन ।

साहित्यिक क्षेत्रमा विद्यमान गुट उपगुटलाई तपाईंं कुन रूपमा लिनुहुन्छ ? 

गुट उपगुटहरूले केहीको चाहना त पूरा हुन सक्छ, भइरहेको पनि छ । तर यसले समग्रमा नेपाली साहित्यलाई भने हानी नै पु¥याएको छ ।

लेखक नभएको भए तपाईं यो जुनीमा अरू के बन्न चाहनुहुन्थ्यो ? 

लेखक नभएको भए म चित्रकार बन्थेँ । भावनाले व्यक्त हुने बाटो खोज्छ । सबभन्दा ठूलो कुरा त साधना हो । म साधना गर्न डराउन्न । यसकारण आफूले अपनाएको या हिँडेको बाटोमा पछुताएको छैन । पछुताउँदिन पनि । 

प्रस्तुति ः पेशल आचार्य 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं