Date:2017/11/23 |Thursday

रवि र उज्यालो तिरको यात्रा

Posted on: October 14, 2017 | views: 756 | राजेश खनाल

पछिल्लो समय हेल्प नेपाल नेटवर्कले समाजसेवाका क्षेत्रमा उल्लेख्य कामहरू गर्दै आएको छ । कहिले विद्यालयको भवन निर्माण र मर्मतका लागि सहयोग त कहिले स्वास्थ्य शिविरको सञ्चालन गर्दै आएको छ हेल्प नेपालले । त्यस्तै विपदका बेलामा पनि हेल्प नेपालको उपस्थिति दह्रिलोरूपमा हुने गरेको छ । सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोले धेरैलाई पीडित बनायो । हेल्प नेपालका स्वयंसेवकहरू तत्काल दगुरे सेवाकार्यमा । ०७२ सालको शक्तिशाली भैंचालो गएको केही समयपछि नै हेल्प नेपालका स्वयंसेवकहरू सहयोगका लागि जुटे । र लामो समय सेवा गर्दैरहे । त्यस्तै अग्निपीडित, बाढी पहिरो पीडितहरूका लागि पनि उनीहरूले तारन्तार सहयोग गर्दैरहे । अर्थात देश र जनतालाई अप्ठेरो परेको बेला स्वयमसेवकहरू केही नभनी सेवामा जुटिरहे । अब त यिनको काम नै यही भइसकेको छ र सेवामै सन्तुष्ट हुन्छन् सबै । 


यसै संस्थाका उपाध्यक्ष रवि मानन्धरसँग केही साता अघि  हेल्प नेपालकै कार्यालयमा भेट भयो । पुराना परिचित रविसँग म केही फरक विषयमा गफिएँ । पछि मैले रविलाई सोधेँ, ‘रवि तिमी समाजसेवामा लिप्त छौ । कसरी यतातिर लाग्यौ ?’ 

मैले यो प्रश्न तेस्र्याएपछि उनी एकछिन अलमलिए । के बोलु के बोलु भयो उनलाई । वास्तवमा रवि काम गर्ने मानिस हुन् । उनी कुरामा भन्दा काम गर्नमा बढी विश्वास गर्छन् । त्यसैले जवाफ दिन रविलाई गाह्रो भइरहेको थियो । उनका बारेमा हेल्प नेपालका अध्यक्ष अरुण सिंह बस्नेत पनि भन्दै थिए, ‘रवि काम गर्ने मानिस हो ।’ 

सायद समाजसेवी रवि जस्तै स्वभावको हुनुपर्छ । यो पङ्क्तिकारलाई यस्तै लाग्छ । कामभन्दा बढी गफ गर्नेले समाजसेवामा खासै योगदान दिन सक्छन् भन्ने लाग्दैन । समाजसेवा निश्वार्थ भावले गर्न सक्यो भने त्यसबाट उपलब्धता मिल्न सक्छ । यसरी नै निश्वार्थ समाजसेवामा रवि लागिपरेका छन्, हेल्प नेपाल नेटवर्कको माध्यमबाट । उनी अहिले संस्थाको उपाध्यक्षको जिम्मेवारीका साथै विपद व्यवस्थापन समितिको संयोजकका हैसियतमा क्रियाशील छन् ।  

रवि सन् १९९९ देखि नै हेल्प नेपालसँग जोडिएका हुन् । सानै उमेरदेखि रविमा समाजसेवाप्रतिको चाह मौलाएको हो । चावहिल क्षेत्रका स्थायी बासिन्दा उनका पिताजी पनि स्थानीयस्तरमा समाज सेवामा सक्रिय रहेकाले उनले पिताजीले गरेको समाजसेवाको कार्यलाई नजिकबाट नियालिरहेका थिए । समाजसेवाप्रतिको चाहना रविमा पनि बढ्दै गयो । रवि भन्छन्, ‘पिताजीको कर्मशीलताका साथै साथीहरूको साथले पनि मलाई समाजसेवाप्रति आकर्षित गर्दै लगेको हो । आज म पूर्णकालीनरूपमै यसमा सक्रिय रहेको छु ।’ 

हुन त रवि आफ्नै व्यापारव्यवसायमा लागेका छन् । हातमुख जोर्ने कामका लागि उनको व्यवसायले उनलाई पु¥याएको नै छ । त्यसदेखि बाहेक धेरै समय फुर्सदमा रहेकोले पनि उनी समाजसेवाको  काममा हमेशा सक्रिय रहन्छन् । 

तीस वर्षअघि रविले स्थानीय स्तरमा स्थापित समाजसेवी संस्था याद र आहृवान समूहबाटै सेवाकार्यमा आफूलाई अगाडि बढाएका हुन् । समाजसेवीहरू अरुणसिंह बस्नेत, विमल होडालगायतका साथीहरूको संगतले उनलाई यस क्षेत्रमा अघि बढ्न मद्दत मिल्दै गयो । फलतः आज उनी हेल्प नेपालको विपद व्यवस्थापनको गहन जिम्मेवारी सम्हालेर बसेका छन् । र, विपदका समयमा केही नभनी राहत र सहयोगको व्यवस्थापनमा कुदिरहन्छन् । वास्तवमा उनको कामको मैझारो कहिले हुँदैन ।  

रवि र अरुणहरू याद र आहृवानमा संलग्न रहेकै अवस्थामा हेल्प नेपाल नेटवर्कको परिकल्पना गरियो । परिकल्पनाकार थिए बीबीसीका तत्कालीन पत्रकार रविन्द्र मिश्र । महिनाको एक डलर सहयोगको परिकल्पनालाई मूर्तरूप दिने काममा सबै क्रियाशील रहे । त्यतिबेला रविन्द्र मिश्र बेलायतमै थिए । यसैअनुरूप यो संस्था (हेल्प नेपाल नेटवर्क) को जग राखियो । रवि भन्छन्, ‘रविन्द्रजीसित अरुण र हाम्रो पुरानो परिचय भएकोले र हाम्रो काम सूक्ष्मरूपमा नियालेकोले पनि होला, उनले हामीलाई हेल्प नेपालको जिम्मा लगाए । त्यहाँदेखि हामी यसैमा लागि रहेका छौं । हामीलाई सहयोग गर्ने सहयोगी मनहरूले पनि सहयोग गरिरहनु भएको छ । तिमी देखिरहेका छौ, आज हेल्प नेपाल कति सक्रिय छ भन्ने ।’

वास्तवमा कठिन मार्गबाट सुरु भएको थियो हेल्प नेपालको यात्रा । सुरुमा केही रकम विदेशबाट संकलन भएको थियो भने केही नेपालमा उठाइएको थियो । त्यही रकम अति विकट जिल्ला डोल्पाको एक स्कुललाई सहयोग गरियो । निश्चय पनि प्रारम्भमा यस संस्थालाई पाइला चाल्नै पनि गाह्रो भएको थियो । तर, त्यसपछि भने हेल्प नेपाललाई सबै तिरका साथीहरूले सहयोग गर्दै गए । सबैबाट होस्टेमा हैंसे हुन थाल्यो । थोपाथोपा मिलेर समुद्र बन्छ भनेझैं हेल्प नेपाललाई सहयोग गर्ने सहयोगी हातहरूको जमात बढ्दै गयो । रवि भन्छन्, ‘योसँगै हामीले समाजसेवाको सोचलाई सार्थक तुल्याउँदै लग्यौं ।’ 

एउटा भनाइ सर्वव्यापी छ, जीवनमा केही पाउनका लागि निरन्तर क्रियाशील रहुनपर्छ । र, रविको प्राप्ति भनेको सन्तुष्टि हो । त्यसैले आत्मसन्तुष्टिकै लागि समाजसेवामा तन्मयतापूर्वक लागिरहेका छन् रवि । उनी भन्छन्, ‘जीवनमा सन्तुष्टि प्राप्तिका लागि समाजसेवा नै एक मात्र आधार भएको मेरो अनुभव छ । हुनसक्छ यही सोचले मलाई यतातिर लाग्न हमेसा प्रेरित गरेको होस् ।’ 

रवि पुराना दिन सम्झन्छन्, ‘सुरुमा त हामीले निक्कै दुःख भोग्यौं । स्कुलहरूलाई सहयोग गर्न त गरियो । इलाइब्रेरीको स्थापनामा जोड दियौं । स्वास्थ्य सेवामा पनि ध्यान दिँदै गयौं । यसरी हामी लाग्दै गयौं । सहयोग गर्दै गयौं । यसबाट हामीप्रतिको जनविश्वासमा वृद्धि हुँदै गयो । यही जनविश्वासले हामी सबैलाई अगाडि बढ्न आज पनि अभिप्रेरित गरिरहेको छ ।’

रविको कामप्रतिको लगनशीलता यस पङ्क्तिकारले पनि देखेको छ । शक्तिशाली भैंचालो गएर सबैतिर कोलाहल मच्चिएका बखत खुट्टामा प्लास्टर लगाएर एकातिर अरुणसिंह राहत र सहयोगमा खटिरहेका थिए भने रविको चावेलस्थित आफ्नै घर भत्किएको थियो, बहिनीको भंैचालोमा परेर निधन भएको थियो । तर रवि सक्रिय थिए, विपद व्यवस्थापनमा । हेल्प नेपालको विपद व्यवस्थापन सम्हाल्ने जिम्मा उनको काँधमा रहेकोले पनि उनी आफ्नो कर्मक्षेत्रमा भिडेर लागेका थिए । पीडा लुकाएरै पनि अरूको घाउमा मल्हम लगाउन उनी तत्पर रहे । यस्तै कर्महरूबाट उनले सन्तुष्टि प्राप्त गर्दै थिए । उनी भन्छन्,  ‘गाह्रो थियो मलाई । तर समाजका लागि, देशका लागि मेरो सहयोग आवश्यक थियो । र यिनै सहयोगले हामीलाई पीडाबाट मुक्त गरिरहेको थियो । मेरो विचारमा यही नै हो आत्मसन्तुष्टि ।’ 

हेल्प नेपालको प्रारम्भिक चरणमा विद्यालयहरू मर्मतका लागि र इलाइब्रेरी स्थापनाका कामहरू बढी गरिए । बदलिँदो समयको प्रतीक मानिएको इन्टरनेट लाइब्रेरीको स्थापनामा हेल्प नेपालका स्वयंसेवकहरू सक्रिय हुँदै गए । यो नेपालको सन्दर्भमा नौलो प्रयोग पनि थियो । यही नौलो प्रयोगलाई गाउँगाउँका स्कुलसम्म विस्तारित गर्दै लगे हेल्पका स्वयमसेवकहरूले । आज पनि कैयन स्थानमा इलाइब्रेरी सञ्चालनमा रहेको नै छ ।

रवि भन्छन्, ‘यसैबीच हेल्प नेपालले मुगुजस्तो विकट स्थानमा हेल्थ पोस्टको स्थापना ग¥यो । हेल्पको यो कामको सबैतिरबाट प्रशंसा पनि भयो । आज पनि मुगुको त्यो हेल्थ पोस्ट सञ्चालनमै छ ।’ मुगुको हेल्थ पोस्टमा आएकी एक वृद्धाले उपचार पछि हेल्प नेपालका साथीहरूलाई दिएको आशीर्वचन आज पनि सम्झना आउँछ रविलाई । यसैले सन्तुष्टिको अथाह सागरमा तैरन्छन् रवि । रविसँग कुरा गर्दा उनको मुहारमा सन्तुष्टिका रेखाहरू देखिन्थे । लाग्थ्यो उनी समाजसेवामार्फत उज्यालो बाटोतर्फ अग्रसर रहेका छन् । र, अरूलाई पनि अँध्यारोबाट उज्यालोतिर लैजाँदैछन् ।

रवि भन्छन्, ‘कसैले सोचेको पनि थिएन कि हाम्रो पुस्ताले पनि यति शक्तिशाली भैंचालो देख्लान् भन्ने । तर दैवी प्रकोपका रूपमा यो विपदले सारा नेपालीलाई हल्लायो । काठमाडौं, भक्तपुर, सिन्धुपाल्चोक, काभ्रे, गोरखा, रसुवा, नुवाकोटलगायतका जिल्लालाई भैँचालोले छियाछिया बनायो । सर्वत्र त्रास फैलियो । यही त्रासका बीच हामीले भैंचालोबाट पीडितहरूका लागि राहतको व्यवस्था गर्दै गयौं । कैयन् स्वयमंसेवी हामीसित जोडिन आइपुगे । हामीले आफ्नो बुताले भ्याएसम्म सेवा पु¥याउँदै गयौं । हामीलाई हाम्रा सहयोगी हातहरूले पनि दह्रो सहयोग दिए । ती सबै सहयोगीहरूलाई धन्यवाद नभनिरहन सकिन्न । आज पनि हामी भैंचालोले क्षतिग्रस्त विद्यालयको निर्माणका लागि क्रियाशील नै छौं ।’ 

हेल्प नेपालले विभिन्न प्रकृतिका विपद, (जस्तै भूकम्प, अग्नि, बाढी पहिरो र शितलहरी) का कारण पीडामा परेका विभिन्न जिल्लाका आम जनसमुदायलाई निरन्तर सहयोग गर्दै आएको छ । विपद व्यवस्थापनको बेला संयोजनकारी भूमिका निर्वाह गर्दै आएका रवि मानन्धर भन्छन्, ‘हामीले झापादेखि सुदूरपश्चिमका पीडितलाई सहयोग पु¥याउँदै आएका छौं । ०७२ सालको वैशाखमा शक्तिशाली भंैचालो आउँदा हामीले १४ जिल्लामा सहयोगलाई परिचालन ग¥यौं । आज पनि हामीले विद्यालयहरूको निर्माणका लागि सहयोग पु¥याउँदै आएका छौं । यसै वर्ष असार साउनमा गएको बाढीले धेरै धनजनको क्षति ग¥यो । यो विपदका बेलामा हामी चुप लागेर बस्न सक्ने कुरै थिएन । हामी सबै स्वयंसेवक लाग्यौँ सहयोग गर्न । वास्तवमा हामीसित जोडिनुभएका स्वयंसेवकहरूले निःस्वार्थ भावले सहयोग गर्दै आउनुभएको छ । उहाँहरूको सहयोग स्तुत्य छ । उहाँहरूको प्रशंसा जति नै गर ेपनि कम हुन्छ ।’ 

समयमै सहयोग गर्दा आफूहरूलाई असीमित खुशी हुनेगरेको रवि बताउँछन् । उनी भन्छन्, ‘समाजसेवाका लागि उमेरको छेको छैन । पाको उमेरमै समाज सेवा गर्नुपर्छ भन्ने मलाई लाग्दैन । काम गर्ने उमेरमै हो समाजसेवा पनि गर्ने । मात्रै यति हो कि समाजसेवा गर्दा खुला हृदयका साथ समाजसेवा गर्नुपर्छ । त्यसमा स्वार्थ लेस मात्रै पनि हुनुहुँदैन ।’

रविका अनुसार समाजसेवा सजिलो छैन । समाजसेवाका लागि मनमा एकाग्रता चाहिन्छ । दुःखमा पनि सुखमा जस्तै रमाउन जान्नु पर्छ । कुराकानी टुङ्ग्याउँदै रविले भने, ‘म सबै सहयोगी हातहरूलाई धन्यवाद दिन चाहन्छु साथै हाम्रा सबै सहयोगी साथीहरूलाई हाम्रो बास्केट फण्डलाई अझै मजबुत बनाइदिनु हुन अनुरोध गर्दछु ।’ 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं