20th January | 2018 | Saturday | 7:15:54 AM

एउटा महान सेनानीको कथा

शीतल गिरी   POSTED ON : 2017-12-30 05:04:35

एउटा महान सेनानीको कथा


धर्मदेव पन्त (विसं. १९८८) नेपाली राजनीतिमा नेपाली कांग्रेसमार्फत २००६ सालमा प्रवेश गरेका महान सेनानी हुन् । 

महान सेनानी, यो भनेको के हो ?

हजुर निश्वार्थभावले देश र जनताको सेवा गरेकालाई दिइने सम्मान ।

त्यसो भए पुष्कारनाथ उप्रेती पनि महान सेनानी ? बडो खुशीको कुरा हो ।

देखे, सबै मानिस खुशी थिए । हात हातमा किताब थियो २०५४ सालमा प्रकाशित भएको । किताव थियो ‘महान सेनानी पुष्करनाथ उप्रेती संक्षिप्त जीवनी ।’

प्रजातन्त्रका सेनानी धर्मदेव पन्त सुदूरपश्चिमका जनताले दुःख, सुखमा हातेमालो गरेको देखेको, पाएको, सुनेको समाजसेवी, राजनीतिका इमानदार सिपाही थिए । सेनानी पन्त खुशी थिए, किनभने राणाशासनरूपी अन्धकार हटाउन सकेका थिए । देश निर्माणको जिम्मेवारी काँधमा बोकेका थिए । पवित्र उद्देश्य लिएर, अदम्य शाहसको साथ प्रजातन्त्रल्याउन महासमरमा होमिएका थिए ।

सेनानी पन्तको रगतका थोपा थोपामा देशभक्ति थियो । यथार्थमा सेनानी पन्त राम्रोलाई राम्रो, नराम्रोलाई नराम्रो भन्ने सचेतक थिए ।

सुदूरपश्चिममा मानवीय संवेदना र अभावलाई नजिकबाट कसले छाम्यो र राणाशासन रूपी अंधकार हटाउन को साधनारत रहृयो भनी छुट्याउँने (निर्णयलिन सक्ने) न्यायाधीश थिए । कसैको राम्रो कामलाई सोही अनुरूप आदर गर्नु पर्दछ, यो सिद्धान्तमा अडिग थिए ।

केही हुन्छन् अरूको प्रत्येक काममा खोट खोज्छन् । खोट खोज्नमा भौतारिरहन्छन् । भए नभएको फतुर लगाएर यथार्थमा आफै सबैको तारो बन्नपुग्छन् । त्यस्ता मानिसको चर्चा नकारात्मक काममा मात्र गर्ने गरिन्छ । तर ‘न्यायाधीश’ धर्मदेवले छानेका योग्य सुपात्र पुष्करनाथ उप्रेतीको बारेमा नेपाल प्रजापरिषद्का सभापति रामहरि शर्माले लेख्नुभएको छ— ‘स्वर्गीय पुष्करनाथ उप्रेतीले १९९३ सालमा नेपाल प्रजापरिषद् स्थापना भएको ३÷४ महिनापछि सदस्यता लिनु भएको थियो । त्यस बखतदेखि नै ‘उहाँले’ पार्टीको सक्रिय कार्यकर्ता भएर भूमिगत हिसाबले भए पनि धेरै अतुलनीय योगदान गर्नु भएको थियो । खासगरी १९९७ सालको आषाढ महिनादेखि भाद्र महिनासम्म पार्टीले वितरण गरेको १ नं. देखि ४ नं. सम्मका पर्चाहरू जनसमक्ष पु¥याउन उहाँको अतुलनीय योगदान थियो ।’ 

विगतका कुराहरूको बारेमा थाहा पाउन खोज्दाखेरी वास्तवमा रिङ्गटा छुटेर आउँछ ।

स्पष्ट छ वर्तमानमा मेरोले ठूलो स्थान ओगटेको छ । मानिस आफ्नो कार्यले सानो ठूलो बन्दछ, सम्मान र तिरस्कार पाउँछ, मरेर पनि बाँचेको हुन्छ या जिउँदै मरेको हुन्छ । नेपाल प्रजापरिषद्मा पुष्करनाथ उप्रेतीको स्थान उच्चस्तरको भएको हुँदा नै २०१३ सालको प्रजापरिषद्को सरकारमा उहाँले उपमन्त्रीका हैसियतले कामगरी आफ्नो योग्यताको परिचय दिनुभएको थियो ।

‘पुष्करनाथ उप्रेतीमा श्रद्धासुमन’ चढाउँदै गोविन्दप्रसाद उपाध्याय उहाँको बारेमा सम्झिनु हुन्छ— ‘उहाँ त्रिचन्द्र कलेजमा बिएको द्वितीय वर्षमा पढ्दा–पढ्दै राणा शाहीविरोधी राजनीतिमा ज्यानको प्रवाह नगरी हामफाल्नुभयो । १९९७ साल भाद्र ९ गते रातो मच्छेन्द्रनाथको भोटो देखाउने जात्रापछि पाटन–जावलाखेलको वरिपरि जुवा फुकेका बेला रातभरि खाल–खालमा र नगरभरी आफ्ना साथी केशवराज कार्कीका साथ पर्चा छर्ने व्यक्ति उहाँ नै हुनुहुन्थ्यो । त्यहाँ छरिएका पर्चा तत्कालीन महाराज जुद्धशमशेरको खोपीमा समेत पाइएकाले राणाहरू चकित भएका थिए ।’

नेपाली राजनीतिको क्षेत्रमा प्रजातन्त्र र समाजवादप्रति समर्पित पुष्करनाथ उप्रेतीको जीवनी, अर्का प्रजातन्त्र सेनानी धर्मदेव पन्तले लेखेको हुँदा उहाँलाई आजका पुस्ताले चिन्न पाएका छन् । मैले यस पुस्तक अघि उहाँलाई चिनेको थिइन । राणा शासन कसरी हट्यो, यसबारे छिपछिपे जानकारीमात्र थियो मसँग । चार सहिदको बलिदानको नेपाली कांग्रेसको आन्दोलनको, २००७ सालको क्रान्तीको बारेमा सुनेको थिए । पृष्ठभूमि भने नियालेको थिइन । तत्कालीनका समकालीनले सत्य उजागर नगरिदिने हो भने यथार्थ थाहा नै हुँदैन । 

तब पनि ढिलै भए पनि पुष्करनाथ उप्रेतीको बारेमा थाहा त पाएँ । तत्कालीन यथार्थबाट अलिकति भने पनि ज्ञान त लिए । यस मानेमा म अज्ञानी हुँ यस्ता वीर वीराङ्गनाको बारेमा खोजीप्रति रूची नजागेकोमा । उपलब्ध पुस्तक पढ्ने अवसर भने चुकाउँदिन । तर पनि उपलब्ध भएका सबै मेरो महुँचमा भने हुँदैन । यथार्थ हो सबैको बारेमा लेखिएको पनि छैन । प्रजातन्त्र सेनानी धर्मदेव पन्तद्वारा लिखित संक्षिप्त ‘महान सेनानी पुष्करनाथ उप्रेती’ ८६ पृष्ठको छ ।

जीवनी नितान्त सत्य साँचो हुने हुँदा कोमलपनको कमी महसुस हुनु स्वभाविकै हो । जीवनीको अर्थ हो कुरा व्यंग्याइनु भएन । चिनेजाने बुझेकाले जस्तो र जसरी देखेका छन् त्यस्तै जानकारी गराउने । मलाई विश्वास छ यथार्थ कुरो भोलिका लागि ठूलो उपहार हो । मलाई पुष्करनाथ उप्रेतीका मित्रहरूप्रति गर्व छ । त्यसैले यथार्थकुरो पुस्तकको रूपमा आयो । 

वर्तमानमा जीवन लेखाउने प्रचलन छ । कन्या कलेजका दाहाल थरका प्राचार्यलाई चिनेको छु । प्रशंसा पाउन जीवनी लेखाउन लगाउँछन् । त्यसरी लेखाइएको पुस्तक मेरो हात परेको हुँदा पढेँ । मलाई सो पढ्दा समयको दुरुपयोग भएको लाग्यो । साहित्यकार बनिटोपल्न कागजमा केही लेख्छन् । साधना गर्ने समय चाकरीमा लगाएपछि रचना गतिलो पक्कै हुँदैन । प्रत्येक रचनाले मिहिनेत खोज्दछ । तर अध्ययन, मिहिनेत र शिल्पको अभावले मेरो हात परेको कन्या क्याम्सपको प्राचार्यको दुइटा पुस्तक बेकारको लाग्यो । त्यसपछि ती पुस्तकको कुरा पढ्दा लज्जा, ग्लानि बोध गरे । बास्तवमा लेखकहरू मुख हेरेर पैसा गनेर व्यक्तिको बारेमा लेख्ने गर्नु हुन्न, सत्य उजागर गर्न तिघ्रा कमाउनु हुन्न ।

वास्तवमा वर्तमान पुस्ताको प्रतिभासँग हामी साक्षात्कार छौं । तब सत्य बङ्ग्याउने, फूलबुट्टा भरेर शिखरमा चढाउने कार्य किन गर्ने ।

त्यस्तो कार्य पक्कै अनुचित हो । 

उन्नयन प्रकाशन काठमाडौंबाट प्रकाशित पुष्करनाथ उप्रेतीको जीवनीको प्रकाशकीयमा लेखिएको छ— ‘राणाकालीन इतिहासमा जोरजबर्जस्ती विरोधमा उत्रेका पुष्करनाथ त्यस बखतको परम्पराअनुसार ब्राहृमण भएका नाताले मुत्युदण्डबाट बाँचे । त्यसबखत सर्वस्वसहित आजीवन कारावासमा रहेका उप्रेतीजीको समर्पण कम महŒवपूर्ण थिएन । त्यस बखतका यी सेनानीहरूको इतिहास अब पछिका समाजका लागि कम महŒवपूर्ण हुँदैन । तसर्थ, यी समर्पित विभूतिहरूको अस्तित्व प्रष्ट जनसमक्ष आउनै पर्छ ।’

पुष्करनाथ उप्रेती मूलतः प्रजातन्त्र र समाजवादका पक्षधर, समाजसेवी जसलाई थकान, विश्राम कहिल्यै नचाहिएको व्यक्ति हुनुहुन्थ्यो ।

राजनीतिक विचारधाराको आधारमा पानी बाराबार गर्ने चलन चल्न थालेको समयमा कांग्रेसी लेखकले प्रजापरिषद्का व्यक्तिको त्यो पनि राजनीति गर्नेले जीवनी लेख्नु भनेको ठूलो चुनौती स्वीकार गरी यज्ञ सम्पन्न गर्नुसमान मान्न सकिन्छ ।

आफ्नो भनाइमा लेखकले आफ्नो राजनीतिक जीवनको टिप्पणी पेस गर्नुभएको छ । चाकरी, चाप्लुसी, द्वेष, प्रशंसा त अनावश्यक हो प्रेम गर्न सक्नुपर्छ । किनभने जीवनमा चाकरी, चाप्लुसी, द्वेष, प्रशंसा होइन, प्रेम चाहिन्छ । केही यहाँ सबैलाई प्रेम गर्ने मानिस छन् । केही फरक बाटोका । आफूलाई जसले मनको बाटोमा हिडाउँछ त्यस्ताले अरूको हित पहिले सोच्दछ । यस्ता मानिसलाई बेकारको त भन्न सकिन्नँ ∕ र त साहित्यले चाहिँ उनीहरूकै महिमा गाउने गरेको छ । तर अविवेकी शासकले त्यस्तालाई असामाजिक ठान्दछ ।

अहिले राजनीतिक पार्टीका नेता र कार्यकर्ताका क्रियाकलापले गर्दा जनतामा वितृष्णा उत्पन्न भएको लेखक पन्तले स्वीकार्नु भएको छ । तब आवश्यक छ यस देशको चलन प्रजातान्त्रिक मान्यताको विपरीत छ, यानी अराजक अर्थात् नियम र नीतिअनुशार राज्य सञ्चालन होइन । यदि राजनेताको चाला देशको हित गर्ने छैन भने त पक्कै जनता पिल्सिन्छन् ।

आज जसलाई भ्रष्टाचार भन्दछौँ, त्यो के हो ? जनतालाई आवश्यक परेको कुरो, त्यसको पूर्तिको साधन अर्कैको हातमा हुन्छ । सो अवसरको सक्दो उपयोग गर्छ । कृतिम अभाव सिर्जना गर्छ । देखावटी गोदाम खाली राख्छ र सामान अन्तै लुकाउँछ । यो भनेको अवसर आफ्नो अनुकुल बनाउनु हो । अवसर अनुकुल बनाएर सडेगलेको या कम तौलको या गुणस्तरहिन सामान पनि भिडाउँछ । जनतालाई खेतीगर्ने बेलामा बिउबिजन र मलखाद चाहिन्छ । अभाव सिर्जनागरेर म्याद गुज्रिएको, कमसल मल बाध्यतावश किनेर खेती बिगँ्रदा मारमा किसान पर्छ । नेपालका प्रजातन्त्रका अग्रदूत, महान सेनानी पुष्करनाथ उप्रेतीको जन्म सन् १९१६ जुनमा भारतको उत्तरप्रदेश राज्यको लखिमपुर जिल्लामा खिरी सिंगाही छाउनीमा भएको हो ।

उनी पिता मुरलीधर उप्रेती र माता भागीरथीदेवीको साथमा पाँच वर्षको उमेरमा नेपाल काठमाडौं आई दरबार हाइस्कुलबाट सन् १९३४ मा एसएलसी र त्रिचन्द्र कलेजबाट सन् १९४० मा बिए पास गर्नुभयो । जीवनमा थुप्रै उकाली ओराली पार गर्दै नेपालमा प्रजातान्त्रिक बहुदलीय व्यवस्थाको पुनस्र्थापना भएपछि मृत्युसँग जुधिरहेका व्यक्ति प्रसन्न मुद्रामा देहत्याग गर्नुभयो ।

पुष्करनाथका पिता श्री ३ चन्द्रशमशेरको दरबारमा पुराना ऐन कानुनलाई व्यवस्थित गर्ने र नयाँ ढाँचाको कानुन निर्माण गर्ने सुब्बा पदमा नियुक्त थिए । उनको अंग्रेजी, हिन्दी, संस्कृत, फारसीमा दखल भएको हुँदा नै भारतबाट बोलाएर कानुन निर्माण गर्ने सुब्बा पद दिइएको थियो ।

त्यसैले भारतबाट प्रकाशित हुने पत्रपत्रिका मगाई मुरलीधर उप्रेतीलाई पढ्न छुट थियो । मुरलीधरले पनि राणा शासनमा सुधार ल्याउने इच्छा राख्नुभएको थियो, तर हुकुमी शासनमा परिवर्तन गर्न सक्नु भएन । हुकुमी शासनमा शासकले भनेपछि सेतो पनि कालो हुन्छ । जबसम्म शासकले चाहँदैन, सेतोसेतो बन्न पाउँदैन ।

छोरा पुष्करनाथलाई राज्यविप्लवको अपराधमा राणाहरूले जेल हालेपछि चिनी रोग (सुगर) को बिरामीले गर्दा १९९८ सालमा यिनको मृत्यु भएपछि कमाइ गर्ने मानिसको अभावमा उप्रेती परिवारको आर्थिक स्थिति खस्कँदै गएको गएको रहेछ । पक्राउ परेका पुष्करनाथलाई बिजुली करेन्ट लगाई दुःख दिँदा उहाँले निर्भिक भएर स्पष्टसँग भनिदिनुभयो— ‘मलाई करेन्ट लगाउ वा गंगालालको कमलो पिँडौलामा कोर्रा हानी छरछर रगत निकाल वा हामीमध्ये सबैलाई मारे–काटे पनि काट, प्रजातन्त्रको आगो निभ्न सक्दैन । यो त तबसम्म दन्कदै जान्छ, जबसम्म देशको पथभ्रष्ट शासनमण्डली खरानी हुँदैन । राणा शासन त राजधर्मबाट च्यूत भएर भ्रष्ट भइसकेको छ । भ्रष्ट शासनलाई जनताले धेरैदिन रहन दिँदैनन्, यो प्रकृतिको नियम हो ।’

राणाहरूको तेजोबध निर्भिक भएर सहिद दशरथ चन्द, गणेशमान सिंहले पनि गर्नुभएको थियो ।

जेल परेको थोरै समयभित्र भाइ दिब्यदेव उप्रेतीको निधन, बाबुको स्वर्गवासले परिवारको स्थिरता डगमगाएको अवस्थामा उनका हितैषीहरूले राणा प्रधानमन्त्रीसमक्ष आफ्नो भुल स्वीकार गरी क्षमाको निमित्त याचना गरी कारागारबाट मुक्ति पलने सल्लाह दिएका थिए तर त्यो पुष्करनाथलाई मान्य भएन ।

राणाहरूले जनभावनाको दबाबले गर्दा सात वर्षे जेलजीवन बिताएका उप्रेतीलाई जेलमुक्त गर्न बाध्य भयो ।

राणाहरूको प्रलोभनमा नपरी उनी नेपाली जनजीवनका माझ निष्कलङ्क बनी प्रजातन्त्र ल्याउन सक्रिय भई लागिरहे ।

सच्चाइ र इमानदारीप्रति पुष्करनाथजीको सद्भावना, श्रद्धा र आदर थियो । राष्ट्रप्रेम भनेको इतिहासमा सत्य सावित भई चीरकालसम्म अमर, स्मरणीय र पुजनीय रहने कुरा हो भन्ने तथ्यलाई आत्मसात गर्न सक्नुपर्छ अनिमात्र गर्वसाथ म नेपाली शुँ भन्न सकिन्छ । 

पुष्करनाथजीले सन् १९५४ मा भियनामा भएको युवाहरूको गोष्ठीमा भाग लिनुभयो, १९५६÷५७ मा नेपाल–सोभियतमैत्री संघको प्रतिनिधि मण्डलको नेतृत्व गर्नुभयो । सन् १९६७ मा तेहरानमा भएको युनेस्कोको साक्षतता मन्त्रिस्तरीय सम्मेलनमा भाग लिनुभयो, सन् १९७१ मा पूर्वजर्मनीमा नेपाल किसान संगठनका तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व गर्नुभयो र सन् १९७२ मा संयुक्त राष्ट्रसंघको साधारणसभामा प्रतिनिधित्वसमेत गर्नुभएको थियो । 

समाजसेवी, सुधारक, समाजवादी, प्रजातान्त्रिक, इमानदार, कर्मठ, लगनशील पुष्करनाथजीको जीवनी बडो मिहिनेतसाथ लेखेर धर्मदेव पन्तले नेपाल र नेपालीलाई ठूलो गुन लगाउनुभएको छ साथै जीवनी प्रकाशित गरेर उन्नयन प्रकाशनले आफ्नो गरिमा बढाएको छ ।