Date:2017/11/23 |Thursday

तेस्रो चरणको चुनावमा सर्वत्र चासो

Posted on: September 10, 2017 | views: 111 | इन्द्रबहादुर बराल

गत वैशाखको अन्तिम र असरको दोस्रो सातामा सम्पन्न प्रथम र द्वितीय चरणको स्थानीय तहको निर्वाचनले सारा नेपालीमा आशाको त्यान्द्रो पलाएको छ । साथसाथै जारी संविधान २०७२ को कार्यान्वयनमा देखिएका विभिन्न आशंका तथा अनुमानसमेत तोड्दै वर्तमान सरकार सफलतातर्फ अग्रसर देखिएको छ । तथापि, तराई मधेसमा व्याप्त असन्तोष र आक्रोशले तेस्रो चरणको स्थानीय तह चुनाव शंकाको घेरामा रहेपनि ती सबै आशंकालाई चिरेरै छाडेको छ, वर्तमान देउवा सरकारले । आगामी असोज २ गते सम्पन्न हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनले संविधान कार्यान्वयनको बलियो जग बसाल्ने निश्चितप्रायः भएको छ । यद्यपि संविधान कार्यान्वयनमा प्रमुख प्रतिपक्षी दलले दाउपेचलाई अस्त्र बनायो र बनाउँदै छ । यति हुँदाहुँदै पनि सत्ता पक्षले आफ्नो दायित्वलाई गम्भीरतापूर्वक लिँदै आएकाले सबै खाले अप्ठ्याराहरू पार गर्दै संविधान कार्यान्वयनमा कुनै कसर बाँकी छोडेको छैन । यसैको परिणामस्वरूप संघीय गणतन्त्र नेपालको संविधान कार्यान्वयनको पक्षमा सफलता मिल्दै गएको छ । 

संविधान कार्यान्वयन हुन नसक्दा त्यो संविधान कागजको खोष्टो बनाउनेहरू पनि क्रियाशील थिए र छन् पनि । प्रमुख प्रतिपक्षी दलको असहिष्णुता र असहयोगका बाबजुदमा सरकारमा सहभागी दल अनि सरकार चुनावी जय पराजयभन्दा पद्धतिप्रतिको प्रतिबद्धतामा अडिग देखिँदै आएका छन् । यसै हुनाले नेपाली जनताको आकंक्षाको उच्च सम्मान गरेको पाइन्छ । जे होस् अब नेपाली जनताको बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्ने कार्यमा एकपछि अर्को गर्दै देउवा सरकार सफलताको शिखरमा पुग्ने क्रममा अग्रसर रहेको छ । यही मार्गमा राज्य संयन्त्र इमानदारीताकासाथ अघि बढिरहेको देख्न सकिन्छ । यसमा सन्तोष मान्नै पनि पर्छ ।

स्थानीय तहको बाँकी तेस्रो चरणको निर्वाचनमात्र होइन, प्रदेशमा र प्रतिनिधिसभाको निर्वाचनमा आम नेपालीको व्यापक चिन्ता र चासोलाई सम्बोधन गर्ने सुनिश्चितता भइसकेको छ । त्यसैले नेपालीको सर्वत्र चासोको विषयलाई सरकार र सरकार प्रमुख देउवा अत्यन्तै गम्भीरतासाथ लागि परेको तथ्य घामजस्तै छर्लंग छ । लंगडो राष्ट्रवादमा टेकेर आफ्नो उपस्थिति देखाउन सफल प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रदेश न.२ को स्थानीय चुनावमा पनि त्यही खोक्रो राष्ट्रवादको अस्त्र प्रयोग गर्ने प्रवल सम्भावना देखिन्छ । जसरी पहिलो र दोस्रो स्थानीय तहको चुनावमा एक नम्बरको पार्टी बन्न सम्भव भयो, शायद त्यही रणनीति २ नम्बर प्रदेशमा कामयाव नहुन पनि सक्छ । यसर्थ यस पृष्ठभूमिमा नेकपा एमालेको चुनावी मुद्दा अब के हुने हो भन्ने सर्वत्र चासोको विषय बनेको छ । 

प्रदेशमा र प्रतिनिधिसभाको निर्वाचनको मितिसमेत तय भएको अवस्थामा यतिबेला दलहरूले आफ्नो चुनावी रणनीतिमा व्यस्त छन् । जनता पनि बडो चासोका साथ आगामी चुनाव बारे चिन्तन मनन गरिरहेको अवस्था छ । सत्ता साझेदार दल नेपाली कांगे्रस र माओवादी केन्द्रले विगतका दुई चुनावको यथार्थ समीक्षा गर्दै तेस्रो चरणमा पहिलो बन्ने प्रयत्नमा छन् । पार्टीभित्रको आन्तरिक गुटबन्दी र भागवण्डाका कारण पराजयको पीडा भोगेको पार्टी नेपाली कांग्रेसले पहिलेको गल्तीबाट सच्याउँदै आएमा निश्चय तेस्रो चरणको स्थानीय तहको चुनावी परिणाममा राम्रो उपलब्धि हासिल गर्न सायद कसैले रोक्न सक्दैन । तर संस्थापन पक्षसँग अंश (भागवण्डा) खोज्ने प्रवृत्तिले कहिँ न कहिँ क्षति हुन सक्छ । 

यतिबेला सुनिँदैछ, टिकट वितरणमा पनि तेरो र मेरो मान्छे भन्ने प्रसंग । यस किसिमको चर्चा जुनबाहिर आएको छ, यदि त्यसो हो भने परिणाम ज्यादै दुःखद् र घातक हुन सक्ने सम्भावनालाई नकार्न सकिँदैन । इमानदार भएर, स्थलगत अध्ययन गरेर उम्मेदवार चयन गरियो भने अवश्य पनि हाम्रोभन्दा पनि राम्रो व्यक्तिलाई विजयी गराउन सहज हुन्छ । यसर्थ अब पनि राम्रो छाडेर हाम्रो भन्न थालियो भने नेपाली कांग्रेस युवा पुस्ताले हस्तक्षेप गर्नैपर्ने हुन्छ । किनकि अबको भविष्य (राजनीति) युवाहरूको नै हो । अहिलेको अविवेकी निर्णयले युवाको राजनीतिक भविष्य थप अन्धकार हुन जान्छ । यस विषयमा युवा पुस्ताहरूमा विशेष चिन्ता र चासो हुनु जरुरी छ ।

तेस्रो चरणको स्थानीय तहको निर्वाचन यस मानेमा पनि विशेष चिन्ता र चासोका साथ हेरिएको छ कि यो चुनावको ताजा प्रभाव प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पर्न सक्दछ । तेस्रो चरणको निर्वाचन केही दिनमै प्रदेश नं. २ मा सम्पन्न हुँदैछ । यतिबेला एमालेको राष्ट्रवाद मागी खाने भाँडो प्रदेश नं. २ मा कत्तिका कामयाव हुन्छ, त्यसैको आधारमा उसको राष्ट्रवादको वास्तविक परिक्षण हुने देखिन्छ । स्मरणीय रहोस्, त्यही प्रदेश नं २ को विषयलाई लिएर राष्ट्रवादको व्यापक ढोल पिटेको थियो एमालेले । 

त्यसकारण तेस्रो चरणको स्थानीय तहको निर्वाचन विशेष परीक्षणको चुनावसमेत हुने देखिँदै आएको छ । प्रमुख प्रतिपक्ष नेकपा एमालेमात्रै होइन, अन्य सबै पार्टी पनि परीक्षाको घडिमा छन् । हुन त प्रमुख प्रतिपक्ष प्रतिगमनकारी शक्तिको रूपमा परिचत राप्रपासँगको साँठगाँठ कसिलो बनाउँदै गरेको संकेतबाट जन आन्दोलन २०६२÷६३ को उपलब्धिमाथि प्रहार गर्ने सम्भावनातर्फ पनि अनेक आशंकाहरू गरिँदै गएको घाइघुई नसुनिएका होइनन् । राजनीतिमा अनेक जालझेल तथा षड्यन्त्र हुने गर्दछन् । सुनिएको कुरा हो, २०१७ साल पौष १ गते सरकारमात्र होइन संसद र संसदीय व्यवस्था अपदस्थ गर्दा पनि केही कम्युनिष्टहरूले दीपावलीसमेत गरे अरे । विगतका घटना क्रमलाई पनि मध्य नजर गर्दै आगतका यात्राहरू तय गर्नुपर्छ हरेकले । यद्यपि यो लक्षण कहाँ गएर मिल्छ भने तत्कालीन राजा महेन्द्रले अवलम्बन गरेको राष्ट्रवाद, जुन उत्तरतिर ढल्किएको महसुस गरिन्थ्यो, आज एमालेको राष्ट्रवादको मखौटो पनि उतैतिर फर्केको छभन्दा गलत नठहर्ला । एमालेलाई यसो भनिरहँदा नमिठो मान्ला वा ठीक लेख्यो भन्ला, थाहा छैन । तर यो एउटा गतिलै बहसको विषय भने पक्कै बन्नुपर्छ । 

राष्ट्रियताको भ्रमपूर्ण प्रचारले मुलुकको राजनीतिलाई धुमिल बनाउने हुँदा यस्ता विषयको सर्वस्वीकार्य छिनोफानोले राष्ट्रको वृहत्तर हितको पक्षमा लाग्न सरलीकरण गर्दछ । मुलुकमा राष्ट्रवादलाई वाद गरेर कुनै राजनीतिक शक्तिमात्र होइन, व्यक्ति विशेषलाई यस मातृभूमिमा स्थान हुने छैन । राष्ट्रियतालाई कुनै एक तत्वलेमात्र परिभाषित गर्न सकिँदैन । राष्ट्रियतामा धेरै तत्वहरूको समिश्रण हुन्छ । जसबाट राष्ट्रियता भन्ने शब्दले पूर्णता पाउँछ । उदाहरणका लागि भूगोल, त्यस भूगोलमा बसोबास गर्ने जनता (जनसंख्या) धर्म, संस्कृति, भाषा, प्राकृतिक स्रोतसाधनलगायतको सामूहिक समिश्रम राष्ट्रियता हो । यसै राष्ट्रियताको पक्षमा उभिने विचार र दृष्टिकोण नै राष्ट्रवाद हो । शायद राष्ट्रियता र राष्ट्रवादलाई यसरी नै बुझ्ने बुझाउने काम भयो भने राष्ट्रियता र राष्ट्रवादको भ्रमपूर्ण प्रचारबाट नेपाली जनताले मुक्ति पाउने छन् । त्यसकारण राष्ट्रियता र राष्ट्रवादको भ्रमपूर्ण खेती फलिफाप हुनेलाई केही चोटिलो तर यथार्थता बोध गराउन सहयोगी हुन सक्छ । 

हुन त अहिले सबै दल चुनावी रणनीतिमा व्यस्त रहेका छन् । यस्ता विषयमा सोच्ने, चिन्तन मनन् गर्ने फुर्सँदै तिनलाई कहाँ होलान र ? तथापि, अघिल्ला दुई चुनावमा धारिला बनेका राष्ट्रियता र राष्ट्रवादका तीर वाणहरू (प्रतिस्पर्धाका लागि) प्रदेश नं. २ मा भुत्ते (भोदो) हुने छन् । त्यसकारण तेस्रो चरणको स्थानीय तहको चुनावमा एमालेले राष्ट्रियता र राष्ट्रवादको भुत्ते हतियार प्रयोग गर्ने छैन । उसको लंगडो राष्ट्रवादको ढवाङ बज्न छाड्नेछ र अन्ध र आक्रमक राष्ट्रवादको तुवाँलोबाट बाहिर निस्कनेछ भन्ने सर्वत्र चासो व्यक्त गरिँदै छ । जे होस् अब नेपाल र नेपाली तेस्रो जनआन्दोलको आवश्यकता महसुस गर्न नपर्ने गरी सबै तह अर्थात् स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी नेपालको संविधान २०७२ को पूर्ण कार्यान्वयन हुन सके वर्तमान शेरबहादुर देउवा नेतृत्व सरकार जनताप्रति जवाफदेहि ठहर हुनेछ । यथार्थ त्यही हो । राजनीतिमा सफलता भनेको सधै सत्तामा बसी रहनु भन्ने होइन बरू पद्धति बसाल्नु नै महानता हो । चाहे आफू जहाँ सुकै बस्नु किन नपरोस् ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं