Date:2017/09/19 |Tuesday

विद्यार्थी मौनताले बढ्दै अराजकता

Posted on: September 07, 2017 | views: 22 | राजन कार्की

बुद्धिभन्दा चरित्र ठूलो, सत्ताभन्दा विवेक ठूलो हो । यो इमरसनको अभिव्यक्ति थियो ।

कति दिन चल्ने छ यो बेढङ्गको चाला

बालुवाको घरजस्तै भत्किनेछ सारा । 

यो कविता युगकवि सिद्धिचरण श्रेष्ठले लेखेका थिए । नभन्दै बेढङ्गका कारण, चरित्र र विवेकहीनताका कारण पञ्चायत ढल्यो, बहुदल सिद्धियो र लोकतन्त्र आएको छ । लोकतन्त्रमा पनि बेढङ्गकै चाला छ । तैपनि लोकतान्त्रिक सोचमा सत्यता र समयानकूल ताजगी आउन सकेको छैन । खासगरी युग हाँक्ने युवा, विद्यार्थीशक्तिमा नैराश्यता बढ्नु खतराको आहट हो ।

ग्याँसको भाउ बढोस् कि विद्यार्थी शुल्क, विद्यार्थीले सडक तताइहाल्थे, सरकारलाई झुकाइ छाड्थे । अहिले जुन लोकतन्त्रको अभ्यास भइरहेको छ, यस परिवर्तनका लागिसमेत विद्यार्थी वर्गको रगतपसिना बगेको छ । नेपालको जुनसुकै परिवर्तनमा पनि विद्यार्थीको अहं भूमिका रहेको छ । तर परिवर्तन पछिका १२ वर्षमा विद्यार्थीको भूमिका गौण हुन पुगेको छ । खासगरी हालैका दिनमा जेजस्तो प्रशासनिक, राजनीतिक र आर्थिक क्षेत्रहरू तहसनहस भइरहेका छन्, यसबारेमा विद्यार्थी वर्ग अन्यमनस्क देखिएको छ ।

आयल निगमले जग्गा खरिद गर्ने नाममा सवा अर्बको भ्रष्टाचार गरेको रिपोर्ट संसदीय समितिले नै दिइसक्यो, विद्यार्थीले बोलेनन् । डा. गोविन्द केसीको अनसनबारे विद्यार्थीले मुखै खोलेनन् । संविधान छ तर संवैधानिक अंगहरूमा राजनीतिक भागबण्डा निरन्तर चलिरहेको छ, विद्यार्थी हेरिरहेका छन् । यो परिवर्तनको वाहक बन्नुपर्ने विद्यार्थी समुदाय किन यसरी मरीच चाउरिएझैं चाउरिएको हो ?

सबैलाई थाहा छ, जबसम्म विद्यार्थी तात्दैनन्, भ्रष्टाचार न्यूनीकरण सम्भव नै छैन । आजका विद्यार्थी नै भोलिका चिन्तक, शासक, प्रशासक, सुरक्षाकर्मी बन्ने हुन् । यसरी चिस्सिँदै र चाउरिँदै गएको विद्यार्थी वर्गले राष्ट्रलाई कस्तो भविष्य देला ? विद्यार्थी अर्थात युवा वर्गको संचेतना जति बढ्यो उति समाजमा जागरुकता आउँछ । समाजबाटै हिम्मत र आँट पनि पाउँछ । विद्यार्थी वर्ग मौन बस्दा शासक प्रशासकहरू राष्ट्रिय ढुकुटीमाथि व्यापक धाँधली गरिरहेका छन् । भ्रष्टाचार यसरी बढेको छ कि कुनै क्षेत्र, निकाय स्वच्छ हुनै सकेको देखिँदैन ।

टाढाको कुरा किन गर्ने, काठमाडौं महानगरपालिकाकै कुरा गरौं । चुनावका बेलामा र चुनाव जित्नासाथ राजधानीलाई स्वच्छ, सफा र भ्रष्टाचारविहीन बनाउँछु भनेर गर्विलो जोश देखाएका मेयर विद्या सुन्दर शाक्यले नगरपिताका रूपमा सय दिनको भोग गरिसके । न महानगरभित्र परिवर्तनका झल्का देखियो, न महानगर नै सफा हुनसक्यो । छैन, सडक व्यवस्थापनदेखि बजार व्यवस्थापनसम्म, महानगरभित्रको प्रशासन सञ्चालनमा समेत विद्या सुन्दरको न विद्या काम लाग्यो, न सुन्दरता नै । विकृत महानगर, झन्झन् विकृत बन्दै गएका छन् । महानगर आफैंमा फोहोरको कन्टेनर बन्न थालेको छ । उल्टै महानगरवासीलाई कर थोपर्ने काम भयो, उठाएको करको सदुपयोग भएको एउटा पनि उदाहरण देख्न पाइएन । आफ्ना आमाको त यो गति, कान्छा मामाको भाङ्ग्राको धोती उखान जस्तो स्थिति छ ।

चुनावले संविधान कार्यान्वयन गराउँछ भन्ने ढ्वाङ फुकिएकै हो । संविधान कार्यान्वयन भयो कि भएन थाहा छैन तर भ्रष्टाचार र अनियमितता झन् बढी बलवती भए तेज र तीब्र गतिमय हुन थालेको छ । चाहिएको इच्छाशक्ति हो । कर्मचारीले चलाएर जनताप्रति जिम्मेवारीपन हुँदै भएन भनेर २० वर्षपछि भएको स्थानीय निकायको निर्वाचनमा जनप्रतिनिधि त आए, तिनले कर्मचारीकै लहैलहैमा लागेर जनताप्रतिको जिम्मेवारी के हो ? भन्ने बिर्सिन पुगे ।

नेताहरू औषधिमूलो गर्न विदेश जाने क्रम रोकिएको छैन । सामान्य सेवाग्राहीले सहज सेवा पाउनसक्ने वातावरण सिर्जना हुन सकेको देखिँदैन । सेटिङमा सुनदेखि मानव तस्करी गर्ने काम बढ्दै गएको छ । मिलेमतोमा मेडिकल कलेजलाई सम्बन्धन दिने र प्रधानमन्त्रीको आदेशको मातहतका पदाधिकारीले नै उल्लंघन गर्न थालेका छन् । आखिर किन शासन, प्रशासन र समाजमा अराजकता बढ्दै गएको ? यो सवालको एउटै जवाफ छ– विद्यार्थी युवा वर्गले बाँदरले जसरी आँखा, कान, मुख छोपेर बस्नाले हो ।

युवा विद्यार्थी र समाजको सिधा सम्पर्क हुनैपर्छ । युवा विद्यार्थीले सरकारलाई, शासनमा बस्ने कुनै पनि निकायका प्रमुखलाई खबरदारी गर्नैपर्छ । अन्यथा भूमाफियादेखि मेडिकल माफियासम्म, कमिसन खाने वर्गदेखि मानव बेचबिखन गर्ने दानव प्रवृत्ति मौलाउँदै जानेछ । अहिले जुन तरिकाले अराजकता बढेको छ, त्यो अराजकता सामान्य छैन । असामान्य अराजकताले राष्ट्रको कडी खुस्कँदैखुस्कँदै गएको बोध विश्लेषकहरूले गर्न थालिसकेका छन् । लोकतन्त्रलाई लोक जीवन पद्धति यसरी बसाल्न सकिन्न । नीति र नियम, नैतिकता र इमान शासक र प्रशासकमा हुनु जरुरी छ, होइन भने लोकतन्त्र बालुवाको महल, सोम शर्माको सपना सावित हुन लामो समय पर्खनुपर्ने छैन ।

युवा विद्यार्थीले सुनेका छन्– बहुराष्ट्रवादका कुरा, मधेसवादका कुरा, विखण्डनका कुरा । सीमा अतिक्रमण, सीमामा विदेशीले स्वदेशीको हत्या गरेका घटना र कालापानीदेखि लिपुलेकसम्मका विषयमा युवा वर्गलाई थाहा छ । तर कुन बाध्यता छ तिनीहरूलाई कि मुखै खोलिरहेका छैनन् । सरकारलाई, संसदलाई र जनप्रतिनिधिहरूलाई यति गम्भीर विषयमा ध्यान दिन बाध्य पार्न यही शक्तिले सक्ने हो, यो शक्तिशाली आँधी थामिएकाले जिम्मेवारहरू गैरजिम्मेवार हुन पाइरहेका छन् । कर्तव्यच्यूत भएर आत्मरतिमा रमाइरहेका छन् ।

पहिले राजतन्त्र थियो, अभिभावकत्वका लागि र डर थियो । अहिले राजतन्त्र किनारा लागिसक्यो र अभिभावकत्व भनेको संविधान हो । संविधान कार्यान्वयन नै हुनसकेको छैन । ठूला राजनीतिक दलहरू हुन्, उनीहरू अंशबण्डामा भुलिरहेका छन् । अभिभावकत्व लिन कोही पनि तैयार छैनन् । सबै आ–आफ्ना पार्टी स्वार्थमा लिप्त छन्, पार्टी भनेको राष्ट्र रहेसम्म चल्ने हो भन्ने आत्मबोधसम्म तिनलाई हुन छाडिसकेको छ । राष्ट्र बिस्तारैबिस्तारै मैनबत्ती पग्लिएजसरी पग्लँदैपग्लँदै गइरहेको छ, नेताहरू त्यही गति र मतिमा ओह्रालो यात्रा गरिरहेका देखिन्छन् । एउटा व्यक्ति अथवा शक्ति राष्ट्रको स्थिरता, एकता र विश्वासमा उभिएको देखिँदैन । विभाजित शक्तिहरू शक्तिहीन बनिरहेका छन् र लाभ लोकलाई होइन, पर–लोकले लिइरहेको छ ।

युवा विद्यार्थीहरू हुन् यतिबेला राष्ट्रलाई सही मार्गमा चल्न प्रेरित गर्ने शक्ति भनेको । नेता कस्तो हुनुपर्छ, नेतृत्व कसरी चल्नुपर्छ, संसद भनेको के हो, संसदमा कस्ता विषयमा छलफल हुनैपर्छ र सरकार तथा राष्ट्रपतिले समेत कुन तरिकाले जिम्मेवारी बोध गर्नुपर्छ भनेर दबाब दिने केही कोही छ भने त्यो युवा विद्यार्थी नै हुन् । गल्ती भए सच्याउने र गल्ती भयो भने युवा विद्यार्थीले छाड्दैनन् भन्ने भय यतिबेला कसैलाई पनि छैन । जहाँ पनि मिलेमतो, सेटिङ, प्रभाव र दबाबले काम गरिरहेको छ, यसरी पनि संविधान कार्यान्वयन हुन्छ र ? संविधान कार्यान्वयन हुनका लागि त नीति र विधि बलियो हुनुपर्छ । लोकाचारको भय नहुनाले शासन, प्रशासन नाङ्गिन पुगेका छन् ।

हामीले स्थानीय तहमा कस्ता नेता चुन्यौं, प्रदेश र राष्ट्रिय तहमा कस्ता नेता चुन्नुपर्छ ? यो शिक्षा युवा विद्यार्थीले प्रभावकारी ढंगले सञ्चार गर्न सक्छन् । मतदाता शिक्षामा २५ करोड खर्च भइसक्यो, करोडौं खर्च हुनेवाला छ, तर बदर मतको मात्रा बेपत्ताले बढेको छ । किन ? किनभने सही तरिकाको मतदाता शिक्षा नै दिइएन । जसका कारणले लोकले गलत नेतालाई चयन गर्नसमेत बाध्य हुनुप¥यो । डण्डा देखाएर तर्साएर र पैसा तेस्र्याएरसमेत कतिपयले चुनाव जितेका छन् । असोज २ मा हुन गइरहेको २ नम्बर प्रदेशमा अराष्ट्रिय नाराबाजी गर्नेले पनि चुनाव जित्न सक्नेछन् । कारण युवा विद्यार्थी जागेकै छैनन् र नेताहरू मन लागि गरिरहेका छन् । विदेशीको चलखेलले पनि काम गरिरहेको छ । संसदमै कूटनीतिक चलखेल र भारतीय महावाणिज्य दूतले राजनीति गरेको कुरा उठ्यो र सेलायो । यो विषयमा समेत विद्यार्थीले बेवास्ता गरे ।

चुक युवा विद्यार्थीबाट भइरहेको छ । यसको लाभ उठाएर नेताहरू राष्ट्रविरोधी निर्णय गर्ने साहस गरिरहेका छन् । राष्ट्रको उद्देश्य के थियो, के हुनुपर्छ र उद्देश्य प्राप्तिका लागि के के गर्नुपर्छ, कुनै विषय पनि नेताहरूको प्राथमिकतामा परेकै छैन । युवा विद्यार्थी उदासीन हुँदा गुट, फुट र लुट चलेको छ । पद्धति पाएर मात्र के गर्नु, पद्धतिलाई पालना गर्नुपर्ने मर्यादा नाघेपछि पद्धति एकातिर, शासनव्यवस्था भीरतिर उन्मुख भइरहेको छ ।

निष्कर्षमा भन्नुपर्दा शिक्षा, स्वास्थ्य, सुरक्षालगायतका हरेक क्षेत्रका कमीकमजोरीका विषयमा युवा विद्यार्थीले अभिभावकत्व निर्वाहका लागि खबरदारी गर्न सचेत हुनैपर्छ । ६० लाख युवा रोजगारीका लागि विदेश पलायन हुने भएका र हुर्कँदो युवातप्का राजनीतिको दलदलमा फस्दै जाने हो भने देशको भविष्य अन्धकार मात्र हुन्छ । उदाएको लोकतन्त्र उज्यालो नहुँदै अस्ताउनेछ । भएको र आउने राजनीतिक र प्रशासनिक नेतृत्व पनि उही ड्याङका मूला, जुन जोगी आए पनि कानै चिरिएका भन्ने मात्र हुन जानेछ ।

त्यसैले ली क्वान यु अथवा विस्मार्क नजन्मिएलान्, इस्पातको धारजस्तो एउटा देशभक्त र देशभरिले पत्याउने नेता जन्माउनका लागि युवा विद्यार्थीहरूले भूमिका खेल्नैपर्छ । भएको छानो भत्किसक्यो, नयाँ छानो बनाउन नसकिरहेको यो स्थितिमा युवा विद्यार्थीले घाम, पानीबाट बचाउन एउटा जागरुक भूमिका निर्वाह गर्नैपर्छ । चेतना भया ।

rajan2012karki@yahoo.com


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं