Date:2017/10/17 |Tuesday

क्रान्तिको सचेत बहस

Posted on: September 27, 2017 | views: 46 | एम.एल. नेपाली

लेनिनले युद्धसम्बन्धी प्रश्नमा द्वन्द्वात्मक पाराले विचार गर्न अर्थात निश्चित ऐतिहासिकरूपमा क्रान्तिको वातावरण र अन्तर्राष्ट्रिय स्तरमा शक्ति सन्तुलनमा परिवर्तनको अवस्थाबारे विशेषरूपले ख्याल राख्नुपर्छ भनेका हुन् । लेनिनले क्रान्ति, आन्दोलन र युद्धका रणनीतिहरूमा बढि चलाख र तर्कयुक्त पद्धतिबाट चालिने कदमद्वारा महान समाजवादी क्रान्ति पूरा गर्न सफल भएको कुरा बताउएका थिए । सोभियत संघमा सन् १९१७ मा समाजवादी क्रान्ति सम्पन्न गर्ने बेला बोल्सेभिक समाजवादी क्रान्तिकारीहरूलाई लेनिनले भने– अहिले विश्व राजनीतिक शक्ति सन्तुलनमा विश्वशान्ति तथा समाजवादको हित अनुकुल आमूल परिवर्तनको अवस्था आएको छ अर्थात क्रान्तिको वस्तुस्थिति तयार भएको छ । 

अहिले विश्व समाजवादी प्रणाली कायम गर्ने सवालमा आतुर भएको छ । त्यसले तिव्र गतिमा समाजवादी प्रणालीको राज्य व्यवस्थाको विकास गरिरहेको छ । विश्वशान्तिको निमित्त जनसमुदायको चासो बढेको छ । जसको नेतृत्व आक्रमणकारी अन्यायपूर्ण युद्धहरूको सबैभन्दा कट्टर शत्रुको रूपमा रहेको मजदुर सर्वहारावर्गले गरेको छ । मजदुरवर्गले न्याय, समानता र स्वतन्त्रताको लडाइँ र संघर्षको अगुवाइ गरेको छ । यी सबैको आधारमा सोभियत संघको कम्युनिष्ट पार्टी तथा अन्य माक्र्सवादी पार्टीहरू वर्तमान समयमा विश्वयुद्धको अनिवार्य अवश्यम्भाविता छैन, बरु प्रथम विश्वयुद्ध अन्त्यको निराकरणको निम्ति चाहिने ठोस आधारहरू निर्माण गर्ने अवस्था छ भन्ने निस्कर्षमा लेनिन पुगेका थिए । 

अहिले नेपाली सन्दर्भलाई हेर्दा केही क्रान्तिकारी भन्ने पार्टीहरूले मालेमावादलाई पुरानै तरिकाले बुझ्ने, व्याख्या गर्ने र त्यहि आधारमा आफ्नै ढँगले क्रान्ति गर्ने भनिरहेका छन् । 

क्रान्तिका महान दिनहरूमा विदेशी दलाल नोकरशाह, पुँजीजीवीवर्ग, देशीय सामन्तवर्ग तथा साम्रज्यवादी शक्तिका विरुद्ध लडेर प्राप्त गरेको जनसत्ताको केही सीमित उपलब्धि छ । तिनीहरूले त्यसको बेवास्ता गरेका छन् । अब संघर्षबाट प्राप्त उपलव्धिको रक्षा गर्दै, भावि क्रान्तिका कार्यदिशाा निर्माण गर्दै अघि बढ्ने अवस्थामा आएको छ । 

अहिले अन्तर्राष्ट्रिय राजनीतिक क्षेत्रमा नयाँ शक्ति सन्तुलन कायम भएको छ, त्यसको गम्भीर विश्लेषण गर्नु जरुरी छ । अहिले विश्व शक्ति राष्ट्रहरूको अहंकारले आणविक युद्धको डरलाग्दो आमसंहारकारी लडाइँ हुन्छ कि भन्ने त्राहिमाम छ । शक्तिराष्ट्रहरूले साना राष्ट्रहरूलाई पेल्दै गएका छन् । संसार पतनको संरचनामा हिँड्न खोजेका आभास भएको छ । शक्ति असन्तुलनले मानव मस्तिष्कमा निर्माण होइन, ध्वंसको चेतनाले काम गरेको देखिन थालिसक्यो । विश्वका मानवले सोच्न जरुरी छ, अब सबै किसिमको आणविक शक्ति नष्ट गर्नु आवश्यक छ । 

अहिलेको विश्व राजनीतिक परिवेशलाई नेपाली क्रान्तिकारी वर्गले पनि राम्रोसँग बुझेको हुनुपर्छ । खासगरी विप्लव कमरेडहरूको नेकपाले दीर्घकालीन एकीकृत क्रान्ति गर्छांै भन्ने सोच बोकेर अघि बढेकाले यस विषयमा गम्भीर अध्ययन गरेको हुनुपर्छ । युगीन दासत्व सहेर बसेको गरीब, उत्पीडित दलित सर्वहारा तथा सिमान्तकृत वर्गले नेपाली क्रान्तिको समरभूमिमा जीवन न्यौछावर गरिसक्यो । बलिदानको कीर्तिमान कायम गरिसक्यो । जनताको मुक्तिका लागि नेपाली आमाका १७ हजार छोराछोरीले रगतको कोटा बुझाए । हो, हामी मान्छौँ, यसबाट क्रान्ति पूरा भएको छैन, पूर्णयुद्ध लडिएको पनि थिएन, त्यतिबेला जित्न सक्ने अवस्था पनि थिएन । त्यही आधारमा क्रान्ति पूरा गर्ने अवस्था त्यतिबेला बन्न सकेन । क्रान्तिको एउटा कोर्स पूरा गरेर अहिले माओवादी अग्रगामी शक्ति निर्माणको अवस्थामा आएको हो । शान्तिकालमा माओवादी विविध चिरामा विभक्त भयो । त्यसमा आफ्नै वैचारिक अन्तरविरोध थिए । अब माओवादी एकीकृत हुने अवस्था आएको कुरा साँचो हो । सबै क्रान्तिकारी माओवादीहरू एकीकृत हुने वस्तुगत आधार तयार हँुदैछ । दश वर्षको महान युद्ध र जनक्रान्तिले जे उपलब्धि हासिल भयो त्यसको रक्षा गर्नु क्रान्तिकारीहरूको कर्तव्य हो भन्ने मनोभाव विकास हुँदै गएको छ । त्यसका लागि सबै माओवादीहरू ध्रुवीकृत हुनु अनिवार्य छ । नत्र सीमित अधिकार पनि गुम्ने खतरा बढेको छ ।

स्थानीय तहको निर्वाचनले स्पष्ट चित्र दिएको छ । क्रान्तिकारी शक्ति जनताको जीवन व्यवहारभन्दा बाहिर रहेको जस्तो देखिएको छ । नेपाली क्रान्तिको अग्रगामी वर्ग माओवादी राजनीतिक शक्ति प्रदर्शनमा पछाडी धकेलिने अवस्था आयो । मध्यमार्गी, पश्चगामी वर्ग एमाले कांग्रेसले चुनावबाट स्थानीय राज्यसत्तामा वर्चस्व स्थापित गरेको देखियो । प्रान्त र संघीय चुनावमा प्रतिक्रियावादी शक्तिलाई हराउन माओवादी केन्द्रसँग विप्लव, वैद्यले कार्यगत एकता गरेर भए पनि यो चुनावको उपयोग गर्नु अनिवार्य छ । वैद्य माओदीले यो चुनावमा सहभागी हुन देशभक्त गणतान्त्रिक मोर्चा दर्ता गरेको छ । विप्लव कमरेडहरूले यो चुनावलाई क्रान्तिमा उपयोग गर्ने कार्यनीति बनाउन जरुरी छ । चुनाव बहिष्कारले मात्र सफलता हात लाग्न सक्दैन ।

हामी आशा राख्छौँ, क्रान्तिकारी माओवादहरू प्रान्तीय र संघीय चुनावमा एकीकृत भएमा २०६४ को निर्वाचनमा माओवादीको पक्षमा जुन परिणाम ल्याउन क्रान्तिकारी माओवादीहरू सफल भएका थिए, त्यस्तै परिणाम आउन सक्छ । अहिले माओवादीहरूमा यो चुनाव बारे सचेत बुझाइ भएन र विभाजित, विखण्डित र विचलित भएमा निराशाजनक परिणाममात्र प्राप्त हुने लाजमर्दो अवस्था आउनेछ । त्यो पीडाको अवस्था विगतको हाम्रो आफ्नै व्यवहारले देखाइसकेको छ । 

मध्यमवर्गलाई उठाएर शहरिया विद्रोहलाई ग्रामीण वर्गसंघर्षसँग जोड्ने विप्लवहरूले बोलेको कुरा यो चुनावी संघर्षमा जोडौँ । यसबाट अंशगत जनसत्तामा आफ्नो वर्चस्व स्थापित गरौँ । त्यसका लागि खुला जनक्रान्तिका ठोस कार्यदिशाा निर्माण गरेर बाहिर ल्याऔँ । अहिले प्रचण्ड, वैद्य, विप्लवलगायत अन्य क्रान्तिकारी वर्गलाई जनताको पक्षमा यो चुनावको क्रान्तिकारी उपयोग गर्ने नै हो भन्ने जनताको आदेश छ । नत्र प्रतिक्रियावादीवर्गको हातमा शासनसत्ता गयो र त्यसलाई खोसेर ल्याउनु प¥यो भने फेरि ठूलो लगानी र क्षति व्यहोर्नु पर्ने हुन्छ ।

अधिकारको रक्षा, शक्ति सन्तुलन र प्रत्याक्रमणको युद्धविज्ञान आत्मसात गर्दै अब क्रान्तिकारी वर्गले आफ्नो देशको अहिलेको वस्तुगत अवस्था बुझ्दै प्रान्तीय र संघीय चुनावलाई क्रान्तिकारी वर्गको उन्नत विजयमा ढाल्दै क्रान्तिकारी जनसत्ताको निर्माण गर्न यो चुनाव जित्ने आधारबाट अघि बढनु पर्छ । यसको लागि सहि कार्यदिशाा निर्माणसहित अघि बढ्नु जरुरी छ । पुँजीवादी संसदवादका विरुद्ध माक्र्स एंगेल्सले ठूलो लडाइँ लडेर संक्रमणकालीन राज्यका स्वरूप अब सर्वहारावर्गको अधिनायकत्वमा रहने सिवाय अरू कसैको हुनै नसक्ने अडान लिएका थिए । त्यही दर्शनको आधारमा नेपाली क्रान्तिकारीवर्गले पनि अब लड्ने लडाइँ वैज्ञानिक समाजवादी क्रान्ति नै हो । त्यसको लागि क्रान्तिकारीवर्गले आफ्नो वर्चस्वमा पँुजीवादी क्रान्ति पूरा गर्दै वैज्ञानिक समाजवाद निर्माणको आधार सिर्जना गर्ने हो । क्रान्तिकारीवर्गको बलमा पुरानो प्रतिक्रियावादी सत्ता फेरियो, अब त्यसको खाली ठाउँमा क्रान्तिकारीवर्गले आफ्नो वर्चस्व स्थापित गर्दै बाँकी क्रान्तिका आधारहरू निर्माणद्वारा क्रान्तिलाई पूर्णता दिने हो । त्यसकारण हामीले क्रान्तिको विकासको स्रोत र यसका गतिदायी शक्तिहरूको पहलको मुख्य सवाललाई सचेत बहसमा जोडेर अघि बढ्ने हो ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं