Date:2017/10/17 |Tuesday

वंश परम्पराको धङधङी

Posted on: September 24, 2017 | views: 42 | इन्द्रबहादुर बराल

नेपालको राजनीतिमा वंश परम्पराको इतिहास निकै लामो समयसम्म कायम रहेको कसैबाट लुकेको विषय होइन । नेपाली इतिहासका पानाहरूमा यस विषयमा छ्यापछ्याप्ती पढ्न पाइन्छ । त्यही वंश परम्पराको धङधङी पनि यदाकदा देख्न र सुन्न पाइन्छ । छिमेकी मुलुक भारतमा पनि गान्धी परिवारको एउटा लामो इतिहास बन्यो । तर वंश परम्परामा टिकेर वा टेकेर राज्यमा हालिमुहाली गर्ने दिन अब गएछन् भन्दा नेपाल वा भारतमा कसैप्रति अन्याय हुँदैन । किनकि वंश परम्परामा अडिएर राज्यमा हालीमुहाली गर्ने, दनदनाउने र आफ्नो वर्चस्व गर्ने कार्यलाई अहिलेको पुस्ता र चेतनाले स्वीकार गरेको देखिएको छैन । यस्तो पाइएको छैन । यसो भनेर एउटा वंशले देश र जनतालाई लगाएको गुनलाई भने बिर्सन हुँदैन । उनहरूको योगदानले आधुनिक युगमा प्रवेश गरेका दुवै छिमेकी मुलुक नेपाल र भारत कृतज्ञ हुनुपर्छ । यसको मतलब जसजसले देश र जनताका लागि जे जति योगदान गरे त्यसका प्रति उच्च सम्मान गर्नै पर्छ । 

यद्यपि यसो भन्दैमा राज्यमा सधंै उनीहरू नै दनदनाउनु पर्छ भन्ने होइन । उनीहरूको नै हालीमुहाली चल्नुपर्छ वा उनीहरूको नै कुरा खानुपर्छ भन्ने होइन । हाम्रो मुलुकमा आधुनिक नेपाल निर्माणदेखि नै राष्ट्र निर्माता पृथ्वीनारायण शाहका सन्तानहरू नै राजा बन्दै आएर एउटा वंश परम्परा कायम गरे । त्यस्तै जंगबहादुर राणाले पनि जे जस्तो गरेरै भए पनि श्री ३ को पदवी लिएर देशको सम्पूर्ण कार्यकारी अधिकार स्वेच्छाचारी ढंगले चलाउने गरी वंश परम्परा चलाएको तथ्य सबैलाई जानकारी भएको विषय हो । चाहे श्री ५ भन्नुहोस् या श्री ३, दुवै परिवारले वंश परम्परा कायम गरेर देशको बागडोर हातमा लिएका नै हुन् । भारतमा पनि महात्मा गान्धीको आशीर्वादले पण्डित नेहरूपछिको एउटा वंश परम्परा लामो समयसम्म कायम रहृयो । तर त्यहाँका जनताले सधंै एउटा परिवार विशेषबाट मात्रै मुलुक सञ्चालन गरेको रुचाएनन् । फलतः एउटा चिया पसलेको पृष्ठभूमिबाट माथि उठेर आएका नरेन्द्र दामोदर मोदी जस्तालाई उदय गराए । 

आज हामी देखिरहेका छौं, भारतमा गान्धी परिवारको वंश परम्परा जोगाउनै हम्मेहम्मे भएको छ । नेपालको सन्दर्भमा पनि त्यस्तै त्यस्तै भएको छ । निरंकुश राजतन्त्र र जहानीया राणा शासनको अवसान त भयो तर एउटा परिवार विशेषले राज्य र पार्टी आफ्नै पिता पूर्खाको पैतृक सम्पत्तिझै ठान्ने धङधङी भने अहिले पनि कायमै देखिन्छ ।

नेपाली कांग्रेसको तेह्रौं महाधिवेशनबाट पार्टी नेतृत्व कोइराला परिवारबाट बाहिर निस्केपछि पनि पुनः कोइराला परिवारमा एकताको आवश्यकता भएको महसुस गरेको सुनिँदै आएको छ । एकता आफैंमा अत्यन्तै कर्णप्रिय शब्द हो, किनभने त्यसमा बल हुन्छ । तागत हुन्छ । तर त्यो एकता केका लागि भन्ने प्रश्न बाहिर आउन सक्छ । निःसन्देह नेपालको राजनीतिक इतिहासमा, चाहे जहानिया राणाशाही हुन् वा निरंकुश राजतन्त्र हुन्, यी दुवैखाले अधिनायकवादी सत्ताका नाइके र तिनका मतियारहरूलाई जरैदेखि फाल्ने कामको अगुवाइ कोइराला परिवारले नै गरेका हुन् । यस विषयमा कुनै विवाद नै छैन । मै हुँ भन्नेहरूलाई पनि कोइराला परिवारकै कुशल नेतृत्वले तह लगाएको निर्विवाद हो । यस अर्थमा नेपाली जनता कोइराला परिवारप्रति सदा सर्वदा आभारी हुनै पर्छ । तर यो आभार व्यक्त गर्दैमा योग्यता, क्षमता गतिशीलता र सांगठनिक र कुशलताबिना नै पार्टी र सरकार उनीहरूका सन्ततिलाई सुम्पिनुपर्छ भन्ने कुरालाई पक्कै कसैले पनि स्वीकार गर्न सक्दैनन् । त्यसकारण अब कोइराला परिवारमा पार्टी, सत्ता र राज्यसत्ताको इच्छ जागेको हो भने मोही माग्ने ढुँग्रो लुकाउने होइन, सिधा पार्टी कार्यकर्ता बीच आएर आफ्नो क्षमता देखाएर पदमा आसीन हुनसक्ने ल्याकत देखाउनु पर्छ । यसरी तिनले फेरि पनि बीपी बनेर आउने कोसिस गर्न सक्नुपर्छ । त्यसका लागि त्याग र बलिदान जरुरी हुन्छ । जसजसले बीपीलाई बुझेका थिए, चिनेका थिए र छन् पनि, उनीहरूले बीपीको विचार र चिन्तनलाई आत्मसात गर्नसक्नु पर्छ । केवल वंश परम्पराको सपना देखेर मात्र केही पनि हुँदैन । 

जननायक बीपी, जनता र प्रजातन्त्रप्रति कति गम्भीर र संवेदनशील हुनुहुन्थ्यो भन्ने कुराको प्रत्याभूति दिलाउन सक्ने, सरल र सभ्य प्रतिनिधित्व हुने गरी नेतृत्व विकास गरिनु आजको आवश्यकता हो । यही अहिलेका लागि मननयोग्य विषय हो । यसका साथै नेताको बोलीमा अडान हुनु प¥यो । मात्रै पार्टी र राज्यसत्ताको भोक जगाएर केही हुँदैन । 

आज पार्टीभित्र सैद्धान्तिक र वैचारिक बहसको अभाव खड्किराखेको छ । सायद पार्टी सभापति शेरबहादुर देउवाको यो कार्यकाल मुलुकको संक्रमणकालीन अस्थिर अवस्थाले गर्दा हुन सक्छ । तथापि उनले सोचेजस्तो गतिशीलता प्रदान गर्न नसके जस्तो महसुस हुँदैन । आशा गरौं यो अस्थीर संक्रमणकालको अन्त्यसँगै पार्टीले आफ्नो गति समाउनेछ । आज नेपाली कांग्रेसको हातमा भएको प्रजातान्त्रिक समाजवादी कार्यक्रम अरुले खोस्ने प्रयत्न गरिरहेका छन् । यसतर्फ पार्टी नेतृत्व कति सचेत र जागरुक छ, थाहा छैन । तथापि खबरदारी भने गरिरहन पर्ने स्पष्ट देखिएको छ । पार्टी सत्तामा भएको बेलामा प्रजातान्त्रिक समाजवादअनुरूप केही न केही कार्यक्रम जनताले महसुस गर्ने गरी ल्याउन आवश्यक छ । यस कार्यमा कांग्रेस चुकेको देखिँदै आएको छ । 

प्रमुख प्रतिपक्ष नेकपा एमालेले राष्ट्रवादको लङ्गडो नाराले स्थानीय तहमा आफ्नो हात मजबुत बनाइरहेको अवस्थामा कांग्रेसले राष्ट्रियता, प्रजातन्त्र र समाजवाद जस्तो सुन्दर आदर्शको भरपुर प्रचारप्रसार गर्न सके जस्तो पाइएको छैन । जुन पार्टीको जन्मनै राष्ट्रियताका लागि नै भएको हो । राष्ट्रियता नेपाली कांग्रेसको आत्मा हो । त्यो राष्ट्रियतारूपी आत्मालाई जोगाउनु प्रत्येक कांग्रेसीजनको दायित्व हो । केवल वंश परम्पराको धङधङीले पार्टीको साख जोगाउन कठीन हुन्छ । कम्तीमा राष्ट्रियताको मर्मलाई जोगाउँदै प्रजातान्त्रिक समाजवादको बाटोमा हिँड्ने आँट पार्टी सभापति देउवाले विगतमा देखाउनु भएको थियो र एउटा वंश परम्परा तोड्दै तर विचारमा त्यही वंशका संस्थापक नेता जननायक बीपी कोइरालाकै असल अनुयायी बन्न सफल हुनुभएको तथ्य निर्विवाद छ । यो कुनै अन्ध समर्थनको कुरा होइन । गुण र दोषको आधारमा गरिएको विश्लेषण हो । 

जनआन्दोलन २०४६ पछिका सरकारहरूले गरेका कार्यहरूको मूल्यांकनको आधारमा देउवालाई सच्चा समाजवादी भएको ठोकुवा गर्न सकिन्छ । उदाहरणका लागि लिन सकिन्छ, भूमिसुधारका क्षेत्रमा गरिएको न्यायपूर्ण निर्णय । राजा महेन्द्रले भूमिसुधार लागू गर्दाको अवस्थामा वास्तविक जोताहा किसानलाई जम्मा २५ प्रतिशत मात्र जमिनमा हक प्रदान गरिएको थियोे र त्यसबाट मोही र तलसीङ्ग बीचको लामो विवाद र असमानताको स्थितिलाई अन्त्य गर्दै मोही (जोताहा किसान) लाई ५० प्रतिशत स्वामित्व कायम गराई लामो समयदेखि मोही र तल्सीङ्गबीचको विवाद र असमानता हटाई समानता कायम गराउनु प्रजातान्त्रिक समाजवादको अनुपम उपलब्धि नै थियो । 

त्यस्तै पश्चिम नेपालको अर्थात दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका लाखौं कमैया मजदुरहरू पुस्त्यौनी ऋण तीर्न नसकेर कमैया बस्न बाध्य थिए । त्यस्तो कमैया मजदुरहरूलाई जमिन्दारको ऋणको बोझबाट मुक्त गराई पुनस्र्थापनाको प्रारम्भ भएको थियो । तसर्थ कमैया मजदुरको ऋण मोचन गराई पुनः स्थापनाको कार्य प्रारम्भ गर्नु पनि यथार्थतामा समाजवादी नीतिलाई कार्यान्वयनमा ल्याउनु नै थियो । यो आयो पनि । 

माथि उल्लेखीत दुईवटा कार्य नेपाली कांग्रेसले भन्दै आएको र भन्दै गरेको प्रजातान्त्रिक समाजवादको संकेतिक उपलब्धिहरू हुन् । किसुनजीले २०४७ को संविधान निर्माण र आम निर्वाचन निर्विघ्नरूपले सम्पन्न गरी आफ्नो दायित्व पूरा गराउनु भयो, यद्यपि जेजस्तो कारणले आफू हार्नै किन नपरोस्, तर प्रजातान्त्रिक प्रणाली जोगाउनु थियो । जोगाउनु पनि भयो । यसरी उहाँले नेपाली जनतालाई सुविधा दिने कामलाई पनि अगाडि बढाउनु भयो । विशेष गरेर काठमाडौं उपत्यकावासीलाई मेलम्चीको पानी खुवाउने धोको अब केही समयपछि पूरा पनि हुँदैछ । जसबाट किसुनको आत्माले शान्ति पाउने नै छ । 

समाजवादअनुरूप अन्य धेरै कार्यहरू पार्टी सभापति देउवाले विभिन्न समयमा प्रधानमन्त्री भएर गर्नुभएका धेरै उपलब्धिहरू यथासमयमा आउने नै छन् । तसर्थ अब वंश परम्पराको धङधङी राख्नेले बीपी विचार र चिन्तनलाई मूर्तरूप दिँदै राष्ट्रियता प्रजातन्त्र र समाजवादको आदर्शलाई व्यवहारमा उतार्ने आधार तयार गर्नु भएमा यो स्वागतयोग्य नै हुनेछ । तर पार्टी सत्ता र राज्य सत्ताको तृष्णा मात्र जागेको हो भने यसबारे भन्नु केही छैन । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं