Date:2017/10/20 |Friday

कांग्रेसको कदम आत्मघाती नबनोस्

Posted on: October 10, 2017 | views: 46 | वासु शर्मा

नेपालको राजनीति यतिबेला उग्रै तरङ्गीत भएको छ । त्यसो त ०४६ सालदेखि नै नेपाली राजनीतिमा विभिन्न किसिमका तरङ्गहरू देखा पर्दै आएका हुन् । तर यतिबेलाको राजनीतिक तरङ्गले एक थरीका राजनीतिज्ञहरूलाई भरङ्ग बनाइदिएको छ । नेकपा एमाले र माओवादी केन्द्र तथा नयाँ शक्ति पार्टीको गठबन्धनले नेपालमा कम्युनिष्ट पार्टी फेरि एकजुट हुन लागेको संकेत देखिएको छ ।

हिजोको आवश्यकतालाई मध्यनजर गर्दै बीपी कोइराला लगायत कांग्रेसका संस्थापकले जन्माएको कांग्रेसले आखिर किन खुट्टा कमाउँदै छ ? प्रजातन्त्रको हिमायती, ठेकेदार हौं भन्ने अहिलेका नेतामा गठबन्धनमा देखिएको विचलनले अब कांग्रेस कहाँ पुग्ला ? गठबन्धनका नाउँमा साइनबोड मात्र राखेका दलसँग तालमेल गर्नुको औचित्य र अर्थ के ? सात सालदेखि अभिभावकको भूमिकामा रहेको कांग्रेसले बार्गेनिङ गर्नेको हैसियत हेर्नु पर्दैन ? कांग्रेस नेतृत्वले किन हतासमा आत्माघाती निर्णय गर्दैछ ? यी प्रश्न अहिले जोडतोडका साथ उठिरहेका छन् ।

पछिल्ला चरणका कम्युनिष्ट क्रियाकलापहरू हेर्दा भने कम्युनिष्टहरू जुट्नेभन्दा पनि फुट्नेमा बढी विश्वास राख्ने देखिँदै आएका हुन् । किनभने नेपालमा कम्युनिष्ट पार्टीको स्थापना भएपछि त्यसमा जुट्नेभन्दा फुट्ने मनस्थितिका व्यक्तिहरू बढी हावी भएको देखिँदै आएको छ । कहिले माले, कहिले चौम, कहिले मसाल त कहिले मशाल अनि कहिले एकता केन्द्र त कहिले माओवादी केन्द्र, यसरी विभिन्न नाम लिएर नेपालमा कम्युनिष्ट पार्टीहरू फुट्दै आएको नेपाली जनताले देख्दै आएका हुन् । अहिले पनि कतिपय कम्युनिष्टघटक आफ्नैआफ्नै अस्तित्वका साथ क्रियाशील छन् । तर यसै बीचमा नेपाली कम्युनिष्ट आन्दोलनका केही प्रमुख घटकहरू एमाले, माके र नयाँ शक्तिको मिलनले प्रजातान्त्रिक आन्दोलनलाई अगाडि बढाउँदै आएका दलहरूलाई सोचनीय अवस्थामा ल्याइपु¥याएको छ । 

यतिबेला नेपाली कांग्रेस अत्तालिएको अवस्थामा देखिएको छ । जसलाई स्वाभाविक मान्न सकिन्न । १७ सालमा राजा महेन्द्रले कू गरेर सत्ता आफ्नो हातमा लिँदा त नआत्तिएको कांग्रेसले आज वाम एकताको नाममा भएको केही दलहरूको मिलनको घटनाबाट अत्तालिनु भनेको कांग्रेस समर्थितहरूलाई विश्वास नगर्नु नै हो भन्न सकिन्छ । वाम गठबन्धनलाई आफ्ना अगाडि बाघ नै आएको जस्तो गरेर अत्तालिनु भनेको कांग्रेसका लागि लाजमर्दो विषय हो । यतिबेला कांग्रेसले आफूलाई सांगठनिक रूपमा शक्तिशाली बनाउनुपर्ने थियो । तर लोकतान्त्रिक गठबन्धनको जालोमा अल्झिने काम गरेर कांग्रेसले आफ्ना समर्थकहरूलाई पनि पराजित मनस्थितिमा पु¥याउने काम गरेको छ । 

कांग्रेसले हिम्मतका साथ एक्लै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भाग लिन सक्नु पर्दथ्यो । तर कांग्रेस सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक गठबन्धनको कुरा उठाएर आफ्नो र पार्टीको हैसियत केही नभएको स्पष्ट पारिदिएका छन् । यसले रूखमा मतदिने मतदाताहरूको स्वाभिमानमा ठेस लागेको छ भन्दा गलत हुँदैन । अझै समय घर्केको छैन । कांग्रेसले लोकतान्त्रिक गठबन्धनको कुरा नगरेर निर्वाचनमा एक्लै जाने निर्णय लिन सक्नुपर्छ । यसले नै कांग्रेस पार्टीलाई एउटा दह्रिलो र बलियो पार्टी भएको सन्देश सर्वत्र दिनेछ । यदि कांग्रेसले लोकतान्त्रिक गठबन्धनलाई महŒव दिन्छ र प्रतिशतमा सिट संख्या बाँड्छ भने त्यो नेपाली कांग्रेसका लागि आत्मघाती कदम हुनसक्छ ।

   


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं