22nd April | 2018 | Sunday | 11:33:03 AM

नैतिक धरातलमा अल्झेको अराजकता

इन्द्रबहादुर बराल   POSTED ON : Sunday, 31 December, 2017 (6:01:55 PM)

नैतिक धरातलमा अल्झेको अराजकता

प्रजातन्त्रको पुनस्र्थापनापश्चात् विभिन्न कालखण्डमा नेपाली कांग्रेस पार्टीमा कहिले अस्वाभाविक लाग्ने तर स्वाभाविक उतार–चढावको स्थिति देखिने गरेको छ । मूलतः हालै सम्पन्न भएको प्रतिनिधि र प्रदेशसभाको निर्वाचन परिणामलाई लिएर अनेकन अराजक र अनुशासनहीन अभिव्यक्ति तथा विचार सार्वजनिक भइराखेको अवस्था छ, त्यो पनि जिम्मेवार व्यक्तित्वहरूबाटै । यद्यपि, आज कांग्रेसले जुन अवस्थाबाट गुज्रनु परेको छ, के त्यो वर्तमान पार्टी नेतृत्वकै कारणबाट मात्रै भएको हो वा यसमा अरू कारण समेटिएका छन् ? यो सवाल उठाउनु आवश्यक भएको छ । यसका साथै विगतका विसंगति र विकृति जिम्मेवार छन् भन्नेबारेमा चर्चा हुनु, बहस हुनु आवश्यक छ । यस्ता भनाइ राख्नेहरूले यो जिम्मेवारीबाट भाग्न मिल्दैन । 

आजभोलि सोसल मिडिया (सामाजिक सञ्जाल) प्रयोगकर्ताको संख्या बढ्दो छ । फेसबुक, ट्वीटर आदिका पर्खालमा जसल जे स्टाट्स राखे पनि त्यसले सनसनीपूर्ण प्रचार पाउने र समग्र राष्ट्रको राजनीतिमा अनपेक्षित हलचल ल्याइदिने गरेको छ । कुनै समय एउटा मिडियाका प्रमुख भई काम गर्दै आएका रवीन्द्र मिश्रले पार्टी खोलेर यति ठूलो चर्चा बटुलेको जगजाहेर छ । यो सोसल मिडियाकै कमाल हो । 

यस अर्थमा नेपालको भूराजनीतिक यथार्थलाई आँखा चिम्लेर अराजक र अनुशासनहीनताको प्रदर्शन गर्नेदेखि डा. शेखर कोइराला र प्रकाशमान सिंहसम्मले पार्टीलाई मर्यादित बनाउँदै लैजानुको कुनै विकल्प छैन । नेपाली कांग्रेसका सामु दुईवटा मात्रै विकल्प थिए । एउटा, चुनावै नगराउने, अर्को चुनावमा हारेरै पनि संविधानको कार्यान्वयनलाई अगाडि बढाउने । यी दुई विकल्पमध्ये नेपाली कांग्रेस र पार्टीका सभापति एवं प्रधानमन्त्रीले सत्तामा टाँस्सी रहनुभन्दा चुनाव गराएर लामो समयदेखिको संक्रमणकालको अन्त्य गरेर प्रजातान्त्रिक विधि र प्रक्रियालाई चलायमान गराएको विषय सबैमा जानकारी भएको नै हो । प्रधानमन्त्रीले उत्तम ठानेरै संविधानको पूर्ण कार्यान्वयनतर्फ ध्यान केन्द्रित भएको तथ्य सहजै अनुमान गर्न सकिने कुरा हो । 

निष्पक्ष र स्वतन्त्ररूपले विश्लेषण गर्ने हो भने निःसन्देह हालै सम्पन्न चुनाव नेपाली कांग्रेसका लागि अनुकूल हुने अवस्था छँदै थिएन । र, भयो त्यस्तै । यो तथ्य, यसपटकको परिणामलाई २०७० सालको संविधानसभा र २०७४ सालको सुरुमै सम्पन्न स्थानीय तहको चुनाव परिणामको सुक्ष्म विश्लेषणले मात्रै कांग्रेस ठूलो पार्टी बन्ने अनुकूल अवस्थामा छैन भन्ने संकेत आएकै हो । यो संकेतका बाबजुद कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गराउने हिम्मत देखाउनुलाई सानो रूपमा लिनु हुन्न । यो मुलुक वा स्थायित्वका लागि गरिएको गम्भीर कदम थियो । वास्तविकतालाई ढाकछोप गरेर यही मौका हो भनी पार्टी नेतृत्वमाथि अराजक र अनुशासनहीन व्यवहार प्रदर्शनले कसैको हित हुँदैन ।

एउटा भनाइ छ– बोल्न पायाँै भन्नेर प्वाक्क नबोल्नू खानपायाँै भनेर क्वाप्प नखानू । यस्तै, चुनावपूर्वका सबै संकेतले कांग्रेस रक्षात्मक पंक्तिमा रहेको थियो । यसो हुँदाहुँदै किन पार्टी नेतृत्वमाथि नेतृत्व सम्हाल्न पर्नेहरू अशिष्ट र अमर्यादित रूपमा प्रस्तुत भइरहेका छन्, बुझ्न कठिन देखिएको छ । परिस्थितिलाई धैर्य र संयमित भएर सम्हालिनुको सट्टा पूर्वाग्रह राखेर वा हतास मनस्थितिका साथ अनर्गल अभिव्यक्ति दिनुले कालान्तरमा कसैको भलो नगर्ने निश्चित छ । यसमा धैर्य आवश्यक छ । धैर्यले नै एउटा गति प्रदान गर्छ । 

जे होस्, भर्खरै म्याद सकिएको व्यवस्थापिका संसद र केही महिनाअघि सम्पन्न स्थानीय तहको निर्वाचनमा जुन किसिमको परिणाम आएको थियो, आजको परिणाम पनि त्यसैको हाराहारीमै रहेको बुझ्न सकिन्छ । यसबाट कांग्रेसजन विशेष गरेर नेतृत्व पंक्तिमा विराजमान हुनेहरूले त्यति साह्रो अत्तालिनुपर्ने अवस्था देखिँदैन । एउटा तथ्य के हो भने, नेपाली कांग्रेसभित्र सधंै अस्वस्थ प्रतिस्पर्धाले पार्टीलाई घात गर्दै आएको छ । विशेषगरी दलको आन्तरिक र बाहृय प्रतिस्पर्धामा घात– अन्तरघातको नमिठो अनुभव २०४८ सालको पहिलो प्रतिनिधिसभाको चुनावदेखि नै व्यहोर्दै आएको सर्वविदितै छ । सुविधाजक बहुमत हुँदाहुँदै संसद विघटन गरेर दोस्रो पार्टीको हैसियतमा बस्नु परेको यथार्थ लुकाएर लुक्ने अवस्था छैन । त्यतिमात्रै होइन २०५६ को प्रतिनिधिसभामा सबै बहिरिनु परेको घट्ना ताजै छ । पार्टीको संसदीय दलको नेता, बहालवाला प्रधानमन्त्री हुँदाहुँदै पार्टीबाट निष्काशन गरेर दुनिया हसाउँने काम नभएको होइन । 

माओवादी सशस्त्र संघर्ष त्यागेर शान्ति प्रक्रियामा आएपछि भएको पहिलो संविधानभभामा तत्कालीन प्रधानमन्त्री एवं पार्टी सभापतिले पार्टीलाई भोटै माग्दिनँ भनेर लामै वक्तव्यबाजी नभएको होइन । यसर्थ, नेपाली कांग्रेस पार्टी यस्तो पार्टी हो जसलाई जमिन मुनिका जराहरूलेमात्रै धानेका हुन् भन्न सकिन्छ । जसको पहिचान अझै कांग्रेसले गर्न सकिरहेको छैन । त्यसकारण हिजोका दिनमा बीपी कोइराला वा सुवर्ण शमशेर, गणेशमान, किसुनजी जस्ताले दलभित्रको घात अन्त्य गर्न सकेका थिएनन् । त्यसकारण उर्लंदो खहरे जस्ताले पार्टी आफैँले बनाएको झैँगरी हैसियतभन्दा माथिका गुड्डी हाँक्नुको कुनै तुक छैन । यसर्थ, आफ्नो हैसियत बुझ्नु जरुरी छ । अनुशासन र मर्यादाको पर्खाल भत्काउँदै गइयो भने आफैले त्यही दुर्गति व्यहोर्न पर्ने हुन्छ । 

सबैलाई थाहा हुनुपर्ने हो, विसं. २०५६ सालको चुनावपछि नेपाली कांग्रेसले कम्युनिष्टहरूको फुटको लाभ लिएको हो भनेर । उनीहरू अहिले एक जुट भए, फरक यतिमात्रै हो । पार्टी सभापतिले कम्युनिष्टहरूलाई एक ठाउँमा आउन नदिन खेलेको भूमिकाको पहिलो परीक्षण गत स्थानीय तहको निर्वाचनमा भरतपुरमा गरिएको थियो तर त्यसको दीर्घकालीन राजनीतिक महŒव नबुझेर जसरी त्यहाँका नेता कार्यकर्तालाई उचालेर अराजक गतिविधि गराइयो, त्यसबाटै माओवादी केन्द्र्र सशंकित हुनु स्वाभाविक थियो । त्यसैले पनि आफ्नो रक्षात्मक अवस्थाका लागि माओवादी केन्द्रको एमालेसँगको गठजोडको विकल्प थिएन । भयो पनि त्यस्तै । यो अहिलेको चुनावी परिणाम विगतसँग जोडेर हेर्नु स्वाभाविक देखिन्छ । तर सधंै सत्ता र सत्ताको फेरो समातेर आफ्नो भविष्य सुनिश्चिित देख्नेका लागि भने यो पराजय आकाशै खस्यो वा हिमालै भास्सियो जस्तो ठानी राखेका छन् । प्रजातन्त्रवादीहरूको लागि यस्ता अराजक र अमयोदित विचारहरूको छताछुल्ल गठनपछि सत्ता हस्तान्तरणसँगै पार्टीको आन्तरिक जीवनका बारेमा बसेर घनिभुत रूपमा बहस र छलफल गर्दै पार्टीलाई पुनर्जीवन कसरी दिन सकिन्छ, त्यस बारेमा घनिभूत छलफल र बहस् नै उपयुक्त हुन्छ । पराजयको ताततातो पीडाबाट बोलीने बोलीहरूमात्रै बर्बराहट हुन् । तथापि, अहिले देखिएको असन्तुष्टि सम्बोधन गर्नैपर्छ ।

केही विवादास्पद निर्णयले पार्टीको साख गिरेको हो भन्ने तर्क बाहिर आइरहेका छन् । त्यसको समीक्षा गरिनुपर्छ । तर नवराज सिलवालको कुरा होस् वा पूर्वप्रधानन्यायाधीश प्रकारणका विषय हुन्, त्यसमा पार्टीले लिएको अडान हालैको सर्वोच्च अदालतको पूर्ण इजलासको निर्णयले सहीसावित गरेजस्तो बुझिन्छ । कांग्रेसहरू कहिले काहिँ कम्युनिष्टहरूले फैलाएको हल्लाबाट सोच विचार नगरी बहकिने गरेको पाइन्छ । कांग्रेसी नेताहरूले पार्टी सत्तामा हुँदा गरेका असल कामको प्रचार प्रसारै गर्दैनन् । जस्तो ः मोहीलाई ५० प्रतिशत भूमिमाथि स्वमित्व होस् वा लाखौँको संख्यामा रहेका कमैयाहरूको मुक्ति होस्, यस्ता अनगिन्ती सन्देश जनतासम्म पु¥याउन नसक्ने तर नेतृत्वको मात्रै खोइरो खन्ने प्रवृत्तिले नेपाली कांग्रेसलाई सधैँ घाटा लागेको छ । गिरिजा बाबुले महाकाली सन्धि गर्नुभयो तर समझदारी भनी दिनुभयो, तमाम कार्यकर्ता भ्रममा परे । पछि त्यो सन्धिलाई संसदबाट दुई–तीन मतबाट अनुमोदन गरिएको पनि हो । त्यो पनि देउवाले नै गरेका होइनन् र ? 

तसर्थ नेपाली कांग्रेसको वर्तमान पार्टी नेतृत्वविरुद्ध यति साह्रो खनिनुपर्ने त्यस्तो केही देखिँदैन । २०६४ का पहिलो संविधानसभामा प्रत्यक्षतर्फ अहिले कै हविगत थियो । समानुपातिकले मात्रै कांग्रेसको इज्जत राखेको थियो । त्यो बेला अहिलेजस्तो कुनै कोलाहल भएको थिएन । तर अहिले किन यो कोकोहोलो ? यसकारण अबको भावी नेतृत्व लिन तयारीका साथ लामबद्ध भएकाले एक पटक सोच्नु जरुरी छ । वास्तवमा नेपाली कांग्रेसका युवा पुस्ताका नेताहरूले शालीन र भद्र बन्न जरुरी छ । त्यही प्रतिभा र भद्रताले पार्टीका युवा पंक्तिहरूलाई पार्टी नेतृत्वको उच्च शिखरमा पु¥याउँछ । जन चाहना त्यही हो भन्नेमा निःसन्देह पुग्ने नै छन् सबै । 

पार्टी नेतृत्वले पनि सम्पूर्ण जिम्मेवारी नैतिक रूपले लिन अब ढिलो गर्नु हुन्न । यसका साथै नेतृत्व हात पार्न चाहनेले पनि मर्यादा र शिष्टताको सीमाभित्र बस्ने प्रयत्न गर्नुपर्छ । अन्यथा नैतिकताको प्रश्न उठाएर अराजक बन्ने हतारो गरिएको ठहरिन सक्छ । हतार गरे ठूलै क्षति व्यहोर्न पर्नेतर्फ सचेत रहनु जरुरी हुन्छ ।