Date:2017/12/14 |Thursday

वाम एकताको आन्तरिक र बाहृय चुनौती

Posted on: October 12, 2017 | views: 103 | मिलनकान्छा किराती


विश्वको ध्यान यतिखेर नेपालतिर केन्द्रित छ । वामपन्थी गठजोडले नयाँ पोलिटिकल डिस्कोर्स सुरु भएको छ । अनेक कोणबाट चर्चा, परिचर्चा र अड्कलबाजी भइरहेका छन् । एमाले, माओवादी केन्द्र र नयाँशक्ति पार्टीले आसन्न चुनावी तालमेल, बृहत् ध्रुवीकरण हुँदै अन्ततः एकताको गन्तव्य तय गर्नुले राजनीतिक बजार तातेको छ । यो एकता आफैंमा स्वागतयोग्य छ । व्यक्तिगत र दलीय स्वार्थभन्दा माथि उठ्न सके वाम नेतृत्वको यो कदम नेपाली राजनीतिक इतिहासमा ‘आईस्ब्रेक’ सावित हुनेछ । 

पार्टी एकता प्रक्रिया सैद्धान्तिक रूपमा जति सहज र सरल छ, त्यति नै सांगठनिक रूपमा यसका कठिनाइ र जटिलता छन् । यस्ता समस्यालाई चिर्नका लागि सबैभन्दा पहिले राष्ट्रको हितलाई केन्द्रबिन्दुमा राख्न सक्नुपर्छ । साम्यवादी शक्तिहरू स्वभावैले जनवादी केन्द्रीयतामा विश्वास गर्छन् । साङ्गठनिक वरियताक्रम र तहगत संरचनालाई प्राथमिकता साथ र्र्हछन् । माक्र्सवादी दर्शन र लेनिनवादी साङ्गठनिक पद्धतिको जडसूत्रीय सार– सङ्ग्रहवादी सोच नै हालसम्म कम्युनिष्ट टुट–फुट र विभाजनको मुख्य कारणहरू बनेका छन् । तसर्थ, माक्र्सवादलाई युगसापेक्ष लोकतान्त्रिकीकरण गर्दै नेपाली माटो र हावापानीको विशिष्टता पहिल्याउन सक्नुपर्छ । नत्र, एकीकरणले अर्कै दिशा तय गर्ने कुरामा दुईमत हुने छैन ।

नेपाली राजनीतिमा वाम एकताले मूर्तरूप लिनसके विशेषतः लेफ्ट डेमोक्रेटिक र फ्रन्ट कन्जरभेटिभ दुई पक्षीय संरचना बन्न पुग्छ । लेफ्ट डेमोक्रेटिक कम्युनिष्टहरू हुन्छन् । फ्रन्ट कन्जरभेटिभ कांग्रेसहरूको भूमिका रहन्छ । यस्तो समीकरणले वर्तमान राजनीतिक गतिरोधको अन्त्य गर्दै आदर्शयुक्त राजनीतिक संस्कारको विकास हुन पुग्छ । त्यतिखेर, अहिले देखिएको अत्यासलाग्दो राजनीतिको फोहोर स्वतः सफा भएर जानेछ । पछिल्लो पिंढीका आम युवाहरूको राजनीतिप्रतिको वितृष्णा र निराशा आशामा परिणत हुनेछ । उनीहरू बिस्तारै राजनीतितर्फ आकर्षित हुनेछन् । आम युवाहरूको उपस्थिति र सहभागितामा देशभित्र पोलिटिकलको मात्रै होइन, डेभलपमेन्टको पनि नयाँ डिस्कोर्स सुरुआत हुनेछ ।

देशका लागि तत्कालीन र दीर्घकालीन फाइदै–फाइदा रहेको यस ध्रुवीकरण अभियानको मर्मलाई हृदयङ्गम गर्दै लेफ्ट डेमोक्रेटिक पक्षले फ्रन्ट कन्जरभेटिभ शक्तिहरूको गठजोड प्रक्रियाको थालनी स्वागतयोग्य रूपमा लिनुपर्छ । यसरी नै फ्रन्ट कन्जरभेटिभ पक्षले लेफ्ट डेमोक्रेटिक पक्षलाई शिष्टाचारयुक्त व्यवहार गर्नुपर्छ । यसले सुसंस्कृत राजनीतिक जग बसाउनेछ । साथै थप दूरी बढाउँदै दुई ध्रुवीय विशेषता छर्लङ्ग बनाउन मद्दत पु¥याउनेछ । दुवै पक्षलाई एकता प्रक्रिया मूर्तरूप दिन चर्को दबाब सिर्जना गर्नेछ । यसले नेपाल र नेपाली जनताको उज्ज्वल भविष्य सुनिश्चित गर्न मार्ग प्रशस्त गर्न सक्छ ।

एकता इतिहास टाढा नगएर सत्त चालीस सालमा निर्मित वाममोर्चा विभाजनलाई मात्रै नजर अन्दाज गर्ने हो भने पनि वाम एकीकरणको आन्तरिक र बाहृय चुनौती सतहमा आउनेछन् । एकता प्रक्रियाको चित्र समयान्तर केही फरक देखिए तापनि सैद्धान्तिक र सांगठनिक चरित्र उस्तै रहेका कारण फेरि पनि विभाजनको दिशा अँगाल्न सक्दैन भन्न कठिन छ । यसतर्फ नेतृत्व चनाखो मात्रै होइन, दलीय स्वार्थसमेत पूरै त्याग्न जरुरी छ । आधुनिक विकसित माक्र्सवादी कोणबाटै हेर्ने हो भने पनि यो प्र िक्रया केही सत्य हो, केही असत्य हो । केही अर्थपूर्ण छ, केही बेअर्थपूर्ण छ । केही सफल हुनसक्छ, केही विफल हुनसक्छ । केही राम्रा पक्ष छन्, केही नराम्रा पक्ष छन् । यस प्रक्रियाबाट केही खुशी छन्, केही बेखुशी छन् । किन कि, ऐतिहासिक भौतिक द्वन्द्ववादले यही कुरा प्रष्ट्याउँछ । यस्तै सुझाउँछ । तर, ठोस परिस्थितिको ठोस विश्लेषण गरेर दशचोटी नाप्ने र एकचोटी काट्ने सिद्धान्तलाई बिर्सने हो भने किन सैद्धान्तिक रटान लगाइराख्नु प¥यो ? त्यसो होइन भने यसलाई हतारको निर्णयको रूपमा लिइनु हँुदैन । यसको पहलकदमी विगतबाटै सुस्त गतिमा अमूर्तरूपमा सुझ–बुझका साथ भइरहेको मान्नु पर्छ ।

नेतृत्वले कार्यक्रम ल्याउँछ । कार्यकर्ताले कार्यान्वयन गर्नुपर्छ । हरेक विषयले मूर्तरूप पाउने वा नपाउने भन्ने कुरा कार्यान्वयनमा गएर असर देखिन्छ । यसकारण, कार्यान्वयन तह सबैभन्दा बढी जिम्मेवार र सकारात्मक हुन जरुरी छ । यसका लागि वैचारिक, सैद्धान्तिक र सांगठनिक ज्ञान र चेतनाको स्तर उच्च हुनुपर्दछ । भाग्यवादी र नश्लवादी चेतभन्दा माथि उठ्न नसकेका केही डाईनोसरहरू जहाँ पनि घस्रिरहेका हुन्छन् । उनीहरूको लोप अवश्यम्भावी भए पनि बाँचिरहेका समय दिग्भ्रमित र भयङ्करजस्तो देखिन्छ । यस किसिमको विशेषतालाई प्राथमिकताबाट हटाउँदै अघि बढ्नु नै वैज्ञानिक हुन्छ । मेरो स्थान र स्थिति के हुन्छभन्दा पनि हाम्रो देशको स्थिति के हुन्छ ? भन्ने सबैले मनन गर्न सक्नुपर्छ । कतिपय अवस्थामा कठोर बन्नुपर्ने हुन्छ । त्यसो हुन नसके निर्णायक परिणाम आउन सम्भव हुँदैन । यस सन्दर्भमा वर्गीय दृष्टिकोणबाट सामाजिक न्याय र समानताको वकालत गर्ने अभियानकर्ताहरूले परिणाम निकाल्ने अवस्था आए नआएको छुट्टयाउन सक्नुपर्छ । 

विश्व भू–मण्डलीकृत पूँजी बजारको उच्च प्रयोगवादी क्रान्तिले सञ्चार र प्रविधिमार्फत पूर्वीय वैचारिक, सांस्कृतिक तटहरूमा अनेक आँधी, सुनामीहरू ल्याइसकेका छन् । यसले विनाश मात्रै निम्त्याएको छैन । विकासको भ्रुण उमार्दै नयाँ सभ्यताको जग हाल्न खोजिरहेको देखिन्छ । यसले सबैखाले पहिचानको प्लटिङहरू नष्ट पार्दै सिङ्गो सांस्कृतिक साम्राज्य निर्माण गर्न अग्रसर रहेको छर्लङ्गै देखिन्छ । यसर्थ, हामीले आन्तरिक सङ्घर्षमा समय सातुको भाउमा गुजारिरहँदा सुनको भाउ गुमाइरहने छौँ । जहिले पनि परिणाम निकाल्न केन्द्रित एकोहोरो सोंच घातक हुन्छ । दायाँ–बायाँ र विश्व नियाल्दै अघि बढ्नु आजको आवश्यकता हो । विश्वका महारथी मुलुकहरूले आफू र आफ्नालाई बिर्सेर अन्य मुलुकहरूसँग प्रत्येक सेकेण्ड–सेकेण्ड प्रतिस्पर्धा गरिरहेका छन् । यसको अन्तर्यमा हेर्ने हो भने आफू जित्न यसो गरिरहेका छैनन् । आफ्नो स्थान यथावत राख्न लडिरहेका छन् । हामीले सेकेण्डको गतिमा उभिएर प्रतिस्पर्धा गर्नु त परकै कुरा भयो । आफ्नो पोजिसन कायम राख्ने त्यस सन्दर्भ थाहा पाउन मात्रै दशकौं लाग्ने छ । यही नै हाम्रो दुर्भाग्य र पछौटेपन हो ।

विश्वको विकासशील समयले यसरी तीब्र वेग र गतिमा हाम्रो मुलुकलाई छोडिरहेको अवस्थामा दुर्भाग्यवश नेपाली राजनीतिमै गतिरोध भएको चेत यदि खुल्ने हो भने एक देशप्रेमी नागरिकलाई त्योभन्दा ठूलो पीडा अर्को कुनै पीडा हुन सक्दैन । देशको हितलाई केन्द्रबिन्दुमा राख्ने हो भने शक्तिकेन्द्रका हरेक किसिमका प्रलोभन र गलत सल्लाहबाट प्रभावित हुनु हँुदैन । आन्तरिक मामलामा जहिल्यै पनि बाहृय शक्तिकेन्द्रको हस्तक्षेपका कारण आन्तरिक राष्ट्रियता कमजोर हुने र भइसकेका सहमति र बन्न लागेका कामहरू पनि भताभुंग भएर जाने गरेका अप्रिय तीता क्षणहरू जगजाहेर छन् । 

मूलतः राष्ट्रियता मजबुत बनाउन शीर्ष नेतृत्वले निर्णय लिने क्षमता प्रदर्शन गर्नु पहिलो शर्त हुन आउँछ । मल्टिपार्टी सिस्टम लोकतन्त्रको एउटा प्रमुख सुन्दरता हो । तर, सुन्दरताले मात्रै सबै कुरा पूर्ण हुन सक्दैनन् । यसका लागि जसरी जीवन, जगत र ब्रहृमाण्ड सृष्टिका सूत्रपात दुई चीजबाट भएको छ, त्यसरी नै लोकतन्त्रको संस्थागत, शान्ति, स्थायित्व र आर्थिक समृद्धिका लागि दुई पक्षीय राजनीतिक ध्रुव अनिवार्य छ । यसको आवश्यकता र महŒव हरेक कोणबाट विधिवत र वैज्ञानिक देखिन्छ ।

सतही र फोस्रा कुराहरूलाई छाडेर यसको सार बुझ्ने र गहिराइसम्म पुगेर हेर्ने हो भने वाम गठबन्धन युगको आवश्यकता र समयको तत्कालीन माग हो । यसले विद्यमान राजनीतिक गतिरोधको अन्त्य गर्दै शिष्टाचारयुक्त राजनीतिक संस्कार, सामाजिक न्याय र समानता, लोकतन्त्रको दीर्घकालीन संस्थागत, स्थायी शान्ति र आर्थिक समृद्धिको तीब्र गति पैदा गर्नसक्ने देखिन्छ । एक पक्षले अर्को पक्षलाई सम्मान र शिष्टाचायुक्त व्यवहार गर्दै ठोस प्रमाण, राजनीतिक मुद्दा र विकासका उत्कृष्ट योजनाहरूको बलमा जनतासामु गएर अभिमत प्राप्त गर्ने वातावरण बन्न सक्नेछ । यसरी सुरुआत भएको राजनीतिक संस्कारले स्वच्छ राजनीतिक आधारभूमि मात्रै तय गर्दैन, राजनीतिप्रतिको सबैखाले फोहोर र वितृष्णाहरूको समेत अन्त्य गर्छ । यही नै युगको आवश्यकता र समयको माग हो ।

 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं