Date:2017/12/17 |Sunday

विकासका लागि दिगो पर्यटन

Posted on: September 27, 2017 | views: 602 | चेतनाथ कँणेल ‘हरित’

माथिको शीर्षकमा विश्व पर्यटन दिवस सन् २०१७ को नारा मिसिएको छ । अर्थात् विश्व पर्यटन संघले सन् २०१७ का लागि तोकेको नारा हो ः ‘दिगो पर्यटन ः विकासका लागि एक औजार’ (सस्टेनेबल टुरिजम ः अ टुल फर डेम्लपमेन्ट) । नेपालका लागि यो नारा अति नै सान्दर्भिक छ । हाम्रो देशको अर्थतन्त्रमा पर्यटनलाई एक मुख्य आधार मानिएको छ । विश्व पर्यटन संघले सेप्टेम्बर २७ तारिखलाई पर्यटन दिवस घोषणा गरेको छ । सन् १९७० मा विश्व पर्यटन संघको विधान पारित भएको दिनलाई सम्झने उद्देश्यले सन् १९८० मा दिवस मनाउन थालिएको हो ।

सन् १९८० मा पहिलो पर्यटन दिवस मनाउँदा ‘सांस्कृतिक विरासत, शान्ति र आपसी समझदारीका लागि पर्यटन’ नारा थियो । यसपटक हामी ३८औँ विश्व पर्यटन दिवस दिवस मनाउँदैछौँ । आज (असोज ११ गते) नेपालमा बडादशैँको सप्तमी पर्व परेकाले विश्व पर्यटन दिवसले महŒव पाएन । कर्मचारीहरू ‘सट्टा बिदा’ मा बसेजस्तै पर्यटन दिवस पनि ९ गते नै ‘सट्टा–दिवस’ मनाइयो ।

कसलाई छुनुपर्छ दिवसले ?

हरेक वर्ष विश्व पर्यटन संघले दिने नाराको अर्थअनुरूप देशभित्र वर्षभरि त्यसै खालका गतिविधि, छलफल, बहस, चर्चा, योजना÷परियोजना आदि चलाउने विशेष सोच सरकार, गैसस, निजी क्षेत्र, प्राज्ञिकवर्ग, स्थानीय बासिन्दा र मिडियाको होस् भन्ने मूल अभिप्राय हो । त्यसमा हामी चुकेका छौँ ।

कम्तीमा त्यो वर्ष सघन हिसाबले त्यसै विषयमा सोचौँ, त्यसै विषयमा काम गरौँ भन्ने हो तर हाम्रो पर्यटन ‘कर्मकाण्ड’ फरक हुन सकेको छैन । गत वर्ष (सन् २०१६) को पर्यटन दिवसको नारा ‘सबैका लागि पर्यटन ः विश्वव्यापी पहुँच बढाऔँ’ थियो । हामीले त्यससम्बन्धी चर्चा र छलफल वर्षभरि कति चलायौँ त ? सम्झनलायक कुन काम ग¥यौँ ? अहँ, खास कुनै काम भएको छैन । 

यो देशमा गरिबमुखी पर्यटनको बहस हुन थालेको दुई दशक बितिसक्यो तर खास गरिब वर्गको हातमा पर्यटनको लाभ पु¥याउने काम हुन सकेको छैन । अझ कतिपय मुख्य सरोकारवालाहरूमा त यसको सोचको राम्रो ज्ञान र ध्यान छैन । निजी व्यवसायीलाई आफ्नो व्यवसाय स्थानीय समुदायमुखी र गरिबमुखी बनाउनुपर्छ भनेर कसले सम्झाउने बुझाउने गरेको छ त ? गरिब र विपन्नलाई ध्यान दिएबापत त्यस्ता व्यवसायीलाई कसले सम्मान गरेको छ त ? दिवसलाई यस्ता कुरासँग गाँस्नु पर्छ । 

दिवसका लागि दिवस भन्ने गुनासो सुनिन्छ । हरेक दिन कुनै न कुनै दिवस पर्छ भनिन्छ । सबै दिवस सबैका लागि उत्तिकै महŒवपूर्ण हुँदैनन् । शिक्षा दिवसले शिक्षक, विद्यार्थी र शिक्षाका कर्मचारीलाई बढी छोएजस्तै, पर्यटन दिवसले पनि पर्यटनकर्मीलाई छुनुपर्छ । 

यस वर्षको नाराको मूल शब्द ‘दिगो पर्यटन’ ले धेरै कुराको संकेत गरेको छ । दिगो पर्यटन हुन सक्यो भनेमात्र स्थानीय विकासमा यसको योगदान पुग्न सक्छ । विकास प्रक्रियालाई ऊर्जा दिने सच्चा औजार बनेर अगाडि बढाउन सक्छ भन्नेमा यसले जोड दिएको छ । 

नेपालको सन्दर्भमा अन्नपूर्ण क्षेत्र, सौराहा, खुम्बु क्षेत्र आदि केही ठाउँ छन् जहाँको विकासको मुख्य आधार नै पर्यटन हो । पर्यटन नभए भए ती क्षेत्र अहिले हाम्रासामु यति परिचित बन्ने थिएनन् । आर्थिक विकासका राम्रा उदाहरण बन्ने थिएनन् । देशका अन्य क्षेत्रमा पर्यटन विकासका लागि ‘कपी’ गर्ने मोडेल बन्ने थिएनन् । हामीलाई थाहा छ, खुम्बुक्षेत्रको पर्यटन सोलुका दक्षिणी भेग (जस्तै ः पिके–दुधकुण्ड क्षेत्र), नुम्बुर क्षेत्र र ओलाङचुङगोलादेखि अपि–सैपाल क्षेत्र (दार्चुला) सम्म विस्तार गर्ने चाहना बढेको छ । अन्नपूर्ण संरक्षण क्षेत्रको मोडेल विस्तारै कञ्चनजंघा, मकालु–बरुण, गौरीशंकर–रोल्वालिङ, मनास्लु, ढोरपाटन, सिस्ने, खप्तड आदि क्षेत्रमा ‘रेप्लिकेट’ गर्ने प्रयास भइरहेको छ । अनि सौराहाको वन्यजन्तुमा आधारित पर्यापर्यटनले तराईका धेरै भागका जनतालाई लोभ्याएको छ । झापाको जमुनाखाडी, सुनसरीको कोशीटप्पु, पर्सा क्षेत्र, मेघौली क्षेत्र, नवलपरासीको अमलटारी क्षेत्र, बाँके राष्ट्रिय निकुञ्जवरिपरिका राजमार्गसँग जोडिएका केही गाउँहरू, बर्दियाका ठाकुरद्वारा र डल्ला÷सूर्यपटुवा क्षेत्र अनि कञ्चनपुर जिल्लाका शुक्लाफाँटा निकुञ्जवरिपरिका केही क्षेत्र यतिबेला ‘सौराहा मोडेल’ को पर्यापर्यटन भिœयाउन आतुर छन् ।

स्थानीय पहल र सडक 

सौराहा पर्यटनले त्यहाँको ‘मिनि ठमेल’ क्षेत्र झकिझकाउ बनेको छ । बेलाबेलाका ‘पर्यटन झड्का’ ले हैरान नभएको भए यतिबेलासम्म सौराहा अझै कहाँ पुगिसक्थ्यो । त्यसका बाबजुद त्यहाँका साना व्यवसायी अहिले ठूला ‘साहूजी’ बन्न पाएका छन् । पहिले झुप्रामा बस्ने केही थारू परिवारले अहिले समृद्धिको आनन्द लिएका छन् । चौधरी होटल, चौधरी लज, चौधरी रेस्टुरेन्ट, चौधरी गिफ्टसप आदि खुलेका छन् । यसले एउटा सन्देश दिइरहेको छ–पर्यटन विकासले स्थानीयवासीले थुप्रै रोजगारी पाउन सक्छन्, थुप्रै व्यवसाय आफैँ चलाउन सक्छन्, विकास पनि हुन्छ ।’ 

यही सिको अहिले तराईका धेरै थारूप्रधान बस्तीमा चलेको छ । नवलपरासीको अमलटारी, बर्दियाको डल्लागाउँ र कैलालीको भादागाउँ आजकाल बढी नाम चल्न थालेका नयाँ पर्यटकीय होम स्टे गाउँ हुन् । यी पहल दिगो बन्नुपर्छ– आर्थिक हिसाबले, प्राकृतिक स्रोतका हिसाबले, सामाजिक तथा सांस्कृतिक हिसाबले, वातावरणीय तथा फोहोरमैला व्यवस्थापनका हिसाबले, अनि समानुपातिक लाभ बाँडफाँड र सहभागिता तथा समावेशीताका हिसाबले ।

नेपालका अभिन्न मित्र स्विट्जरल्याण्डका नागरिक स्व. डा. टोनी हागनले आफ्नो प्रसिद्ध पुस्तक ‘विकास र विकेन्द्रीकरण’ मा नेपालमा अपार पर्यटकीय सम्भावना भएको तर ती विस्तारै विकास गरिनुपर्ने, स्थानीय संस्कृति र रीतिथिति बिग्रन दिन नहुने, वातावरणमा कति पनि ह्रास आउन दिन नहुने, स्थानीयवासीले बढीभन्दा बढी लाभ लिन पाउनुपर्ने, स्रोतको दोहन कमभन्दा कम हुनुपर्ने, स्थानीय विकास निर्माणमा मेसिनभन्दा मान्छे नै बढी लगाउनुपर्ने र त्यसका लागि विपन्न र पछाडि परेका वर्गको क्षमता बढाउनुपर्ने जस्ता दर्जनौँ सुझाव दिएका छन् । पर्यटनका लागि ‘रुट’ गाउँबस्ती हुँदै जाने बनाउनुपर्ने, कुनै ठाउँमा छिटो पुग्ने व्यापारिक मोटर बाटो बनाउँदा सुरुङमार्ग ठीक हुने सुझाव पनि उनले दिएका छन् । त्रिभुवन राजपथ बनाउने तरिका गलत थियो भनेर पनि उनले औँल्याएका रहेछन् । त्यो सडक भारत सरकारले बनाइदिएको थियो ।

नेपालमा पर्यटनका लागि सडक बन्नु जरुरी छ । सडक बन्दाका फाइदा र बेफाइदा पहिले नै राम्रो आकलन गर्न सकिएन भने त्यो ‘बालुवामा पानी’ जस्तै बन्छ भन्न पनि टोनी हागन पछि परेका छैनन् । उनले काठमाडौँ–त्रिशूली सडक देखाएर त्यो सडक लाभभन्दा पनि हानि पु¥याउने खालको भयो भनेका छन् । लगानी बढी, लाभ कम भएको बाटोको संज्ञा दिएका छन् । सडक बनेपछि गाउँलेहरू सहर पसे भने सडकको अर्थ हराउँछ, सहरियाहरू गाउँ फर्के भने बल्ल सडकको सार्थकता बढ्छ, उनले ठाउँठाउँमा भनेका छन् । भिराला, अग्ला, अप्ठ्यारा ठाउँलाई पुल र रोपवेले जोड्नुपर्नेमा हागनको जोड छ । 

बाधक : दिगो भ्रष्टाचार !

नेपालका महाहितैषी मित्र उनै स्व. टोनी हागनकी सुपुत्री डा. क्याट्रिन हागन नेपाल भ्रमणमा आएको मौका छोपी यही असोज ९ गते सोमबार नेपाल सहभागीमूलक कार्य समूह (नेपान) ले कोटेश्वरको ‘नेपानघर’ मा एक छलफल कार्यक्रम आयोजना ग¥यो । त्यहाँ भनिन्, ‘म भर्खर हुम्लाबाट फर्कें । हुम्लामा अहिलेसम्म पनि बाटो पुग्न नसक्नु दुःखद् पक्ष हो । त्यहाँ विकास धेरै पछाडि परेको छ । महिलाहरू धेरै पछाडि परेका छन् । स्वास्थ्य र शिक्षाको उपलब्धता सहज र सुलभ छैन । पर्यटक घुम्ने ठाउँ त्यहाँ धेरै छन्, तर जाने कसरी ? प्लेन र हेलिकप्टर भाडा अति महँगो छ । समयमा कोही पनि उड्न पाउँदैन । तसर्थ, नेपालमा पर्यटन विकास गर्ने हो भने दुर्गम ठाउँको विकासमा पहिला जोड दिनुपर्छ । स्विट्जरल्याण्डबाट नेपालले धेरै सिक्न सक्छ । किनकि नेपाल र स्विट्जरल्याण्ड उस्तै छन् । .. ।’

उनको भनाइमा ‘नेपाल अनुभव’ मिसिएको छ । किनकि उनले ५०–६० वर्षदेखि नेपाललाई नजिकबाट नियालेकी छन् । आफ्ना बाबुसँगै उनले धेरैपटक नेपालका कुनाकानी र खोँच–खोल्सा घुमेकी थिइन् । बुबाको सन् २००३ मा देहावसान भएपछि पनि नेपाललाई माया गर्न छोडेकी छैनन् । टोनी हागन फाउन्डेसन खोलेर नेपालको सेवामा प्रयास गर्दैछिन् । हरेक वर्ष नेपालका विपन्न वर्गका लागि स्वास्थ्य शिविर चलाउँछिन् । हालै हुम्लामा पाँच दिन बसेर स्वास्थ्य परीक्षणको सेवा दिइन् । करिब पाँच दर्जन व्यक्तिको त हड्डीको अपरेसन नै भयो । उनी हाडजोर्नी विशेषज्ञ हुन् । डा. क्याट्रिनको एउटै कुरामा जोड छ– विकास दिगो हुनुपर्छ । दिगो विकासका लागि नेताको दिमाग पनि दिगो हुनुपर्छ । भ्रष्टाचारमा चुर्लुम्म डुब्ने नेताबाट दिगो विकासको आश गर्न सकिन्न । 

हो, नेपालको पर्यटनलाई पनि भ्रष्टाचारले दिगो बन्न दिएको छैन । दुर्गममा जाने कुरा त के, सोच्नेसम्म पनि फुर्सद छैन । कतिवटा प्लेन थप्दा पर्यटन कहाँ पुग्ला भन्नेतिर नभई कतिवटा प्लेन खरिद गर्दा मेरो सात पुस्तालाई धनसम्पत्ति ‘दिगो’ रूपले पुग्ला भन्ने सोचका मान्छेले देश चलाउँदासम्म पर्यटन दिगो बन्न सक्दैन । आजको दिनको सच्चा सन्देश यही हो ! स्व. टोनी हागन र उनकी सुपुत्री क्याट्रिना हागनलाई सलाम !!

chetnathkanel@gmail.com


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं