Date:2017/10/17 |Tuesday

प्रजातन्त्र हार्नु न्याय र समानता हार्नु हो

Posted on: October 08, 2017 | views: 41 | इन्द्रबहादुर बराल

नेपाली समाज राजनीतिक दृष्टिले सर्वथा नयाँ युगमा प्रवेश गर्ने क्रममा जोडतोडले लागि परेको देखिँदै आएको छ । राजनीतिक रूपले स्थायित्व नहुँदासम्म आर्थिक समृद्धिका कुरा अनिवार्य शर्त हुँदै गएको कसैबाट लुकेको विषय होइन । यो नै आम नागरिकको चाहना हो । यसमा दुईमत कसैको रहन्न । तथापि, यस हिसाबमा वर्तमान देउवा नेतृत्वको सरकार पूर्ण इमानदारिताका साथ नेपालको संविधान कार्यान्वयनको दिशामा अग्रसर छ । यो अग्रसरताले नेपालको आर्थिक समृद्धिलाई उचाइमा पु¥याउने आकलन गर्न भने सकिन्छ । 

यद्यपि, एकात्मक राज्य प्रणालीको लामो अभ्यासबाट संघात्मक राज्य व्यवस्थामा प्रवेश गर्नु आफैंमा त्यति सहज भने हुँदैन । तथापि कांग्रेस र माओवादी केन्द्र सम्मिलित सरकारको बेजोड गठबन्धन सरकार संविधानको अक्षरशः कार्यान्वयनले निर्धारित समयमा स्थानीय तहको निर्वाचन निर्विघ्न रूप भन्ने कुरा हालै सम्पन्न स्थानीय तहको निर्वाचनले आफंै बोलिरहेको छ । धेरै अनुमान र आशंका स्थानीय तहको चुनाव हुन्छ, हुँदैन भन्ने यस्तै चर्चाका बीच सोचेभन्दा धेरै निर्विघ्न र शान्तपूर्ण भयो । यो संयुक्त सरकारको यस कार्यलाई अभूतपूर्व सफलताको संज्ञा दिनु अतिशयोक्ति हुँदैन । 

यसअघिको अवस्थालाई विश्लेषण गर्ने हो भने माओवादी केन्द्रलाई विश्वासमा लिन नसक्दा नेकपा एमाले सत्ताबाट बाहिरिनु परेको हो । यसैले नेपालको राजनीतिमा अत्यन्तै असहयोगी र सहष्णिु अवस्था सिर्जना हुँदै गएको थियो । यसैकारण पनि संविधान कार्यान्वयमा केही जटिलता महसुस गरिँदै थियो । यो जटिलताले नेपालको राजनीतिलाई अर्कै स्वरूपमा धकेलेको थियो । तत्कालीन समयमा एकातिर मधेस केन्द्रित दलहरू संविधान संशोधनको माग गर्दै विभिन्न खाले विरोधका गतिविधि तीव्र पार्दै थिए भने ठीक विपरित प्रमुख प्रतिपक्षका रूपमा उभिएको नेकपा एमाले त्यसको विरोधमा दायाँ–बायाँ नहेरी लागिपरेको थियो । यस्तो अत्यन्तै परस्पर विरोधाभाषपूर्ण अवस्थालाई चिर्दै संविधान कार्यान्वयनको पहिलो खुड्किलो पार गर्नु नै देउवा सरकाको अभूतपूर्व सफलता भन्न हिचकिचाउन पर्दैन । 

माओवादी केन्द्रको साथ र सहयोगमा स्थापित देउवा सरकारले स्थानीय तहको चुनाव सम्पन्नमात्रै गराएको होइन, यसले त खोक्रो राष्ट्रवादलाई भरिलो पनि बनाएको थियो भन्न सकिन्छ । मधेस र मधेसी जनताको भावनालाई पहाड र हिमाली भेकमा बस्ने नेपालीलाई एउटै सूत्रमा जोड्ने काम गरेको पनि यही सरकारले नै हो । यही नै मलिलो राष्ट्रवाद हो । त्यसैले पनि देउवा नेतृत्व सरकारले अभूतपूर्व सफलता हाँसिल गरेको छ भनिरहँदा गलत ठहरिँदैन । स्थानीय तहको निर्वाचनको सम्पन्नता यसको पहिलो कडी हो भने आसन्न निर्वाचनको समय नजिकिँदै गएको छ । यसले संविधान कार्यान्वयनको कार्यलाई अग्रगतिमा लगेको भन्नु पर्छ । यतिबेला हरेक नेपालीहरूले विचार गर्नुपर्ने कुरा के छ भने आसन्न प्रदेश र संघ अर्थात् प्रतिनिधिसभाको निर्वाचन देउवाले नेतृत्व गरिरहेको पार्टी नेपाली कांग्रेस नै एकमात्रै जिम्मेवार राजनीतिक पार्टी हो, जसले लोकतन्त्रको स्थायित्व र संविधानको कार्यान्वयनलाई अघिबढाउँदै लानेछ । यही नै जनहितको विषय हो । आम जनताहरूले यतातिर सोच्ने बेला आइसकेको छ । 

नेकपा एमालेको राष्ट्रवाद के के नै हो भन्ने हल्ला मच्चाएर पहिलो र दोस्रो स्थानीय तहको निर्वाचनमा पहिलो बन्न सफल भएपनि खोक्रो राष्ट्रवादको वास्तविकता उदांगिएपछि पाँचांै स्थानमा खुम्चिन पुगेको निश्चित हो । अघिल्ला दुई निर्वाचनबाट भुइँमा न भाँडामा भएको नेकपा एमालेलाई तेस्रो तहको स्थानीय निर्वाचनले होस्मा ल्याइदिएको नै हो । त्यसैले होला नेकपा एमालेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अबको चुनावमा कसैले बहुमत ल्याउन नसक्ने भन्दै चुनावी तालमेलका कुरा उठान गर्न थालेका थिए । यस अर्थमा माधवकुमार नेपाल यथार्थवादी बन्दै गएको भनिरहँदा उनीप्रति न्याय हुन सक्छ । 

केही समयअघिको अवस्थालाई नियाल्ने हो भने ओलीका बोलीमा गिरावट आएको निश्चित रूपमा देखिएको नै हो । यो पराजयको पीडा (तेस्रो तहको चुनावबाट) उनको मुख र अनुहारबाट स्पष्ट देखिएको थियो । यसैले उनले यसलाई सरकारी धाँधलीको संज्ञा दिँदै आफ्नो मुखको तीतो पोख्ने काम पनि गरे । एमालेकै अर्का नेता झलनाथ खनालले आफ्नो मनको तीतो पोख्ने काम गरेका थिए । तर नेपाली जनताले वास्तविक बुझ्दै जाँदा क्रमशः जनमत सही दिशामा लागेको महसुस हुन्छ । देउवा सरकारको यस अदम्य साहस र सहिष्णुताले व्याप्त असन्तुष्टि र असमझदारीलाई अन्त्य गर्दै जाने आकलन गरिएको हो । यसले मुलुकलाई उज्यालोतर्फ डो¥याउन काम भएको भनिरहँदा अन्यथा हुँदैन । 

राजनीतिक नेतृत्व (चाहे त्यो पार्टीको होस् या सरकारको) को जिम्मेवारी भनेको समस्या बल्झाउने चाहे पार्टीको सुल्झाउने हो । नकी त्यसलाई निरन्तर उल्झाएर बल्झाएर त्यसमा रतिराग गाउने । तर वर्तमान राजनीतिक परिस्थितिले मुलुकको परिदृश्यमा एउटा ठूलो खाडल खन्दै राजनीतिक अवस्थालाई बल्झाउने काम गरेका छन् । यसलाई कसैले नकार्न सक्दैनन् । त्यसो त वर्तमानमा देउवा नेतृत्व सरकारले मुलुकको समग्र हितमा आफूलाई अग्रसर गराइरहेको छ । देउवाको कर्मप्रति आम नागरिकको समर्थन भाव रहेकोे नपाइएको होइन । देउवा नेतृत्वको यस सरकारको अब वस्तुनिष्ट मूल्यांकन हुनेअनुमान गर्न थालिएको पनि हो । विगतमा केही भ्रमको खेती फष्टाउने काम नगरिएको होइन । तर एमाले पहिलो पार्टी बन्न पुगे पनि म्याराथुन दौडमा रहेको नेपाली कांग्रेसले आफ्नो गति बढाउँदा घोडा दौडेको र हात्ती लस्केको उखान सावित हुँदै छ । 

यतिबेला नेपाली कांग्रेसले स्थानीय तहको तीनै तहका निर्वाचनमा आफैंभित्रको आन्तरिक असन्तुष्टि र एक नेताले अर्को नेताको सेखी झार्ने आत्मघाति व्यवहार र चरित्रलाई भने सुधार्नै पर्छ । यदि त्यही प्रवृत्ति दोहोरी रहृयो भने ‘नरहे बाँस नबजे बाँसुुरी’ हुने पक्का छ । कटुसन्त के थियो भने पहिलो र दोस्रो तहको स्थानीय चुनावमा साँच्चै नै जाना जान घात भएकै हो । त्यस्तै घात सायद तेस्रो तहको चुनावमा तुलनात्मक रूपमा कम भएको हुनुपर्छ । हुँदै भएन भन्ने चाहिँ त नहोला ।

कांग्रेसभित्रको अवस्था आफ्नो ठाउँमा छ । तर पछिल्लो समय मुलुमा सिर्जित राजनीतिक अवस्थाले आम जनतालाई एकफेर सोच्नुपर्ने अवस्थामा ल्याएर खडा गरिदिएको छ । वाम एकताको सन्दर्भ उठेसँगै नागरिकमा एक किसिमको त्रास सिर्जना भएको छ । र अर्को अप्ठ्येरो परिस्थिति सत्ता साझेदारका रूपमा रहेको माओवादी केन्द्रको प्रतिपक्षसँगको मिलनले यो गठजोड सत्तालिप्सा केन्द्रित अनैतिक रूपमा स्थापित भएको अनुमान गर्न सकिन्छ । यतिबेला एमालेले आफू सत्ताबाहिर कुनै पनि हालतमा बस्न नचाहेको र उसले यसका लागि जुनसुकै मूल्य चुकाउने प्रष्ट देखाएको छ । र यसले सत्तासाझेदार माओवादी केन्द्रका नेताहरूको दृष्टिकोणमा समेत खोट भएको देखाएको छ । 

यतिबेला नेपाली कांग्रेसले आफूलाई बलियो गरी उभ्याउनु जरुरी भइसकेको छ । यसका लागि कांग्रेसले चुनावी अवस्थाको घनिभूत समीक्षा गर्नु जरुरी छ । कांग्रेस विगतका कमीकमजोरी तथा घातअन्तरघातबाट पाठ सिकेर सच्चिँदै गएका खण्डमा नेपाली कांग्रेसलाई पाखा लगाउने शक्ति सायदै कोही अघि आउलान् । नेपाली कांग्रेस नेपालको राजनीतिमा अग्रणी पार्टीमात्रै होइन, हरेक सकारात्मक परिवर्तनको अग्रपंक्तिमा नेतृत्वदायी भूमिका निर्वाह गरेको पार्टी हो । त्यतिमात्रै नभएर परिवर्तनलाई संस्थागत गर्ने कार्यको पनि अगुवाइ गर्ने पार्टी नेपाली कांग्रेस नै हो । यसर्थ अब उच्च मनोवलका साथ नेपाली कांग्रेसको माथिल्लो नेतृत्व तहदेखि तल्लो तहसम्मका सबै कार्यकर्ता एक ढिक्का भएर जाग्नुको विकल्प छैन । यदि आगामी प्रदेश र प्रतिनिधिसभामा कांग्रेस चुक्यो भने केही भन्न सकिँदैन । यतिबेला नेपाली जनताको बलिदानबाट प्राप्त उपलब्धिहरू गुम्न सक्छन् । यहाँ अग्रगामी राजनीतिको ढ्वांग फुकेर पश्चगामी भूमिका खेल्ने शक्तिहरू त्यत्ति कै क्रियाशील छन् । नेपालको संविधान २०७२ लाई कागजको खोष्टो बनाउन कतिपय शक्ति दृढ देखिन्छन् । निरंकुशताको भूतले जन्माएको अदृष्य शक्तिहरू विभिन्न आवाज सुनिन थालेको छ । सधंै राजनीतिक अस्थिरता सिर्जना गरेर ‘धमिलो पानीमा माछा मार्ने’ हरूबाट सावधान हुनैपर्छ । त्यसैले नेपाली कांग्रेस कै नेतृत्वमा संविधान, नेपाली कांग्रेस कै नेतृत्वमा शान्ति र संमृद्धिको अभियान भन्ने नारालाई सार्थक बनाउन नेपाली कांग्रेस र यसका समर्थकहरूले सक्रियताका साथ लाग्नु आवश्यक भइसकेको छ । त्यसकारण नेपाली कांग्रेसले हार्दा यहाँ प्रजातन्त्र हार्न सक्छ, प्रजातन्त्र हार्नु भनेको न्याय र समानता हार्नु हो त्यतिमात्रै होइन नेपाली कांग्रेस हार्नु भनेको मानवता हार्नु हो भन्ने तथ्य बुझ्नै पर्छ । प्रजातान्त्रिक पद्धतिले स्थायित्व नपाउँदा समम कांग्रेस र कांग्रेजनले उक्त मूल मन्त्रलाई विर्सन हँुदैन । नेपाली कांग्रेस पद्धतिका लागि लडेको पार्टी हो, कांग्रेसले यस्ता पद्धति स्थापना गर्न चाहेको हो जहाँ मानवता हो, सामाजिक न्याय हुन सकास, जहाँ आर्थिक समानता कायम हुन सकोस् । यिनै उद्देश्यपूर्तिको लागि प्रजातान्त्रिक पद्धति एकमात्र विकल्प हो । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं