Date:2017/10/20 |Friday

वामपन्थी एकता र यसका सारहरू

Posted on: October 11, 2017 | views: 52 | एम.एल. नेपाली

गएको असोज १७ गते एमाले, माओवादी केन्द्र र नयाँ शक्तिदलबीच पार्टी एकता र चुनावी तालमेलमा सहमति भयो । यो कुरा राष्ट्रिय सभागृहमा ६ बँुदे सहमतिमा तीन पार्टीबीच सहमति भएपछि एैक्यबद्धता प्रदर्शन पनि गरिएको थियो । चुनावी तालमेल कसै विरुद्ध नभई देशको आवश्यकताअनुसार वाम एकता भएको केपी ओली, प्रचण्ड र बाबुराम भट्टराईले जानकारी दिएका थिए । यो एकताले अब माओवादीको जनताप्रतिको क्रान्तिकारी रुझान सिध्याउने कुरामा केपी ओलीको मिसन सफल भयो भन्न सकिन्छ । यसबाट प्रचण्डको विचारमा राज्यसत्ता प्राप्तिको निरन्तरको लडाइँ सकियो भन्ने रहृयो । उनीहरूले आफू एउटा कम्युनिष्ट केन्द्रमा जाने दुई तिहाई बहुमतबाट कार्यकारी राष्ट्रपति वा सरकार प्रमुखको एजेण्डालाई मूर्तिकृत गर्ने आधारमा तीन कम्युनिष्ट पार्टी एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच त्रिपक्षीय पार्टी एकता र चुनावी तालमेलमा सम्झौता भयो भनिएको छ । 

उनीहरूले गरेको ६ बुदे सम्झौतालाई यसरी प्रस्तुत गर्नु ठीक रहन्छ होला ः एक, अहिले चुनावी तालमेल, चुनावपछि पार्टी एकीकरण गर्ने । दुई, आठ सदस्यीय पार्टी एकता संयोजन समिति गठन, ओली र दाहाल समितिका प्रमुख नेता । तीन, प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचनमा प्रत्यक्षतर्फ नयाँशक्तिलाई सहमतिमा निर्वाचन क्षेत्र, बाँकीमा एमाले ६० र माओवादी केन्द्रले ४० प्रतिशत उम्मेदवार उठाउने । चार, विचारमा स्वस्थ बहस गर्न, एक अर्काप्रति नकारात्मक टिप्पणी नगर्न आचारसंहिता । पाँच, नयाँशक्तिले एमालेकै सूर्य चिहृनमा चुनाव लड्ने, माओवादी केन्द्रले आफ्नै निर्वाचन चिहृन प्रयोग गर्ने । ६, अन्य वामशक्तिलाई पनि एकतामा आउन आहृवान गर्ने । यी ६ बँुदामा नेताहरूबीच हस्ताक्षर भएको छ ।

यो वाम एकताले एउटा वर्गलाई खुसी तुल्याएको हुनुपर्छ । जसले गरिबी, विपन्नता, उत्पीडन, जातीय छुवाछूत स्थिर रहोस् भन्ने वर्ग छ उसले समाजमा अन्यायका विरुद्ध रूपान्तरण उथलपुथल होस् भन्ने आशा राख्दैन । वर्गयुक्त शोषणपूर्ण समाजलाई स्थिर राख्ने, समाजमा असमानता बोकेको चिन्तनलाई जीवित प्रवृत्तिले स्वाभाविक मान्छ होला यो एकतालाई । यो वर्गले केही चुनावी लोकप्रिय नारा बोकेर चुनावमा जाने गर्छ, यसमा हुने खाने वर्गले टिकट पाउँछ र उही चुनावमा जितेर आउँछ । तीनै उच्च वर्गले आफ्नो स्वार्थअनुसार नियम कानुन बनाउँछ । त्यसबाट आप्mनो जीवन सुखमय पार्ने कार्यक्रम बजेट, नीतिमा पार्छ । अहिले उच्च वर्गका लागि वाम एकताको नामबाट चुनाव जित्नु स्वाभाविक हो । तर हामी भन्न सक्छांै, यो वाम एकता मध्यपन्थी अवसरवादी, संकीर्ण चिन्तन र वस्तुगत आवश्यकता अनुसार आफूलाई रूपान्तरण गर्न नसक्ने दक्षिण पन्थी, संशोधनवादको राजनीतिक सोचबीचको एकता हो । विद्रोहीहरूले झापा विद्रोहपछि जनयुद्ध जनआन्दोलनसम्म कठिन संघर्ष नगरेको होइन । तर त्यसको उपलब्धि नयाँ संविधानपछि मात्रात्मक रूपमा जनताको जीवनस्तरमा केही परिवर्तन भएको कुरा साँचो हो । अब यो महान जनयुद्ध र जनआन्दोलनको उत्थान र विकासको कठिन मोडबाट यो एकताले क्रान्तिको ओजलाई पतनको संघारमा पु¥याएको आभास हुँदै आएको छ ।

