Date:2017/11/23 |Thursday

आफ्नाले नै छोड्दै गएको विचार

Posted on: September 11, 2017 | views: 577 | स्वयम्भूनाथ कार्की

हरेक वर्ष साउन महिनाको सुरुतिर र भदौ महिनाको अन्ततिर बीपीको नाममा केही कर्मकान्डी कार्यक्रमहरू हुने गर्छन् । उल्लेख गर्न आवश्यक छैन कि हमेशा सत्ताको केन्द्र, नभए राजनीतिको केन्द्र भएको नेपाली कांग्रेसले बीपीलाई महामानवको उपाधि दिएको छ । आफ्ना औपचारिक कार्यक्रममा बीपीको तस्वीरमा माल्यार्पण पनि गर्ने गर्दछ । तर यो माल्यार्पण बिस्तारै क्रमभंग हु“दैछ । लामो आसनग्रहण, भारतबाट आयातित सयपत्रीको मालाले अतिथिको स्वागतका क्रममा समयाभाव हुने हुन्छ । पार्टी कार्यालयमा भएको दारीवाला तस्वीर कसको हो भनेर कार्यकर्ताहरूले सोध्छन् भनेर कुनैकुनै पुराना कांग्रेसीहरू पीडापूर्वक सुनाउने पनि गर्छन् ।

यसमा अनौठो लाग्ने कुरा केही छैन, किनभने विधिको रूपमा राख्ने गरिएका सबै तस्वीर अहिलेको पुस्ताले चिन्छन् नै भन्ने पनि छैन । किनभने वर्तमानको कांग्रेसमा सिद्धान्तको कारणले कांग्रेस बनेको भन्दा यसको जल्दोबल्दो स्वरूपबाट फाइदा लिन खोज्नेको बाहुल्यता छ । मेरा बाजे बराजु कांग्रेस थिए त्यसैले म पनि कांग्रेस भएँ भन्नेहरूको प्रधानता छ । बीपीको स्वनिर्वासनताका नेपालका गाउँ घरमा मिहिनेत गरेर पार्टी जोगाउनेहरू पार्टीमा भेटिँदैनन् । कपाल फुलेका यस्तालाई कोहीकोही कांग्रेसीले चिन्छन् र ‘जय नेपाल, दाइ’ भन्छन् । साथ हुनेले पनि त्यसै भन्छन् अनि पछि सोध्छन्, ‘को थियो त्यो मान्छे’ । अघि अभिवादन गर्नेले भन्छ पुरानो कांग्रेस हुन अहिलेको युगअनुसारका आपूmलाई ढाल्न सकेनन् ।

वर्तमानको कांग्रेस बीपीको नामले कम परिचित छ, सुवर्णको नाम त हुनसक्छ कतिलाई थाहै नहोला । गणेशमानलाई नेपाली जनतालाई भेडा भनेको कारणले सम्झन्छन् भने किशुनजी यति छिट्टै कथाका पात्र बनिसके । अहिले जीवित हुनुभएको भए सान्दाइले पनि यसै गर्नु हुन्थ्यो भन्नेहरूले बीपी विचारको हत्या गरिसके । कसैलाई सही लाग्छ कसैले गलत पनि भन्लान्, तर दुवैले एकनासले भन्ने कुरो के हो भने बीपी आफ्नो सिद्धान्तमा अडिग थिए । तुरन्तको फाइदा बेफाइदा हेरेर आफ्नो अडान बदल्दैन थिए । चाहे जुन धरातलबाट उनको विचार विकसित भएको होस्, त्यसमा दृढ थिए भन्नको निमित्त आपूmलाई राजाले गरेको प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरेर सुवर्ण सम्सेरलाई अगाडि सार्नुले पनि जनाउँछ ।

केवल कुुर्सीको निमित्त जस्तोसुकै पनि सम्झौता गर्ने उनका भाइ गिरिजाले बीपी विचार बोकेको पाइएको थिएन । यदि बीपी विचार बोकेका भए नोबेल शान्ति पुरस्कार र पहिलो राष्ट्रपतिको चारोमा पक्कै फस्ने थिएनन् । आपैmंले आतंककारी घोषणा गरेको माओवादीसँगको गठजोडले पहिलो राष्ट्रपति बन्ने असम्भव सपना देख्ने थिएनन् । यहा“ गिरिजा आपैmं भन्नुको अर्थ माओवादीलाई आतंककारी घोषणा नेपाली कांग्रेसको सरकारले गरेको थियो र त्यसविरुद्ध सेना परिचालन पनि । पुस्तौनी कांग्रेसमा आस्था राख्ने हजारौंको रगतले रंगिएको हातसँगै अँगालो हाल्न कुनै विचार वा सिद्धान्तले दिने कुरा थिएन । 

त्यसैले एकथरी मान्छेहरू बीपीको शारीरिक मृत्यु ६ साउन २०३९ मा भएको भए पनि ७ मंसिर २०६२ मा उनको विचारको हत्या भएको दिन भन्छन् । यो त्यही दिन हो जुन दिन भारतीय निर्देशनमा माओवादीसँग १२ बु“दे सम्झौता गरेको थियो । यसले साधारण बहानामा मारिएका आफन्तको हत्या गर्ने हातसँग हात मिलाएर सँगै बस्न कांग्रेसीहरू बाध्य भए । हत्या गर्दा आफ्नालाई लगाएका झुटा फत्तुरलाई मानेर बस्न बाध्य हु“दा पार्टीलाई के फाइदा भयो अनि मुलुकलाई के फाइदा भयो ? यसको कुनै उत्तर छैन । यति हु“दासम्म पनि गिरिजाप्रसादलाई फँसाउन प्रयोग गरिएको चारो स्वरूपको राष्ट्रपति उनले पाएनन् । नेपाली कांग्रेसकै रामवरण यादव राष्ट्रपति हुनसक्दा गीरिजा अपच हुनु अनौठो छैन ।

नेपाली कांग्रेसले सदैव भन्दै आएको राजसंस्था केवल प्रथम राष्ट्रपति हुन त्याग्न सकिने हो भने आपूmलाई त्याग्न के बेर भन्ने सोच प्रचण्डमा पलाएको हुनसक्छ । यो प्रचण्डको स्वभावको अनुकूल पनि हो । जब नेपाली कांग्रेसको समग्र हाल यो छ भने नया“ पुस्ताले बीपीको फोटो चिनेनन् भनेर गुनासो गर्नु व्यर्थ छ । नेपाली कांग्रेस आफ्नो सैद्धान्तिक धरातल बीपी विचार भन्ने गर्छ । तर साउन ६ गते रूख रोप्ने र भदौ २४ मा कार्यक्रम राख्नेबाहेक नेपाली कांग्रेसका नया“ पिढिले बीपी चिन्ने कुन माध्यम छ र ? त्यसै पनि यस्ता कार्यक्रममा कांग्रेसीहरूको उपस्थिति एकदमै न्यून हुने गर्छ । त्यसका व्याख्यानमा पनि बीपी विचारभन्दा उनको इतिहास सम्झने वा जीवनी दोहो¥याउने काम ज्यादा हुन्छ ।

आत्मवृतान्तका संकलक, सम्पादक, ध्वनि अनुवादक जे भने पनि, गणेशराज शर्मा हुन् । उनैले अन्त्यकालमा बीपीका भनाइहरूलाई टेप रेकर्ड गरेर त्यसलाई लिपिबद्ध गरे । उनी त्यही किताबमा भन्छन् बीपी, नेपाली कांग्रेसको इतिहास आपैmंले लेख्न चाहन्थे तर भ्याएनन् । शैलजाले लेखून् भन्ने इच्छा थियो तर त्यो पनि भएन । आत्मवृत्तान्त टेप गर्दा बीपीले शैलजाबाहेक अरूलाई भरोसा गरेनन् । अर्थात बीपी विचारको आधिकारिकता शैलजाबाट आएको कुरामा ज्यादा हुने थियो । तर गिरिजाको पदलोलुपताको विरोधमा भएकोले जुन अवहेलना मिश्रित कष्टदायक मृत्यु उनले वरण गर्नु प¥यो त्यो कुनै न कुनै दिन इतिहासले सम्झन्छ ।

नेपाली कांग्रेसमा एकहातको औंलामा गन्न भ्याउने बीपी विचारका चिन्तक रहेको अवस्थामा पनि उनीहरूले त्यसलाई तालिम दिने सामग्रीको रूपमा बदल्ने प्रयास गरेका छैनन् । बरु विशेष वक्ता भइरहने सम्पत्तिको रूपमा प्रयोग गर्ने गरेका छन् । यस्तोमा कमल थापाले बीपी विचारको वकालत गर्नुपर्ने अवस्था रहेको छ । स्मरणीय छ उनी राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलका दवंग नेता थिए । त्यही संगठनले बीपी चढेको विमान विराटनगरमा अवतरण हुन दिएको थिएन । नेपाली कांग्रेस संगठन बीपीको जीवनभरको कमाइ हो । यही संगठनले बीपी विचारलाई आदर्श त मान्छ तर प्रयोग गर्न नपर्ने आदर्श । महामानव पदवी दिएपछि कांग्रेसले उन्मुत्ति पायो, किनभने नेताको विचार, सिद्धान्त पो अनुसरणीय हुन्छ महामानवको त पुजनीय हुन्छ अनुसरणीय होइन । 

बीपीले राजनीतिमा उत्तराधिकारी तैयार गरेको जेठा छोरा प्रकाश कोइरालालाई पाखा लगाइयो । उनको कार्य, सिद्धान्त विचार आदि बीपीको अनुसरण गर्ने थिए थिएनन् कुनै कार्यकर्ताले प्रश्न उठाएनन् । शैलजासँग बीपी विचारको दीक्षा लिन कसैले आवश्यक ठानेनन् । नेपाली कांग्रेसका थिंङ्क ट्यांक प्रदीप गिरीले पार्टीको आन्तरिक प्रजातन्त्रको रक्षाका निमित्त गिरिजाप्रसादसँग सभापति लड्ने नैतिकता देखाए, तर कार्यकर्ताले त्यसलाई उनको घमण्ड बुझे । अहिले कांग्रेसले बीपी विचार होइन कोइराला विरासत खोजेको छ । माइला छोरा श्रीहर्षलाई राजनीतिमा तान्न सम्भव छैन । कान्छा सशांक राजनीतिमा भाग लिए पनि उनको अनुभव चिकित्सक हुनुमै छ । 

गिरिजाप्रसाद पुत्री आफ्नो जर्मनको घरबार छोडेर कतै यो विरासत हात लाग्छ कि भनेर पर्खेकी छिन् । डा. शेखर कोइराला आपूmलाई सशक्त दावेदारको रूपमा विकसित गर्दैछन् । प्रकाश कोइरालाको सम्भवतः नेपाली कांग्रेसमा फीर्ति सम्भव छ जस्तो लाग्दैन । यी विरासत थाम्न सक्ने पात्रहरूले बीपी विचार बोकेका छैनन् वा सक्दैनन् भनिएको होइन । तर त्यत्रो मौका पाउँदा पनि ठूलो बुवाभन्दा आफ्नै बुबाको नै वंशाणुगत गुण सुजाताले बोकेको देखिएको हो । डा. सशांक मेडिकल जर्नल कि बीपी विचार कुन अध्ययनमा आपूmलाई लगाउलान् । डा. नै भए पनि बरु शेखरले बीपी विचार बोक्छन् कि ? उनको राजनीतिमा विविधता भने देखिएको छ ।

कुनै बेला संसारका नेतालाई सोच्न बाध्य गराउने बीपी र उनको नेपाली कांग्रेस न त्यसबेलाको जस्तो इज्जतदार नै रहृयो न सिद्धान्तनिष्ट नै । यो जीवित छ त केवल हालका अवहेलित पुराना कांग्रेसीको आस्थाले, तिनैले नेपाली कांग्रेसको सिद्धान्तलाई कुनै जमानामा बोकेका थिए । तर आज उनीहरू केवल देखापरे अभिवादन पाउने तर काम वा जिम्मेवारी नपाउने अवस्थामा छन् । जीवन यसैमा बितेपछि जेजसो भए पनि सहनै परेको छ, भोग्नै परेको छ । कुनै बेलामा कांग्रेसको भौतिक सफाया गर्ने माओवादीका नेता प्रचण्डकी छोरीलाई मत खसाल्न परेको छ । त्यति मात्र होइन, आफन्तको मृत्यु भुलेर उनको जितमा उत्सव पनि मनाउनै परेको छ । किनभने नेपाली कांग्रेसको सिंहासनमा आधुनिक धृतराष्ट्र बसेका छन् । अनि कांग्रेसीहरू भीष्म जस्तै सिंहासनको बफादारी गर्न प्रतिज्ञाबद्ध छन् । 

त्यसैले अब न साउन ६ गते रोपेको बिरुवा हरियो हुन्छ, न भदौ २४ को व्याख्यानले कसैलाई छुन्छ । किनभने बीपी विचार के हो त्योभन्दा त्यहाँबाट बीपी आज भएको भए गिरिजाप्रसादले देखाएको पदलोलुपता नै देखाउँथे । शेरबहादुरको जस्तो कार्यकर्ताको अपमान नै गर्थे भन्ने व्याख्यान सुन्छन् । त्यसपछि कसैले बीपी विचारको कुरो ग¥यो भने त्यो उनको बेलाको कुरा हो अहिले भएको भए यस्तै गर्दथे भनेर पाखुरा सुर्कने पुस्ता तैयार हुन्छ । यही क्रम चल्दै जाने हो भने केही वर्षमा बीपी विचारलाई म्याद नाघेको औषधी भन्नेछन् । त्यसैले कि त बीपी विचारलाई इतिहास भनेर थन्क्याउनुपर्छ, कि बीपीलाई महामानव होइन मुर्धन्य नेता मानेर उनको विचारमा मन्थन गर्नुपर्छ । नत्र यो बीपीको सम्मान हुनु अपमान हो ।

पुनश्चः यो आलेखले मेरा कम्प्युटर गुरु श्रीहर्ष कोइरालाले बेलाबेलामा पोखेको पीडाबाट उत्प्रेरित भएर यो रूप लिएको हो ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं