Date:2017/12/14 |Thursday

बालुवा निचोरेर तेल निकाल्ने तयारी

Posted on: October 13, 2017 | views: 262 | माधव घिमिरे ‘अटल’

मणिर्लुण्ठति पादाग्ने काचः शिरसि धार्यते ।

क्रयविक्रयवेलायां काचः काचो मणिर्मणिः ।।  

–चाणक्य नीति दर्पण 

अर्थात मणि गोडामा लट्पटिएको छ र काँच शिरमाथि राखिएको छ तापनि क्रय–विक्रयको बेलामा मणि मणि नै र काँच काँच नै रहन्छ ।

सन्दर्भ वर्तमान राजनीतिलाई तरंगित पार्ने गरी तयार गरिएको वाम गठबन्धन र माओवादी केन्द्र, एमाले र नयाँ शक्तिबीच प्रस्तावित पार्टी एकताको हो । ‘एकता’ निकै कर्णप्रिय शब्द हो, मूलतः हाम्रो सन्दर्भमा, किनकि यहाँ धेरै कुरा टाल्न र सिउन नै नमिल्ने गरी फाटेका छन् । अस्थिर राजनीति अन्त्य गर्ने रामवाणमा परिणत पनि हुनसक्छ प्रस्तावित एकता र मूलतः चुनावी गठबन्धन । परन्तु हठात् कहीँकतै सुइँकोसम्म नदिईकन जुन ढंग र ढर्राले विषयवस्तुहरू जनसमक्ष आए, यी संशयपूर्ण, सन्देहास्पद र अकल्पनीय रूपमा आए । अरू त अरू दुवै वा अझ भनौँ तीनै दलका स्थायी समिति, सचिवालय वा मूल समितिले समेत सुइँको नपाउने गरी एकाएक जुन दूरगामी महŒवका विषय आए, जादुमय ढंगले सार्वजनिक भए, निधार खुम्च्याउनुपर्ने रूपमा प्रस्तुत भए– किन यत्रोविधि गोप्यता कायम गरिनुपथ्र्यो ? किन पर्खाल लगाइयो प्रभावशाली गनिएका, ठानिएका र मानिएका नेताहरूलाई गठबन्धनको सूचना प्राप्तिका निम्ति ? आगामी चुनावमा माओवादी केन्द्र भन्ने पार्टी देख्नुपर्ने छैन भन्ने ओलीको दम्भ, पार्टी विघटनको प्रस्ताव केन्द्रीय सचिवालयको बैठकमा राख्ने प्रचण्डको आँट फगत संयोग थियो कि पूर्वाभ्यास ? 

अटुट रूपमा माओवादीको कटु आलोचना गर्ने चतुर ओलीलाई कसरी तŒवज्ञान प्राप्त भयो, माओवादी केन्द्रसँग एउटै भातभान्छा गर्ने ? माक्र्सवादलाई सत्तोसराप गर्दै उदारवादको बखान गर्ने र पुरातन चिन्तन बोकेर नयाँ शक्ति नामको पार्टी बनाउने बाबुरामलाई रातो स्टिकर टाँसेकै घरमा आश्रय लिने दिलचस्पी कसरी भयो ? एकल स्वघोषित राष्ट्रवादी एमालेलाई उसकै शब्दमा लम्पसारवादीसँग गला मिलाउन कुन रसायनले उत्प्रेरित ग¥यो ? 

अनेक नाममा च्याँखे थापेर बसेका र राष्ट्रिय राजनीतिमा बिलाइसकेका वा डाइनोसार हुने अवस्थामा पुगेका अमुक दलहरूलाई भागबण्डामा सन्तुष्ट पारेर बाँकी रहेको सिटमा ६० प्रतिशतमात्र लिएर चित्त बुझाउन ढुकुरे छातीको एमालेलाई कुन स्वार्थले प्रेरित ग¥यो ? के छातीको आकार एकाएक भीमकाय भएकै हो त निस्वार्थरूपमा ? कि कतिपय विश्लेषकले भनेझैँ सत्तालिप्साले मात्रै दुई ठूला कम्युनिष्ट (?) पार्टीहरूलाई साझा चौतारीमा उभ्याएको हो ? इतिहासको पन्नामा कैद हुन लागेका बाबुरामलाई त गठबन्धन वा प्रस्तावित एकता सञ्जीवनी बुटी नै सावित होला परन्तु माओवादीले अझै क्रान्ति गर्छ भनेर भ्रम पालेका नेता, कार्यकर्ता र शुभेच्छुकहरूको हविगत के होला ? जनयुद्धलाई फगत आतंककारी गतिविधि करार गर्ने र द्वन्द्वका क्रममा सहादत भएका नेता, कार्यकर्तालाई लुटेरा मान्दै आएको एमाले र एमालेलाई दक्षिणपन्थी तथा फाँसीवादी करार गर्ने माओवादी केन्द्रबीच हुने भनिएको पार्टी एकता नेता–नेताको गठजोड मात्रै होला कि अरू केही पनि ? कि यो भाङ कुटी कनिका न मियाँ हुने चालबाजी मात्र हो ? जनयुद्धका सर्वोच्च कमाण्डरले बहुदलीय जनवादको कतिसम्म खुलेर प्रशंसा र पैरवी गर्न सक्लान् ? भद्र सहमतिको मसी सुक्न नपाउँदै अवज्ञा गर्ने ओलीले आगामी दिनमा सहमति लागू गर्ने ग्यारेन्टी कसले गर्न सक्छ ? बारम्बार लम्पसारवादीका रूपमा लाञ्छित दाहाललाई सुनपानी छर्केलान् कि अन्तिमपटक थाङ्नामा सुताउलान् ओलीले ? सपना पूरा नहुँदै गर्दा पूरा गर्ने बाटो अख्तियार गर्ने कि सिद्धान्त बदल्ने ? कि युद्ध र यसले प्राप्त गरेका आंशिक उपलब्धि भर्सेला परून्– आफू राष्ट्र प्रमुख वा सरकार प्रमुख बन्नैपर्छ भन्ने आग्रहले गठबन्धन र एकतालाई मलजल दिइरहेको छ ? बाउन्न घुस्सा र त्रिपन्न ठक्कर खाँदा पनि किन माओवादी केन्द्र मणि हराएको सर्पझैँ प्रतीत भइरहेको छ ? भुइँतहका नेता, कार्यकर्ता, शुभेच्छुक र शुभचिन्तकलाई समेत कुरीकुरी लाग्ने खेलो त भइरहेको छैन कलेवरको एकता ? 

यी र यस्ता दर्जनौँ प्रश्नहरू यतिबेला अनुत्तरित छन् गठबन्धन र एकताको वाम राजनीतिमा । सवाल गठबन्धन वा अझ प्रस्तावित पार्टी एकता वा कम्युनिष्ट केन्द्र बन्नु हुन्न भन्ने बिलकुल होइन, बरु सवाल आवरणमै किन नहोस् कम्युनिष्ट रहिराख्ने कि कमाउनिष्टमा रूपान्तरित हुने भन्ने हो ? माथापच्ची ‘जनसमर र यसका उपलब्धिलाई थप समृद्ध पार्ने कि न्यायपूर्ण क्रान्तिलाई फाँसीमा लट्काउने’ भन्नेमा हो । अझ मुख्य सवाल प्रतिक्रान्तिको जलधाराले निभ्न लागेको अँगेनामा बाँकी बसेका एकाध फिलिंगाहरू पनि निभाइदिने कि फुकफाक गरेर सामाजिक सद्भावसहितको चेतनाको दियो प्रज्ज्वलन गर्ने भन्ने हो । 

‘भाञ्जीको चामल पनि पाक्ने, मामाको दूध पनि तात्ने’ गरी गठबन्धन गर्ने र एकता (?) गर्नु अघि पर्याप्त छलफल, बहस गर्ने वातावरण तयार भएन भने बुझ्नुपर्छ– नेतृत्व भँडार खनेर आँगन पुर्ने खेलोमा फसेको छ । विनासित्ति ताईको फुरौलोझैँ उफ्रने काइदा लाभदायक होइन । अनुयायी सधैँ प्रशंसक बन्छन् भन्ने छैन । न छानो, न मानो, न बाटो, न आटो भएका हजारौँ योद्धाहरूको ढुकढुकी बन्नबाट पार्टी चुक्यो भने शीर्ष नेताको फोटो सेशनको आकर्षणले कार्यकर्ता डोरिन्छन् भनेर कल्पनासम्म नगरे हुन्छ नेतृत्वले । ‘भाइ पर र भँडुवा वर’ गरेर कम्युनिष्ट पार्टी डेग नचल्ने तथ्य कसैलाई स्मरण गराउनुपर्छ भन्ने यो पंक्तिकारलाई लाग्दैन । कन्डामा टालो नहुनेले माथमा फूल सिउरेर आकर्षक बन्दैन नै । यदि इमानदार भएर ६०÷४० को अनुपात एमालेले स्वीकारेछ भने पनि माओवादी केन्द्र अल्पमतमै हुन्छ र मुख्य सवालहरू नटुंग्याईकन एकताको हात अघि बढाइयो भने किमार्थ परिवर्तनका मुद्दाहरू सम्बोधित हुने छैनन् । 

कम्युनिष्ट पार्टीहरूमा यसै पनि बहुमतको निर्णय येनकेन प्रकारेण लागू गर्नै पर्ने बाध्यता सिर्जना हुने हुनाले त्यतिबेला पार्टी एकताको अनुभूति हुने गरी निर्णय हुने छैनन् बरु ठूलो पार्टीमा अन्य पार्टी विलय भएको परिस्थिति सिर्जना हुनेछ । ठीक त्यतिबेला पार्टी त विघटन भइसकेको हुनेछ परन्तु विद्रोह गर्ने अधिकार भने हर सचेत कार्यकर्तामा निहित हुने नै छ । 

‘जसको तरबार उसैको दरबार’ हुने परिस्थिति निकै सन्निकट देखिन्छ । कार्यकर्ता, शुभेच्छुक, शुभचिन्तक र न्यायप्रेमी जनताले त के मात्र सोच्न सक्छन् भने मुक्तियुद्धलाई नेतृत्व गरेको पार्टीका नेताले नाक काटेको र सिँगान पुछेको भेद खुट्याउने नै छन् । मनन गर्ने छन्– न त मागेको तेलले बारा पाक्छ, न त बालुवा निचोरेर तेल नै निस्कन्छ । 

अन्त्यमा, 

छलाङ, चमत्कार र क्रमभंग भद्दा ठट्टा सावित नहोस् । ‘मेरो छोरो जतातिर हुल छ, त्यतैतिर लाग्ने प्रवृत्तिको नहोस् । यदि उद्देश्य उपयुक्त र सही छ भने जस्तोसुकै विरोध भए पनि जिउज्यानले लागिपरोस्’ भन्ने लिंकनको आफ्नो छोराबारे विद्यालयका प्रधानाध्यापकलाई लेखेको चिठीको हरफ सदा स्मरणीय रहोस् । ‘भालुसँगको मितेरी र बाघसँगको दोस्ती’ कति सजिलो र कति असजिलो भन्नेबारे यो अकिञ्चनले के नै पो सम्झाउन पर्ला र ,




Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं