Date:2017/09/19 |Tuesday

नियात्रा–आँखाको दुरविनबाट मधेशको एक कुना

Posted on: September 09, 2017 | views: 320 | प्रदीप सापकोटा

                                                             

 लम्बिएको थियो पोखरादेखि काठमाडौंको यात्रा । उसो त गर्मी उत्तिकै । थाकेर आलस्य भएको थियो शरीर । नुहाउन बाथरुममा के छिरेको थिएँ मोबाइलको घन्टी बज्यो । नेपाली महिलाको आवाज संस्थाकी अध्यक्ष सुमित्रा थापाको रहेछ फोन । उनले भोलिपल्ट बिहानै महोत्तरी जिल्लाको रामगोपालपुर जानुपर्ने भएकोले एउटा गाडी खोज्न आग्रह गर्नुभयो । त्यहाँ बाढीपीडित परिवारहरूको निम्ति संस्थाको तर्फबाट सकेको राहत सामग्री वितरण गर्ने कार्यक्रम थियो । मलाई जाने हो भनेर सोध्नुभयो । मेरो पनि अफिसमा खासै व्यस्तता थिएन । फेरि तराई मधेशको जनजीवनसँग म अभ्यस्त पनि त थिइन, र मैले सजिलै हुन्छ भनेँ । गाडीको निम्ति चिनजानको साथीलाई फोन गरँे । उनले सजिलै र सस्तो दरमा गाडी मिलाइदिए । बिहान साढे छ बजे नयाँ बानेश्वरमा भेला भएर जाने कुरा भयो । अनि मसँग भएका राहतका लागि कपडा बोरामा हालेँ र सुतँे ।

बिहानै चालक सागर भाइको फोन आयो । उनको फोनपछि तत्कालै म तयार भएँ । र निस्किएँ एउटा एकजोर आफ्ना फेरफारे लुगा  भएको सानो झोला र कपडाको बोरा बोकेर । गाडी हिँडेको सुमित्राजीलाई जानकारी गराएँ । तोकिएको स्थानमा उहाँ कुरिरहनुभएको थियो । अर्काे साथी महेश बस्नेत मीनभवनको बस स्टपबाट चढ्नुभयो । फेरि कोटेश्वरबाट सावित्री बोगटी चढ्नुभयो । सूर्यविनायकबाट पनि केही बोरा कपडा लिइयो । चामल, दाललगायतका खाद्य सामग्री भक्तपुरको जगातीमा तयारी अवस्थामा राखिएको थियो । त्यो पनि गाडीमा राख्ने काम सबै मिलेर गरियो । 

अब यात्रा अगाडि बढ्यो । बनेपामा दुईजना सगुन थापा र रविन थापा हाम्रो आगमनको प्रतिक्षामा हुनुहुन्थ्यो । अनि त्यहाँको एउटा मेडिकलबाट केही जीवनजल खरिद गरेपछि हामी बनेपाबाट अगाडि बढ्यौं । काभ्रे भन्ज्याङ्मा पुगेर चिया खाजाका निम्ति केहीबेर रोकिएपछि हाम्रोे यात्रा गन्तव्यतिर बढ्यो । जापानले बनाइदिएको सुन्दर बीपी राजमार्गमा हामी हुइकिँदै गयौं । शहरको कोलाहलबाट हाम्रो मनले मुक्ति पाएको केही घण्टा भइसकेको थियो । रोशी खोलाको तिरैतिर लमतन्न परेको बाटो । रोशी खोला पनि एकनास सुसाउँदै आफ्नो गन्तव्यतिर यात्रारत रहेको छ । ऊ हामीबाट नजिकै भएर पनि हाम्रो आवागमनमा बेखबर छ । उसलाई अरूको यात्राको के चासो ! चासो छ त केवल आफ्नो लक्ष्यको सरमा कसरी पुगेर फिँजिनु । हामी पनि माइक्रोबाट देखिएका सुन्दर प्राकृतिक दृश्यपान गर्दै आफ्नै तालमा गफिँदै छौँ । 

भीमखोरीको कालढुंगा पुगियो । देखिन्छन् वारिपारि चुलिँदै गरेका पहाड । धेरैतिर भत्किएका छन् चोटैचोटले, जसरी गरिबका सपना भत्किन्छन् । कतै उजाड र उराठ पहाड छन् गरिबीको चपेटामा परेका आम मान्छेका जिन्दगीजस्ता । तर पनि विचलित छैनन् । पहाड उभिएकै छन् एकनास खपेर हिउँद बर्खा, जसरी सहन्छन् अभावको कारुणिक व्यथा बोकेर जिइरहेका आम मान्छेहरू । लाग्छ, यी पहाड र आम मान्छेको जिन्दगीका रूप उस्तै छन् ।

काभ्रे जिल्लाको सिमाना सकिएको जानकारी दिन्छ होर्डिङ बोर्डले । नेपालथोकबाट सिन्धुलीको सीमा प्रारम्भ हुन्छ । हाम्रो टोलीका थापाजीबाहेक सबैका यताको यात्रामा नयाँ पो रहेछन् । आफूले जानेबुझेसम्मको यहाँको बारेमा जानकारी पनि दिँदै जान्छु । यात्रा अविराम जारी छ । रामेछाप र काभे्रको सीमाबीचबाट उन्मुक्त भएर सुनकोशी बेफिक्री निस्किएको छ । उसले पनि हाम्रो यात्रामा खासै चासो राखेको छैन । उसको मनभित्र पनि हरबखत अन्तद्र्वन्द्व चलिरहेको छ झैं भान पर्छ मलाई । मात्र हो हाम्रो मन चेतन छ, उसको अवचेतन । वर्षातको बेला ऊ गड्गडाएर आफ्ना पीडा व्यक्त गर्छ । मानिसलाई के पत्तो उसको मनको पीडा । त्यसैले त ऊ रिसाउँछ हामी मान्छेसँग । सजाय दिन्छ बाढी बनेर ।  

यात्राको क्रममा अनगिन्ति मानिस, यात्रुवाहक बस, मालवाहक गाडीहरू भेटिन्थे । कतै घाँसको भारी बोकेका एक हुल आमा देखिन्थे त कतै खेतमा काम गरिरहेका बाहरू । सबै व्यस्त, जिन्दगी छोट्याउने लाममा लामबद्ध छन् सबै । आहा, कस्तो पहराको निर्जन स्थानबाट झरेको मनोरम झरना । सबैको मनै त्यतातिर मोडियो एकछिन । 

सडकका दायाँबायाँ जताजतै विज्ञापनका बोर्ड झुण्ड्याइएका छन् । कतै हामी देशलाई बनाउँछौ भनेर लेखिएका सिमेन्ट कम्पनीका विज्ञापन छन् । कतै जनचेतनाका लागि सरकारका विभिन्न निकायका सूचना छन् । कतै चाउचाउ र बिस्कुटका । अनि विभिन्न होटलहरूका होर्डिङ बोर्डहरू पनि बग्रेल्ती टाँगिएका छन् । कतैकतै रक्सीका पनि भेटिन्छन् । विज्ञापनहरू हेर्दा त लाग्छ, देशले गजबले आर्थिक उन्नति गरिसकेको छ ।

मूल्कोट पुगेको पत्तै भएन् । आहा ! कति रमाइलो लाग्दैछ यो हाइ वे । यहाँ प्रयुक्त भएको प्रविधि उत्तिकै आधुनिक पनि । हाम्रो यात्रा दाइने मोडियो सिन्धुलीको उकालोतिर । सिन्धुलीगढी पुगियो । सबैलाई त्यो ऐतिहासिक स्थल हेर्ने उत्कठ इच्छा थियो । फर्कँदा हेर्ने समझदारी बनायौं । यहाँबाट करिब १४ किमि झरेपछि सिन्धुलीमाडी पुगिन्छ । फेरि ओरालो लागियो । आहा ¤ वरिपरि साना ठूला पहाडहरू हामीलाई हेरेर मुस्कुराउँदै छन् । घामपानी, झरीवर्षा, दिनरात नभनी बाटोमा आउने यात्रु मू्र्तिवत् हेर्नु तिनको दैनिकी हो ।

खनियाखर्क सिन्धुली गढी, ढुंग्रेबाँस, बुद्धनगर गडौली पुल्चोक हुँदै कमलाखोलाको पुल तरेपछि करकरे आयो । गर्मी र भोकले सबैजना गलेका देखिन्छन् । भोक नलागोस् पनि किन, एक बजिसकेको छ । अब उपयुक्त स्थान हेरेर गाडी रोक्न चालक भाइलाई अनुरोध गरँे मैले । सिन्धुलीमाढीमा खाना खान केहिबेर रोकिन्छांै हामी ।

त्यसपछि हामी भिमानतिर लम्किन्छौं । त्यहाँ पुगेपछि मैले साथीलाई एकजना अत्यन्तै आदरणीय नेपाली आमाको वीर सपुतको बारेमा संक्षिप्तमा बताउँछु । ऋषि देवकोटा आजाद जो निरंकुश पञ्चायती व्यवस्थाको विरुद्ध जनाधिकारको पक्षमा नेतृत्व गर्दा पंचायती शासकहरूबाट कायरतापूर्वक मारिनुभएको थियो । उहाँको वीरगति र योगदान सम्झेर श्रद्धाले शिरनत् हुन्छ । उहाँको सुपुत्र सुवास देवकोटा मेरा आत्मीय दाजु हुनुहुन्छ । आजादको सम्मानमा स्मृति भवन पनि बनेको रहेछ । उहाँप्रति सम्मानभाव प्रकट गरेर हामी अगाडि हुइँकिन्छौं ।

कमलामाई नगरपालिका चूरेबाट सिन्धुलीको सिमाना सकिन्छ । रापिलो छ घाम । पसिनाले शरीर छपक्कै भिजेको छ । तर हामी एकनास रफ्तारमा छौं । एकछिन अघिसम्म बादलको निशानीसम्म नदेखिएको आकाशले एक्कासि पानी बर्सायो । मानौं हाम्रो हालत देखेर यसलाई दया लागेको होस् । आकाशले आफ्नो खोकिलामा लुकाई राखेको बादलबाट पानी वर्षाउँदा बिछट्टै शीतलताको अनूभूति भयो । एकैछिनमा खोलामा पानीको बहाव बढ्यो ।

बाहुनमारा । कति नराम्रो ठाउँको नाम । कसरी रहृयो होला यो नाम, कसैसँग सोध्न पनि पाइएन । कुनै पनि मानेमा मार्ने र मारा स्वीकार्न सकिन्न । बाहुनमारा, कमलपानी, पाटु हुँदै हामी बर्दिबास बजार पुग्छौं । चोकमा पुगेपछि अडिन्छौं हामी । हामीलाई पुग्नुछ रामगोपालपुर नगरपालिका । जाने बाटोका बारेमा जानकारी लिन्छौं । अनि चोकबाट दक्षिणतिर मोडिन्छौं हामी । औरही रोड, हाथिलेट हुँदै करिब २१ किलोमिटर सडक नापेपछि हामी रामगोपालपुर नगरपालिकाको मुख्य केन्द्रमा पुग्छौं । सुमित्राजीले बेलाबेलामा स्थानीय केही व्यक्तिसँग फोनवार्ता गरिरहनुभएको थियो । त्यहाँ पहिले सम्पर्क गरेका व्यक्तिहरू हामीलाई कुरिरहनुभएको थियो । हामीले उहाँहरूलाई दिएको समयभन्दा करिब २ घण्टा ढिलो भएको थियो । माइक्रोबसबाट झर्नासाथ आत्मीय सत्कार पायाँै । 

करिब एक दर्जन पुराना समाजसेवीहरू र उद्योगी व्यवसायीहरू हाम्रो स्वागतमा बसिरहनुभएको थियो । चिसो पानी पिएसँगै चिनापर्ची गरियो । तत्पश्चात् त्यहाँबाट करिब दुई किमी दूरीको बाढी पीडित चमार र मुसहर बस्तीको अवस्थाको निरीक्षण गरेपछि मात्रै लगिएका खाद्य पदार्थ कसरी बाँड्ने भन्ने निष्कर्षमा पुग्न सकिने देखियो । ती बस्तीमा स्थानीय समाजका अगुवाहरूले हामीलाई उहाँहरूको मोटरसाइकलमा राखेर लैजानुभयो ।

मौसम निर्मल थियो । तर बस्ती ज्यादै नै मलिन र उदास देखिन्थ्यो । बस्ने बास बाढीले बगाएर, बासमा बाढी छिरेर, अन्नपात, भाँडाबर्तन र चुलोसमेत बगाउँदा विरक्तिलो जीवन बाँचेरै होला शोकमग्न कालो उदासी असरल्ल छरिएको थियो । आँखाहरू रुझेका परेलाहरू बोकेर कैयौं आशावादी नजर हामीमा परेजस्तो भान प¥र्योे मलाई । अशान्त र सपनाहरू भाँचिएका मन बोकेका मान्छेहरूका मनहरू पढ्ने प्रयास ग¥यो मेरो मनोविज्ञानले । ठूला मान्छेको भीडभित्र सानासाना नानीहरू घुस्रिरहेका देखिन्थे । ती मधेशका मात्र नभएर नेपालका भविष्य हुन्  । पानीका चौडिल्ला र पोखरीहरूमा नाँगो पौडिरहेका बालबालिकातिर देखिन्थे । कतै नांगाभुतुंगा बालबालिका भैंसीमाथि चढेर चरनतिर भेटिन्थे । तिनको अवस्था देखेर सुमित्राजीको त अनायास आँखा रसाए । अगुवाहरूले जताजता लैजानुभयो उतै गयौं हामी । सुमित्राजीले पसलमा पाइएको चकलेट किनेर सबै बालबालिकाहरूलाई बाँडिदिनुभयो । 

करिब २५÷२६ की महिलालाई मैले सोधँे ‘तपाईंको घरमा बाढीले के कति क्षति भएको छ ?’ अश्रुमिश्रित स्वरमा उनले घरतिर देखाउँदै भनिन्, ‘के पो बाँकी छ र । ल जाइजानुस् मेरो घरको भित्र र हेरिहाल्नुस् ।’

म र सुमित्राजीभित्र गयौं । बाढी पसेर छाप्रो पूरै जलमग्न देखिन्थ्यो । लुगाफाटा ढुसीले गन्हाउँदै थिए । भित्र सामान केही थिएन । घरमुलीले ज्यालाबुुनी गरेर परिवार पालेको बताए । उनका चार सन्तान रहेछन् । अनि यति धेरै सन्तान किन जन्माएको भन्दा भगवानले दिएको कुरा गरे । त्यहाँ प्रायजसोका चार सन्तान हुनु सामान्य देखियो ।

सुमित्राजी बच्चा च्यापेर यताउता गरिरहनुभयो । हाम्रा भाइ सगुन र रविन यस्तो दुर्दशा देख्दा दुःखी देखिन्थे । मेरो मन पनि अत्यन्तै धमिलो भएको थियो । परेला चिसिएका थिए । मुटु विदीर्ण बन्दैथियो मेरो । शब्दमा वर्णन गर्न नसकिने त्यहाँको परिवेश देखे । आँखाको डिल ओभाउन सकेनन्, हाम्रो टिमका सदस्यहरूको । हामीले धेरै सहयोग गर्न त सक्ने परिस्थिति नै थिएन । विचरा बालबालिका किन यस्तो सजाय पाइरहेछन् । मनमा तुँवालो उड्यो मेरो । सँगै हामी बाँचेको समाज, राज्यप्रणाली र मधेशका राजनीतिकर्मीहरूप्रति रोष व्यक्त गर्न चाहृयो मेरो मनले । बालबालिकाको भविष्यको चिन्ता मधेशका मसिहा ठान्ने दल र तिनका नेतागणहरूको जति नै आलोचना गरे पनि कम हुने ठान्यो मेरो मनले । 

हामीसँग त्यहाँ जाने अगुवामध्ये एक थिए तत्कालीन सहसौला गाविसका २०५४ सालमा निर्वाचित गाविस पूर्व अध्यक्ष रामनरेश यादव । उनलाई मैले राज्यले के ग¥यो भनेर सोधनी गरेको थिएँ । उनका अनुसार हेलिकोप्टरमा सरकारी मान्छे आए केही दिएझैँ गरे तर खासै उपलब्धिमूलक भएन । जनताको दुःखको कसैलाई मतलब भएन । भर्खरै २० जनालाई पल्ली बाँडेको बताए । उनी त्यो समुदायमा मुखियाजी भनेर सम्मानित रहेछन् । अब के पाइन्छ मुखियाजी यस्तै प्रश्नहरू सोधिरहेका थिए मुसहर बस्तीका जनहरू उनलाई । मुखिया ढाडस मात्र दिन्थे । मुुसहर बस्तीका मानिसहरू उनीप्रति पनि आशावादी देखिन्थे । भीडमा बढोत्तरी हुँदै गयो । सबैको ध्यान हामीतिर खिचिएको थियो । के बालबालिका, के युवायुवती, के वृद्धवृद्धा हामी जता जान्थ्यौं भीड उतैतिर मोडिन्थ्यो । झन्डै असी प्रतिशत केटाकेटीको शरीरमा लुगा पनि थिएन । 

मुसहर बस्तीमा पचास जति घरधुरी रहेछन् । स्थानीय बैजुकुमार शाहका अनुसार वडा नं ९ मा झण्डै पचपन्न सय जति जनसंख्या छ । मण्डलहरूको बाहुल्यता रहेको सो गाउँको मुख्य पेशा नै कृषि रहेछ  । त्यहाँ २० परिवार जति सुकुम्बासी छन्, पासवानहरू । ज्याला मजदुरी गरेर बिहान बेलुकाको जोहो गर्छन् तिनीहरू । कारुणिक छ तिनको जीवन । पढाइलेखाइ प्रायः छैन । अर्काे बस्ती छ चमार बस्ती जहाँ करिब ८० परिवार बसोबास गर्छन् । बेकारीको ठूलो समस्या छ यहाँ पनि । ज्यालाबुनी गरेरै जीविकोपार्जन गर्छन् सबै । सरसफाइको कतै वास्ता छैन । जताततै बच्चाहरूले फोहोर गरेका छन् । घर त छैन चर्पीको के कुरा गर्नु । बच्चाहरू भैंसीसँगै आहालमा पौडिरहेका उत्तिकै भेटिए । ठूला मान्छे पनि खुला ठाउँ र झाडीहरू चर्पीको रूपमा प्रयोग गर्छन् । 

त्यहाँ धेरैजसोको नागरिकता पनि छैन । उनीहरूलाई बनाउनु जरुरी पनि लागेको छैन । मैले एक अधबंैशेलाई सोधेँ किन नबनाउनुभएको त नागरिकता ? उनको उत्तर थियो कसलाई फुर्सद बनाउन । दिन माया मारेर जानुपर्छ । ज्यालामजदुरी गर्न पाइएन भने के खानु । उनको यो अभिव्यक्ति मर्मस्पर्शी थियो । मेरो मनले सोध्यो आफैंसँग, नेता पुज्नु र ढुंगा पुज्नुमा फरक के ? जनताको सुखसुविस्तासँग चासो नराख्नेहरूको दिमाग पनि कति विघ्न विकृत, काइ परेको । नागरिकताको महŒवसमेत आफ्ना नागरिकलाई प्रष्ट्याउन नसक्नु असफल राज्य व्यवस्थाको उपज है त ? त्यहाँका मुसहरहरूको अभिव्यक्ति देखेर घाइते भयो मेरो मन । जन्मदर्ता पनि कसैले गराएका छैनन् भने नागरिकता त परको कुरा । सरकारले यहाँ नै टोली खटाएर नागरिकताको महŒव बुझाएर सेवा दिन नसकेसम्म यही अवस्था रहिरहन्छ । यहाँका जनताले नागरिकताका लागि सदरमुकाम धाउनु सम्भव छैन, भन्छन् एमालेका नेता सरोज यादव ।

ढल्दै गरेको साँझसँगै हामी भारी मन लिएर रामगोपालपुरको मुख्य बजार फर्कियौं । हामीले लगेको खाद्य सामग्री अलिक अपुग भो भन्ने ठम्याइ भो । सोही बजारमा केही दाल, चामल र नुन खरिद ग¥यौँ । एक भोजनालयमा बेलुकाको खाना खाएपछि मित्र सरोज यादवसँग छुट्टिएर हामी स्थानीय उद्यमी एवं समाजसेवी विनोदकुमार चौधरीको घरमा लाग्यौं जहाँ हाम्रा निम्ति बासको व्यवस्था गरिएको थियो । बाँकी प्याकिङको काम सकियो रातको करिब ११.३० बजे । अनि सुत्न पल्टियौँ । अहँ निद्रा छैन आँखामा । गर्मी पनि बिछट्टै छ । पङ्खा चलाएर सुत्न बाध्य छौं हामी । कति कष्टकर गर्मिलो रात । साथीहरू बिस्तारै निदाए । तर म अबेरसम्म निदाउन सकिन । 

रात खस्यो बिस्तारै र भयो बिहान । झिसमिसेमै उठेँ म । सँगै सुत्नुभएको साथी पनि उठ्नु भयो । हामी नुहाएर बाहिरतिर डुल्न निस्केका थियौँ । चकमन्न थियो । वातावरण सन्नाटापूर्ण लाग्थ्यो । परपरसम्म घुमेर आयौं हामी । सुमित्राजीहरू पनि तयार भइसक्नुभएछ । हामीलाई हिजो गाउँबस्ती लैजाने महानुभावहरू पनि आउनुभयो । सबै मिलेर चिया पिएपछि एक ट्याक्टरमा खाद्यान्नसहितका राहत सामग्री हालेर हामी स्थानीय साथीहरूको मोटरसाइकलमा हुइँकियौं बाढीपीडित मुसहर र चमार बस्तीमा ।

ती बस्तीहरूमा देखिएको मानिसहरूको जीवनशैली देखेर मेरो मन अमिलो भयो । टाठाबाठाले सामान्य गरिबहरूको मानवमूल्यको शोषण गरेको ठहर ग¥यो मेरो मनले । त्यहाँका मानिसको जीवनको रुग्णता र उनीहरूले भोगेको पीडामय जीवनसँग अभ्यस्त भयो मेरो मन । अनि यही मनले उनीहरूसँगै जीवनको लय खोज्ने प्रयास पनि ग¥यो । उनीहरूका अभाव र पीडाका बाछिटाले हान्यो मलाई । निराश मुद्रामा यताउति डुल्दैछन् हाम्रा टोलीका आँखाहरू । मधेशको प्रतिनिधि गाउँको यो दर्दनाक जनजीवन देखेर मेरो भावुक मन संवेदनाले स्पर्शित भयो । अशान्त मनमा पीडाका तलाउहरू बनेर तिनमा दुःखका असंख्य छालहरू उर्लिएर आए । तर हामीले गर्नसक्ने धेरै थिएन । उही सबैलाई केही छाक जोहो गर्ने सातुसामल वितरण गर्नबाहेक हामीबाट के पो हुन्थ्यो र !

     

 






Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं