Date:2017/11/23 |Thursday

भयावह आत्महत्या र यसप्रतिको सचेतता

Posted on: September 10, 2017 | views: 78 | चेतनाथ कणेल ‘हरित’

तत्कालीन राष्ट्रपति डा. रामवरण यादवका बारेमा ‘टाकुरामा एक्लो मान्छे’ शीर्षकको महŒवपूर्ण पुस्तक लेख्ने साहित्यकार तथा पत्रकार भरत भुर्तेलले आत्महत्या गरे । उनी एक सक्रिय पत्रकार तथा साहित्यकर्मी थिए । उनको जीवन र सक्रियता अरूका लागि पनि लोभ लाग्दो थियो । ‘त्यस्ता व्यक्तिले किन आत्महत्या गर्नुपरेको ?’ भनी धेरैले प्रश्न गरे । उनले ‘सुसाइड नोट’ पनि लेखेर छोडेको भेटियो । उनको आत्महत्या आकस्मिक थिएन । त्यो नियोजित आत्महत्याले राजधानी चकित परेको थियो । उनको गृहजिल्ला झापा पनि अचम्मित भएको थियो । भुर्तेलको त्यो आत्महत्याले धेरै व्यक्तिमा जिज्ञासा पैदा गरेको थियो त्यस्ता होनहार व्यक्तिले पनि आखिर किन रोजे आत्महत्याको बाटो ? 

कसले गर्छ आत्महत्या ?

प्रश्न उठ्छ, के ठूला, धेरै पढेका, धनी, विद्वान, सुन्दर मानिसले आत्महत्या गर्दैनन् ? के आत्महत्या गर्ने भनेको गरिब, नपढेका, प्रेममा अल्झने युवायुवती, कुरूप, सानातिना पदमा रहेका व्यक्ति, होचापुड्का, अपांग व्यक्तिले मात्र गर्छन् त आत्महत्या ? अहँ माथिका दुवै प्रश्नको सही उत्तर हो, अहँ । मात्र अहँ ।

आत्महत्या जसले पनि गर्न सक्छ । उमेर, धन, सुन्दरता, कुरूपता, पद आदि केही हेर्दैन आत्महत्याले । विश्वमा ठूल्ठूला व्यक्तिले आत्महत्या गरेका छन् । एकदमै धनी व्यक्ति र विश्वप्रसिद्ध सुन्दरी र कैयन हिरोले पनि गरेका छन्, आत्महत्या । नेपालकै महाकवि लक्ष्मीप्रसाद देवकोटाले समेत जीवनमा एकपटक आत्महत्या गर्ने सोच बनाएका थिए भनिन्छ । तर उनले आत्महत्या गरेनन् । बरू उनलाई क्यान्सर रोगले यो दुनियाँबाट चाँडै नै चुँडेर लग्यो । 

जीवनमा कुनै न कुनै क्षणमा यस्तो सोच नबनाउने मानिस संसारमा बिरलै होलान् । किनकि आत्महत्या र मानसिक अवस्था एकदमै जोडिएका विषय हुन् । मानसिक अवस्था भनेको छिनछिनमा परिवर्तन हुने अवस्था हो । बिहान, दिउँसो, राति कुनै पनि समयमा फेरिन्छ मानसिक सोच र अवस्था । घर, अफिस, सडक, चौर, जहाँजहाँ पुग्छ मान्छे त्यहाँ त्यहाँ मानसिक सोच र अवस्थामा तलमाथि पर्छ । ‘मूड’ तुरुन्तै परिवर्तन हुनसक्छ । मानिस हो, कसैसँग व्यवहार गर्ने क्रममा एकैछिनमा अपार उत्साह हासिल गर्नसक्छ । एकैछिनमा टेन्सनमा पर्न सक्छ । तिनै उतारचढावबीच हतारमा निर्णय गर्ने व्यक्ति त्यस्ता कुकार्यको शिकार बन्न सक्दछ ।

आवेशको निर्णय पनि जिम्मेवार

बेलाबेलामा पत्रिकामा पढ्न पाइन्छ, साँझ ६ बजेसम्म पनि आफ्नो ‘बिजनेस’ सम्हालेको मानिस राति ८ बजे नजिकैको जंगल वा नदी÷तलाउ÷पोखरीमा गई आत्महत्या ग¥यो । त्यस्तै राति ११ बजेसम्म साथीहरूसँग पार्टीमा रमाएको व्यक्ति राति १ बजे मृत भेटियो । अझ दिनभर पढाएर साँझ घर फर्किँदा बाटोमै आत्महत्या गरेका शिक्षकका समाचार पनि बेलाबेलामा हामीले पढ्ने गरेकै हो । किन हुन्छ त यस्तो ? यी सबैको मूलजड हो मानसिक अवस्थामा असन्तुलन । असन्तुलनले सीमा नाघ्नासाथ मानिसले आफ्नो देह आफैं त्याग गर्न तम्सन्छ । उसले परिवार, समाज, टोल, देश सबै सबै अँध्यारोमात्र देख्न थाल्दछ । जीवनको अस्तित्व केही पनि नभएको ठहर गर्दछ । अनि आत्महत्या गर्न तम्सन्छ । यो एक घण्टा, एक दिन, एक महिना वा एक वर्ष अथवा धेरै वर्षको प्रयासको प्रतिफल पनि हुनसक्छ । मानसिक अवस्था पढ्न सक्ने व्यक्तिले मात्र कुनै व्यक्तिविशेषमा कहिलेदेखि नैराश्यता (डिप्रेसन) उत्पन्न हुन थालेको हो भन्ने कुराको अध्ययन गर्न सक्छ । यसका लागि मनोविद्, मनोचिकित्सक, मनोसामाजिकविज्ञको अवलोकन र अध्ययन नै बढी भर पर्दो हुन्छ । नियमित अन्तक्र्रिया वा व्यवहार अवलोकन नगरी कुनै पनि विज्ञलेसमेत त्यस्ता व्यक्तिका बारेमा केही बताउन सक्दैन । तसर्थ मानसिक विज्ञसँगको भलाकुसारी र स्वास्थ्यको नियमित परीक्षण अहिलेको आवश्यकता भएको छ ।

आत्महत्याको भयावहता

विश्व स्वास्थ्य संगठनले देखाउने गरेका तथ्यांक भयावह छन् । विश्वमा प्रतिवर्ष ८ लाख मानिसले आत्महत्या गर्छन् । प्रत्येक ४० सेकेण्डमा १ जनाले आत्महत्या गर्ने गर्छ । त्यस्तै विश्वमा मानिस मर्ने अनेक कारणहरूमध्ये आत्महत्या प्रमुख १५ औं कारणमा पर्छ । विश्वका सबै देशमा यो कार्य एक गैरकानुनी र अनैतिक तथा अमानवीय कार्य हो भन्ने थाहा हुँदाहुँदै यो क्रम पछिल्ला समयमा किन बढ्दै छ त ?

नेपालकै तथ्यांक हेर्दा पनि स्थिति भयावह छ । वर्षेनी करिब ५ हजार जनाले आत्महत्याका कारण ज्यान गुमाउँछन् । दैनिक औसत ११÷१२ जनाले नेपालमा आत्महत्या गर्छन् । विश्वमा सबैभन्दा बढी आत्महत्या गर्ने मुलुकमध्ये नेपाल ७ औं मुलुकमा पर्दोरहेछ । अझ २० देखि ३५ वर्षभित्रका व्यक्ति बढीमात्रामा आत्महत्याको शिकार हुने गरेको डरलाग्दो तथ्यांक गृह मन्त्रालयले सार्वजनिक गर्ने गरेको छ । देशभर यस्तो तथ्यांक राख्ने काम नेपाल प्रहरीले गर्ने गर्छ । प्रहरीका अनुसार इलाम, काभ्रे, काठमाडौंजस्ता विकास र उन्नतिमा अगाडि रहेका जिल्लामा झन् बढी आत्महत्याका घटना हुने गरेका छन् । रहस्य बुझिनसक्नुछ । थप अध्ययनको खाँचो छ । यो सवाल अझै हाम्रा प्राथमिकतामा पर्न सकेको छैन । तर यसको भयावहता र जटिलता भोलिका दिनमा अझ बढ्दै जाने निश्चित छ ।

कारण अनेक : निदान के ?

मान्छे अति महŒवाकांक्षी भई इच्छा पूरा हुन नसक्नु, प्रेममा फस्नु र धोका खानु, दीर्घरोगले सताउनु र लामो उपचार गर्दा पनि निको नहुनु, आम्दानी घट्नु, ऋण तिर्न नसक्नु, लगानी गर्न र खर्च धान्न नसक्ने स्थिति बढ्दै जानु, मानप्रतिष्ठामा धक्का लाग्नु, भ्रष्टाचार तथा अनैतिकतामा संलग्न हुँदा समाजमा मुख देखाउन नसक्ने अवस्था आउनु, आकस्मिक पीडा र दिमागलाई बढी भार पर्ने अवस्था आइपर्नु, संलग्न भएका परीक्षा तथा प्रतिस्पर्धाहरूमा असफल हुनु, जीवनसँगी÷परिवार तथा समाजबाट बेवास्ता बढ्ने तथा बहिष्कृत हुने अवस्था आउनु, समयमै सही मनोपरामर्श लिने वातावरण नहुनु आदिजस्ता दर्जनौं कारण छन् आत्महत्या बढ्नुका । अझ मनोचिकित्सक डा. लिपा वैद्यका अनुसार, ‘कतिपय व्यक्ति अत्यधिक रक्सीसेवन, लागूपदार्थ प्रयोगजस्ता कुलतमा फँसेर पनि आत्महत्या गर्ने गर्छन् ।’ 

समयमै यो समस्यातर्फ सबैको ध्यान पुगेन भने कृत्रिमता बढेको, सामाजिकपन घटेको, प्रतिस्पर्धा बढेको र संसार नै अत्यधिक उपभोगमुखी बनेको यो समय (युग) मा आत्महत्याको क्रम अझ बढ्ने निश्चित छ । समाज पुँजीवादी संस्कृतिले गाँजिएको छ । खुला संस्कृतिका नाममा अनेक विकृति भित्रिएका छन् । विश्व नै नाफाखोर र माफियाले चलाइरहेका छन् । शिक्षा अतिव्यापारीकरण हुँदा नैतिक शिक्षा र आत्मविकासका कुरा हराएका छन्, आर्थिक कुराले मात्र पाठ्यक्रम गाँजिएका छन् । विश्वका सीमित व्यक्तिमा विश्वकै धन थुप्रिँदैछ । त्यसको मार विश्वका करोडौं मध्यमवर्गीय तथा निम्नवर्गीय परिवारमा पर्दैछ । एउटा सेल्फी खिच्ने मोवाइल भएन भने एक किशोर वा किशोरीले तुरुन्त आत्महत्या गर्न बेर लाउँदैनन् । विदेशको मोहमा फसेको युवाले बाहिर जाने ऋण वा घरको सपोर्ट पाएन भने तुरुन्त विष पिउन बेर लाग्दैन । एसइई वा १२ कक्षामा अलिकति नम्बर (ग्रेड) कम आएको निहुँमा विद्यार्थीले तत्कालै गलत निर्णय लिन बेर लाउँदैन । महँगो उपचार गर्दागर्दै सबै सम्पत्ति सकिएपछि एउटी आमाले बच्चासहित पुलबाट नदीमा हाम फाल्न बेर लाउँदिनन् ।

अहिलेको समय विचित्र–विचित्रका समस्याले जकडिएको छ । यी सबैको प्रतिफल हो बढ्दो सामाजिक समस्या, बढ्दो आत्महत्या दर । अकालमा मृत्यु हुने समस्याले गाँजिएको समाज ।

सचेतनामूल औषधि : एकीकृत प्रयासको खाँचो

आत्महत्याका नकारात्मक परिणामबारे समाजलाई कसरी सचेत पार्ने ? हरेक नागरिकमा जीवनप्रतिको सकारात्मक सोच कसरी बढाउने ? एउटा प्रयास अफसल हुँदैमा अरू सयौं उपाय र प्रयास पनि बाँकी छन् भन्ने कुराको उत्साह र विश्वास कसरी पैदा गर्ने ? किशोर–किशोरी र युवाहरूमा जीवनप्रतिको आशा र भरोसा कसरी बढाउने ? हरेक नागरिक आफैं सचेत भई ‘मूड’ का आधारमा गरिने शीघ्र र आक्रोशपूर्ण निर्णयबाट कसरी बँच्ने ? समस्यामा जकडिएका व्यक्तिलाई समयमै सही उपचार र ‘विचार’ दिएर कसरी आत्मबल र धैर्यता बढाउने ?

निष्कर्षमा, यी सबै कामका लागि व्यक्ति स्वयं, परिवारका सदस्य, शिक्षालय, नागरिक समाज, स्वास्थ्यकर्मी, सुरक्षा निकाय, मिडियाकर्मी, मनोचिकित्सक, मनोपरामर्शविद्, धर्म÷अध्यात्मकर्मीहरू आदि सबैको भूमिका अति गहन छ । एकल प्रयासबाट मात्र वा आजको भोलि यो समस्या चट् हुने, शून्य हुने होइन । तर निरन्तरको एकीकृत प्रयास भएमा भने केही महिनामै आत्महत्याको प्रवृत्ति र संख्या घटाउन अवश्य सकिन्छ । 

सबैको ध्यान जानुपर्ने संवेदनशील विषय बनेको छ यो । सचेतनाका काम हुन सकेका छैनन् । चेतना अभिवृद्धि नै यसतर्फको पहिलो प्रयास हुनुपर्छ । मिडिया र विद्यालय÷शिक्षालयको भूमिका यस सन्दर्भमा सबैभन्दा महŒवपूर्ण हुनेछ । यसमा हरेक प्रबुद्ध व्यक्ति विशेष चनाखो र सहयोगी–भावनायुक्त हुनुपर्ने देखिन्छ । प्रबुद्ध र समाजमा सकारात्मक छवि भएका व्यक्तिको एक मिनेटको प्रयास धेरै महŒवपूर्ण हुन्छ । यो वर्षको विश्व आत्महत्या रोकथाम दिवस (सेप्टेम्बर १०) को नाराले यही कुरालाई जोड दिएको छ । नारा छ, ‘एक मिनेट दिऊँ, एउटा जीवन बचाऊँँ (‘गिभ अ मिनट, सेभ अ लाइफ’) ।’



Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं