Date:2017/11/23 |Thursday

पीडितका पीडाबीच दशैं

Posted on: September 05, 2017 | views: 85 | रिसव गौतम

सदाझै नेपालीहरूको महान् चाड दशै यसवर्ष पनि नजिकै आइपुगेको छ । अथवा यसरी पनि भनौं, दशैंले नेपालीलाई छपक्कै छोइसकेको छ । दशैं नजिकिएकै कारण बजार पनि जोडतोडका साथ तात्न थालेको छ । रेमिट्यान्स प्रवाह बढ्न थालेको छ । व्यापारमा वृद्धि हुन थालेको छ । 

तर ‘आयो दशैं ढोल पिटाई, गयो दशैं ऋण बोकाई’ भन्ने दशैं सन्दर्भको उखान नेपाली गरिब–गुरुवाहरूको हकमा साँच्चै नै लागू हुँदै आएको छ । यसवर्ष त झन् यो उखान सतप्रतिशत सत्यसावित हुँदैछ । किनकि परारको शक्तिशाली भूकम्पभन्दा पनि बढी क्षति यसवर्ष तराई र विभिन्न पहाडी क्षेत्रमा गएको बाढीपहिरोले गराएको छ । आज अवस्था यो छ कि बाढी तथा डुबानका कारण हजारौंले घरबार त्याग्नु परेको छ । खाने अन्नदेखि लगाउने लुगासम्म डुबानको चपेटामा परेको छ । यसवर्ष तराईको कृषि क्षेत्रमा पनि ठूलो नोक्सानी पुगेको छ । यसरी प्रकृतिले नै चरम गरिबी दिएर गएको छ, यसवर्ष तराईवासीहरूलाई । तर पनि महान चाड त दैलोमै आइपुगेको छ । जस्तै विपदको घडीमा पनि नआत्तिने र दुःखमा पनि रम्ने नेपाली जनताले महान् चाड दशैं उल्लासकै साथ मनाउने विषयमा दुईमत छैन ।

 खासगरी दक्षिण एसियामै सम्भवतः सबैभन्दा बढी धनी–गरिबबीचको असमानता कायम रहेको र २०७२ वैशाखमा गएको शक्तिशाली भूकम्प, ०७४ साउनमा भएको तराई क्षेत्रको बाढी एवं डुबान आदिले लाखौं जनता गरिबीको सूचीमा थपिएकोमा दुईमत छैन । यसै बीचमा चाडबाड संघारमा आइपुगेको छ । यसरी हेर्दा नेपालमा दशैं पर्व थप गरिबी बढाउने पर्व हुने गरेको छ भनिरहँदा गलत नठहर्ला । भूकम्प, नाकाबन्दी, बाढी तथा डुबान अनि खर्चिलो दशैं पर्वको नतिजा भनेको गरिबहरूको सूची बढाउने नै हो । यसकारण गरिबी र दशैंको सम्बन्ध सौहार्द्रहीन एवं पेचिलो बन्दै गएको महसुस हुन्छ । 

यद्यपि, दशंै हाम्रो राष्ट्रिय गौरव र आपसी मेलमिलापको पर्व हो । यो पर्व हाम्रा पिता पुर्खाहरूले नेपालीपन र नेपाली हुनुको गौरव गर्ने गरी मनाउँदै आएको विगत छ । 

परापूर्वकालदेखि मनाइँदै आएको महान चाड दशैं धनी–गरिब सबैका लागि उत्तिकै महŒवका रूपमा मनाइँदै आइएको छ । यो चाडबाड सबैलाई एकैनासले लाग्ने गर्छ । तर पछिल्ला वर्षमा यो पर्व प्रतिष्ठाको विषयसमेत बन्दै आएको छ । ‘घाँटी हेरी हाड निल्ने’ भन्दा पनि देखासिकी गर्नै पर्ने पर्वको रूपमा दशैं विकसित भएको छभन्दा हुन्छ । तर दशैंको सान्दर्भिकता भने झन–झन बढ्दै गएको महसुस गर्न सकिन्छ । 

नेपालीहरू संसारका २ सयभन्दा बढी राष्ट्रहरूमा रोजगारी र अन्य सिलसिलामा बाहिरिएका छन् । झण्डै ५० लाख नेपालीहरू यति बेला विश्वका विभिन्न देशमा छरिएका छन् । तर तिनका लागि स्वदेश फीर्तिको साइत सामान्यतया दशैं–तिहारले नै जुराइदिएको हुन्छ । विश्वभर छरिएर रहने नेपाली प्रकृति र प्रवृत्तिलाई एकीकरण गर्ने काम वास्तवमा विजयादशमीले नै गरिरहेको छ । यस हिसाबले दशैंको महिमा झन् बढ्ेको पाइन्छ । 

दशैं एउटा मनाउनका लागि मनाइने पर्व मात्र नभएर नेपाली मौलिकता, नेपाली स्वाभिमान, नेपाली गौरब, नेपाली पहिचानको एउटा शक्तिशाली बिम्बसमेत हो । विश्वसामु गौरव गर्ने र पहिचान दिलाउने सांस्कृतिक धरोहर दशैं नै हो भन्दा हुन्छ । नेपाली जहाँ पुगोस्, जे–जस्ता दुःख वेदना र कर्महरू गर्न पुगोस्, जे–जस्तो वातावरणमा खुम्चिन पुगोस्, कम्युनिष्ट बनोस् या क्रान्तिकारी, उसको निम्ति दशैं जीवनको अमूल्य अंग नै बन्ने गर्छ । नेपालमै पनि शास्त्रीय माक्र्सवादको बर्दी ओढेर ढोंग पिट्नेहरू र धर्मकर्मलाई तिलाञ्जलि दिनेहरूसमेत दशैंको दिनमा रमझममै व्यस्त हुन्छन् ।

यस हिसाबले विजयादशमी नेपालीहरूका लागि महान उत्सव हो । तर राजनीतिक आन्दोलनहरू र त्यसका उपलब्धिहरू वास्तविक रूपमा तल्लो तहका जनताहरूको हितमा हुन नसक्दा मुलुकमा धनी र गरिबबीचको असमानता तुलना नै गर्न नसकिने गरी फराकिलो हुँदै गएको छ । सरकारी तथ्यांकले २२ प्रतिशत मानिस गरिबीको रेखामुनि रहेको अनौठो तथ्याङ्क जाहेर गरे पनि युएनडीपीलगायत अन्तर्राष्ट्रिय संस्थाहरूले प्रक्षेपण गरेको तथ्यांकहरूमा नेपालमा अझै ४० प्रतिशत नेपाली गरिबीकै रेखामुनि देखिन्छन् । धनी–गरिबबीचको यो अवस्थाले पछिल्ला वर्षमा दशैं केवल ६० प्रतिशत धनीहरूका लागि र बाँकी ४० प्रतिशत गरिबहरूका लागि दशैं दशाको रूपमा चित्रित हुँदैछ । धनी–गरिबबीचको यस्तो असमान अवस्थाको अन्त्य नहुँदासम्म सबैका लागि दशैं दशंै हुन सक्ने स्थिति छैन । यसर्थ दशैंको रौनक र उत्साहमा समानता ल्याउन सर्वप्रथम गरिबी निवारणलाई जोड दिनुपर्ने अवस्था छ । सरकारले धनी र गरिबबीचको आर्थिक खाडल कम गर्ने गरी कर प्रणाली अपनाएको भए, विकास कार्यक्रम अघि बढाएको भए, स्वास्थ्य–शिक्षा दिलाएको भए, बजेटमार्फत सन्तुलित विकास निर्माण गरेको भए यस्तो अवस्था सायद आउने थिएन । 

नेपालमा २०१३ सालदेखि नै गरिबी निवारणको योजनाबद्ध कार्यक्रम थालनी भए पनि गरिबी र असमानताको दर झनै वृद्धि हुँदै आएको छ । गरिबी निवारण र योजनाबद्ध आर्थिक विकासका कार्यक्रमहरू एकपछि अर्को गर्दै असफल भएको कारणबाट आज पूरै देश रेमिट्यान्स आयमा निर्भर हुन पुगेको छ । सक्रिय युवा जनशक्ति पूरै पलायन छन् । देशको राजनीतिक व्यवस्था र संरचना पूरै विकलाङ्गझैं छ । दशैंजस्तो सद्भाव र गौरवको चाडपर्व वरपरसमेत मुलुक भिषण आन्दोलन र खिचातानीमा छ । सत्ता हानथापमा छ । दलहरूबीच आपसी एकता र सद्भाव कायम हुन सकेको छैन । संविधान आए पनि फेरि पहिलेकैजस्तो फोहोरी बहुमतीय सत्ता हानथाप चुलिँदै गएको छ । यस किसिमको अवस्था वास्तवमा जंगली प्रवृत्तिभन्दा कम छैन । 

अर्ध चेतनशील एवं अर्ध शिक्षित नेपाली नेताहरूको बाह्रैमास जस्तो चलिरहने यस्तै नाटकहरूको मञ्चनले नेपाल एसियामा सबैभन्दा गरिब र पूरै विश्वमा गरिब देशहरूमध्ये नम्बर ७ मा परेको हो भन्न सकिन्छ । आर्थिक विकासको हेतुले अहिले आएर भुटान र अफगानिस्तानले समेत नेपालाई उछिनीसकेको छ । देशको यस्तो विसंगतिपूर्ण अर्थराजनीति अवस्थामा भित्रिँदै गरेको विजयादशमी कसरी सबैका लागि सुखद रहला ? कसरी उल्लासमय दशैं बन्ला र ? यो विषयमा आशंका छ । 

सरकारले यदि सबै जनताको दशैं दशैं जस्तो बनेको हेर्न चाहन्छ भने दशैंका लागि विशेष वैज्ञानिक कार्यक्रमहरू ल्याउनैपर्छ । गरिब जनतालाई केन्द्रित गरेर दशैं सम्बन्धी राहत कार्यक्रम ल्याउनैपर्छ । गरिबहरूका लागि दशैं हुनका लागि सरकारले न्यूनतम आधार तय गर्नैपर्छ । अन्यथा सुदूरपश्चिमका भोकमरीग्रस्त बजाङ, बाजुरा, दार्चुला, अछाम, बैतडीलगायतका जिल्लाका अति गरिब जनताको दशैं दशामा सीमित हुनेछ । त्यसैगरी बाढी तथा डुबानग्रस्त बारा, रौतहट, सिरहा, सप्तरीलगायतका पीडित जनताहरूका लागि दशैं दशामा सीमित हुनेछ । त्यस्तै तराईका भूमिहीन जनता, जो आजै कमाएर आजै खाने खालका हुन्छन्, तिनको दशैं दशा नभएर के हुन सक्छ त ? ऋण गरेर पनि छिमेकीको जस्तै गरी मनाउनै पर्ने दशैंको परम्पराले अझ धेरैलाई गरिबहरूको नम्बरमा सुरक्षित गरिछाड्छ ।

अर्कोतर्फ नेपालमा यस्तै चाडबाडको आसपासमा अधिक महँगी र कालोबजारी चल्ने परम्परा नै छ । जसले गर्दा यसै त महँगो चाड झन् बढी महँगो हुने गरेको पाइन्छ । तर सरकारले भने अनुगमनको नाममा सस्तो लोकप्रियता र सन्त्रास मात्र फैलाउन जानेको छ । वास्तविक अनुगमन गरेर महँगी, कालोबजारी र मिसावट रोक्न सरकारले सकिरहेको छैन । यो अवस्थाले वास्तवमा सरकारको उपस्थितिमाथि नै प्रश्न उठाउँछ । किन सरकार नागरिकप्रतिको सामान्य सरकारी धर्महरूसमेत निवारण गर्न सक्दैन ? किन जनताका सामान्य आधारभूत समस्याहरू हल गर्न सक्दैन ? सरकारले जन–जीवनका यस्ता समस्या हल गर्न सक्दैन भने वास्तवमा उसले जनतासँग कर असुल्ने योग्यता पनि राख्न सक्दैन । जनतासँग वर्षेनी चर्को शुल्कमा कर लिने तर कर तिरेबापतका जनताले पाउनै पर्ने सरकारी सेवा सुविधाको सिन्कोसमेत नभाँच्ने यो कसरी शोभनीय हुनसक्ला ? यसर्थ सरकारले सबैको दशैं समान स्तरको, उल्लासमय र सुखद बनाउन र महँगी एवं अराजकता रोकी जनताको जिउधनको सुरक्षा गर्न विशेष कार्यक्रम ल्याउन जरुरी छ । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं