22nd April | 2018 | Sunday | 11:32:31 AM

नयाँ वर्ष, भियतनाम र पर्यटन

चेतनाथ कणेल ‘हरित’   POSTED ON : Monday, 01 January, 2018 (12:21:30 PM)

नयाँ वर्ष, भियतनाम र पर्यटन

आज जनवरी १, सन् २०१८ । ठीक ६ वर्ष पुगेछ मैले भियतनाममा अंग्रेजी नयाँ वर्ष सन् २०१२ मनाएको । मौका संयोगले भियतनाममा सन् २०११ र सन् २०१२ का दुईवटा नयाँ वर्ष त्यहीँ धुमधामका साथ मनाउने अवसर पाएको थिएँ । घुमघामसहितका नयाँ वर्ष भएकाले ती दुवै नयाँ वर्षलाई मैले ‘धुमधाम’ भनेको हुँ । 

नयाँ देश, नयाँ ठाउँ, नयाँ वर्ष त्यसै पनि भव्य हुने नै भयो । यात्रासँगै मनाइएका ती नयाँ वर्षमा संसारका अनेक देशका मानिससँग भेट हुने मौका मिल्यो । भलाकुसारी गर्ने मौका पाइयो । एकातिर भियतनाम सरकारका लागि पर्यटन सल्लाहकार भई डलर कमाउने मौका, अर्कोतिर नयाँ वर्षमा भियतनामभित्रैका राजधानी हनोईबाहेकका नयाँ–नयाँ ठाउँ घुम्न पाएकाले मैले आफ्नो जीवनका ती दिनलाई ‘स्वर्णमय दिन’ ठान्ने गरेको छु । पर्यटनको विद्यार्थीका लागि ती नवीन सिकाइ अद्वितीय थिए । त्यो मिठो यादले आज पनि गतिलो सम्झना दिलाइरहन्छ । फेरि जाउँ–जाउँ बनाइरहन्छ । नेपालका धेरै पर्यटनकर्मी साथीहरूसँग भियतनामको ‘आक्रामक पर्यटन विकास शैली’का सन्दर्भ चर्चा गर्ने मौका मिलिरहेको छ । 

सापाको भाका !

भाग्य नै मान्नुपर्छ, मेरा अग्रज पर्यटनकर्मी रविजंग पाण्डे सर (जो पर्यटन प्रोजेक्टका टिमलिडर हुनुहुन्थ्यो) सँग मैले सन् २०११ को जनवरी १ अर्थात् नयाँ वर्ष भियतनामको उत्तरी भेगमा पर्ने प्रसिद्ध पर्यटकीयस्थल सापामा मनाउने अवसर पाएँ । म र उहाँको टोली हनोईबाट रेल चढेर रातभरको यात्रा तय गरी सापा पुगेका थियौँ । सापा असाध्यै रमाइलो ठाउँ छ । भियतनामका पाँचवटा रमाइला ठाउँ छान्नु प¥यो भने सापा पनि पर्छ । यो ठाउँ पहाडै पहाड भएको ठाउँ हुँदा ‘कतै म नेपालमै त छैन ?’ भन्ने भान पर्छ यहाँ डुल्दाघुम्दा ! 

सूर्योदय राम्रो देखिन्छ यहाँबाट । स्थानीय जनजातीय संस्कृति निकै समृद्ध छ । अझै डोको र थुन्से बोकेर पर्यटकको स्वागत गर्न आउँछन् सापाली गाउँले महिला दिदीबहिनीहरू । टुटेफुटेको अंग्रेजीमा ‘सापा रुरल वाल्क’ को गाइडिङ पनि बडो फरासिलो ढंगबाट गर्छन् उनीहरू । स्थानीय भाकामा गीत गाएको सुन्दा गीतको भाका नबुझे पनि छमछमी नाच्न मन लाग्छ । आखिर संगीत भनेको सबै बुझ्नै पर्छ भन्ने पनि त छैन, यो त केवल महसुस गर्ने कुरा न हो । सापाका भाकाहरू अहिले पनि कानमा गुञ्जिरहन्छन् ।

रोचक कुरा, सापाको मूल गाउँ छिर्न हरेक पर्यटकले एक डलर तिर्नैपर्छ । त्यो रकम ग्रामीण विकास कोषमा जम्मा हुँदो रहेछ । पर्यटनमा संलग्न हुन नसकेका परिवारका लागि त्यो सामूहिक विकास कोषले निकै राम्रो काम गरेको रहेछ । स्थानीय सम्पदा जोगाउन, संवद्र्धन गर्न, पूर्वाधार विकास गर्न र शैक्षिक तथा पर्यटकीय क्रियाकलाप चलाउन त्यो पर्यटन कोष उपयोगी रहेको कुरा गाउँलेहरूले सुनाएका थिए । कुरा सुन्दा हामी प्रसन्न भयौँ । आखिर गाउँलेलाई हुने पर्यटकीय अप्रत्यक्ष फाइदा भनेको यही नै हो । संलग्न हुनेहरूले त प्रत्यक्ष फाइदा लिइहाल्छन् जहाँ पनि ! 

सापामा बढ्दो र उर्लँदो पर्यटनले हामी नेपालीलाई पनि ¥याल चुहाउने बनाइरहेको छ । लाखौँ पर्यटक पुग्छन् अहिले सापामा । सापाभन्दा महासापा पर्यटकीयस्थल नेपालमा कति छन् कति, तर के गर्ने, हामीले ती गाउँठाउँमा दुईचार सय वा दुईचार हजार पर्यटकमै चित्त बुझाउनुपरेको छ ! श्रीअन्तु, पाथीभरा, गुफापोखरी, वसन्तपुर, चैनपुर, दिङ्ला, भेडेटार, हलेसी, दिक्तेल, पत्ताले, नाम्चे, खुम्जुङ, शैलुङ, जिरी, नगरकोट, रानीकोट, लाङटाङ, धुञ्चे, हेलम्बु, ककनी, टिस्टुङ, बन्दीपुर, घलेगाउँ, घान्द्रुक, जोमसोम, पञ्चासे, तानसेन, रेसुङ्गा, स्वर्गद्वारी, थवाङ, जुफाल–दुनै, खप्तड, सिलगढी, डडेलधुरा–अमरगढी आदि सयौँ ठाउँ छन् सापाभन्दा अब्बल र मान्छेका मनै हर्ने ग्रामीण गन्तव्य नेपालमा । तर पनि ती ठाउँमा हामीले पर्यटक पु¥याउन सकेकै छैनौँ, स्थानीय विकासका लागि विदेशीसँग ‘डलर’ झार्न सकेकै छैनौँ ।

कुरा सापाकै केही । सापाबाट नजिकै देखिन्छ भियतनामको सबैभन्दा अग्लो डाँडो फान्सिपान । यसको उचाइ रहेछ जम्मा १६ सय मिटर । हामी नेपालीका लागि त्यो उचाइ भनेको ‘अच्छिउँ खाएँ, बच्छिउँ खाएँ, झुसे बारुलो’ भनेझैं थियो । टाढैबाट फोटो खिचेर बाईबाई भनियो । तर सापा घुम्ने रहर अझै बाँकी छ । त्यो दिन हुस्सु र कुहिरोले धेरै लुकामारी खेल्यो । उत्तरतिर चाइनाका पहाड देखिन्छन् भनिरहेको थियो एकजना जर्मन साथी, तर त्यो दिन देख्नै पाइएन । अब फेरि मौका मिल्यो भने ती सबै कुरा धित्मरुन्जेल हेर्ने इच्छा छ । सापाबाट पर्यटन व्यवस्थापनका थप कुरा सिक्न मन छ । सिकाइ असीमित छ भन्ने कुरा त्यहाँ गएर झनै महसुस भयो । थप नेपाली साथीलाई सापाको अध्ययनमा पठाउन मन लाग्यो हामीलाई !


हृयालोङ बेको नयाँ वर्ष !

सन् २०१२ को जनवरी १ तारिखमा फेरि भियतनामकै अर्को प्रसिद्ध पर्यटकीयस्थल हृयालोङ बेमा रम्ने मौका मिल्यो । यो पटकको संयोग भने झनै विशेष थियो । समुद्रको किनारमा साना पानीजहाज (बोट) को अविष्मरणीय यात्रा । अति अविष्मरणीय ! हामी हजारौँ पर्यटक थियौँ हृयालोङ बेमा त्यो दिन । बोट चढ्नेको पनि भीडैभीड, समुद्र किनारमा घाम ताप्नेको भीड, कोही बालुवा खेलाउन मस्त, कोही शंख र सिपी खोज्न व्यस्त । केही फोटो खिचाउने र सेल्फी खिँचेर स्वर्गीय आनन्द उठाउँदै, कोही समुद्र किनारबाटै फोन गर्दै आफन्तसँग उत्ताल आनन्दको क्षण बाँड्दै । गजबका दृश्यहरू थिए ती । हामी भियतनामी समुद्र किनारमा आफ्नै तरिकाले आनन्द उठाउँदै थियौँ । 

हृयालोङ बेको टापुमा बस्ने होटल राम्रा, यात्रा गराउने सवारीसाधन पनि राम्रा । भियतनामी खानाको स्वादले दिन अभैm स्मृतिमै रहिरहने बनेका थिए । सापाभन्दा अझ बढी पर्यटक आउँछन् यहाँ । लाखौँको संख्यामा । अहिले हृयालोङ बे भियतनामको लगभग १ नम्बर गन्तव्यमा पर्छ । हृयालोङ बेका ससाना थुम्काहरू समुद्रमा बडो मजाले पौडी खेलिरहेका छन् । यो दृश्य अचम्मकै लाग्छ । विश्वका करिब एक सय देशबाट यो ठाउँमा घुम्न आउँदा रहेछन् पर्यटकहरू । आजकाल नेपालीहरू भियतनाम पुग्दा एकपटक हृयालोङ बे नपुगी नफर्कने चलन छ । सन् २०१२ को जनवरीको त्यो दिन बिर्सिनसक्नु छ । भियतनामको १० हजारको नोटमा हृयालोङ बेको एउटा विशाल सामुद्रिक चट्टानको फोटो छ । त्यो फोटोमा रहेको यथार्थ वस्तु पनि त्यहाँ हेर्ने मौका मिल्यो ।

अन्त्यमा,

भियतनाममा हामी करिब तीन वर्ष (सन् २०१०, २०११ र २०१२) आउने–जाने गर्दै ‘पर्यटन सल्लाहकार’को रूपमा केही महिना बिताएका थियौँ । त्यतिबेला भियतनाममा पर्यटक आगमन वार्षिक करिब ७० लाखको हाराहारीमा थियो । आज सन् २०१८ को जनवरी १, यतिबेलाको तथ्यांकले भन्छ, सन् २०१७ मा करिब १ करोड २० लाख विदेशी पर्यटकले भियतनामको भ्रमण गरे । यी तथ्यांकले हामीलाई ¥याल चुहाउने बनाउँछन् । बल्लबल्ल १० लाख पुग्ला कि भन्ने आशा थियो नेपालमा सन् २०१७ को कुल पर्यटक आगमन, त्यो पनि नपुग्ने अवस्था भएको छ । 

एक पर्यटनकर्मी भएकाले सन् २०३० मा पर्यटकको संख्या ५० लाख पु¥याउने हाम्रा नेताहरूको महŒवाकांक्षी योजनामा कसरी सहयोगी बन्न सकुँला, यो चिन्ता आजको नयाँ वर्षको दिनले झनै जन्माइरहेको छ । जे भएपनि, नयाँ वर्ष २०१८ सबैका लागि सुखद् र फलदायी बनोस्, हार्दिक शुभकामना !!

chetnathkanel@gmail.com