माक्र्सवादी क्रान्तिकारी धारणा मालेमावादलाई समाएर कम्युनिष्ट राज्यस्थापनाका सोचले यो वामपन्थी एकता प्रक्रिया सुरु गरिएको होइन । यस लेखमा उल्लेख गरिहरनु पर्दैन, तीनवटा पार्टीका नेताहरूले गरेको कार्यव्यवहारले कम्युनिष्ट राज्यसत्ता प्राप्त गर्न सकिँदैन । यी नेताहरूले, आफ्नो जीवनकालमा क्रान्तिबाट जे जति उपलब्धि हासिल भयो त्यसैमा सन्तुष्ट हुने हो भन्ने मनोभावबाट परिचालित भएको देखिन्छ । यसको अर्थ यही संसदीय व्यवस्थामै जम्ने हो, त्योभन्दा माथि वैज्ञानिक समाजवाद, साम्यवादको कल्पना पनि गर्ने होइन भन्ने सोचमा उनीहरू रहेको देखिन्छ । अब वाममोर्चाको यो नेतृत्वले समाजको आमरूपान्तरण र फेर्ने, बदल्ने सोच राख्नै सक्दैन । किनकि उत्पीडन र कठिनतालाई गलाउने र त्यसका विरुद्ध लड्ने ताकत भनेको क्रान्तिकारी व्यक्तिमा रहेको दृढता, साहस र स्वाभिमान हो । त्यो गुमायो भने उसले अरू केही गर्नै सक्दैन । 

सारमा अहिले उनीहरूको व्यवहारले उनीहरूमा क्रान्तिकारी विचार अहिले मरिसकेको देख्छांै । समाजको अन्यायपूर्ण हथकडीलाई चुडाउन समाज रूपान्तरणको भीषण संघर्षको भट्टीमा खारिएर अघि बढ्नुपर्ने हुन्छ । त्यो ताकत थियो उनीहरूमा पहिले, तर अहिले त्यो गुमिसकेको छ । क्रान्तिको वस्तुगत र मनोगत कार्यनीतिहरूद्वारा क्रान्तिलाई जितको प्रक्रियामा पु¥याउन सक्ने महान अमर नेतृत्वको चरित्रबाट जीउन नसकेको अवस्था हो, उनीहरूको अहिलेको अवस्था ।

मुक्तिवेदीमा प्राण आहूति गर्ने क्रान्ति योद्धाको साहस र बलिदानी भावलाई अन्य श्रमजीवी लाखौं जनताले आप्mना श्रद्धाका फूलबाट सिञ्चित गर्छन् । यी महान जनताको ताकत र असिम बलिदानले बर्बर विभत्स अन्यायका क्रुर दिन बोकेको सत्तालाई हल्लाई दिन्छन् । प्रतिक्रियावादी सत्तालाई ध्वस्त गर्छन्, क्रान्ति योद्धाको नेतृत्वदायी पहलले । हो, यिनै सोच दर्शन र कार्यदिशाका आधारमा प्रचण्डले समाजका गरिब दुःखी, भोका नाङ्गा, दलित, सर्वहारा वर्गलाई मुक्त गर्छु भन्ने महान सोचका साथ १० वर्षको महान जनयुद्धको नेतृत्व गरेको हो । तर शान्ति प्रक्रियामा आएपछि क. प्रचण्ड पूरा क्रान्ति गर्नबाट पराजित भएको र त्यसको असफलताबाट हार व्यहोर्दै क्रमशः पलायन, आत्मसमर्पण, विसर्जन र विलय भएको हो कि भन्ने अवस्था देखिन आएको कुरा साँचो हो । 

अहिले वाम एकता एमालेसँगको पार्टी एकता र चुनावी तालमेलबाट आप्mना ४० प्रतिशत उम्मेदवार जिताउने अभिलाषा राखेर प्रचण्ड अध्यक्ष, प्रधानमन्त्री बन्ने सोचले महान जननायक र जनयुद्धको कमाण्डर लाखौं दलित उत्पीडित जनताका आशाका केन्द्र भनिएका अजय अपराजित वर्चश्व बोकेको मान्छे माओवादीले चुनाव नै जित्न नसक्ने निराशामा एमालेसँग वाम एकता कायम भएको हो त ? तर त्यहाँ पनि आफ्नो पार्टीमा भए जस्तै त्यो गुटगत स्वार्थ, अन्तरविरोध र दुई लाइन अस्वाभाविक संघर्ष, निषेधको चरित्र हुने छैनन् र ? हामी त्यहाँ विलय भएर गएपछि क्रान्तिकारीको मनोदशा कस्तो होला ? 

ठीक छ, चुनावी तालमेलका लागि एमालेसँग कार्यगत एकता गर्दा स्वाभाविक होला । तर एमालेसँग उसकै विचार उसकै वर्चश्वमा पछि लाग्ने होइन हामी । हामी त क्रान्तिकारी भन्छांै आफूलाई, त्यो पनि जनयुद्ध लडेर आएको । त्यसकारण अग्रगामी शक्ति बोकेको ताकतको पछि लाग्ने हो । नत्र एलसिन, गोर्वाचोव, ख्रुश्चेवद्वारा पहिलो कम्युनिष्ट जनसत्ता भएको मुलुक सोभियत संघ ध्वस्त भयो, त्यही आधारमा साम्राज्यवादीहरूले क्रान्ति योद्धाहरूलाई पनि विलय गराउन समय लाग्ने छैन, सोच्न जरुरी छ । 

क्रान्तिचेत, विप्लवी आस्था, बलिदानीभाव, उत्पीडनका विरुद्ध लडाकु तथा जुझारु प्रवृत्ति र क्रान्तिकारी नैतिकता तथा १० वर्षे महान जनयुद्ध र जनविद्रोहको स्कुलिङको अग्रगामी राजनीतिक शक्ति र झापा विद्रोहको क्रान्तिको रोमान्टिसिजमबाट संसदीय गोलचक्करमा फँसेको दक्षिणपन्थी संशोधनवाद बोकेको राजनीतिक शक्तिले कहाँ जनताको मुक्तिको दिशामा क्रान्तिको झण्डा बोकेर अग्रगामी बाटोमा जान सक्छ र, यतातिर सोच्नु जरुरी छ । माओले भनेझैं सबै कुराको फैसला विचारले गर्छ, विचारधारा सही अथवा खराब हुनुले क्रान्तिको जित या हारको लक्ष्य निर्धारण गर्छ । 

सामन्तवादको अन्त्य मात्र भएको छ, यसका सामाजिक सांस्कृतिक तथा आर्थिक संरचनाहरू पूर्ण सखाप पार्न सकिएको अवस्था छैन । मालेमावादको वैचारिक क्रान्तिकारी दर्शनमा प्रचण्डको अपराजित नेतृत्वमा पुँजीवादी क्रान्ति, वैज्ञानिक समाजवादी क्रान्ति हँुदै वर्गविहीन साम्यवादको मार्गचित्र कोर्ने अभिलाषा बोकेको हामी दलित उत्पीडित जनता हौं । तर क. प्रचण्ड, केपीको मातहतमा रहने गरी पार्टी एकतामा जाने सोचले यी दलित उत्पीडित सर्वहारा वर्गहरूको मुक्तिको लडाइँका लागि अर्को वैकल्पिक नेतृत्व खोज्ने अवस्था नआओस् भन्न सकिन्छ । 

प्रचण्ड, जातीय छुवाछूत तथा सबै प्रकारका अन्यायको समूल नष्ट गर्ने न्याय, न्यायपूर्ण समाजका ‘स्वप्न द्रष्टा, क्रान्ति नायक’ ठान्थ्यौं हामी । हाल नेकपा (माओवादी) ले क्रान्ति पूरै जित्न नसके पनि बाँकी क्रान्तिका कार्यभार तयार गरेर क्रान्तिका पहल अगाडि बढाउनु थियो । यो कुरा माओवादी केन्द्रले पूरा गरेन । क्रान्तिकारी विचारबाट जन प्रशिक्षण, विशाल जनशक्ति, जनाधारको निर्माण, जनसम्बन्धको विकास हुनै पाएन । राष्ट्रियता, जनजीवीका र जनगणतन्त्रको निर्माणमा विचार, नेतृत्व र जनाधारको निर्माण गरेर क्रान्तिकारी जनमुखी आन्दोलन चलाउनुपर्ने थियो, त्यो पूरा भएन । तर यही संसदीय चुनाव जित्न पनि ठोस कार्यदिशा बनाएर जनताको मन जितेर अघि बढ्ने काम भएन । यिनै निराशा देखेर प्रचण्ड, माओ जस्तै आप्mनै कम्युनिष्ट पार्टीका ल्युसाओचि, देङ स्याओपिङका विरुद्ध साँस्कृतिक क्रान्ति गरे जस्तै लड्नु पर्छ । न कि, आफूलाई प्रतिक्रियावादी स्वरूपमा रहन बाध्य पार्ने घेराबन्दी गर्ने पार्टी हेडक्वाटरका यथास्थितिवादी प्रतिक्रान्तिकारी ताकतका विरुद्ध विद्रोह नगरी आफंै पलायन भएर जाने हो प्रचण्डले, यसबारेमा सोच्न जरुरी छ । विश्वमा क्रान्तिको अजय झण्डा बोकेर हिँड्ने बेलामा प्रचण्ड प्रतिनिधिसभा र प्रदेशको चुनाव जित्न सकिँदैन भनेर वामपन्थीको नाममा मध्यमार्गी यथास्थितिवादी शक्ति एमालेमा विलय हुनु कति लाजलाग्दो कुरा हो ? सोच्न आवश्यक छ । 

विश्वमा वर्गसंघर्ष चालु छ । त्यसलाई निष्कर्षमा पु¥याउन मालेमावादको सार्वभौम सिद्धान्त अभेद्य शक्तिको रूपमा सर्वहारा वर्गको नेतृत्वमा परिचालित हुनु जरुरी छ । तर माओवादी केन्द्र एमालेको यो गठजोडले मालेमावादको क्रान्तिकारी राजनीतिक शक्ति र लामो समयदेखि संशोधनवाद, प्रतिगमन र प्रतिक्रान्तिको भासमा जकडिएको शक्तिबीच कित्ता काट भएको छ । अर्थात् समाजको उत्पीडनलाई आम जनसमुदायको क्रान्तिको बलले ध्वस्त गर्ने र अर्को केही समाजको सुधारको सवालमा आवाज उठाउने राजनीतिक ताकतबीच अन्तरसंघर्ष चालु रहनेछ । अहिले नौलोजनवाद, जसलाई हामी सर्वहारा वर्गको नेतृत्वमा पुँजीवादी क्रान्ति भन्छांै, अर्को वैज्ञानिक समाजवादी क्रान्ति हुँदै साम्यवादी क्रान्तिको मार्गनिर्देशनबाट चल्ने राजनीतिक धार र अर्को यही संसदीय व्यवस्थालाई संघर्षको अन्तिम लक्ष्य मानेर त्यसैको जित, हारमा रमाउने शक्तिबीच संघर्ष चल्नेछ । 

सारमा यो वाम एकता संसदीय व्यवस्थालाई भरणपोषण गर्ने राजनीतिक वर्ग र आमूल रूपान्तरणका लागि जीवनमरणको लडाइँ गर्ने क्रान्तिकारी वर्गबीच धु्रवीकरण हुँदै भीषण संघर्ष चालु रहनेछ । 



Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं