Date:2017/12/14 |Thursday

निर्वाचन : एउटा महत्वपूर्ण पर्व

Posted on: December 07, 2017 | views: 39 |

राजन कार्की

आयो दशैं ढोल बजाई गयो दशैं ऋण बोकाई । दशैंका सम्बन्धमा यस्तैयस्तै भनाइ प्रचलित छ । यसैगरी आयो चुनाव दशैं बनेर, गयो चुनाव दशा बनेर भन्न नपरोस् ।

आजको निर्वाचनपछि देशले नयाँ नेपाल निर्माण गर्ने प्रारम्भबिन्दु प्राप्त गर्नेछ । यही बिन्दुबाट लोकतान्त्रिक राजमार्गको निर्माण, गति र मति सुरु हुनुपर्छ । अब कुनै पनि दलले संक्रमणकालीन अवस्था भनेर सुख पाउने छैनन् ।

आज दोस्रो चरणको निर्वाचन सम्पन्न भएलगत्तै मतगणना सुरु हुनेछ र प्रदेश, प्रतिनिधिसभा र समानुपातिक जन प्रतिनिधिहरू को चुनिने हुन्, कसकसलाई आफ्नो प्रतिनिधिका रूपमा छान्ने हुन् भन्ने फैसला सम्भवतः आजैबाट हुन थाल्नेछ । निर्वाचन आयोगका अनुसार ७ दिनमा सबै मतपरिणाम आइसक्ने भनिएको छ ।

बम विस्फोट गराएर जतिसुकै आतंक मच्चाउन खोजे पनि अन्ततः सुरक्षा निकाय र नेपाली सेनाको उच्च सतर्कता र रणनीतिक कार्यकुशलताले निर्वाचन सम्पन्न हुने कुरामा शंका छैन । निर्वाचनपछि संविधान कार्यान्वयन हुने भनिएको छ, जनप्रतिनिधिहरूले आ–आफ्ना देश र जनताप्रतिको जिम्मेवारी पूरा गरे भने संविधान निश्चय पनि कार्यान्वयन हुनेछ । पहिलेजस्तै भागबण्डातन्त्र र संवैधानिक आवरणमा नेतातन्त्रलाई निरन्तरता दिए भने संविधान कार्यान्वयन असफल हुने मात्र होइन, बीसौं खर्ब खर्च गरेर सम्पन्न गरिएको निर्वाचन पनि नमीठो ठट्टा, कर्मकाण्डीका रूपमा सीमित हुन पुग्नेछ ।

यसकारण आजको निर्वाचनमा पहिलो चरणमा जस्तै आमनागरिक मतदाताले उत्साहका साथ मतदान गर्नेछन् । मतदानका लागि मतदातामा व्यापक उत्साह छ । पहिलो चरणमा चुनाव भएका क्षेत्रमा नुहाइँधुवाइँ, सफा लुगा लगाएर, हर्षका साथ मतदाताले मतदान गर्न गएका दृश्यहरू देखिएको थियो, वास्तवमै निर्वाचन एउटा पर्वजस्तै बनेको हो । त्यसैगरी आजको दोस्रो चरणको निर्वाचन हुने क्षेत्रका मतदाताहरू पनि त्यस्तै हर्षका साथ मतदानमा सहभागी हुनेछन् ।

पार्टी र व्यक्तिगत उम्मेदवारहरूले आफ्ना योजना, आफूले गर्ने काम र लिने नीतिका बारेमा धुवाँधार प्रचार गरेकै हुन् । ती प्रचारलाई मतदाताले कति गम्भीररूपमा लिए लिएनन्, त्यसको नतिजा आजैबाट आउन थाल्नेछ । कतिले लोभलालचमा, कतिले भोजभतेर खाएर, कतिले पैसा लिएर मतदान पनि गर्लान् तर नेपाली मतदातामा पटकपटकको निर्वाचनको अभ्यासले राम्रै सचेतना छरिसकेको छ र मतदान गर्ने बेलामा विवेकपूर्ण तरिकाले मतदान गरेका छन्, गर्छन् भनेर विश्वास गर्न सकिन्छ ।

उम्मेदवारहरूले धुवाँधुलो हटाउने, बाटोघाटो, पुलपुलेसा बनाउनेदेखि स्मार्ट सिटी बनाउनेसम्मका सपना देखाएका छन् । यहाँसम्म कि झापाका एक उम्मेदवारले त चुनाव जितेमा भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्नु आमाको रगत पिएसरह हुनेछ भनेर मतदातालाई आकर्षित गरेको पनि सुनियो ।

हो, भ्रष्टाचार र तस्करीतन्त्र नेपालको दीर्घ रोग बनिसक्यो । भ्रष्टाचारको ऐंजेरुले सिंगो मुलुकको शासन, प्रशासन, पद्धति र सञ्चालकलाई गाँजिसकेको छ । यो ऐंजेरु हटेन भने यतिबेलाको निर्वाचनमा आमनागरिकलाई आर्थिक विकासको, आत्मनिर्भरताको, सार्वभौमिक स्वतन्त्रता र स्वाधीनताको जुन कबुल गरिएको छ, त्यो कुनै पनि पूरा हुन सक्नेछैन । यसकारण पनि भ्रष्टाचार गर्दिन भन्ने उम्मेदवारको खाँचो छ । चुनाव जित्नेले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको सीमामा बस्ने प्रतिबद्धता व्यक्त गरे भने त्यही नै यो निर्वाचनको उपहार हुनेछ र लोकतन्त्रको सुन्दर भविष्यको दरिलो जग पनि बन्नेछ ।

एक पर्यवेक्षणका अनुसार नेपाली कांग्रेसले १ करोड, एमालेले २ करोड र माओवादीले ३ करोड चन्दा प्राप्त गरेको बैंक रेकर्ड सार्वजनिक गरेको छ । जबकि निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवारले २५ र १५ लाख खर्च गर्नसक्ने सीमा तोकेको छ । तर कतिपय उम्मेदवार एउटैले करोडभन्दा बढी खर्च गरेका चर्चा व्याप्त भएको छ । निर्वाचन आयोगले आचारसंहिताको उल्लंघन गरे कडा कारबाही गर्ने चेतावनी दिएकोदियै छ र आजसम्म कसैमाथि कुनै कडा कारबाही गरेको रेकर्ड स्वयं प्रमुख निर्वाचन आयुक्तसँगसमेत नभएको उनैको अन्तर्वार्ताबाट सुनियो ।

निर्वाचनका उम्मेदवारहरूले खर्बभन्दा बढीको खर्च गरेका छन् र ती रकम बैंकिङ प्रणालीबाट चल्तीमा आएको होइन । ती पैसा कहाँबाट आए, कसले लगानी गरे र कसरी कहाँकहाँ खर्च गरिएको छ भन्ने सम्बन्धमा हिजो रातिसम्मको मौन अवधिमा समेत चुनावी नतिजा उलटपलट पार्नसक्ने मत किन्ने चलखेलहरू भइरहेको चर्चा चलिरहेकै थियो । जेहोस्, जनयुद्ध, जनआन्दोलन र त्यसपछिको दुईपटकको संविधानसभाको निर्वाचन र अहिलेको निर्वाचनले चुनावी चेतनामा अभिवृद्धि गर्न पर्याप्त मद्दत गरेको छ । यद्यपि गरिब धेरै भएको मुलुक भएकाले शासन र प्रशासनको प्रभाव, मनी र मसलले निर्वाचनलाई प्रभावित केही त प्रभाव पार्छ भन्ने स्वाभाविक मान्न सकिन्छ । बिस्तारै यस्ता मतदातालाई प्रभाव पार्ने गलत प्रवृत्ति न्यूनीकरण हुँदै जाला । यसका लागि विधियुक्त लोकतन्त्रको संस्थागत विकास निरन्तर जारी रहनुपर्छ । लोकतन्त्रको गरिमा घटाउने काम कतैबाट पनि हुनुहुन्न ।

मुख्य सवाल चुनावी दशैं पर्व हुनुपर्छ, पर्वका रूपमा विकसित हुँदै जानुपर्छ, दशा बन्नु हुन्न । ५ वर्षे आवधिक निर्वाचन जितेर जाने प्रतिनिधिले जितेको भोलिपल्टैदेखि अनियमित काम गर्न थाले भने त्यो पर्व होइन, सराप बन्न जानेछ । तिनले दूरगामी असर पर्ने खालका निर्णय गरेर स्वार्थ त पूरा गर्लान्, राष्ट्र र जनताले तिनको गल्तीको महँगो मूल्य लामो समयसम्म तिर्नुपर्ने हुन्छ । यसकारण पनि अपराधशास्त्रमा लागेका काला कांग्रेसले मात्र होइन, राता कम्युनिष्टले पनि चुनाव जित्नु हुँदैन । असल जनप्रतिनिधिले जित्नुपर्छ, त्यो कांग्रेस, कम्युनिष्ट अथवा जो कुनै उम्मेदवार हुन् । जितेपछि आफ्नो दायित्वबोध गर्नसक्ने र नैतिकतामा अड्न सक्ने उम्मेदवारले जित्नुपर्छ ।

लोकतान्त्रिक चुनाव कुनै अधिनायकत्वसहितको हिटलर जन्माउने गर्भगृह हुनुहुन्न । लोकतान्त्रिक चुनाव लोकपद्धतिको लोकार्पण हुनुपर्छ । म नेपाली हुँ भन्ने गर्व गर्नसक्ने आँटिलो विधिनिर्माता चुनावबाट जन्मिनुपर्छ । मुलुकको विकासका लागि हामी छौं, मुलुकको नीति निर्माता हौं, मुलुकको भविष्यको जग हाल्छौं भन्ने हिम्मतिलो व्यक्तिले चुनाव जित्यो भने नेपालले जित्नेछ । चुनाव दशैं बन्नेछ, राष्ट्रिय दशा र दुर्दशाको मोचक बन्नसक्नेछ ।

अहिलेसम्म नेपाली राजनीति स्वार्थका लागि फुट्ने, अवसरका लागि जुट्ने देखिएको छ । यस्तो घटनाक्रमको क्रमभंगता हुनुपर्छ । यस्तो चरित्रले लोकतन्त्र घुँडामा बञ्चरो प्रहार गरिरहेको छ । चुनाव जित्ने पार्टीले नै हो र पद्धति चलाउने पनि यिनै पार्टीहरूले हुन् । संविधान यिनैले बनाए र ३० महिनासम्म कार्यान्वयन गर्न नसकेको संविधान कार्यान्वयन गर्ने पनि यिनैले हुन् । अहिलेसम्म जुन सत्ता र शक्तिप्रतिको आशक्तिसहितको गाईजात्रा देखाउँदै आएका छन्, अब त्यो व्यवहारमा शुद्धीकरण जरुरी छ ।

आजको निर्वाचनपछि देशले नयाँ नेपाल निर्माण गर्ने प्रारम्भबिन्दु प्राप्त गर्नेछ । यही बिन्दुबाट लोकतान्त्रिक राजमार्गको निर्माण, गति र मति सुरु हुनुपर्छ । अब कुनै पनि दलले संक्रमणकालीन अवस्था भनेर सुख पाउने छैनन् । जति पनि द्वन्द्वकालीन मुद्दा छन्, तिनको न्यायिक छिनोफानो हुनुपर्छ र हिन्दूराष्ट्र, राजवाद र अतिवाद जे जति राजनीतिक मुद्दा छन्, तिनलाई एउटा निकास दिएर लोकतान्त्रिकीकरणमा सहभागी गराउनैपर्छ ।

यसकारण यो निर्वाचनको महत्व बढी छ । यो निर्वाचन दशा बन्नुहुन्न, दशैं बन्नुपर्छ । राष्ट्रले धेरै नागरिक गुमायो, धेरै रगत बगायो । समय खेर फाल्यो । यो निर्वाचनपछि बन्ने प्रदेश र प्रतिनिधिसभाले स्वावलम्बन र निर्माण, स्थिरता र सम्पन्नताको सुरुआत गर्नुपर्छ । कसैले कसैको नष्टको कामना होइन, सबैले सबैको सहअस्तित्वको सहयात्राको प्रारम्भ बिन्दु पहिल्याउन सकियो भने नेपालमा निर्वाचन दशैं पर्वभन्दा पनि महत्वको हुनेछ ।

सबैलाई स्मरण रहोस्, लोकतन्त्र भनेको एक किसिमको पक्षीजस्तै हो । दुई टाउके यो पक्षीको एउटा टाउकाले अर्कोलाई सिध्याउँछु भनेर विषपान गर्दा दुवै टाउकोको इतिश्री भएको थियो । लोकतन्त्रमा यसकारण राष्ट्रिय शक्तिहरूको समायोजन र सहअस्तित्व स्वीकार्य जरुरी छ । लोकतन्त्र भएन भने एउटाको विनाश हुँदा सबैको विनाश हुन्छ ।

यो निर्वाचन महत्वपूर्ण अवसर हो । यो निर्वाचनपछिको नेतृत्वले लोकतन्त्रलाई राष्ट्रिय जीवनशैली बनाउन र सबैले मान्नसक्ने पर्वका रूपमा मान्यता स्थापित गर्न जरुरी छ ।

अहिलेलाई यत्ति भनौं– आयो चुनाव दशैं बनेर, गयो चुनाव दशा बनेर भन्न नपरोस् ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं