Date:2017/10/17 |Tuesday

निबन्ध–जुनबाट जब जुनेली खोसिन्छ

Posted on: September 09, 2017 | views: 64 | लक्ष्मण सिटौला

आमा नभएको घर के घर ? आमाविनाको म के म ? आमाविनाको जगत के जगत ? आमाविना बगेको रगत के रगत ? लाग्छ केही महिनादेखि मेरा नसाहरूमा रगत होइन पानी बगिरहेको छ । अब म कति टुहुरो भएँछु । आफंैलाई अस्तित्वहीन सोच्ने गर्छु । आमा थिइन् त म पनि थिएँ र आमाको भौतिक शरीरको अन्तसँगै सारा मेरा सपनाको भौतिक अस्तित्व, सारा मेरा कामनाको उज्यालो अन्त भयो । हिजो मसँग मेरी आमा थिइन् र पो म मेरा दुखहरूलाई सजिलोसँग झेल्न सक्थँे । मेरो शक्तिको हरेक हत्केलामा आमा औंला भएर उभिन्थिन् र जुध्न सक्थेँ म आँधीहरूसँग, धकेल्थेँ दुःखको पहाडलाई । 


आज आमा नभएको म के म ? एउटा अधुरो एक्लो बथानबाट छुटेको हरिणको बच्चा जस्तो जो कुनै पनि बेला हिंस्रक जन्तुको आक्रमणमा पर्न सक्छ । कतै माथि आकाशबाट बाज, चील वा गिद्धले उडाएर लैजान सक्छ । खोइ म किन यति विघ्न असुरक्षित महसुस गर्छु आफूलाई ? 

आमा नभएपछि यो धरातल किन मरुभूमि जस्तो बन्छ ? आमा नभए पछि यी बिरुवाहरूमा किन हरियाली हराएको महसुस हुन्छ ? आमा नभएपछि किन फूलहरूमा सुगन्ध सकिएजस्तो लाग्छ ? आमा हिँड्ने बाटो, ती भञ्ज्याङ, चौतारी खहरे खोला गुर्जेभन्ज्याङ, शिवपुरी अब मेरा सबैभन्दा प्रिय साथी भएका छन् । घाम उदाएर क्षितिजसम्म नपुगुन्जेल आमासँगै बारीमा बितेका मेरा स्वर्णपलहरू जो मेरो सम्झनाको ढुकुटीभित्र नम्बरी सुन बनेर बसेको छ । राति बिछ्यौनामा जब म एक्लै एकान्तसँग कुरा गर्छु, त्यो एकान्तमा आमाको बिम्ब जुनेली छायाँ बनेर आउँछ । निदाउन गाह्रो हुन्छ । निद्रा त उसलाई पो आउँछ होला जोसँग आमा छिन् । मेरा कयौं रात निद्राविहीन बितेका छन् । अफिस सकेर घर फर्किँदा कोही नभएको खण्डहर जस्तो लाग्छ । घरको उज्यालो दीप निभेपछि हजार भोल्टको चिम बालेर पनि के काम ? मनको उज्यालो आमाको असीम मायाको भोल्टले बलिरहेको हुन्थ्यो ।

सूर्य, जुन, तारा आकाश वनपात, नदी, हावा र अविरल बगिरहने खोलामा  केही कमी देख्छु । प्रकृतिले भरिएको यो चराचर जगत अनि यो सृष्टिको मुहारको दिप्ति निभेकोजस्तो लाग्छ । हरेक रात म एउटा मृत्यु सुतिरहेको हुन्छु र जब बिहान हुन्छ अनि झल्यास्स सम्झिन्छु । यो लोकमा अब मेरी आमा  हुनुहुन्न । कयौं बिहानीको सूर्य किरणलाई सोधपुछ गर्छु स्वर्गमा गएकी मेरी आमाको खबर बुझेर आउनलाई, तर हर बिहानीको सूर्यले  मलाई ढाँटेजस्तो लाग्छ कि –ऊ जहिले पनि  भन्छ ‘तिम्री आमा ठीक छिन्’ भनेर । पक्कै आमा पनि मेरो सम्झनाले रोइरहेकी होलिन् । हरिया चौरमा जब बिहानीको शीत देख्छु । आमा रातभर रोएर झरेको आँसु हो कि जस्तो लाग्छ । नदीले आँसु बोकेर बगेजस्तो लाग्छ । ताराहरूले जुनेली आँसु झारिरहेजस्तो लाग्छ । किन देख्छु म यो जगत आँसुमय ।

सृष्टिका यावत् कुरा परिवर्तनशील छन् । अपरिवर्तित चिज अस्तित्वमै आउँदैनन् । मेरो गाउँमा आमाले सारेका कतिपय बिरुवा मरिसकेको देखेँ । आँगनमा आमाले सारेको मेवाको बोट हुरीले ढालिसकेछ । सानो हुँदा पारी फेदीगाउँमा ठूली आमाले सप्ताहा लगाएको लाँकुरीको चौतारी पनि भत्किएछ । हिजो जस्तो लाग्छ आमाको फेरु समाती फेदीगाउँको त्यो उकालो उक्लिएको । ती रूखले कति स्वागत गरेका थिए । सप्ताहमा बालिएको चरु होमको धुवाँमा मेरा स्मृतिहरू बलिरहे छन् । मभित्र आमाले शब्दकोष भरिदिएकी छिन् । म पलपल आमा बोल्छु । म पलपल आमा लेख्छु । म पलपल आमा देख्छु । र म भलभल्ति आमा रुन्छु । जति कोमल छु म, मेरा आँखाबाट छल्किने आँसुहरू पनि त्यतिकै  कोमल छन् । शीतहरू कोमल छन् । चरीका गीतहरू पनि कोमल छन् । हिजो आमा हुँदा सबै चिज कोमल थिए र आज आमा नहुँदा पनि सबै चिजले आमाको चीर स्मृति बोकेर रोइरहेको हो कि जस्तो लाग्छ । यसैले ती कोमल लाग्छन् । भाषामा आमा सिङै शब्दकोष, उज्यालोमा आमा सिङै घाम । पीडामा आमा ओखती । रोगमा आमा सन्जिवनी । म सन्जिवनी हराएको एउटा रोगी हँु  समय हँु ।

कोमलता आमाको नाम हो । यतिबेला म घामले छोडेको पहाड जस्तो भएको छु । यतिबेला म हिजोको जस्तो छैन । यतिखेर म फरक अनुभूति लिएर बाँचेको छु । यतिखेर म बाँच्नका लागि बाँचेको छु । बेलुकी म घर नआएसम्म आमा निदाउनु हँुदैनथ्यो । अब मेरा लागि कसले अनिद्रा भोगेर बाँच्छ ? आमा नभएको यो घरमा अरू सबै सबै निदाएजस्तो लाग्छ । एउटा रित्तो खण्डहर जस्तै लाग्छ आँगन । आमा हिँडेको पैतालाको डोब अझै मेटिएको छैन तर आमाको देह मेटिइसक्यो । हरेक सूर्यास्तसँगै मेटिँदै छु म पनि । जीवन, जीवनजस्तो छैन । जतिबेला हामी गरिब थियौं आमाले खोइ कसरी खुवाउनु भो ? म कहिले भोको बसिन तर जतिबेला हामीलाई खान पुग्नेसम्म भए अनि आमाले आफ्नो रोगका कारण खाना खानै छोड्नु भो । जतिबेला अभावमा बाँचियो त्यो बेला आमाका इच्छाहरू पूरा गर्न सकिएन । जब आमाका इच्छाहरू पूरा गर्न सक्ने हैसियत बन्यो त्यतिबेलासम्म आमाका इच्छा मरिसकेका थिए । म आफूलाई एउटा अभागी छोरा भन्छु ।

जतिबेला भोगले दुःख दिन्थ्यो खानेकुरा केही हुँदैनथ्यो । जब खानेकुरा जम्मा गर्न सक्ने भइयो अनि भोक नै लाग्न छाड्यो । कस्तो यो जिन्दगी बुझिनसक्नु छ । इमानदारिता, दया, परोपकार, पाहुनालाई नै सदैव सत्कार र एउटा साधा जिन्दगी बाँचेर आमा आफैं हाम्रा लागि उदाहरण हुनुभयो । 

आमाले सदैव रातो पहिरन रुचाउनु हुन्थ्यो । मैले जुन दिनदेखि आमालाई देखेँ केवल रातो पहिरनमा देखेँ । सिउँदोमा सदैव रातो सिन्दुर सजिएको हुन्थ्यो । आँखामा कालो गाजल । घाँटीमा रातो पोतेमा उनिएको तिलहरी हमेसा लगाएको देख्थँे । घरमा प्रायः सधंै  पाहुना आउँदा उहाँ खुसी हुनुहुन्थ्यो । विमार हुँदा पनि बारीको काम भ्याएर खाना बनाएर खुवाइवरी हामीलाई स्कुल पठाउनुहुन्थ्यो । हिजोआज बिहे गरेका महिलाका न सिउँदोमा सिन्दुर हुन्छ, न आँखामा गाजल हुन्छ, न घाँटीमा तिलहरी हुन्छ, न रातो पहिरन हुन्छ । आजकल कुनै महिलाले रातो लगाइन् भने गाउँघरकी अदना, पाखे सोच्ने गर्छ शहरी समाजले । एउटा विवाहित महिला र विधवा महिलामा आजकल कुनै फरक देखिन्न । रातो पहिरहनमा रातो सिंदुरमा सजिएको कोमल नारी हेर्नुप¥यो भने मैले आमाको तस्वीर हेर्नुपर्छ । जमाना बदलियो तर खोइ किन हो मलाई मेरै आमा र हजुरआमा बाँचेको युग मन प¥यो र मन परिरहनेछ ।

समय विधवा बाँचेको छ । अब मैले रातो पहिरनमा बिहानको घामजस्तै हाँसिरहने आमाको उपस्तिथि पाउन सक्तिन् । आमापछि मैले बाँचिरहेको यो समय त्रासदी केवल आँधी आउनु अगाडिको शून्यता मात्रै हो । एउटा अपुग जीवन बाँचिरहेको छु म । आमा नरहेपछि कोही पनि आफ्नो नहँुदो रहेछ जस्तो लाग्न थालेको छ । आफूलाई माया गर्थेँ म, किनभने म अगाडि आमा थिइन् । अब आमा छैनन् र म आफूले आफंैलाई माया गर्न छोडेको छु । सबै सबै चिजहरू निर्जीव ढुंगाजस्तो लाग्छ । आमा छैनन् त कोही पनि छैनन् । म पनि आफूलाई छु जस्तो सोच्दिन । म पनि छु भनेर अनुभूति हुन छाडेको धेरै भयो । कहिलेकाँही निद्राबाट झल्यास ब्युँझिँदा म आफू हो कि होइन भनेर एक चोटि छाम्छु । आमा नभएपछि कहीँ पनि म आफूलाइ सुरक्षित महसुस गर्न सकिरहेको छैन । हुनु र नहुनुको फरक जिन्दगी । बाँच्नु र नबाँच्नुको बुझाइ जिन्दगी । सबै  प्रगतिको अन्त, सबै चिन्तन र सिर्जनाहरूप्रतिको निस्सारबोधिताले छोपिएको छ, हिजोआज मेरो मनको मुहार ।


धेरै वर्षअगाडि आक्वारिएममा माछा पालेको थिएँ । एउटा आमा माछा थिइ र उसँग दुईवटा बच्चा माछा थिए । एकदिन खाना अड्किएर आमा माछा मरी । बाँकी दुईवटा भुरा माछालाई रोग लाग्न सक्छ भनेर मरेकी आमा माछालाई आक्वारिएमबाट झिकेर फ्याँकिदिए । मरेकी आमा हेरेर भए पनि ती भुरा पानीमा चलिरहेका थिए, बाँचिरहेका थिए, तर जब मैले आमा माछाको लास झिकेर फालिदिएँ, दुई घण्टामा ती भुरा पनि मरे । त्यो दिन रोएको थिएँ म र आमाको महŒव कति रहेछ भनेर बुझेको थिएँ । जब आमा हुनुहुन्न रित्तो हुन्छ घर आँगन । आमा नहँुदा पूजाको मन्दिरबाट भगवान् हराएको जस्तो । फूलको पत्रपत्रबाट सौन्दर्य खोसिएको जस्तो । जुनबाट जुनेली हराएको जस्तो । हिमालबाट उज्यालो आभा निभेको जस्तो, केवल अँध्यारो सबैतिर अँध्यारो ।




Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं