Date:2017/11/23 |Thursday

नेपालसँग मिल्दोजुल्दो भूगोल

Posted on: September 12, 2017 | views: 64 | कालिदासबहादुर राउत क्षत्री

एक्काइसौं शताब्दीमा चीनकोे महत्वाकांक्षी परियोजना “वेल्ट एन्ड रोड इनिसिएटिभ (वीआरआई) को एउटा केन्द्रबिन्दुमा कुनमिङलाई राखिएको छ । दक्षिण तथा पूर्वी एसियाको जानकारी थलो यहीँ बन्दैछ । एकजना लेखकले तीव्र विकास संरक्षित संस्कृतिमा भनेका छन्, चीनको युनानमा पर्ने कुनमिङ शहर विकसित र संरक्षित संस्कृतिमा पर्छ । प्राचीन संस्कृतिबमोजिम कुनमिङमा किस्ताबन्दीमा पृथक परिकार पस्किइन्छ । अर्थात् एउटा खाइसकेपछि अर्को परिकार कचौरामा छिनछिनमा ल्याइन्छ । यस्तो बीसौं–तीसौं हुन सक्छन् । युनानको दक्षिणी क्षेत्र मेङजिमा तालको बीचमा सानो टापु छ । यो अतिमोहक टापुले परापूर्वकालदेखि धेरैलाई लोभ्याउँदै आएको छ । एकान्त खोज्ने, अध्ययन अनुसन्धान गर्नेका लागि यो पहिलेदेखि नै अति लोकप्रिय थलो रहँदै आएको छ । 

सयौं वर्षअघिको कुरो हो । एकजना दरबारिया पण्डित परीक्षा तयारी गर्न त्यहीँ टापुमा जाँदो रहेछ । उसकी श्रीमती हरेक दिउँसो उसलाई खाना पु¥याउन पुल तरेर त्यहाँ जान्थिन् । ऊ पढाइमा यति मन्त्रमुग्ध हुन्थ्यो कि खाना सेलाएर अति चिसो भएपछि मात्र पेटलाई सम्झन्थ्यो । पतिको यस्तो पारा देखेर पत्नीको मन पोलिरहन्थ्यो । त्यसैले पनि त्यसको महिलाले प्राकृतिक उपाय खोजिन् । उनले माटाको भाँडामा सुप बनाइन् । त्यसको माथि हल्का तेल तै¥याइन्, ताकि छिटो चिसो नहोस् । लोग्नेलाई मनपर्ने चामलको पिठो नुडल्स छुट्टै उसिन्ने काम गरिन् । साथमा लोकल कुखुराको मासु पनि । जब लोग्ने खान तयार भयो । सुप र अन्य वस्तुलाई एकै ठाउँमा मिसाइन । सुप तातै थियो । तातो खान पाएर तिनको लोग्ने दंग प¥यो । उसले परीक्षा पनि पास ग¥यो, तर जस पायो नुडल्सले । पुल तारेर लगी खुवाइएको उक्त परिकारलाई ‘क्रसिङ द व्रिज नुडल्स’ भन्न थालियो । यसरी यो युनानी जीवनको अभिन्न संस्कृति बनेर पुस्तौंपुस्ता आइरहृयो । यो संस्कृतिको खाना चीनमा अति विशिष्ट पाहुनालाई अनिवार्य खुवाइन्छ । घण्टौं तातो रहने विशेषताको अनौठो गुण यसमा रहन्छ । चिनियाँहरू यस्लाई लभ नुडल्स भन्छन् । सारमा लभ नुडल्सले चिनियाँ समृद्धिको चिनारी दिन्छ । यो विभिन्न खुराक मिश्रित खाना पोषिलो र महँगो पनि छ । युनानको राजधानी कुनमिङको अलावा बेइजिङ र सांघाई प्रमुख छँदैछन् यसैगरी छेङदु, जेङदु, हुवाईबेइ, हुवाइनान, चोङक्वुईङ, हेङयाङ, सिदुयाङ, गुईयाङ, फुजोङ, सिपामेनजस्ता दु्रत गतिका शहरका नाम जोड्छन् । कुनमिङ शहर एक दशकमै उन्नतिको उचाइमा पुगेको हो । नवीनतम विकास भएकोले यसलाई फाइदा पनि छ । सबैजसो भौतिक संरचना योजनाबद्ध छ र साजसज्जायुक्त छन् । विमान स्थलदेखि सडकसम्म डिजाइनका हिसाबले अब्बल छन् ।

चीनको यो महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभको एउटा केन्द्र बिन्दुमा कुनमिङलार्ई पनि राखिएको छ । दक्षिण तथा दक्षिण पूर्वी एसियाको जानकारी थलो (हव) यही बन्दैछ । चीनलाई एसिया, युरोप, ओसियाना, पूर्वी अफ्रिकासम्म सडक मार्गले जोड्ने यस परियोजनालाई सफल पार्न राष्ट्रपति सी जिन पिङ जोडतोडले लागिपरेका छन् । सन् २०४९ मा पूरा गर्ने लक्ष्य राखिएको खर्बौ डलरको बी आर आई सफलतामा कुनमिङ अर्थात युआनको प्रारम्भिक एवं महŒवपूर्ण भूमिका रहने निश्चित देखिन्छ । यसरी कुनमिङ शहर विभिन्न यातायात कोरिडोरलाई जोड्ने स्थल बन्दैछ । त्यसमध्ये सन् २०२० मा त्यहाँबाट सिंगापुरसम्म रेल जोडिनेछ । जसलाई चीनले अति महŒव दिएको छ । 

सन् १९९२ मा सुरु गरिएको ग्रेटर मेकिङ सब रिजनल इकोनोमिक कोअपरेसन प्लान (जीएसएस) र त्यही अन्तर्गत सन् २०२० मा अघि सारिएको “वेष्टर्न डेभलपमेन्ट क्याम्पेनमा” युनान पनि समेटिएको थियो । जसले विकास, उद्योग, व्यापार, संस्कृति एवं सुरक्षाका हिसाबले देश–देशलाई जोड्ने बताइन्छ । हरित अर्थतन्त्र, जातीय संस्कृतिको पूर्ण जगेर्ना र तीव्र भौतिक विकास युनानका मुख्य लक्ष्य हुन् । बाहृय सम्पर्क एवं सम्बन्धको थलो बनाउन द्रुत गतिमा लागेका छन् । कुनमिङबाट भियतनाम, म्यानमार, थाइल्याण्ड, बंगलादेश र भारतसम्म जोड्ने सडक, जुन २५९७ कि.मि. लामो हुनेछ । युनानमा यति सम्भावनाको खानी छ कि युनानको अग्रसरतामा एसियाली मुलुकले लाभ लिनसक्ने आधार धेरै छन् । नेता तेङ सिआओ पिङले सन् १९७८ मा वैदेशिक व्यापारको ढोका खोलेपछि चीनले हवात्तै फड्को मारेको हो । चीनमा मिश्रित किसिमको “समाजवादी बजार अर्थतन्त्र” छ । कुनमिङ शहर यसैको नमुना हो । रणनीतिक राजधानीका रूपमा उपयोग भइरहेछ ।

नेपाल र कुनमिङको भूगोल करिबकरिब मिल्छ । कुनमिङको फूल संसारभरि निर्यात हुन्छ । नेपालमा यस्तै गर्न किन सकिँदैन भनेर राजदूत यु होङले भेनेकी थिइन । कुनमिङको सुन्दरतासँग फूलको साइनो पनि उत्तिकै जोडिएको छ । कुनमिङका सडक चोकहरूमा घरहरूमा फूल मुस्कुराइरहेका हुन्छन् । वर्तमानमा आइपुग्दा यसले उच्च व्यावसायिकता समेत आर्जन गरेको छ । गरिबी उन्मूलनमा भूमिका खेलेको छ, समृद्धिको आधार बनेको छ । युआनमा सन् २०१५ मात्रै ४० अर्ब युआन अर्थात ६ अर्ब रूपैयाँ आर्जन भएको थियो । चीनमा विभिन्न मागका साथै ४६ मुलुक सम्म निकासी गरिएको थियो ।

युनानको राजधानी कुनमिङबाट करिब ९० किमि दूरीमा रहेको ढुंगे जंगल आफैंमा आकर्षक गन्तव्य हो । जहाँ रूख प्रकृतिका ढुंगा छन् । चीनको दक्षिणपश्चिम प्रान्त युनानको भियतनाम, म्यानमार र लाओससँग सीमा जोडिएको छ । नेपालको करिब तीन गुणा ठूलो अर्थात् करिब ४ लाख वर्गकिलोमिटर क्षेत्रफल रहेको युनानको ९० प्रतिशत भूभाग पहाडी छ । कतिपय ठाउँ यस्ता छन् जहाँ एकै दिनमा चार सिजन हुन्छन्, दृष्टान्त हो, डियान ताल । उक्त ताल क्षेत्रमा एकै छिनमा गर्मी हुन्छ, एकै छिनमा ज्याकेट लगाउने जाडो हुन्छ । घाम चर्किरहेको हुन्छ अचानक पानी पर्छ । यो प्रसिद्ध पर्यटकीय स्थल हो । वर्षेनी ४० लाखभन्दा बढी पर्यटक स्टोन फरेष्ट हेर्न मात्र पुग्छन् । कुनमिङ नजिकै टोलका बीचमा ठूलो गोलाकार पक्की आँगन छ । जहाँ सधै सांस्कृतिक कार्यक्रम हुन्छन् । पाहुनालाई कुर्सीमा बसाइएका उनका दुवै तिघ्रामा युवती बसे । दुईतिरबाट अँगालो मारे । पाहुनालाई युवतीका कम्मरमा समाउन लगाएर दुवै युवतीले प्यालाबाट रक्सी पिलाए । यो ठाउँ थियो– युनान नेस्नालिटी भिलेज । र थियो अल्पसंख्यक जाति “यी” को सांस्कृतिक प्रस्तुति । चीनमा २५ अल्पसंख्यक जनजाति छन् । तीमध्ये १३ जाति तिब्बतेन, लिसु, नाक्सी, वाई, यी, जिङपो, डाई, वा, हानी, लाहु, जिनाउ आदि छन् । युनानमै पाइन्छन् । युनानलाई जातीय संस्कृतिको संग्रहालयसमेत भनिन्छ । ९० युआनको टिकट काटेर छिर्नुपर्ने यस भिलेजभित्र पच्चिसै जातिका अलगअलग गाउँ छन । परम्परागत गीत नृत्यले युनानको समृद्धिलाई झल्काउँछ । आदिवासी जनजातिका पहिरन परम्परा संस्कृति रहनसहन धर्म आदिलाई देखाउने प्रस्तुति मनमोहक रहन्छ । नेसनालिटी भिलेजमा प्राचीन झझल्को मिल्छ । युनान सभ्यताको उद्गमस्थल यही नै भन्ने अनुभूति हुन्छ । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं