Date:2017/12/17 |Sunday

हाम्रो दायित्वमा नयाँ नोटको सुरक्षा

Posted on: October 10, 2017 | views: 85 | रूपनारायण खतिवडा

नेपालको राष्ट्रिय पर्वको रूपमा रहेको दशैं भर्खरै बिदा भएर गएको छ । नेपालीजनमा हरेक वर्ष मनाइने दशैंको अत्यधिक महŒव त रहन्छ नै, सँगसँगै यस्ता चाडपर्वमा नयाँ नोटको पनि उत्तिकै महŒव रहने गरेको छ । विगतका वर्षमा जस्तै यस वर्ष पनि दशैं नजिकिएसँगै देशभरका बैंक तथा वित्तीय संस्थाहरूमा नयाँ नोट साट्नका लागि लामो लाइन लागेको दृश्य देखिएको थियो । दशैं, तिहारजस्ता चाडबाडको समयमा आम नागरिकलाई नयाँ नोटको उग्र मोह रहने भए पनि नोटको सुरक्षाको सवालमा गरिने हेलचेक्र्याइँले भने दशैं नयाँ नोट असुरक्षित बन्ने ठूलो जोखिम रहेको पर्वका रूपमा स्थापित हुन थालेको अनुभव गर्न सकिन्छ । 

दशैंमा टीका, जमरा र आशीर्वादसँगै आफन्तजनलाई दक्षिणाका रूपमा उपलब्ध भएसम्म नयाँ नोट दिने रहरले सबैलाई गाँजेको हुन्छ । यही कारण, बैंकहरूमा लामो लाइन लागेर कष्टपूर्वक नै भए पनि नयाँ नोट प्राप्त गर्ने प्रयत्नमा आम नागरिकहरू जुटिरहेका हुन्छन् । नेपाल राष्ट्र बैंकले हरेक वर्षको दशैं र तिहारमा अर्बाैं रुपैयाँबराबरका नयाँ नोटहरू बजारमा पठाउने गरेको छ । अघिल्लो वर्ष ८ अर्बबराबरको नयाँ नोट सटही गरेको केन्द्रीय बैंकले यस वर्ष दश, बीस, पचास र सय रुपैयाँ दरका १५ अर्ब रुपैयाँभन्दा बढीको नयाँ नोट बजारमा पठाएको छ । यसवर्ष राष्ट्र बैंकको थापाथली कार्यालयसँगै कृषि विकास बैंक र नेपाल बैंकको पाँच, पाँचवटा शाखा एवं राष्ट्रिय वाणिज्य बैंकको ६ वटा शाखासमेत गरी १६ वटा शाखा कार्यालयमार्फत सर्वसाधारणलाई नयाँ नोट सटहीको प्रबन्ध मिलाइएको थियो । यसबाट केही समय लाइन बसेरै भए पनि दशैंका लागि अधिकांश नागरिकहरूले नयाँ नोट प्राप्त गर्नसक्ने अवस्था सिर्जना भएको थियो । तर, यसरी प्राप्त गरिएको नयाँ नोटको प्रयोगमा गरिने हेलचेत्र्mयाइँ र असावधानीले राष्ट्रिय खर्चमा अनावश्यक वृद्धि भई अर्थतन्त्रमा नकारात्मक प्रभावसमेत परिरहेको अवस्था विद्यमान छ ।


नयाँ नोटको उत्पादनका लागि वर्षेनी राज्यको धेरै खर्च भइरहेको हुन्छ । १ र २ रुपैयाँ दरका नोटको उत्पादन लागत उक्त नोटको ‘फेस भ्यालु’ ले नधान्ने भएकोले नेपाल राष्ट्र बैंकले केही वर्षअघिदेखि नै छपाई गर्नसमेत छोडिसकेको छ । नेपाली नोटहरूको छपाईसमेत विदेशमा हुने गर्छ । नेपाल राष्ट्र बैंकले नोट छपाई तथा सिक्का टकमरी निर्देशिका २०६५ बमोजिम नोटको छपाईका लागि बोलपत्र आहृवान गरी विदेशी कम्पनीलाई छपाईको जिम्मेवारी दिने गरेको छ । छपाईका लागि प्रक्रिया सुरु गरेर नोट छपाई भई नेपाल राष्ट्र बैंकसम्म आइपुग्न करिब १ वर्ष लाग्ने र छपाई खर्चका अतिरिक्त विदेशबाट ढुवानीको महँगो लागतसमेत बेहोर्नुपर्ने भएकोले पनि नेपाली नोटको सन्दर्भमा यिनीहरूको उत्पादन लागत निकै बढी छ । प्रत्येक नोटको छपाईमा कम्तीमा ५ रपैयाँदेखि १७ रुपैयाँसम्म खर्च हुने यस क्षेत्रका जानकारले बताउने गरेका छन् । नोट झुत्रो र फोहोर बन्नु भनेकै मुलुकले बेहोरिरहेको यो लागतबराबरको रकम सोझै नोक्सानीमा पर्नु हो । एकातिर यो अवस्था छ भने अन्तर्राष्ट्रिय मापदण्ड अनुसार कागजी नोटको आयु ४ वर्ष हुने गरेकोमा नेपाली नोटको सरदर आयु भने १ वर्ष मात्रै रहेको तथ्यांक छ । यसरी महँगोरूपमा उत्पादन भएका नोटको पर्याप्त सुरक्षा नभएकै कारण आयु छोटिन गई देशको अर्थतन्त्रलाई ठूलो घाटा पुगिरहेको छ ।

कागजी नोट झुत्रिने, च्यातिने, फोहोर बन्ने र आयु छोटिने अवस्था निम्तिनुमा नोटको प्रयोगसम्बन्धी हाम्रो गलत अभ्यास एवं प्रचलन कारकका रूपमा रहेको छ । यसवर्ष पनि दशैंअघि सलक्क र सफारूपमा नागरिकहरूको घर घरमा भित्रिएका नयाँ नोटहरू दशैंको टीका प्रारम्भ भएसँगै रंगीचंगी एवं राताम्मे स्वरूप लिएर बजारमा देखिन थालेका छन् । दशैं र तिहारजस्ता चाडबाडमा नोटलाई सम्पत्ति मानेर रंग, अबिर आदिले पूजा गर्ने, नोटमा पानी पर्नबाट नजोगाउने, टीकाटालो गर्दा पनि नोटलाई रंगिन अक्षता, अबिर, केशरी आदिले विरूप बनाएर लेनदेन गर्ने, धार्मिक कार्य भन्दै गोदानका नाममा नोटलाई पानीले छपक्कै भिजाउने आम प्रचलन रहेको छ । दशैंको समयमा नोटमा जमरा र फूलटीका राखेर दक्षिणा दिने प्रचलनले पनि नोटलाई असुरक्षित बनाइरहेकोे छ । 

यस्ता चाडपर्व र अन्य धार्मिक, सामाजिक कार्यहरूमा नयाँ नोट नै चाहिने परम्परागत मानसिकतालाई त्याग्न नसक्दा पनि नोटको असुरक्षा बढिरहेको छ । यसका अतिरिक्त अन्य समयमा पनि बैंक नोटको सम्मान र इज्जत गर्नमा हामी चुकिरहेका हुन्छौं । नोटलाई अनावश्यकरूपमा घरमा थन्काएर राख्ने विशेषगरी समाजका ज्येष्ठ नागरिकहरूको चलन नै छ । यसबाट नोटमा ढुसी पर्ने, पुरानो देखिने, कुहिने र झुत्रिने समस्या रहेको छ । यसैगरी, सानातिनादेखि ठूल्ठूला मन्दिरमा कागजी नोट चढाइने प्रचलन पनि नोटको सुरक्षामा चुनौतीकै रूपमा रहेको छ ।

यति मात्र होइन, नोटलाई कसरी बोक्ने र लेनदेन गर्ने भन्ने कुरामा पनि उचित ध्यान पुग्न सकेको छैन । राष्ट्रिय नोटप्रतिको हाम्रो मानसिकता यतिसम्म गिरेको छ की देशभित्रै पनि डलर लगायतका अन्य विदेशी नोटहरूलाई बडो जतनका साथ राख्ने र लेनदेन गर्ने गरिन्छ भने नेपाली नोटलाई बेपर्वाह तरिकाले कच्याककुचुक पारेर हातमा बोक्ने, खल्ती वा ब्यागमा कोच्ने, थैलीमा खाँद्ने, धेरै तह बनाएर फोल्ड गर्ने, नोटमा केरमेट गर्नेसमेत गरिन्छ । विशेषगरी अन्य सामानहरूको सुरक्षामा अत्यन्त हेरचाह गर्ने महिलाले नोटको हेरचाहमा भने हेलचेक्र्याइँ गरिरहेको दृश्य धेरै नै दखिन्छ । नोटलाई शरीरका गोप्य अंगमा खाँदेर राख्ने, पर्समै राख्दा पनि धेरै फोल्ड गरेर कोचेर राख्ने र कच्याककुचुक बनाएर हातमा बोक्ने काम बढी मात्रामा महिलाले गरिरहेको दृश्य हाम्रा लागि सामान्य बन्ने गर्छ । 

अर्कोतर्फ, खासगरी स्कुल कलेजमा अध्ययन गरिरहेका अहिलेका युवापुस्तामा समेत नोटलाई कच्याककुचुक बनाएर खल्तीमा या ब्यागको साइडमा कोच्ने लहर चलेको देखिन्छ । युवायुवतीहरूले प्रेमिल शायरी कोर्नेदेखि दुव्र्यसनीहरूले अखाद्य वस्तुहरू प्याक गर्नेसम्मको काममा नोटको दुरुपयोग भइरहेको छ । बहुसंख्यक नागरिकहरूले चल्तीमा ल्याउने गरेका कागजी नोटहरूकोे प्रयोगमा देखा परेका यस खालका गलत अभ्यासहरूका कारण मुलुकी अर्थतन्त्रमै प्रभावित बनिरहेको छ । 

दशैं तिहारलगायतका चाडबाड एवं अन्य समयमा समेत नोटहरूलाई सुरक्षित तवरले राख्ने र लेनदेन गर्नेतर्फ गम्भीर बन्नैपर्छ । चाडबाडका अवसरमा गरिने टीकाटालोको क्रममा नोटलाई खामभित्र वा कागजमा प्याक गरेर दक्षिणा दिने प्रचलनले नोटको सुरक्षामा बल पु¥याउने गर्छ । यसो गर्न नसकिएमा पनि नोटलाई नभिजाउने, टीका, जमरा आदिलाई नोटमाथि नराख्ने र सकेसम्म जतनसाथ दक्षिणा लेनदेन गर्ने हो भने धेरै हदसम्म दशैं तिहारकै समयमा पनि नोटलाई सुरक्षित तुल्याउन सकिन्छ । यसबाहेक अन्य समयमा पनि नोटलाई कच्याककुचुक बनाएर बोक्ने, पर्समा कोच्ने, शरीरका संवेदनशील अंगमा खाँद्ने, केरमेट गर्नेजस्ता हाम्रा बानीमा सुधार ल्याउन आवश्यक छ । 

बैंक तथा वित्तीय संस्थाहरूले नगद नोटको कारोबारमा नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको सफा नोट नीतिको अक्षरशः पालना गर्नेतर्फ अग्रसरता देखाउनै पर्छ । नोटलाई चलनचल्तीमा पठाउन योग्य र अयोग्य भनी वर्गीकरण गर्न र योग्य नोटहरूमा सेतो रंगको स्लिप एवं अयोग्यमा रातो रंगको स्लिप प्रयोग गर्न राष्ट्र बैंकले निर्देशित गरेको निकै वर्ष बितिसकेको छ । रातो स्लिपयुक्त पुराना र झुत्रा नोटलाई चलनचल्तीमा लैजान नसकिने व्यहोरा उल्लेख गरी राष्ट्र बैंकमा दाखिला गर्न, सम्भव भएसम्म नोटमा स्टिचको प्रयोग नगरी रबर ब्याण्ड वा प्लास्टिकको ब्याण्ड प्रयोग गर्न र ज्यादै आवश्यक भए एउटासम्म स्टिच प्रयोग गर्न केन्द्रीय बैंकले सुझाएको छ । 

कागजी नोटको प्रचलन विश्वव्यापीरूपमै रहेको र यसले आम मानिसको दैनिकीलाई सहज बनाउनुका साथै वर्तमानसम्म आइपुग्दा नोटविनाको दैनिकीको कल्पना नै गर्न नसकिने अवस्थाको सृजना भइसकेको छ । पछिल्लो समयमा कतिपय विकसित मुलुकमा कागजी बैंक नोटहरू सरह विनिमय गर्न सकिनेगरी विभिन्न किसिमका कार्ड प्रयोग गर्नेगरेको तथा प्लास्टिक नोटहरूले कागजी मुद्रालाई विस्थापित गर्न थालेको भए पनि हाम्रो सन्दर्भमा भने मूलतः कागजी नोटकै दबदबा रहेको छ । भनिन्छ, मुलुकमा चल्तीमा रहेको नोटको अवस्था हेरेर त्यस देशको सामाजिक विकासको अवस्था आँकलनसमेत गर्न सकिन्छ । कुनै पनि देशको नोट मुलुकको इज्जत र प्रतिष्ठासँग जोडिएको राष्ट्रिय परिचायकसमेत हो । तर, हामी नेपालीहरू यो मामिलामा अत्यन्त असामाजिक भइरहेका र राष्ट्रिय इज्जतमाथि नै खेलवाड गरिरहेका छौं । यसखालको स्थितिको अन्त्य गर्दै कागजी नोटको समुचित उपयोगतर्फ सबैको ध्यान पुग्न जरुरी छ । नोटको सुरक्षाको दायित्व हामीहरूको नै हो भन्ने पनि हामीमा अनुभूत हुनु जरुरी छ । 


राष्ट्रिय सम्पत्ति भएकोले नोटको सुरक्षा गर्नु यसको कारोबारमा संलग्न हरेक व्यक्ति, संस्थालगायत सबैको दायित्व हो । यसका साथै, नोटको सुरक्षाका विषयमा आम नागरिकहरूसम्म पुग्नेगरी व्यापकरूपमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्न पनि उत्तिकै आवश्यक छ । अहिलेको समयमा बैंक नोटहरूसरह विनिमय गर्न सकिने गरी प्रचलनमा ल्याइएका विभिन्न किसिमका कार्डहरूको प्रयोग र पहुँचलाई पनि वृद्धि गरिनुका साथै नेपाल राष्ट्र बैंकले अघि सारेको सफा नोट नीतिको प्रभावकारी कार्यान्वयन गरिन आवश्यक छ । आम नागरिकहरूको सचेतता र नोटको कारोबारमा संलग्न संस्थाहरूको प्रतिबद्धता जुट्न सकेमा कागजी नोटको सुरक्षामा बढोत्तरी भई अर्थतन्त्रमा परिरहेको मार कम हुने र देशको प्रतिष्ठासमेत उँचो रहने अपेक्षा गर्न सकिन्छ ।



Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं