Date:2017/12/17 |Sunday

मेडिकल पत्रकारिताको प्रसंग

Posted on: October 09, 2017 | views: 174 | सूर्य सुवेदी

अहिले हाम्रो देश राजनीतिक हिसाबले जति संक्रमणकालीन अवस्थामा छ, त्योभन्दा पनि सयांै गुणा बढी संक्रमण चिकित्सा क्षेत्रमा देखिन्छ । दिनहु हड्ताल, तालाबन्दी र नारा, जुलुस चिकित्सा क्षेत्रको पर्यायजस्तै बन्दै गएको छ । यसलाई कसैले पनि अस्वीकार गर्न सक्ने देखिन्न । ६÷६ महिनामा फेरिने सरकार र सरकारलाई जसरी पनि घुडा टेकाउने मेडिकल माफियाहरूको चेपुवामा सम्पूर्ण चिकित्सा क्षेत्र परेको छ । सरकार आफूले छात्रवृत्तिमा पढाएका डाक्टरहरूलाई सरकारी स्वास्थ्य केन्द्रहरूमा परिचालित गर्न सकिरहेको छैन् भने प्राइभेटमा करौडौं खर्च गरेर पढेकाहरूलाई जबरजस्ती आफ्नो नियम कानुनमा बाँधेर निःशुल्क पढेकाहरूले दिनुपर्ने योगदान उनीहरूबाट खोजिरहेको देखिन्छ ।

चिकित्सा क्षेत्र आफंैमा संवेदनशील पेशा भएपनि कसैलाई बाध्य बनाएर यो गर वा त्यो गर भनेर सरकारले पनि भन्ने अवस्था छैन । र उसले त्यो भन्ने हैसियत राख्न चिकित्सकहरूको लागि छुट्टै सहुलियतपूर्ण योजना ल्याउन पर्दछ । यो त भयो मेडिकल क्षेत्रको तत्कालीन अवस्था, प्रसंग अब मेडिकल पत्रकारिताको !

हाम्रो मुलुकमा विट पत्रकारिता सुरु भएको धेरै भएको छैन । सुरुसुरुमा जसले जे भेट्टायो त्यो समाचार बन्दथ्यो । जो जहाँ पुग्यो उस्ले त्यसैलाई समाचार बनाउँदथ्यो । आजभोलि कमसेकम दैनिक पत्रपत्रिका र टेलिभिजनहरूमा विट हेर्ने ब्यूरो नै हुन्छ । त्यो विटहरू कति सक्षम छ त्यो अर्काे विषय बन्ला । आर्थिक विट जसले हेर्छ कमसेकम उसलाई करसम्बन्धी यावत् ज्ञान, आर्थिक वृद्धिदरसम्बन्धी जानकारी र लगानीसम्बन्धी पूर्णज्ञान हुनु आवश्यक मानिन्छ । जलविद्युत् हेर्नेले जनविद्युत्सम्बन्धी सामान्य ज्ञान चाहीँ राख्नै पर्ने हुन्छ । त्यसैगरी स्वास्थ्य हेर्नेले स्वास्थ्यसम्बन्धी ज्ञान राख्नु नै पर्दछ । मेरो दृष्टिकोणमा आजसम्म न सरकारले विट पत्रकारितालाई प्रोत्साहन गर्न कुनै गोष्ठी तालिमहरूको व्यवस्था नै गरिदिएको छ, न त सम्बन्धित मिडियाहरूले नै दक्ष जनशक्ति व्यवस्थापनका लागि विशेष पहल गरेको छ । जति भएको छ, त्यो विट हेर्ने पत्रकार स्वयंको कनिकुथो प्रयास र तिनको आफ्नो दिमागले भ्याएसम्म मिहिनेत गरेरै भएको छ ।

आजभोलि सबैभन्दा बढी विट पत्रकारितामा स्वास्थ्यसम्बन्धी विट हेर्ने पत्रकारहरूमाथि धेरै गुनासो आउन थालेको छ । कतिपयलाई त कुन डाक्टरको विशेषज्ञता के हो र त्यस्तो विशेषज्ञता प्राप्त गर्नेले गर्ने उपचार के हो भन्नेसमेत थाहा नभएको पनि पत्ता लागेको छ । सबैभन्दा बढी ‘कन्फ्युजन’ त सर्जन र फिजिसियनको भूमिका के हो ? त्यो छुट्याउन नसकेको पनि देखियो । सम्पूर्ण एनाटोमी त पत्रकारहरूले नसम्झन पनि सक्छन् । यी सबै जान्ने हो भने त पत्रकारिता नै किन गर्नु पर्दथ्यो होला र ? तर सामान्य एनेस्थेसिया भनेको के हो र यसको काम कसरी गरिन्छ ? न्यूरो सर्जरी भनेको के हो ? यस विषयमा सामान्य जानकारी हुनुपर्ने होइन र ? वास्तवमा सबैभन्दा पहिला त डाक्टरहरूको वर्गीकरण गर्न सक्नु प¥यो, स्वास्थ्य विट हेर्ने पत्रकारले । 

त्यसपछि भने तीमध्ये पनि चिकित्सा पेशामा हुने सर्जरीहरूका बारेमा पनि जानकारी हुनुपर्छ । सामान्यतया सबै सर्जरी मेजर नै हुन, कुनै माइनर हुँदैनन् । त्यही पनि तुलनात्मक हिसाबमा कुनै सर्जरी संवेदनशील हुन्छ भन्ने कुनै अतिसंवेदनशील हुन्छन् । त्यो पत्ता लगाउनु जरुरी हुन्छ सम्बन्धित विट हेर्ने पत्रकारले । जस्तै हातको हड्डिको सर्जरी र ब्रेनको एनोरिजमका सर्जरी पक्कै सामान हुँदैन । साथै इमरजेन्सीमा उपचार कुन अवस्थामा हुन्छ, आइसीयू र आईसीयूमा पनि भेन्टिलेटरमा राखेर गरिने उपचार कुन अवस्थामा हुन्छ । सर्जरी, मेडिकल, गाइनो, बालजस्ता वार्डमा के कसरी उपचार हुन्छ ? पत्रकाहरूले मेडिकल इक्युप्मेन्टको साथै सामान्य औषधिसम्बन्धी पनि पत्रकारले जानकारी राख्नुपर्छ भन्ने उल्लेख गर्दा अतिशयोक्ति नठहर्ला ।

सर्जरीको कुरा गर्दा सर्जरीको बारेमा पत्रकारलाई त्यति धेरै थाहा हुने विषय होइन । न्यूरो सर्जरीको डाक्टरले कार्डियाक सर्जरीको बारेमा थाहा पाउन सक्दैन भने पत्रकारले कसरी थाहा पाउने ? सर्जरीको बारेमा डाक्टरले हामीहरूलाई जे भन्छन् हाम्रो बुझ्ने माध्यम त्यतिमात्र हुन्छ । 

यथार्थमा एउटा महŒवपूर्ण कुरा हामी सबैले भुलिरहेका छौं । हामी डाक्टर र बिरामी, डाक्टर र सरकार झगडामात्र गरिरहेका छौं । कुनै पनि सर्जरी सफल हुनुमात्र डाक्टरको वा अस्पतालको सफलता होइन, त्यो बिरामी मर्नु र बाँच्नुमा सफलता र असफलता जोडिएको हुन्छ । न्यूरो सर्जनहरूको भनाइमा अधिकांश सर्जरी सफल भएपनि इन्फेक्सनको कारणले धेरैको ज्यान जाने गरेको छ । खोई हामीले त्यसमा ध्यान दिएको ? वीर अस्पतालको आईसीयूसम्म जुत्ता, चप्पल लगाएर जान पाइन्छ । एउटा डाक्टर ओटीकै ड्रेसमा बाहिरसम्म आएर कुरा गर्दै भित्र जान्छ । अस्पतालहरूले इन्फेक्सन कन्ट्रोेलका लागि के के गरेका छन् ? कसरी गरेका छन् ? त्यो कसले जानकारी दिन्छ ? यस्ता विषयहरू पनि बहसमा पछि आउलान् । सम्भवतः यस्ता विषय बहसमा आउनुर्पछ भन्ने यसलाई लाग्दछ ।

साँच्चै भन्ने हो भने, नेपालमा मेडिकल पत्रकारिताको आवश्यकता अत्यन्त जरुरी छ । तर यतातिर सुक्ष्म दृष्टिकोण दिनु उत्तिक्कै आवश्यक छ । पत्रकारिताका स्वास्थ्यसम्बन्धी विटका लागि दक्षजनशक्ति उत्पादनका लागि अब कसले ध्यान दिने त ? सरकारले ? सम्बन्धित मिडियाले ? वा मेडिकल काउन्सिलले ? यस पंतिकारका विचारमा स्वास्थ्यसम्बन्धी कलम चलाउनेलाई यी तीनै संस्थाले विभिन्न किसिमका तालिमलगायत समयसमयमा हुने विविध क्रियाकलापमा सहभागी गराउनु पर्छ । नभए तत्कालका लागि स्वास्थ्य पत्रकारिता स्वस्थ हुन सक्छ भनेर भन्न सकिँदैन । 

(सुवेदी पत्रकार महासंघ काठमाडौंका उपाध्यक्ष हुन्)


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं