Date:2017/11/23 |Thursday

विश्व अर्थतन्त्रमा ब्रिक्स प्रभाव

Posted on: September 12, 2017 | views: 42 | रिसव गौतम

रिसव गौतम

आधुनिक अर्थशास्त्रका पिता किन्सले आफ्नो ‘दि जेनेरल थ्यौरी अफ इम्प्लोइमेन्ट मनि एण्ड इन्ट्रेस्ट’ भन्ने पुस्तकमा बचत र लगानी सम्बन्धमा संसारभरका अरू अर्थशास्त्रीहरूका भन्दा भिन्न मत दायर गरेका थिए । उनले सन् १९३६ मा शास्त्रीय अर्थशास्त्रीहरूको भन्दा भिन्न मत प्रकट गर्दै आप्mनो पुस्तक प्रकाशमा ल्याएका थिए । बचत र लगानी सम्बन्धमा किन्सले भनेका छन्– बचत व्यक्तिका लागि राम्रो भए पनि समाजका लागि दुर्भाग्य हो । उनले नयाँ रोजगारी सिर्जना गर्न नसक्ने लगानी हुन नसक्ने बताएका थिए । बचतले उपभोग प्रवृत्तिलाई घटाउँछ, फलस्वरूप रोजगारीको स्तरमा कमी आउँछ र अन्ततोगत्वा समाजको आम्दानीको स्तरमा पनि कमी ल्याउने हुँदा बचतलाई उनले सामाजिक कलंकको रूपमा हेरेका छन् । नयाँ रोजगारी सिर्जना गर्न नसक्ने लगानीलाई उनले वास्तविक लगानी होइन पनि भनेका छन् । समाजमा रोजगारीको स्तरबृद्धि गर्न, समग्र आर्थिक स्तर उन्नति गर्न वास्तविक लगानीमा वृद्धि गर्नुपर्ने उनको धारणा छ । 

यहाँ अर्थशास्त्री किन्सको सिद्धान्तलाई यसकारण चर्चा गरिएको छ कि पछिल्ला वर्षमा आर्थिक प्रगति गरेका भारत, चीन, ब्राजिललगायतका मुलुकहरूले उनकै थ्यौरीको सक्दो उपयोग गरेको देखिन्छ । विशेषगरी चीनले सन् २००८ को मन्दीपश्चात् किन्सको सिद्धान्तलाई व्यावहारिक रूपमा अवलम्बन गर्न सुरु गरे पनि अरू विकासशील देशहरूले उनकै थ्यौरी लागू गर्दै आएका छन् । सन् १९७८ देखि देङ स्याओ पेङको नेतृत्वमा आर्थिक सुधारको कार्यक्रम थालनी गरेको चीनले धेरै समयसम्म निजी सम्पत्तिलाई कानुनीरूपमा हदबन्दी लगाउँदै आएको थियो । पछिल्लो दशकमा आएर निजी सम्पत्तिको दायरालाई समेत फराकिलो बनाउँदै आएको चीनले विश्वभर आफ्नो लगानीको सघन विस्तार गर्दै आएको छ । फलस्वरूप हाल चीनले बहुआयामिक प्रगति पनि गरिरहेको छ । जस्तो, सहायता दिने मुलुकमा विश्वमा चीन अहिले १ नम्बरमा आएको छ । विश्व बैंकको तुलनामा करिब ९ गुणाभन्दा बढी पुँजीसहितको चिनियाँ डेभलपमेन्ट बैंकले हाल संसारका ९९ देशमा शाखा विस्तार गरिसकेको छ । 

चीन संसारको पहिलो ठूलो निर्यातकर्ता र दोस्रो आयातकर्ता राष्ट्र भइसकेको छ । यद्यपि सन् २०१४ सम्ममा संसारमा सबैभन्दा ठूलो आयात कर्ताका रूपमा चीनले अमेरिकालाई उछिन्ने विश्व प्रसिद्ध समाचार संस्था ‘द इकोनोमिस्ट’ ले प्रक्षेपण गरिसकेको छ । चीन विश्वमै सबैभन्दा बढी जलविद्युत ऊर्जा उत्पादन राष्ट्र मानिन्छ । हाल कुल १७० गिगावाट विद्युत चीनमा उत्पादन भइरहेको छ । सन् १९९१ बाट निजी क्षेत्रलाई लगानीको वातावरण तय गर्नुका साथै विश्वभरका बहुराष्ट्रिय कम्पनीलाई ढोका खोलेको चीन यतिबेला विश्वमै लगानीका लागि उत्तम थलोका रूपमा पनि परिचित छ । त्यस्तै चीन आफ्नो पञ्चवर्षीय योजनाको तेस्रो वर्षमा प्रवेश गर्दै गर्दा उसले इतिहासमै सबैभन्दा धेरै (१ अर्ब अमेरिकी डलर) बराबरको पूर्वाधार निर्माण खर्च छुट्याएको छ । जुन देशको ३० हजार किलोमिटर योजनामा समेटिएको रेल प्रणालीका लागि खर्च हुँदैछ । अझ चाखलाग्दो त के छ भने विश्वकै आधुनिक शहर न्यूयोर्क जस्ता शहर त चीनले सन् २०२५ सम्ममा १० वटा तयार गर्दैछ । हरेक वर्ष श्रम बजारमा आउने २ करोड ४० लाखभन्दा बढी युवाहरूको सहजै व्यवस्थापन गर्न सफल चीन संसारका धेरै अर्थशास्त्रीको अनुमानमा निकट १०–२० वर्षमै महाशक्ति राष्ट्र अमेरिकालाई उछिन्दै छ । त्यसको छनक पछिल्लो ब्रिक्स सम्मेलन र उदियमान एसियाली देशहरूमा चीनले देखाएको प्रभावशाली आर्थिक सम्बन्धलाई लिन सकिन्छ । 

पाँच वर्षअघि भारतको नयाँदिल्लीमा सम्पन्न भारत, चीन, ब्राजिल, रुस तथा दक्षिणी अफ्रिकी देशहरूको रोहवरमा सम्पन्न ब्रिक्स सम्मेलनले यी मुलुकहरूको आर्थिक, सामजिक सम्बन्धलाई अझ प्रभावशाली बनाउन विश्व बैंकको विकल्प खोज्नेसम्मको निर्णय गरिसकेका छन् । गत हप्ता मात्रै चीनमा सम्पन्न ब्रिक्सको पछिल्लो सम्मेलनले संगठनलाई अझै प्रभावकारी बनाउने, विकासशील एवं गरिब मुलुकहरूको हकहितमा काम गर्ने वातावरण तयार गर्ने प्रतिबद्धता जाहेर गरिसकेको छ । संयुक्त राष्ट्रसंघ पछिको पश्चिमालाई चुनौती दिने सबैभन्दा प्रभावशाली संस्था मानिएको ब्रिक्स स्थापनाको छोटो अवधि (सन् २००९ स्थापित) मै संसारभर सबैभन्दा बढी चर्चाको विषय बनेको छ । ब्रिक्सअन्तर्गत करिब ३ अर्ब मानिसको बसोबास रहेको मानिन्छ । रुस र चीनजस्तो शक्तिशाली आर्थिक राष्ट्र, जो संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको स्थायी सदस्य राष्ट्र पनि हुन्, यिनीहरूबीच बढ्दोे घनिष्ठता र व्यापारिक साझेदारीले साँच्चै यतिबेला विश्व शक्तिकेन्द्रको दिशा परिवर्तन हुने आँकलन विश्वस्तरमा चर्चा छ । 


भौगोलिक, जनसांख्यिक एवं आर्थिक दृष्टिले अहं मानिएका देशहरूबीचको गठबन्धनमा निर्मित ब्रिक्सको सम्मेलनले डलरलाई प्रतिस्थापन गर्ने छुट्टै मुद्रा र विश्व बैंकको विकल्पमा नयाँ बैंक खोल्ने अवधारणा गत वर्ष सम्पन्न सम्मेलनले ल्याएको थियो । हाल त्यस विषयउपर यी देश लागिपरिरहेका छन् । यसले विश्व अर्थव्यवस्थामा ठूलो परिवर्तनको सम्भावनालाई जोड दिएको देखिन्छ । व्यापारिक साझेदारी र मिलनको उद्देश्यले स्थापित ब्रिक्स तथा अन्य उदीयमान एसियाली मुलुकहरूसँगको आकर्षक सम्बन्ध नै चीनले भोलिको विश्व अर्थतन्त्रको नेतृत्व गर्नसक्ने बलियो आधार बन्दै गएको छ । 

उता सन् २००८ मा बैंकिङ सेक्टरबाट आर्थिक मन्दीमा प्रवेश गरेको विश्व आर्थिक महाशक्ति अमेरिका अझै पनि मन्दीको प्रभावबाट मुक्त हुन सकेको छैन । हाल बेरोजगारीको दर १० प्रतिशतसम्म पुगेको अमेरिकी बजारमा अझै पनि बेरोजगारी घट्न सकेको स्थिति छैन । सेयर बजारलगायत प्रायः सबैजस्ता आर्थिक परिसूचकहरू नकारात्मक हुँदै गएको अमेरिकामा अझै आर्थिक सुधारको समस्या कायमै रहेको बताइन्छ । हालका वर्षमा कुल गार्हस्थ उत्पादन औसत वृद्धिदर २ प्रतिशत पनि नरहेकोे अमेरिकी अर्थतन्त्रमा खासै परिवर्तन आउन सकेको छैन । इरान, इराक, लिबिया लगायतका विभिन्न तेल राष्ट्रहरूसँग तेलको सम्भावित संकटलाई बुझेर त्यसको जोहोमार्फत विश्वको नेतृत्व गर्ने अमेरिकी सपना बिस्तारै क्षीण हुँदै गएको देखिएको छ । विश्व आर्थिक परिघटनाहरूले सोझै विश्व अर्थतन्त्रको पारो एसियातर्फ सर्दै गएको स्पष्ट गर्दैछ । एडीबी, विश्व बैंकलगायत प्रतिष्ठित संस्थाहरूले समेत अझै विश्व अर्थतन्त्रमा एसिया क्षेत्रको आर्थिक अवस्था सुदृढ बन्दै जाने प्रक्षेपण गर्दै आएका छन् । हाल एसिया क्षेत्रको औसत आर्थिक वृद्धिदर ६.८ प्रतिशत बराबर छ । यसरी विश्व अर्थतन्त्रमा आर्थिक समृद्धिको लहर एसियाभर फैलिएको परिदृश्यले उदियमान चीन तथा भारतलगायत देशको हातमा अबको विश्वको नेतृत्व जिम्मेवारी आउँदै गरको आभाष हुँदैछ । 

उसो त ब्रिक्सको सदस्य राष्ट्र रुस, एसिया र युरोप लगायतमा फैलिएको संसारको तेल उत्पादनमा पहिलो र प्राकृतिक ग्यास उत्पादनमा दोस्रो ठूलो राष्ट्र हो । विशेष गरी संयुक्त राज्य अमेरिका तथा युरोपेली मुलुकहरूका नजरमा खलनायकझैं ठह¥याइएका भ्लादिमिर पुटिन पुनः राष्ट्रपतिमा निर्वाचित भएपछि झनै अन्तर्राष्ट्रिय स्तरमा संसारभरका बुद्धिजीवीहरूले विश्व शक्ति सन्तुलनमा हुनसक्ने परिवर्तनलाई विश्लेषण गर्दै आएको हो । अमेरिकालाई आर्थिकरूपले उछिन्ने रणनीतिअन्तर्गत चीनले क्रमशः रुसजस्तो आधुनिक विज्ञानको क्षेत्रमा सबल र ग्यास तथा पेट्रोलियम पदार्थको आवश्यकतालाई सहजै पूरा गरिदिन सक्ने देशसँग हात मिलाउन अगाडि बढ्नुले अबको संसारको शक्तिकेन्द्र निश्चित तवरमा फेरिन सक्ने सम्भावना देखिएको छ । 

सन् १९७० को दशकयता हरेक विश्वव्यापी मन्दी सुरु हुनुअघि तेलको मूल्यमा उच्च वृद्धि भएको र त्यसले मन्दीलाई पीडादायिक रूपमा चर्काएको इतिहास छ । यो तथ्यलाई राम्ररी बुझेको अमेरिकाले तेल सञ्चयका लागि पटकपटक तेल राष्ट्रहरूसँग विभिन्न बहानाबाजीमा झगडा गर्दै आएको छ । पछिल्लो समय इरानसँग अमेरिकी आर्थिक नाकाबन्दी पनि त्यसैको उपज थियो । यद्यपि अमेरिकी नाकाबन्दी अभियानमा एसियाली राष्ट्रहरूको आवश्यक सहयोग नपाएपछि अमेरिकाले सो कदमबाट हात झिकिसकेको अवस्था हो । विश्व अर्थतन्त्रमा पछिल्लो दशकका यी विभिन्न आयामले निश्चय नै संसारलाई नयाँ आर्थिक विश्व नेतृत्वमा धकेलिरहेको छ । 

यद्यपि, विश्वमा माथि चर्चा गरिएका जे जति आर्थिक उतारचढाव, घटना र प्रवृत्तिहरू देखिएका छन्, ती सबै आधुनिक अर्थशास्त्रका पिता किन्सकै अवधारणाअन्तर्गत भएका हुन्भन्दा अतिशयोक्ति हुनेछैन । किन्सको अवधारणालाई वास्तविकरूपमै सही ढंगले लागू गरेका, आर्थिक प्रगतिका लागि मिहिनेत गरेका र रणनीतिक चातुर्यता प्रदर्शन गर्दै आएका कतिपय मुलुक आज निश्चय नै अगाडि छन् । किन्सको बचत र लगानीसम्बन्धी अवधारणालाई पछिल्लो समय उच्चतम अनुशरण गरेका चीन, भारत, ब्राजिल जस्ता मुलुकले अधिकतम प्रगति गरिरहेको छ । तर, पश्चिमा केही मुलुकहरू चीनले समाजवादी आर्थिक चरित्र बनाएबाट आर्थिक प्रगति गरेको हो भन्ने भ्रममा ग्रसित भएबाट निरन्तर आर्थिक ओरालोमा लागिरहेका छन् । कतिसम्म भने केही पहिले युरोपियन देश अर्जेन्टिनाले बहुराष्ट्रिय कम्पनी रेप्सोल वाइपीएफको अर्जेन्टिनास्थित सबै सम्पत्ति राष्ट्रियकरण गरेर उदारवादको मान्यतालाई भंग गरेको थियो । यसरी संसारभर आर्थिकरूपमा प्रतिस्पर्धा त निकै चुलिएकै छ । तर, कुन खालको व्यवस्थाबाट प्रगतिको मार्ग सुरक्षित छ भन्नेमा अझै संसारका देशहरूमाझ अलमल छ । तर, दक्षिण एसियाका चीन, भारत भने पश्चिमा क्षेत्रकै प्रतिभा किन्सले प्रतिपादन गरेकोे अवधारणामा टेकेर विश्व अर्थतन्त्रको नेतृत्व हात पार्ने सफलतामा सन्निकट छन् । त्यसमा पनि भारत, चीन, रुसजस्ता देशहरूको रोहबरमा स्थापित ब्रिक्स संगठनको बढ्दो सक्रियताले विश्व शक्तिकेन्द्रबारे एउटा नयाँ बहसको थालनी भएको छ । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं