Date:2017/10/17 |Tuesday

भँडार खनेर आँगन पुर्ने प्रपञ्च

Posted on: September 27, 2017 | views: 62 | माधव घिमिरे ‘अटल’

जाउँ जाउँ भन्दा जौ पाक्यो, खाउँ–खाउँभन्दा सकियो भने झैँ भएको छ नेपालमा भ्रष्टाचार निवारण वा न्यूनीकरणको किस्सा । लौ त भनूँ भने देश यसरी खोक्रिएको छ कि कुनै पनि क्षण टाट पल्टेको खबर सुनियो भने सो अचम्म मान्नुपर्ने हुने छैन । गणतन्त्र नै कतै भिल्लका देशमा मोतीको छेलो भइराखेको त छैन ? निधार खुम्च्याउनुपर्ने बाध्यतामा छन् सर्वसाधारण । जसको जीवनले काँचुली फेर्नु त कहाँ हो कहाँ, थप रिठ्ठे भूमरीमा हेलिनु पर्ने खतरा बढ्दो छ । त्यसैले चिया पसलदेखि सुरा भट्टीसम्म आजकाल एउटै स्वर सुनिन्छ– महलको छानामा बस्दैमा माग गरुड नहुने रहेछ । 

हुन पनि अचम्म हुँदै आएको छ । उपचारका नाममा मान्छेको ज्यान लिन पाउँदैनौँ भन्दा डाक्टरहरू अस्पताल छाडेर आन्दोलनमा होमिन्छन्≤ प्रतिस्पर्धाका आधारमा आफूलाई अब्बल सावित गर अनि जागिर खाऊँ भन्दा शिक्षक र प्राध्यापक मारमुंग्री गर्छन्, चक र डस्टर फ्याँकेर बन्द, घेराउतिर लहसिन्छन्≤ व्यापक आर्थिक अनियमितताको समाचार जनसमक्ष ल्याउने सञ्चारमाध्यामलाई कुनै कुख्यात अपराधीसरह सर्वोच्च अदालतको कठघरामा उभ्याउने कुचेष्टा गर्छन् भ्रष्टाचारी खलपात्रहरू≤ राज्यकोषबाट दैनिकजसो करोडौँ रुपैयाँ आफ्ना झोले कार्यकर्ता पोस्नका निम्ति सत्ताधारीहरूले खर्चिरहेका खबरबारे बालुवाटार बेखबर भएझैँ तैँ चुप मै चुपको अवस्थामा रहन्छ≤ स्वास्थ्य शिक्षाको पहुँच सर्वसाधारणका निम्ति र राज्यका कुना कन्दरामा पु¥याउनुपर्छ भनेर माग गर्नेलाई मकेडिकल माफियाहरू सार्वजनिक सञ्चारमाध्यमबाटै ज्यान लिने धम्की दिन्छन् दिनदहाडै≤ राज्यसँग ३० करोड रुपैयाँ ऋण लिएर साझा प्रकाशनको पुनर्जीवन दिन तम्सेका पात्र सबै पैसा स्वाहा पारेर तन्नम पारिदिन्छन् संस्थालाई परन्तु निर्दोष झैँ निष्फिक्री हिँडिरहन पाउँछन् उनी≤ राज्यकोषको अर्बौं रकम हिनामिना गरेर राज्य लुट्नेलाई सर्वोच्चले सजिलै उन्मुक्ति दिन्छ र भ्रष्टाचारीको खिलाफमा आवाज बुलन्द गर्नेहरू पो राज्यको दृष्टिमा पंगु सिद्ध भइदिन्छन्– यी र यस्ता बेथितिका बेगन्ती दृष्टान्त वर्तमान नेपालका दैनिकी बनेका छन्, लज्जास्पद र शरमलाग्दा दैनिकी । यस्तो हालत देख्दा के सोच्दा हुन् भूइँ मान्छेहरू ¤ अनुभूत नगर्लान् एउटा ऐँठन, चाँप रोप्दा आँप फलेको ? साँच्चै भनूँ भने राज्य गति न गरासको भएको छ । अझ भनौँ– न डोकामा, न ढोकामा । 

सामान्ती राजतन्त्र र एकात्मक राज्य संरचना ढाल्दै गर्दा जनताले एक झमट सोचेका थिए– आरोहण गरियो शान्ति र समृद्धिको टाकुरो । परन्तु त्यो त एउटा भ्रान्ति पो रहेछ, त्यस्ता अनगन्ती पहाड चढ्न त बाँकी नै रहेछन् । सुशासनको टाकुरो चढ्ने सपना देख्नेहरू त भ्रष्टाचार, दूराचार, अनाचार र व्यभिचारको तगारो नाघ्न पनि खुट्टा कमाउँदा रहेछन् । सरकार प्रमुखको कार्यशैली चालढाल हेर्दा सहजै अनुमान गर्न सकिन्छ– जतिसुकै काँचुली फेरे पनि सर्प त सर्पै हुन्छ । सत्तासहयात्री प्रमुख दललाई पनि लागेको छैन– कतै गाई मारेर जुत्ता दान त गरिएन, देउवालाई समर्थन दिएर भन्ने । खास्टो खोज्दा बर्को गुम्ला भन्ने चिन्तनले गाँजेकैले हुनुपर्छ सत्ताको चाबी बोकेको ऊ अहिले पनि झिँगाको संगतले फोहोरतिर गइन्छ र माहुरीको संगतले फूलतिर भन्ने कुराप्रति बेपर्वाह छ । देश बदल्ने सपना देखाउने उसले आफू बदलिन नै आनाकानी गरेको प्रतीत हुन्छ । सपना पूरा भएको छैन भने बदल्नु पथ्र्यो उसले वर्तमानमा हिँडेको बाटो । बरु ऊ त सिद्धान्त बदल्नतिर पो उद्यत् भएको भान हुन्छ । उसले रूखले हमेसा पात बदल्ने गर्छ, जरा होइन भन्ने शास्वत सत्य भुले झैँ लाग्छ । उसले र त भ्रष्टचारका यावत घटनाको फड्के किनाराको साक्षी बसेको होला । 

प्रमुख सत्ता सहयात्री माओवादी केन्द्रसँग अनेकन् असजिला होलान्, परिवर्तनको सपना पूरा गर्नुपर्ने नैतिक बाध्यता होला, प्रमुख प्रतिपक्षले हेपेर मटियामेट पार्न खोजेका पीडा होलान्, समाज रूपान्तरणको पूरा गर्नुपर्ने वाचा पनि होलान्† निमुख र अदानाबीच खाएका कसम पनि होलान्– यी यावत् विवशता साकार पार्ने उसका वर्तमान कदमहरू आसलाग्दा छैनन् । यो पंक्तिकारको जिकिर पनि नदीमा हाम फाल्दैमा कसैको ज्यान जोखिममा परिहाल्छ भन्ने होइन । बरू पौडिन आउँछ कि आउँदैन, सोहीअनुसार हाम फाल्ने आँट गर्नुपर्छ भन्ने हो । मौजुदा परिस्थितिसँग किन हिम्मतिलो भएर जुध्न सकिरहेको छैन ऊ भन्ने हो । सवाल फेरि पनि दियो माटोको हो कि सुनको हो भन्ने होइन बरू प्रकाश दिने सामथ्र्य राखेको छ कि छैन भन्ने नै हो । बगेका प्रत्येक बुँदा रगतको हिसाब किताब गरेर न्यायपूर्ण र समृद्धशाली देश बनाउने अभिभारा बोकेको दाबी गरेको उसले परिवर्तनका एजेन्डाहरू संस्थागत गर्ने सिलसिलामा समेत सामान्य जनताले प्रत्यक्ष अनुभूत गर्ने गरी जनताका चोटमा मलमपट्टी लगाउने सामथ्र्य राख्नुपथ्र्यो, जो हुन सकेको छैन र हुने छनकसमेत गोचर छैन । न गरी खानू, न मरी जानू भएकाहरूको योगदानको भरमा नेकपा माओवादी केन्द्र यहाँसम्म आएको हो, अनगिन्ती उबडखाबड र पच्याङहरू पार गर्दै । उसलाई अन्य यथास्थितिवादमा रमाउने दलहरूलाई जस्तो जेसुकै गर्न छुट छैन, पाउनु हुँदैन । के माओवादीले गम खाएको छ– जसको निम्ति गोठ बनायो, उसैको पुच्छरबाहिर परिसकेको छ भन्ने ? चोर आउँदाको भोलिपल्ट जाग्राम बसेर केही हुनेवाला छैन । यतिबेला जनतासँग सन्तापमात्र छन् । सपना छैनन् । परिवर्तनका भाका त छन् तर गुञ्जन छैनन् । हो, आवाज दिनुपर्छ उसले यतिबेला । अन्यथा माओवादीले त यसै पनि पराजय व्यहोर्नेछ नै, यो पराजय सिंगो देशको पनि हुनेछ । के घोडा किन्ने कसम खाएको माओवादीले लगाम किन्नेसम्मको हिम्मत चाहिँ गर्ला ? 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं