Date:2017/11/23 |Thursday

बौद्धिक प्रतिभाको संरक्षण

Posted on: November 14, 2017 | views: 32 |

प्रदीप उप्रेती

एक्काइसौं शताब्दीमा आएको शैक्षिक जन–लहरको प्रत्यक्ष प्रभावले शैक्षिक विकासको क्षेत्रमा राम्रो काम हुँदै आएको छ । यसले सर्वत्र जागरण पनि ल्याएको छ । यही जागरणका कारण दक्षिण एसियामा अवस्थित गणतान्त्रिक राज्य नेपालमा रहेका युवा वर्गमा समेत उच्च छाप पर्दै गएको अनुभव गर्न सकिन्छ । 


मुलुकभित्रै रहेका युवा प्रतिभासँग राज्य पक्षले सधैं नै युवा मैत्री अवधारणाअनुसार मुलुकभित्रै रोजगारीका नयाँ अवसररु सिर्जना गरी बौद्धिक प्रतिभाको संरक्षण गर्ने सम्भावनाको नयाँ ढोका खोल्न तयार हुनुपर्छ ।


आम नेपाली जन समुदायको परिवर्तनको चाहनाअनुसार लगभग सात दशक लामो राजनीतिक लडाइँलाई सदाका लागि अन्त्य गर्दै मुलुकको दिगो आर्थिक विकासका लागि दीर्घकालीन मार्गमा सबै लागिरहेका छन् । यो यात्रामा जस्तोसुकै कठिन परिस्थिति उत्पन्न भए तापनि सो पश्चात प्राप्त हुने आर्थिक समृद्धिको मार्गमा क्रम–भङ्ग नहुने गरी विकासका पदचापलाई पछ्याउँदै उन्नतिको शिखरमा पुगी सफलता चुम्न लगाउने जिम्मा आजको सबल तथा सक्षम युवा पिढीको काँधमा आएको निर्विवाद हो ।

आजका युवापिढी शैक्षिक विकासको निरन्तर यात्रामा विगतका दशकको तुलनामा निक्कै नै अगाडि रहेका छन् । तर मुलुकको विद्यमान अवस्था र विवशताका कारण मुलुक हाँक्ने उच्च लालसा राख्ने युवा समूहलाई उनीहरूको शैक्षिक योग्यता र दक्षताअनुरूपको कार्य सहजरूपले मुलुकभित्रै उपलब्ध हुन सकिरहेको छैन । जुन पीडादायी विषय हो । यो अनन्तः पीडाको अवस्थामा विवश भई होनहार युवागण वैदेशिक रोजगारी तथा अध्ययनका लागि पलायन हुन बाध्य भएका छन् । 

मुलुक भित्रै उत्पादनशील जनशक्ति तयार गरी बौद्धिक प्रतिभाको संरक्षण गर्न शैक्षिक विकासका क्षेत्रमा स्तरीय सुधार गर्ने हेतुले सरकारी तवरमा खुलेका शैक्षिक प्रतिष्ठानको दाँजोमा निजी क्षेत्रबाट सञ्चालनमा आएका शिक्षालय वा विद्यालयहरूबाट उत्पादित जनशक्तिहरूकै कारण मुलुकको शैक्षिक क्षेत्रमा व्यापक सुधारका संकेत नदेखिएका होइनन् । यसको अलावा बढ्दो शैक्षिक चेतनाका कारण शिक्षाको भूमिका तथा महŒव चुलिएको हुँदा मुलुकभित्र उच्च प्राविधिक ज्ञानसहितका स्तरीय शैक्षिक गतिविधिहरू सञ्चालन गरिने शैक्षिक प्रतिष्ठानहरूको मागसमेत दिनहुँ बढ्दै गएको छ ।

दुभाग्र्यवश भन्नुपर्ने हुन्छ, आम नेपाली समुदायको आर्थिक दूरावस्थाका कारण मुलुकभित्र निजी क्षेत्रद्वारा सञ्चालनमा आएका शैक्षिक क्षेत्रमा अत्यन्त न्यून मात्रामा निम्न वर्गीय समूहहरूको पहँुच रहेको पाइन्छ । जबकि यी प्रतिष्ठानमा आर्थिक हैसियत उच्च रहेका समूहको नै अत्यधिक वर्चश्व कायम रहन गएको देखिँदै आएको छ । परिणामतः अधिकांश नेपालीलाई राज्य पक्षबाट सञ्चालनमा आएका शिक्षालय वा विद्यालयमै भर पर्नुपर्ने अवस्था छ । यो स्थितिमा समेत राज्य पक्षबाट सञ्चालनमा आएका शैक्षिक क्षेत्रबाट उत्पादित व्यक्तित्वहरूको समूहले केवल कागजी दस्तावेजमा मात्रै मुलुकको शैक्षिक तथ्यांकको दरलाई माथि उकास्ने कार्य गरिरहेको पाइन्छ । यसरी केवल सहयोगी भूमिका निभाएका कारण वर्तमान अवस्थामा समेत शैक्षिक क्षेत्रमा अन्य क्षेत्रमा जस्तै उच्च स्तरको विभाजनको खाडल देखिएको हो भन्दा त्यति फरक नपर्ला । 

परिणामतः शिक्षित युवापिढीको चाहनाअनुसारको शैक्षिक क्षेत्रको व्यवस्थापन राज्य पक्षले सहजरूपमा उपलब्ध गराउन नसकेकै कारण शिक्षित र बौद्धिक जमात अन्यत्र पलायन हुने अवस्था सिर्जना हुँदै गएको छ । र यही स्थिति रहे भोलिको दिन झन् कहालीलाग्दो हुनसक्ने देखिन्छ । 

यी यस्ता शैक्षिक गतिविधि हुन्, जसले मुलुकको समग्र आर्थिक विकासलाई समेत तुहाउन सक्ने साम्भावना रहन्छ । एकातिर विकासका लागि आवश्यक पर्ने दक्ष जनशक्तिको अभावको मार मुलुकले थेग्नु परिरहेको छ । अर्कोतिर दैनिक उच्चगतिमा पलायनदर बढिरहेको पाइन्छ । यसरी सोही प्रवृत्तिको कार्यका लागि दैनिक लाखौं रूपैयाँ खर्चेर छिमेकी मुलुकबाट जनशक्ति ल्याउनुपर्र्नेे बाध्यता मुलुकसामु खडा भएको छ । हाम्रा शिक्षित जमातहरूका लागि उच्च छनोटसहितको रोजगारीका सम्भावना हुनुपर्ने वर्तमान अवस्थामा सोको अभाव भएकै कारण पनि वर्षेनी लाखांैको संख्यामा शिक्षित समुदाय विदेश पलायनमा रुचि राखिरहेका छन् । यो जमातले नचाहँदा नचाहँदै पनि न्यून स्तरकै रोजगारी गरी अर्थोपार्जनका लागि बौद्धिक व्यक्तित्वहरू विदेशिएको तीतो यथार्थलाई अस्वीकार गर्न सकिँदैन ।

यो नै मुलुकको शैक्षिक र बौद्धिक क्षेत्रमा पर्न आएकोे कहालीलाग्दो अवस्था हो । यस्ता गतिविधिलाई नै बौद्धिक पलायनको संज्ञासमेत दिन सकिन्छ । तसर्थ यस्ता विदेशिने समूहलाई क्रमशः न्यूनीकरण गर्नका लागि राज्यले ध्यान पु¥याउनु आवश्यक छ । मुलुकको काम बौद्धिक प्रतिभाको संरक्षण गर्नु पनि हो । राज्यले यो सोच्नु जरुरी छ । 

यसरी दैनिकरूपमा अत्यधिक मात्रामा पलायन हुने बौद्धिक प्रतिभाको संरक्षण गर्नमा हामी चुक्यांै भने निश्चय पनि यस्ता प्रवृत्तिगत व्यवहारले अन्ततः विकासका खातिर लिएका लक्ष्यहरू कुण्ठित हुन सक्ने देखिन्छ । मुलुकको तीव्र आर्थिक विकास गर्ने निहित उद्देश्यका साथ अवलम्बन गरिएको रणनीतिअनुसार सन् २०२२ सम्ममा मुलुकको आर्थिक अवस्था हाल कायम रहन आएको अल्पविकसित राष्ट्रको स्तरबाट माथि उठाउने प्रगति र विकासका मार्गमा समेत यसैले व्यवधान सिर्जना हुन निश्चित छ । यदि दृढ सकल्पका साथ कार्य गर्दागर्दै पनि बौद्धिक प्रतिभाको संरक्षण गर्ने बाटोमा अवरोध देखिए मुलुकले आर्थिक समृद्धि गरी दक्षिण एसियाका अन्य राष्ट्रको दाँजोमा पुग्ने लक्ष्यमा समेत खिया लाग्ने निश्चित छ ।

मुलुकको आर्थिक विकासको महान् अभियानमा अहम जिम्मेवारीको बोधसहित लक्ष्य प्राप्तिका लागि लालायित भएका आजका युवालाई त्यो लक्ष्य वा मार्गबाट हटाउने अवस्था आउन दिनुहुँदैन । युवाको मुलुकभित्रै रहने वातावरण सिर्जना नभई यदि बौद्धिक पलायनको शिकार हुन बाध्य पारिए मुलुकमा आर्थिक दुर्दिन आउन सक्ने अनुमान गर्न सकिन्छ । यसको जिम्मेवारी कसले वहन गर्ने ? यो प्रश्नमा पनि ध्यान दिनुपर्छ । मूलतः यस प्रश्नको सहि रूपमा समाधान निकाल्न सकियो भने निश्चय पनि आर्थिक समृद्धिले उन्नतिको शिखर चुम्ने कुरामा कसैले पनि शंका गर्नु पर्दैन । आजका युवा वर्ग गरिबीविरुद्ध लड्दै समृद्धि चाहन्छन् । तर सोहि समूह नै मुलुक छोड्न बाध्य भएको अवस्था आयो भने त्यसले मुलुकलाई झन्झन् आर्थिकरूपमा जर्जर बनाउँछ । वास्तवमा यो नै मुलुक तथा शैक्षिक बौद्धिक पलायनताको नियतिसमेत हो ।

एउटा भनाइ छ, रोग लागेपछि औषधि उपचार गर्नुभन्दा रोग लाग्ने अवस्था आउन नदिनु नै उत्तम उपाय हो । यस्तै बौद्धिक वा शिक्षित वर्गको पलायनमा व्यापकता आउनुको प्रमुख कारकतŒव पहिचान गरी सोको संरक्षणमा ध्यान पु¥याउनु जरुरी छ । यसका लागि असंख्य रोजगारीका नयाँ सम्भावनाका ढोका क्रमशः उघार्नुपर्ने देखिन्छ । तत्पश्चात मुलुकभित्र रहेका बौद्धिक र शिक्षित युवा पुस्ताको संरक्षण गर्दै जानुपर्छ । जुन समूह अत्यधिक आर्थिक समृद्धिको चाहना गर्दै बाध्यतावश मुलुक त्यागी अन्यत्र पलायन हुन चाहन्छन् तिनीहरूमाथि कडा रोक लगाउनु अनिवार्य भइसकेको छ । यदि यस्ता क्रियाकलापमा पूर्णरूपमा बन्देज लगाउन नसकिए त्यसले मुलुकलाई समृद्धितर्फ गति दिँदैन । धेरै नभए, केही हदसम्म भए पनि यस्ता क्रियाकलापमा रोक लगाउन सकियो भने आंशिक सफलता प्राप्त गरेको मान्न सकिनेछ । अल्पकालीन अवस्थामा हुने बौद्धिक पलायनका कारण निश्चय पनि शिक्षित युवाले विदेशी भूमिमा प्राप्त गरेको सीप र दक्षताबाट मुलुकले केही लिन सक्छ । यसमा आर्थिक विकासको चाहना राख्ने नेपालले यान्त्रिक ज्ञानको कसीमा अब्बल मानिएका प्राविधिक जनशक्तिहरू उल्लेख्य मात्रामा प्राप्त गर्न सक्ने सम्भावना पनि रहेको हुन्छ । विशेष गरी दक्षिण एसियाका नेपाललगायत अन्य मुलुक, जहाँ बौद्धिक प्रतिभाको संरक्षण गर्न अति जरुरी भएको छ, त्यस्ता मुलुकले बौद्धिकको पलायनको संरक्षणको हेतु बौद्धिक युवा पलायन संरक्षण नीति अख्तियारी गर्नु अति आवश्यक भइसकेको छ । राज्य पक्षबाट निरन्तररूपमा सकारात्मक सोचका साथ यतातिर अवलम्बन गरिने संरक्षणकारी रणनीतिका कारण निश्चित समयावधिका लागि पलायन भएका युवा पुस्ता पुनः स्वदेश फीर्तिमा लालायीत हुने अवस्था सिर्जना गर्न पनि नसकिने होइन । तर त्यसका लागि मुलुकले रोजगारीको व्यवस्थाका साथ सबैलाई आहृवान गर्नु मनासिव ठहरिन्छ ।

मुलुकभित्रै रहेका युवा प्रतिभासँग राज्य पक्षले सधंै नै युवा मैत्री अवधारणा अनुसार मुलुक भित्रै रोजगारीका नयाँ अवसरहरू सिर्जना गरी बौद्धिक प्रतिभाको संरक्षण गर्न सम्भावनाको नयाँ ढोका खोल्न तयार हुनुपर्छ । यो नै आजको मूल आवश्यकता हो । यसका अतिरिक्त अन्य युवा वर्ग जो अन्यत्र पलायन हुनका लागि सधैं नै अग्रसर रहन्छन्, तिनलाई आत्मनिर्भर बनाउन सहयोग युवा स्वरोजगार कोष खडा गरी सहयोग गर्नु नै बौद्धिक प्रतिभाको संरक्षण गर्ने एउटा दरिलो मार्ग हो । 



Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं