Date:2017/09/19 |Tuesday

राजनीतिमा युवालाई आरक्षण किन नदिने ?

Posted on: September 07, 2017 | views: 38 | चन्द्रभूषण साह

हरेक नीतिको मूलनीति मानिने राजनीतिमा युवा आरक्षण सुन्दा र पढ्दा धेरैलाई असहज लाग्न सक्छ, तर यो हाम्रो देशको कटु यथार्थ हो । किनभने, नेपालको कुनै पनि राजनीतिक पार्टीको मूल संगठनमा युवाहरूको उच्च नेतृत्व र निर्णय तहसम्मको पहुँच लगभग शून्यशून्य नै छभन्दा खासै आपत्तिजनक नहोला । विगतदेखि वर्तमानसम्म देशका हरेक राजनीतिक परिवर्तनका लागि भएको आन्दोलनहरूमा नेतृत्वदायी सक्रिय सहभागितादेखि बलिदानी भूमिकामा समेत युवाशक्ति परिवर्तनको मूल संवाहकको रूपमा उभिएका छन् । यसका लागि तिनले आफ्नो भूमिका अग्रपङ्क्तिमा दर्ज गराएका छन्, तर परिवर्तित अवस्थाको व्यवस्थापक युवा नै भएको उदाहरण भने बिरलै पाइन्छ । चाहे त्यो क्रान्तिकारी आन्दोलन अधिकार, पहिचान, विकास र समृद्धि, जेसुकैको नाममा किन नहोस् ?

वर्तमान समयमा नेपालमा आरक्षण शब्दसँग नै एलर्जी हुने विद्वान्, सामन्ती र शोषक मित्रहरूलाई भन्नु खासै केही छैन, तर ‘काम गर्ने कालु मकै खाने भालु’ भनेजस्तै राष्ट्रका सच्चा पहरेदार, परिवर्तनका हिमायती, जोश र जाँगरले भरिपूर्ण, क्रियाशील, आधुनिकीकरणलाई अँगाल्न सक्ने र भविष्यलाई नयाँ सोच एवं कार्यदिशा प्रदान गर्न सक्ने, देशको अग्रगमनका लागि कुल क्रियाशील जनसङ्ख्याको लगभग ८५ प्रतिशतभन्दा बढी रहेको उर्वर युवाशक्तिलाई राष्ट्र निर्माणको मूल प्रवाहमा नल्याई उज्ज्वल भविष्यको परिकल्पना गर्नु मुस्किल मात्र होइन लगभग असम्भव नै देखिन्छ ।

नेपालमा अध्यक्षमुखी राजनीतिक पार्टी, जनवर्गीय संगठनको रूपमा युवाको प्रयोग र विगतदेखि वर्तमानसम्मको संसदीय अभ्यासलाई नजिकबाट विचार गर्दा राष्ट्रको माथिल्लो (उच्च) ओहोदामा जस्तै, राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सभामुख, सांसदजस्ता गरिमामय, जिम्मेवार, अधिकारसम्पन्न, अर्थपूर्ण र प्रभावशाली क्रियाशील पदहरूमा युवालाई खुलेआम र घोषित रूपमै निषेध गरेको तीतो यथार्थ हामीसामु छरपस्ट नै छ । पछिल्ला केही वर्षयता तुलनात्मकरूपमा झिनो युवाको सहभागितामा भएको अभिवृद्धिको मुख्य कारण पनि विभिन्न आन्दोलनहरूको माग, चर्को जनदबाब, युवाहरूको सोच र कार्यशैलीप्रतिको बढ्दो लोकप्रियता र जनविश्वास अनि पार्टीहरूको संगठन निर्माणमा भएको विवशतालाई सकारात्मक सुरुवातको रूपमा भने लिन सकिन्छ । तथापि, यसबाट सन्तुष्ट भने कदापि हुन सकिँदैन ।

नेपाली राजनीतिमा युवा आरक्षणको आवश्यकता महसुस हुनुका मुख्य कारण भने हाम्रो पुराना परम्परागत सोच   (चिन्तन) र अभ्यासको फलस्वरूप उत्पन्न वास्तविक सामाजिक र राजनीतिक परिस्थिति र घोषित तथा अघोषित राजनीतिक निषेध नै रहेको पाइन्छ । किनभने हाम्रो परम्परागत सोच (चिन्तन) को अभ्यास भएको समाजमा युवालाई एउटा अदक्ष, कमसल (कमजोर), पिछलग्गु, अपरिपक्व, होस नभएको, सोझो (तुच्छ) लगायत अनुकूलता अनुसारको संज्ञा दिँदै आइरहिएको पाइएको छ । यसरी युवाहरूमा अनेक किसिमका लाञ्छना लगाएर, त्रास र चिन्ता पैदा गराएर युवाको सोच (चिन्तन), शक्ति र सामथ्र्यलाई एकाधिकार ‘मोनोपोलाइजेसन’ गरी सङ्कुचित र कमजोर बनाइन्छ । तर, वास्तविकतामा त्यसको ठीक विपरीत छ । केही अपवादबाहेक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त व्यक्तित्वहरूले आफ्नो जीवनको उद्देश्यको सोच युवा अवस्थामै तय गरेको तथा केही प्रतिकूल अवस्थाको बाबजुद नयाँपनको प्रयोग गरी केही युवाले उदाहरणीय कार्यबाट विश्वलाई चकित तुल्याउन सफल भएका छन् । यसका साथै कैयन् युवा समाजको एकाधिकार, साथ–सहयोग–सद्भाव र विश्वासको कमीले गर्दा पछिल्लो समयसम्मको निरन्तरताले आफूलाई बुढेसकालमा सहीसावित गर्न सफल भएका छन् । यस्तै, केही युवा पूर्णरूपमा एकाधिकारको चपेटामा परी आफ्नो नवीन सोच र सामथ्र्यको भ्रुणहत्या गर्न बाध्य भएको अतीतलाई समाजले खासै लेखाजोखा राख्ने नगरेको कुण्ठित यथार्थ हामीसामु छ ।

उदाहरणका लागि हाल नेपाललगायत विश्वका केही अवसर पाएका वास्तविक युवानेता र उद्यमीलाई मात्र लिए तापनि तिनीहरूले आफ्नो कार्यप्रतिको लगाव, इमानदारिता, राष्ट्रप्रेम, सहअस्तित्व, सदाचार र सद्भाव, आधुनिकीकरणको प्रयोग, आफ्नो सोचमा आफ्नै नेतृत्वदायी भूमिकाको अवसर र नयाँपनको कारण युवा उमेरमै उदाहरणको रूपमा स्थापित हुन सफल भएका छन् । जस्तै, गगन थापा (नेपाली कांग्रेस), प्रभु साह (माओवादी केन्द्र), राजकिशोर यादव (राजपा) गोकर्ण विष्ट (नेकपा एमाले), मार्क जुकरबर्ग (फेसबुक) लगायतका युवालाई यस वर्गमा लिन सकिन्छ ।

यसो भन्दैगर्दा पाका र वृद्धहरूको योगदानलाई भने अवमूल्यन गर्न मिल्दैन, किनभने आजको कुनै पनि आविष्कार र उपलब्धि विगतको सञ्चित उपलब्धिमाथिको एउटा थप   (अतिरिक्त) उपलब्धि हो । २१ औं शताब्दीका विश्वप्रसिद्ध व्यक्तित्वहरूको जन्म ५ औं शताब्दीमा भएको भए यही स्तरको आविष्कार परिवर्तन गर्न सम्भवतः अक्षम हुन्थे होलान् । ठीक त्यसैअनुसार आजका युवाले आफ्ना अग्रजहरूको औँला समातेर हिँड्न सिकेका कारण उहाँहरूमा रहेका विद्यमान गुण–विशेषता, कार्यकुशलता, अतीतका अनुभव, सोच र चिन्तनबारे जानकार भइसकेका छन् । यस विषयमा थप नयाँपना तथा आधुनिकीकरणसँगको अभ्यासबीचको अनुपम संयोगिक योगबाट भविष्यलाई नयाँ कार्यदिशा प्रदान गर्न सक्ने क्षमता र विचारको भण्डारको रूपमा नेपाली राजनीतिमा युवा आरक्षणको माध्यमले युवाको शक्ति र सामथ्र्यको यथोचित सदुपयोग गर्न सकिन्छ ।

नेपाली राजनीतिलाई थप कार्यक्रममुखी (क्रियाशील) बनाउनका निम्ति, युवा जमातलाई अपनत्व (आफ्नोपन) महसुस गराउनका निम्ति तथा युवाको भावना र कुशल विचारको माध्यमले युवाको भविष्य युवाकै हातबाट सुन्दर, सबल र सशक्त बनाउनका लागि समेत यसको अपरिहार्यता छ । किनभने, राजनीतिमा युवाहरूको आधुनिकीकरणको प्रयोग जस्तैः अङ्कगणितीय, तथ्याङ्कशास्त्रीय, ज्यामितीय तथा अन्य वैज्ञानिक उपकरणहरूको प्रयोगले केही हदसम्म अनिश्चिततामा निश्चितता प्रदान गर्न तथा राजनीतिप्रतिको सामाजिक मोह र आदर्शलाई माथि उठाउनसमेत यसको आवश्यकता देखिन्छ । 

वर्तमान राजनीतिक परिस्थिति र पृष्ठभूमिलाई मध्यनजर गर्ने हो भने राजनीतिक रूपमा एकाधिकार र सङ्कुचनमा परेका, आर्थिकरूपमा कमजोर, समाजमा क्षमताप्रतिको आशंका, घृणित खेलको रूपमा स्थापित राजनीतिप्रतिको युवा आदर्श र धारणा, अभिभावकको अपेक्षा र प्रचलनजस्ता आधारभूत कारणले गर्दा आमयुवालाई विनाआरक्षण राजनीतिमा न्यायोचित सहभागिता केही वर्षसम्मका लागि लगभग असम्भव नै देखिन्छ । त्यसकारण आज र अहिल्यैबाट यस पुनीत कार्यमा तपाईं–हामीलगायत देशका सम्पूर्ण राजनीतिक दल, व्यक्ति, निर्वाचन आयोग, विभिन्न संघसंस्था, बुद्धिजीवी, नागरिक समाज, पत्रकारलगायतका सरोकारवाला व्यक्ति तथा निकायले नेपाली राजनीतिमा युवा आरक्षण विषयमा इमानदारीपूर्वक खुलेर बहस प्रारम्भ गर्नु आवश्यक भएको छ । यसका साथै यसको न्यायोचित, व्यावहारिक एवं वैज्ञानिक प्रयोगमाथि जोड दिने बेलासमेत भएको छ । किनभने, मुख्यतः वृद्धको अनुभव र युवाको आँकलन तथा वृद्धको होस र युवाको जोसबीचको शक्ति सन्तुलनको निम्तिसमेत वर्तमान राजनीतिमा युवाहरूको उच्च नेतृत्व र निर्णय शक्तिकेन्द्रहरूमा पहुँच आवश्यक देखिन्छ ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं