Date:2017/12/14 |Thursday

संशयमा मुलुक र राजनेताको खोजी

Posted on: October 12, 2017 | views: 64 | राजन कार्की

देशको भार बोक्न सक्ने, जनताको विश्वास जित्न सक्ने, आदर र सम्मान आर्जन गर्न सक्ने राजा दलहरूमा देखिएन । जो दलका राजा हुनै सकेनन्, ती कसरी देशका राजा हुन सक्छन् ? गुण्डाको चरित्र बाकेको व्यक्ति नेता हुन सक्ने रहेछ, राजनेता होइन । वर्तमान कालखण्डमा नेपाल एउटा राष्ट्रको नेता, राजनेता खोजिरहेछ ।

स्कुल कालदेखि डबली नाटक, नाटक विधाका विश्वविद्यालय बने । सर्वनामको संस्था खोलेर एउटा नाटकघर बनाउने सपना देखेर धनकुटादेखि देश देशाटनमा नाटक देखाउँदै हिँडेका अशेष मल्लले ८ वर्ष अनवरत पसिना बगाएर सर्वनाम नाट्यशाला बनाउने सपना पूरा गरे त । महाकवि लक्ष्मीप्रसाद देवकोटाका प्रशंसक आख्यानकार परशु प्रधान साहित्यमै लागेर मर्ने इच्छा व्यक्त गर्छन् र साहित्यको अनवरत साधनामा लीन भेटिन्छन् । राष्ट्र बैंकका जागिरे कलाकार नोटका डिजाइन गर्छन् र बागबजारमा बसेर अनेक पुस्तक र पोस्टर डिजाइन गरिरहेका भेटिन्छन् । यी त कलाकारका कुरा भए, अनेक व्यवस्थापक छन्, चिन्तक र विचारकहरू छन्, सबै सिण्डिकेटमा छैनन् र माटोको चिन्तन गरिरहेका भेटिन्छन् । जो आफ्नो क्षेत्रमा इच्छाशक्तिलाई साकार पारिरहेका छन् ।

इच्छाशक्ति ठूलो कुरा रहेछ, इच्छाशक्ति भएपछि सपना देख्न र पूरा गर्न सकिनेरहेछ ।

नेपाल किन बनेन ? नेपाल किन बिग्रियो ? नेपाल किन अस्तव्यस्त छ ? यत्रतत्र छरिएको एक सय छब्बीस जातिको नेपाललाई व्यवस्थापन गर्न सक्ने एकजना पनि व्यवस्थापक किन जन्मेन नेपालमा ?

हामी सपना देख्ने तर सपना साकार पार्न इच्छाशक्ति र त्यागका साथ लगनशील हुने माउ नपाएर चिल्लीबिल्लीमा परेका चल्लाजस्ता बनेका छौं । नेता धेरै छन्, यिनका मुटुमा न नेपाल धड्किन्छ, न यिनको नजरमा जनताले महŒव पाएका छन् । यिनीहरू व्यक्ति र सत्ता स्वार्थका पुतला बनिरहेका छन् । देशलाई अर्जुनदृष्टि चाहिएको छ, धृतराष्ट्रजस्ता शासक राज गरिरहेका छन् ।

भनिन्छ, बैंशमा स्याल पनि घोर्ले हुन्छ । लोकतन्त्रका नेताहरू घोर्ले त बने, माटोको रक्षा र नागरिकको सुरक्षामा घोत्लिन सकेनन् । चरित्र र संस्कारको मूल्य, इतिहास र गौरवको ओजन यिनलाई थाहै भएन । दुर्योधनको अट्टहास र धृतराष्ट्रको जस्तो आत्मकेन्द्रित सोचले यिनले अवसर गुमाए, जनघृणा कमाए । यिनको चरित्रहीनता देख्दा नेपाली उखानको सम्झना हुन्छ– हिँड्न नजान्ने दगुर्न खोज्ने ? त्यसैले म आजकल दलका होइन, देशको राजा खोजिरहेको छु । नेपालको एकताको मौलो कता हरायो, त्यो खोजिरहेको छु । माटोको हक र जनताको हितको कुरा गर्ने राजनेता खोजिरहेको छु ।

जनआन्दोलनताका सडकभरि कुर्लने नागरिक समाज नामको चरो आजकल किन कराउँदैन ? देशमा शान्ति, व्यवस्था, अमनचैन र सुशासन भएर हो ? हो भने कहाँ छ सुशासन ? सांसद बिक्री भएको देख्यौ कि देखेनौं, न्यायाधीश भागबण्डा भयो, देशको कित्ताकाट गरियो र ५ करोडमा राजदूतको खरिदबिक्री भएको तिनले किन नदेखेको ? अख्तियार, निर्वाचन आयुक्तहरू, गभर्नरदेखि सचिव र मुख्यसचिवसम्म र आइजीपीहरूसमेत दलहरूले भाग लगाएर हक जमाए । संविधान देशको हो, संविधान मूल कानुन हो भने देशका संवैधानिक अंगहरू आफ्नो हकदाबी गर्ने अधिकार यी राजनीतिक दलहरूलाई कसले दियो ?

घूस नख्वाई मृत्यु दर्ता हुन छाड्यो । ज्येष्ठ नागरिकको भत्ता कहिले ६ त कहिले ८ महिनामा दिँदा र वृद्धहरूले सिटामोल किनेर खान नपाएको दृश्य अधिकारकर्मीलाई पनि बिझाएन । ९१ प्रतिशतले जारी गरेको संविधान बहुमत जनताले अपनत्व स्वीकार नै गरेका छैनन्, ती ९१ प्रतिशतको हैसियत के ? विशिष्ट, सांसदहरूले आफ्नो सुविधा बढाउने र म्याद सकिएपछि पेन्सन खाने व्यवस्था गर्न यिनलाई कत्ति पनि लज्जाबोध भएन । जनयुद्धकालीन मुद्दाहरू थाँती छन्, न्याय पाउँ भनेर अनसन बस्ने मरिरहेका छन्, मरेका लाश अस्पतालमा सडेर बसेका छन्, योग्यता र समानुपातिक शिक्षा, स्वास्थ्यको अधिकार देऊभन्दा सरकार सुन्दैन । सीमादेखि सुरक्षासम्म प्रश्नचिहृन लागिसकेको छ । तैपनि जनता बोल्दैनन् । पटक्कै बोल्दैनन् ।

आयल निगमले दलाल खडा गरेर चार दोब्बरमा भण्डारण गर्ने जग्गा किन्यो । डेढ अर्बभन्दा बढी कमिसन भागबण्डा गरेर दल र कर्मचारीले पचाए । राजस्व छली बढ्दैछ, देशले पाउनुपर्ने लाभकरसमेत कमिशनमा हिसाब मिलान भइरहेका छन् । बोल्दैनन्, युवा विद्यार्थी वर्गसमेत आँखा, कान र मुख थुनेर बसेका छन् । देश बिरामी छ, भ्रष्टाचारको महामारीले थला परेको छ । लोकतन्त्रबाट लोकआकांक्षा परिपूर्ति गर्ने योजना र कार्यान्वयन निक्लनुपर्ने हो । एउटा होइन, सयौं नवराजाहरू लोकतन्त्रको भुँडीबाट जन्मिएका छन् । र, यतिबेला जुवा होइन, भोरजुवा चलिरहेको छ ।

एकै शब्दमा कानुनको ताकतबारे पत्रकार मात्रृका दाहालले भनेका छन्– ‘माछा पानीमा पौडिएछ रे होइन, माछा अदालतमा बौरिएछ रे’ । अर्थात नेपालको शासन, प्रशासन र कानुन सबै माफियाको मुठ्ठीमा निचोरिँदै गएको छ । सुरक्षा जानकार पूर्व जनरल प्रेम सिंह बस्नेतको विश्लेषण छ– ‘नेपालका केही बुद्धिजीवीहरूलाई विदेशीको इशारामा नाच्ने कुतत्व बन्न पुगेकाले देश बर्बाद भइरहेको हो ।’

नेपाल जसको आन्तरिक आम्दानीले कर्मचारीको तलब ख्वाउन ठिक्क छ र अर्थतन्त्र वैदेशिक रोजगारीबाट आएको रेमिट्यान्समा सीमित भइसकेको छ । विकास निर्माण विदेशीले दिने दान दातव्यबाट भइरहेको छ । यति गरिब मुलुकमा एक सय तीसभन्दा बढी दल । ९ महिने आलोपालो सरकार र ७ प्रदेश । कसरी धान्ने ?

ठीकै थियो, नेपाल विश्वमै हिन्दूराष्ट्र थियो । भेटिकनदेखि अस्ट्रेलियासम्मको डलर खाएर नेताहरूले जनतालाई सोध्दै नसोधी धर्मनिरपेक्ष घोषणा गरिदिए । संविधान निर्माणका बेलामा धार्मिक स्वतन्त्रता मात्र लेखिएको थियो, तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधान घोषणा गर्दा कसरी त्यो धार्मिक स्वतन्त्रताका ठाउँमा धर्मनिरपेक्षता लेखियो ? कुनै सांसदले चाल पाएनन्, सभामुख थिए सुवास नेम्वाङ, उनले अहिलेसम्म त्यसको रहस्य खोलेका छैनन् । पार्टीमा आबद्ध युवाले छपक्क छोपेकाले यो प्रश्न रहस्यकै गर्भमा छ ।

यति मात्र होइन, जनयुद्धको माग गणतन्त्र पनि थिएन । तर, गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बन्नोस् भनेर प्रचण्डले यसरी गिरिजाप्रसादको दिमाग भुटिदिए कि उनले चुनाव हारेका कृष्णप्रसाद सिटौलालाई प्रस्ताव पठाएर संसदबाट पारित नै गराइदिए । पछि गिरिजालाई प्रचण्डले राष्ट्रपति दिन नमान्दा रामवरण यादवलाई चिठ्ठा पर्न गयो । गणतन्त्र कार्यान्वयन गरियो । यो नीतिहीन र जनताप्रति उत्तरदायित्वविहीन कार्य पनि हो । अहिले राप्रपाले हिन्दूधर्म र राजतन्त्रबारे जनमत संग्रह गर भनेर आन्दोलनको घोषणा गरेको छ, यो राष्ट्रिय मुद्दामा बहस र जननिर्णय हुन जरुरी छ । किनकि काँडा बिझेपछि झिक्नैपर्छ, अन्यथा खिल पल्टिएर क्यान्सर पनि हुनसक्छ । यी ठूला दल र नेताहरूलाई लाभ भयो, घाटा त देशले बेहोर्नुप¥यो । हिजो राष्ट्र कहाँ थियो, आज कहाँ छ ? यसको समीचीन विश्लेषण गर्नेले गरेका छन्, ठूला दलहरूलाई चेत खुलेको छैन । उनीहरू राजनेता बन्ने इच्छाशक्तिमा होइन, एउटा गुटको नाइके मानौं सरदार भएर हुकुम चलाइरहेका छन् । लोकतन्त्रले देशको राजनेता खोजिरहेको छ, अग्ला नेताहरू टोले साँचा पहलमान बनेर गजक्क फुलिरहेका देखिन्छन् ।

घर चलाउन वा पार्टी चलाउन पैसा चाहिन्छ । पैसा चाहिन्छ भन्दैमा देश लुट्ने, जनताको रगत चुस्ने ? यतिसम्म भइसक्दा पनि जनता बोल्दैनन् । बोल्ने जनता छरिएका छन्, संगठित छैनन् र तिनको आवाज गुन्जिदैन । अधिकांश कुनै न कुनै पार्टीमा संलग्न छन् र तिनीहरू पार्टीको इशारामा बसउठ गरिरहेका छन् । सत्य बोल्दा पद प्रतिष्ठा, अवसर गुम्ने खतराले सबै भयभित देखिन्छन् ।

अब त प्रभावशाली माओवादी, एमाले र नयाँशक्ति नेपालको एउटै सूर्य चिहृन भएछ । माओवादी जनवादी भयो कि एमाले नरसंहारकारी, छुट्याउन मुस्किल छ । माओवादी जनयुद्धका सबै बेपत्ता र ज्यानमारा मुद्दाहरू खारेज हुनुपर्छ भनिरहेको छ, एमालेको आवाज पनि त्यही नै हुनेभयो । ५८ हजार बेपत्ता र पीडितका परिवारजनले बेपत्ता र मेलमिलाप आयोगमा न्याय पाउँ भनेर उजुरी हालेका छन्, ती उजुरी रद्दीको टोकरीमा मिल्किने पक्का भयो । नेपाल दण्डहीन मुलुक बन्ने भयो । कतै अन्तर्राष्ट्रिय समुदायले नेपाललाई हेगमा उभ्याएर असफल र अन्याय गर्ने राष्ट्रको घोषणा नगरिदेओस् ।

यता कांग्रेसले लोकतान्त्रिक मोर्चा बनाएको छ । वामबाहेकका दलहरू यो मोर्चामा दिनदिनै समाहित हुन थालेका छन् । राष्ट्रिय राजनीति तीब्रगतिमा दुई धारमा ध्रुवीकृत हुन थालेको छ । जसरी १९५० को सन्धि गरेर मोहन शमशेर एयरपोर्टमा उत्रिएका थिए, त्यतिबेला राजाले उनलाई बचाइदिएको इतिहास छ, त्यसरी नै अहिले संकटमा छ कांग्रेस । कांग्रेसले राजा, हिन्दूवादीहरूको समर्थन र सहयोग लिएर मोर्चाबन्दी नगरी धर रहेन अब ।

बोल बोल मछली मुखभरि पानी । कांग्रेसका सभापतिले केही दिनअघि बीपीको उत्तराधिकारी बन्न पाएकोमा गौरव छ भनेका थिए, त्यो गौरवलाई व्यवहारमा उतार्ने समय आयो अब । देउवाले बुझ्नुपर्छ, बीपीको नीतिबिना कम्युनिष्टको कम्युन्यालिजमलाई रोक्न सकिन्न । कम्युनिष्ट बढ्नु र हिन्दूराष्ट्र नहुने हो भने भारत वर्षलाई समेत धक्का लाग्ने मात्र होइन, अस्थिरताको डढेलोले खरानी बनाउन सक्छ । यो कुरा मोदीले बुझेका छन्, योगीले बुझेका छन् र ४ हप्ताअघि दिल्ली पुग्दानपुग्दै मोदीले देउवालाई अप्रत्यासितरूपमा सोधेकै हुन्– हिन्दूराष्ट्रका लागि के गर्नुभएको छ, योजना के हो ? त्यतिबेला अवाक परेर फर्किएका देउवाको नजरमा लागेको मोदीबिन्दु हटेको हुनुपर्छ । 

के कांग्रेस पार्टी बचाउन, देश बचाउन राजा र हिन्दूशक्तिलाई आत्मसात गर्न तैयार छन् । नभए राजनीतिक आत्महत्या हुनसक्छ । देशले एउटा राजनेता, राजा खोजिरहेको छ, त्यो नेपाली माटोको कुनै पनि कोखबाट जन्मेको हुनसक्छ । त्यो सैनिक पनि हुनसक्छ, गैरसैनिक पनि । नेपाली धर्तीमा भारतीय झण्डा फरफराउन थालिसकेको छ, त्यो झण्डा उखेलेर फाल्ने राजनेता चाहियो । जुन वाम एकताबाट सम्भव छैन ।

दल मात्र हेर्ने नेता होइन, देश हेर्ने राजा चाहियो । जनताप्रति जिम्मेवार, नैतिक र इमान भएको नेता मात्र राजनेता बन्नसक्छ । सत्ता भन्नेहरूको होइन, माटो भन्नेहरूको सहकार्य आजको नेपालको आवश्यकता हो । अब राजाजस्तो राजनेताको विकल्प छैन । अन्यथा नेपालको पहिचान धुमिल हुँदै मटियामेट हुन बेर छैन ।



Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं