Date:2017/11/23 |Thursday

लक्ष्यप्राप्तिको संघारमा मेलम्ची आयोजना

Posted on: November 15, 2017 | views: 26 |

रूपनारायण खतिवडा

बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य लक्ष्यप्राप्तिको संघारमा आइपुगेको छ । काठमाडौं उपत्यकावासीहरूको आशाको केन्द्रका रूपमा रहेको मेलम्ची खानेपानी आयोजनाअन्तर्गत सिन्धुपाल्चोकको मेलम्ची नदीबाट काठमाडौंसम्म पानी पथान्तरका लागि निर्माण गर्नुपर्ने २६ किलोमिटर सुरुङमार्गमध्ये अब करिब २ किलोमिटरको मात्रै निर्माण कार्य बाँकी रहेको तथ्यांकले देखाएको छ । काठमाडौं उपत्यकाको खानेपानीको अभावलाई दीर्घकालीनरूपमा समाधान गर्न स्वच्छ खानेपानी आपूर्तिको व्यवस्था गर्ने उद्देश्यका साथ आव २०५५÷०५६ बाटै सुरु भएको यो आयोजना अपेक्षा गरेभन्दा एक दशक बढी अवधि नै ढिलो भएको भए तापनि करिब दुई दशक पुग्न लाग्दा आशालाग्दो चरणमा प्रवेश गरेको छ ।


आम नागरिकको सामान्य बोलीचालीमा मेलम्चीको पानी काठमाडौं ल्याउने भन्ने गरिएको भए तापनि यो आयोजना २ चरणमा पूरा गरी ३ वटा नदीहरूको दैनिक ५१ करोड लिटर पानी काठमाडौं उपत्यकामा ल्याउने सरकारी योजना रहेको छ ।



सुरुवाती लक्ष्यमा यो आयोजना सम्पन्न गर्ने समयसीमा २०६४ सालको अन्त्यसम्म रहेको थियो । सम्पन्न गरिने समयसीमा पटकपटक धकेलिएको यो आयोजनाको लागतमा पनि पटकपटक वृद्धि हुँदै गएको कसैबाट लुकेको विषय होइन । यसरी लगानी बढ्दै गई हालसम्म आइपुग्दा कुल लागत अनुमान २३ अर्ब ४५ करोड रुपैयाँसम्म पुगिसकेको छ । सुरुङ तथा बाँध निर्माणका लागि हालको ठेकेदारले कार्य सम्पन्न गर्नुपर्ने नयाँ समयसीमा सन् २०१८ मार्च २६ सम्म रहेको देखिन्छ । 

काठमाडौं उपत्यकावासीले भोगिरहेको खानेपानीको विकराल समस्या दीर्घकालीन रूपमा समाधान गर्ने अभिष्टका साथ सुरुवात यो आयोजनाको प्रारम्भिक अवधारणा नेपाली कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईले सार्वजनिक गरेका थिए । विसं २०५१ सालमा भएको उपनिर्वाचनको प्रचारप्रसारका क्रममा उम्मेदवार रहेका भट्टराईले उनलाई निर्वाचित गरे मेलम्चीको पानीले काठमाडौंको सडक पखालिदिने उद्घोष गरेका थिए । काठमाडौंमा उतिबेलै देखिएको खानेपानीको विकराल संकटलाई सम्बोधन गर्नका लागि सांकेतिकरूपमा उनले गरेको यो उद्घोष तत्कालीन समयमा राजनीतिक वृत्तमा हाँसी मजाकको माध्यमसमेत बनेको थियो । भट्टराईले २२ वर्षअघि सपना देखेको र चुनावी नारा बनाएको यो आयोजना उनको निधन भएको करिब ७ वर्ष पछि पूरा हुने तरखरमा आइपुगेको हो । 

आम नागरिकको सामान्य बोलीचालीमा मेलम्चीको पानी काठमाडौं ल्याउने भन्ने गरिएको भए तापनि यो आयोजना २ चरणमा पुरा गरी ३ वटा नदीहरूको दैनिक ५१ करोड लिटर पानी काठमाडौं उपत्यकामा ल्याउने सरकारी योजना रहेको छ । जसअन्तर्गत सिन्धुपाल्चोक जिल्लाका मेलम्ची, यांग्री र लार्के खोलाबाट १७÷१७ करोड लिटर पानी उपत्यकामा दैनिक आपूर्ति गरिनेछ । हाल सम्पन्न हुन लागेको पहिलो चरणको आयोजनाअन्तर्गत मेलम्ची खोलाको मुहानमा बाँध बनाई प्रतिदिन १७ करोड लिटर पानी सुरुङमार्फत काठमाडौंको सुन्दरीजलस्थित प्रशोधन केन्द्रसम्म ल्याएर प्रशोधित पानी खानेपानीका रूपमा उपत्यकामा वितरण हुनेछ । 

दोस्रो चरणमा यांग्री र लार्के खोलाको पानी ल्याउने लक्ष्य रहेको छ । दोस्रो चरणमा बाँकी दुईवटा खोलाबाट पानी ल्याउने क्रममा हाल निर्माण भएको सुरुङ मार्ग वा टनेलबाटै दुवै खोलाको पानी आपूर्ति हुने स्थिति रहन्छ । यांग्री र लार्के खोलाको पानी ल्याउनका लागि दोस्रो चरणको आयोजनाको डिजाइनका लागि परामर्शदाताको छनोट भइसकेको र आगामी आर्थिक वर्षबाट निर्माण कार्य प्रारम्भ हुने मेलम्ची खानेपानी विकास समितिको दाबी छ ।

सरकारले उच्च प्राथमिकता दिएको र ‘पूर्वाधार विकासबाट आर्थिक रूपान्तरण’ को लक्ष्य बोकेको यस किसिमको राष्ट्रिय गौरवको आयोजना सुरुवाती चरणमा अनुमान गरिएको निर्दिष्ट समयसीमाभन्दा एक दशक बढी अवधिमा सम्पन्न हुनलाग्दा पनि खुसी नै मान्नुपर्ने बाध्यात्मक अवस्थाबाट हामी गुज्रिरहेका छौं । अर्कोतर्फ, राष्ट्रिय रूपले विशेष महŒव बोकेको र राजधानीमा तीव्ररूपमा खड्किएको खानेपानीको आवश्यकता पूर्ति गर्ने महŒवपूर्ण आयोजनाको यस किसिमको निराशाजनक कार्यान्वयनले यसबीचमा पटकपटक राष्ट्रिय लज्जाबोधको अवस्थासमेत देखा परेको थियो । यस किसिमको स्थिति देखापर्नु र निर्धारित समयसीमाको दोब्बरभन्दा बढी अवधिमा मात्रै कार्यसम्पन्न हुने अवस्था निम्तिनुमा विभिन्न कारण जिम्मेवार रहेका छन् । 

पछिल्लो समयमा सन् २०१३ सेप्टेम्बरभित्र सुरुङ र मुहान निर्माणको कार्य सम्पन्न गर्नेगरी सन् २००९ मा सरकारले चिनियाँ कम्पनी सिआरसिसिसँग ठेक्का सम्झौता गरेको थियो । तर, उक्त कम्पनीले करिब ३ वर्षमा साढे ६ किलोमिटर मात्रै सुरुङ निर्माण गरेको र विभिन्न कारण देखाउँदै ठेक्का रकममा ४ अर्बभन्दा बढी थप गर्नुपर्ने शर्त राखेसँगै सरकारले सन् २०१२ मा सिआरसिसिसँगको ठेक्का भंग गरेको थियो । तत्पश्चात पुनः ठेक्काको प्रक्रिया सुरु भएको र यसबीचमा करिब एक वर्ष आयोजनाको निर्माण कार्य ठप्प बन्न पुगेको थियो । पुनः टेण्डर आहृवान भएसँगै हालको इटालेली कम्पनी सिएमसीसँग ठेक्का सम्झौता भएपश्चात मात्र सुरुङ निर्माण कार्यले गति लिएको देखिन्छ । 

यसबाहेक, स्थानीय मागहरूको समयमै सम्बोधन हुन नसक्दा आयोजनाको निर्माण कार्यमा पटकपटक अवरोध उत्पन्न हुनु, निर्माण व्यवसायीहरूको कमजोर क्षमता, लाङटाङ राष्ट्रिय निकुञ्जभित्रका रूखहरू हटाउन ढिलाइ भएको, निर्माण सामग्रीहरू बालुवा, गिट्टी तथा ढुङ्गाको आपूर्तिमा कठिनाइ भएको र निर्माण व्यवसायीले निर्माण सामग्रीको पर्याप्त भण्डारण नगरेकोले लक्ष्यअनुसार कार्य गर्न नसकेको जस्ता समस्या मेलम्ची आयोजना विकास समितिले पहिचान गरेको छ । 

यसैगरी, विनाशकारी भूकम्प र त्यसपछिका परकम्पका कारणले हेडवक्र्स तथा सुरुङ निर्माण कार्य ६ महिनासम्म अवरुद्ध भएको थियो भने भारतद्वारा गरिएको अघोषित नाकाबन्दीले अन्य निर्माणाधीन आयोजनाहरू जस्तै यो आयोजनामा पनि इन्धन अभाव भई करिब १० महिना काम बन्द हुन पुगेको थियो । यसबीचमा व्यवस्थापिका संसदको विकास समितिलगायत विभिन्न नियमक निकायहरूले मेलम्ची आयोजनाको काम समयभित्रै सम्पन्न गर्न सरकारलाई पटकपटक निर्देशन दिएका थिए । तर, यस किसिमका विभिन्न समस्या खडा भइदिएको अवस्थामा आयोजनाले आफ्नै सुस्त गति कायम राखिरहेकै कारण समयमै निर्माण सम्पन्न हुन नसकी सुरुवाती चरणदेखि नै विलम्ब भइरहेको छ ।

आयोजनाको मुख्य र महŒवपूर्ण कामका रूपमा रहेको सुरुङ निर्माणका क्रममा देखा पर्ने भौगोलिक जटिलता र कमजोर भू–बनावटले समेत मेलम्ची आयोजनाको निर्माण कार्य लम्ब्याउन मलजल गरेको देखिन्छ । भौगोलिक जटिलताका कारण सुरुङ निर्माणको कार्यमा लक्ष्यअनुसार प्रगति हुन नसकेको स्वयं आयोजना व्यवस्थापनले स्वीकार गर्ने गरेको छ । हालकै अवस्थामा पनि सिन्धु–ग्यालथुम खण्डमा लगातार कमजोर चट्टान आइरहेकोले सुरुङ निर्माण कार्यमा कठिनाइ भइरहेको मेलम्ची आयोजना विकास समितिले जनाएको छ । यस किसिमको खराब चट्टानमा सुरुङ खन्दै जाँदा लामो दूरीसम्म भेटियो भने यसले आयोजनाको कार्य प्रगतिमा समस्या निम्त्याउने अवस्था रहन्छ । यसबाहेक औसत सरकारी आयोजना व्यवस्थापनमा देखिने गरेका रोगबाट मेलम्ची आयोजना पनि मुक्त हुन सकेको छैन । ठेकेदारको कमजोर कार्यक्षमता र ढिलाइ, सरकारको अप्रभावकारी अनुगमन प्रणाली, अनावश्यक राजनीतिक हस्तक्षेप, विकास प्रशासनको अक्षमताजस्ता समस्याबाट पनि यो आयोजना अछुतो रहन सकेन । 

यस्ता आयोजनाहरूको कार्यान्वयनका लागि छुट्टै विशिष्ट नीति र कानुनको तर्जुमा गरी निर्माण कार्यलगायतका प्रक्रिया ‘फास्ट ट्र्याक’ बाट अघि बढाइनुपर्ने हो । अन्य औसत आयोजनामा देखिएका कमजोरी र असफल अभ्यासबाट पृष्ठपोषण लिएर यस किसिमका आयोजनामा त्यस्तो असफलताको पुनरावृत्ति हुन नदिन विशेष व्यवस्थाहरूको अवलम्बन गरिनुपर्ने हो । आयोजना प्रमुखलगायतका विकास व्यवस्थापकहरूलाई आयोजना कार्यान्वयनका सन्दर्भमा कानुनतः अधिकार सम्पन्न र पूर्ण उत्तरदायी बनाइनुपर्ने हो । तर, यी सबै पक्षलाई नजरअन्दाज गरी पुरानै प्रक्रियागत ढाँचामा सञ्चालित आयोजनाबाट समयमै उत्तम नतिजा खोजिनु र नवीन अपेक्षा गरिनु नै आफंैमा त्रुटिपूर्ण रहेको छ । 

निर्धारित समयसीमाभन्दा धेरै विलम्ब हुनुका साथै विभिन्न समस्याबाट ग्रस्त बनेरै भए पनि मेलम्ची खानेपानी आयोजना लक्ष्यप्राप्तिको समीपमा आइसकेको छ । यो लक्ष्य पूरा भएसँगै उपत्यकावासीहरूले खानेपानीको विकराल संकटबाट मुक्ति पाउनुका साथै अस्वस्थ खानेपानीका कारण समयसमयमा देखापर्ने गरेका पानीजन्य रोगहरूबाट समेत धेरै हदसम्म बाँच्नसक्ने अवस्था रहन्छ । यसो हुन सकेमा उपत्यकावासीहरूले खानेपानीका सन्दर्भमा दीर्घकालीन रूपमा राहत महसुस गर्नसक्ने आशा र अपेक्षा गर्न सकिन्छ ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं