Date:2017/12/17 |Sunday

सार्क–साफ्टा संगठन र नेपाली अर्थतन्त्र

Posted on: September 26, 2017 | views: 85 | रिसव गौतम

आर्थिक विकासको मेरुदण्ड नै व्यापार भएकोले नेपालले पछिल्लो दशक अन्तर्राष्ट्रिय व्यापारिक संघ÷संस्थाहरूसँग तीव्ररूपमा सम्बन्ध गाँस्दै आएको छ । हालसम्म नेपालले विश्व व्यापार संगठन (डब्लुटिओ), दक्षिण एसियाली स्वतन्त्र व्यापार संगठन (साफ्टा), दक्षिण पूर्वी एसियाली देशहरूको संगठन (एसियान), प्राविधिक सहायतासम्बन्धी संगठन विमस्टेकजस्ता थुपै व्यापारिक संघ संस्थाहरूसँग सदस्यता लिइसकेको छ । क्षेत्रीयरूपमा नेपालले सम्झौता गरेको संगठन दक्षिण एसियाली स्वतन्त्र व्यापार सम्झौता साफ्टा हो । साफ्टासँगको सम्झौताले नेपाल, भुटान, बंगलादेश जस्ता अल्पविकसित मुलुकलाई प्राविधिक सहयोगका साथै भन्सार घटाउँदा हुने घाटा व्यर्होने काम हुँदै आएको छ । दक्षिण एसियाली क्षेत्रीय संगठन (सार्क) को मूलभूत उद्देश्यहरूमा दक्षिण एसियाका जनताहरूको हित अभिवृद्धि गर्ने र उनीहरूको जीवनस्तरमा सुधार ल्याउने, आर्थिक वृद्धि, सामाजिक उन्नति तथा सामाजिक विकासको अभिवृद्धि गर्न, दक्षिण एसियाली राष्ट्र र मुलुकहरूबीच सामूहिक आत्मनिर्भरता सम्बद्र्धन र विस्तार गर्ने, पारस्परिक विश्वास र साझेदारी बढाउने तथा अन्य विकासशील देशहरूसँगको सहयोग बलियो पार्नेलगायत छन् । सार्क मुलुकहरूमध्ये नेपालले इतिहासदेखि नै भारतसँग बढी व्यापारिक कारोबार गर्दै आएको छ । 

खुला सिमाना र नजिकको राष्ट्र भएको कारणबाट नेपालले भारतसँग ज्यादा व्यापार गर्दै आएको पाइन्छ । भारत नेपालको आर्थिक, सांस्कृतिक एवं मनोवैज्ञानिक संस्कृतिसँग मिल्दोजुल्दो भएको कारणले पनि व्यापारिक सम्बन्ध प्रगाढ हुन पुगेको देखिन्छ । भारतसँग हाल कुल व्यापारको ६० प्रतिशतभन्दा बढी व्यापार हुँदै आएको छ । तर हालका वर्षमा नेपालले व्यापार घाटा पनि त्यत्तिकै मात्रामा व्यहोर्दै आएको छ । त्यस्तै नेपालमा ७० प्रतिशतभन्दा ज्यादा आयत दक्षिण एसियाली राष्ट्रबाटै हुँदै आएको छ । क्षेत्रीयरूपमा नेपाल दक्षिण एसियाली राष्ट्रहरूमा पर्दछ । जसमा नेपाल भारत, भुटान, बंगलादेश, श्रीलंका, पाकिस्तान, अफ्गानिस्तान आदि राष्ट्र पर्छन् । यी देशहरूमध्येमा भारतको अर्थतन्त्र विशाल रहेको छ । नेपालबाट भारतमा हुने निर्यात व्यापारले पेट्रोलियम पदार्थको आयात मात्र पनि धान्न सकिरहेको अवस्था छैन । यद्यपि कृषिजन्य वस्तुहरू जस्तो दाल, चामल, ध्यू, पीठो, तोरी, मकै, कुच्चोे, जीवित जनावर, मैदा, अदुवा, पिनालगायतका अन्य विविध वस्तुहरू निर्यात हुन्छन् । भारत बाहेकका मुलुकहरूमा पनि नेपालबाट कृषिजन्य वस्तुहरू, जरिबुटी, छालाजन्य वस्तु निर्यात गर्दै आएको छ । 

एसियाली मुलुकबाहेक नेपालबाट निर्यात हुने वस्तु अलि फरक हुने गरेको छ । सार्क मुलुकहरूमा नेपालले हालको वर्षमा पाकिस्तानबाहेक सबैसँग व्यापार घाटा व्यहोर्दै आएको छ । यस्तो तथ्यले नेपालले व्यापारमा नाफाको अवस्था गुमाउँदै गएको आभास हुन्छ । सार्क मुलुकमा नेपालको नाफा दर बढाउन प्रतिस्पर्धी क्षमताको वस्तु बढाउन आवश्यक देखिन्छ । यसरी हेर्दा निर्यात व्यापारलाई प्रभावकारी बनाउने संयन्त्र परिचालन गर्नुपर्ने देखिन्छ । खासगरी नेपालले निर्यात व्यापारका लागि आवश्यक पूर्वाधार खडा गर्न सक्नुपर्छ । बाटो घाटो, बिजुली, यातायात, हवाई सेवालगायतका सुविधालाई विस्तार गर्नुपर्ने देखिन्छ । विशेषगरी ६५ प्रतिशत नेपाली संलग्न कृषि क्षेत्रको विकास हुन नितान्त जरुरी देखिन्छ । 

कृषि क्षेत्रको विकासबाट निर्यात व्यापारलाई मात्र सहायता नपुगेर रोजगारी पनि सृजना हुने गर्छ । त्यस्तै औद्योगिक क्षेत्रमा नयाँ प्रविधि लागू गर्ने विषय पनि प्रतिस्पर्धी बजारका लागि आवश्यक हुन्छ । हाल नेपाली बजारले सार्क मुलुकमा पनि व्यापार घाटा व्यहोर्नुपर्ने कारणमा प्रविधिको प्रयोग हुन नसक्नु, कम उत्पादकत्व, कम गुणस्तर, ऊर्जा संकट, बजार प्रवद्र्धनको अभाव अधिक लागत नै हो । तसर्थ नेपालले सार्क मुलुकको बजारमा व्यापार वृद्धि गर्न तुलनात्मक लाभका वस्तु खोजि गर्नुका साथै प्रतिस्पर्धी सक्षमताका वस्तु निर्माणमा जोड दिन सक्नुपर्छ । त्यसका लागि बजेट ग्रामीण क्षेत्रमुखी हुनुपर्छ । यसरी नेपालले सार्कलगायत व्यापारिक उद्देश्यका साझेदारी संगठनहरूसँग सदस्यता लिनुले अवसर मात्र नभएर चुनौती पनि सृजना गरिरहेको छ । 

साफ्टाको उदय र नेपाली अर्थतन्त्रमा प्रभाव

श्रीलंकाको राजधानी कोलम्बोमा भएको छैटौं शिखर सम्मेलनले सार्क सदस्य मुलुकका बीचमा सम्पन्न हुने व्यापारलाई स्वतन्त्रता प्रदान गरी लाभको र समानताको आधारमा उपयोग गर्न पाउने कुरामा सहमति जनाएको थियो । त्यसैगरी बंगलादेशमा ११ अप्रिल सन् १९९३ मा सम्पन्न सार्कको सातौं शिखर सम्मेलनले साफ्टा पारित गरेको थियो । साफ्टा सम्झौताले सदस्य राष्ट्रहरूबीच विभिन्न वस्तुमा रहेको भन्सार दर घटाउने, अतिकम विकसित राष्ट्रहरूमा थप सुविधा दिने प्रस्ताव गरेको थियो । यस सम्झौताले ५ हजार ५ सय वस्तुलाई सौविध्य प्राप्त वस्तुमा सूचीबद्ध गरेको थियो । त्यस्ता सौविध्य प्राप्त वस्तुमा ५ देखि ७५ प्रतिशतसम्म भन्सार छुट गरेको थियो । नेपालको २५० प्रकारका वस्तु त्यस्तो सूचीमा परेका छन् । 

साफ्टाको व्यवस्थापन गर्नुपर्छ भन्ने धारणा सन् १९९५ मा नयाँदिल्लीमा भएको सार्क शिखर सम्मेलनमा भएको थियो । सम्मेलनले सन् २००५ सम्ममा साफ्टालाई सक्रिय तुल्याउने सम्झौता गरेको थियो । एवं रितले चल्दै गएको छलफलले सन् २००४ को जनवरी ४ देखि ६ सम्म इस्लामावादमा सम्पन्न भएको सार्कको बाहौं शिखर सम्मेलनले साफ्टामा हस्ताक्षर गरेको थियो । जसमा बंगलादेश, नेपाल, भारत, भुटान, माल्दिभ्स, श्रीलंका, पाकिस्तान र अफगानिस्तानलगायत सदस्य रहेका छन् । सामानको सीमा वारपार गराउनेसम्बन्धी बाधाहरू हटाउने उद्देश्यले नेपालले खासगरी साफ्टामा प्रवेश गरेको थियो । साफ्टाले सदस्य राष्ट्रहरूलाई समानुपातिक फाइदा सुनिश्चित गर्दै खुला व्यापार क्षेत्रमा स्वस्थ प्रतिस्पर्धाको वातावरणलाई प्रवद्र्धन गर्ने उद्देश्य लिएको देखिन्छ । 

साफ्टा सदस्य राष्ट्र भएपश्चात नेपाललाई धेरै किसिमका फाइदा पुग्दै आएको छ । भारत, पाकिस्तान, भुटान, बंगलादेश, श्रीलंकालगायत देशहरूसँग व्यापार वृद्धि गर्न सघाउ पनि पुगिरहेको छ । निर्यात व्यापार बढाउन, नेपालका सम्भावना बोकेका जलविद्युत, कृषि लगायतमा लगानी बढाउन र प्रर्वद्धन गर्न साफ्टाको महŒवपूर्ण सहयोग रहँदै आएको छ । नेपालको आर्थिक गतिविधिलाई क्रियाशील तुल्याउन र आर्थिक वृद्धिदर बढाउन साप्mटाले महŒवपूर्ण भूमिका खेल्दै आएको स्पष्ट देखिँदै आएको नै छ । 

विभिन्न सुविधाका कारण वस्तु व्यापार बढिरहेको छ । विभिन्न देशहरूबीच हुने निश्चित सन्धि सम्झौताले व्यापार फष्टाउने हुँदा साफ्टा एउटा अवसरको माध्यम हँुदै गएको छ । यसले विदेशी लगानी बढाउन सहयोग पनि गरेको छ । खासगरी सदस्य राष्ट्रहरूबीच प्रतिस्पर्धा बढाउँदै लगेको छ । प्राकृतिक स्रोत साधनको दुरूपयोग हुने सम्भावनालाई पनि बढाउँदै लगेको छ । 

यद्यपि, क्षेत्रीय व्यापारमा नेपालले प्रतिस्पर्धामा खरो उत्रन सकिरहेको छैन । सस्तो निर्यातबाट नराम्रो प्रभाव पर्दै गएको छ । साना तथा घरेलु उद्योेगहरू विस्थापित हुने खतरा बढाउँदै लगेको छ । त्यस्तै भन्सार आय घटाउँदै लगेको छ । प्रतिस्पर्धा गर्न नसके देशको अर्थतन्त्र नै चौपट हुने स्थिति सृजना गर्दै लगेको छ । तर सार्क र साफ्टाजस्ता व्यापार संगठनबाट नेपालले भविष्यमा धेरै लाभ आर्जन गर्ने सम्भावना अझै ज्यँुदो छ । त्यसका लागि पहिला त आन्तरिक अर्थतन्त्र मजबुत बनाउन आवश्यक देखिन्छ । आन्तरिकरूपमा सबल अर्थतन्त्र बनाएर तुलनात्मकरूपमा लाभका प्रतिस्पर्धी वस्तु यी संगठनहरूका सदस्य राष्ट्रहरूमा बिक्रीवितरण गर्न सके नेपालले राम्रो लाभ हासिल गर्न सक्छ । त्यसतर्फ सरकार र सम्बन्धित पक्षले बेलैमा ध्यान दिनु आवश्यक देखिएको छ । 



Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं