22nd April | 2018 | Sunday | 11:33:20 AM

कांग्रेसको पालुवा पलाउला

दामोदर पौडेल   POSTED ON : Tuesday, 02 January, 2018 (3:29:30 PM)

कांग्रेसको पालुवा पलाउला

बहुप्रतिक्षित प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सकिएको छ । जतिसुकै लुकाउन खोजे पनि परिणामले कांग्रेसजनमा हतासा छाएको छ । एमाले, माओवादी र मधेसवादीहरू अपेक्षा गरेभन्दा बढी सफल भएका छन् ।

चुनाव भनेको लोकतन्त्रको निरन्तरताको प्रतीक हो । लोकतन्त्रको निरन्तरताको शर्तबाहेक अरू विषयमा कसले चुनाव जित्ने वा कसले हार्ने भन्ने विषय गौण हुन् । डर भनेको चुनावको माध्यमबाटै चुनाव गराउने परिपाटीको अन्त्य नहोस् भन्ने पनि हो ।

कांग्रेसहरूले अन्तर्घातको परिणाम तथा चुनावमा अपेक्षाकृत कम जनप्रिय वा गलत व्यक्तिलाई टिकट दिँदा के हुन्छ भन्ने महसुस गर्न थालेको हुनुपर्छ । सभापति शेरबहादुर देउवाले पनि आफूसँग असहमत हुनेलाई पेलेरै जाने प्रवृत्ति कति घातक हुन्छ भन्ने महसुस गरेकै होलान् । पार्टीका साथीहरूलाई सामान्य असहमतिको कारणले मात्रै माइनस गर्नुहुँदैन भन्ने बुझेर नै गिरिजाप्रसादले फुटेको कांग्रेसलाई एक बनाएका थिए । दलबाहिर पनि सहमति र सहकार्यको बाटोमा सबैलाई हिँडाउने प्रयास गरे । जीवनको उत्तरार्धमा गिरिजाप्रसादमा आएको परिवर्तनले सिंगो देशमा र कांग्रेसमा सकारात्मक सन्देश दिएको हो । त्यो सत्य देउवाले बुझ्ने र व्यवहारमा लागू गर्ने कि नगर्ने भन्ने सवाल अब निर्णायक हुनेछ । झन्डै एक्लै चुनाव जित्नु भनेको पहाड खन्न एक्लै सक्छु भनेजस्तै हो । माओले किसान र पहाडको बारेमा यो उदाहरण दिएका थिए । 

हार होस् वा जित, यथार्थमा कतिपय उदाहरण सत्यको र न्यायको बाटोमा हिँडिरहनुपर्छ भन्नेसँग पनि सम्बन्धित हुन्छन् । जब कि, अहिलेको कांग्रेसको हारको शृंखला देउवाले पार्टी सभापति पद जितेसँगै सुरु भएको हो । उनलाई पार्टी सभापतिमा जिताउनासाथ मानिसहरूले भन्न थालेका थिए कि लोकतन्त्र दरबारमा बुझाउनेलाई सभापति बनाए, अब कांग्रेसीहरू कांग्रेस रहेनन् । गलतले आफ्ना गल्तीलाई स्वीकार गर्दैन वा गल्तीको दोषी अरूलाई नै देखाउन खोज्छ । जब मानिसले गल्ती महसुस गर्दछ तब उसले पुनः गल्ती गर्दैन र आफ्नो हैसियत पनि महसुस गर्दछ । त्यो सम्झने अवस्था देउवाहरूमा आएको छ । सम्झने हुन् कि होइनन् त्यो भने देखिँदै जानेछ । 

कांग्रेसहरूले न्यायालय प्रकरण, प्रहरी महानिरीक्षक नियुक्ति प्रकरण आदिमा आफ्नो पक्षमा भन्न सक्ने धेरै उदाहरण थिए । तर, आफ्ना भनाइ जनसमक्ष नराखेकाले कांग्रेसले गल्ती नै गरेको हो भन्ने भ्रम जनतामा गएको हो । कतिपय गल्ती पनि भएकै हो । ती गल्तीमध्ये एउटा स्थानीय चुनावमा प्रचण्ड पुत्रीलाई भरतपुरबाट मेयरमा उम्मेदवार बनाउनु र जिताउनु पनि हो । उनलाई उपमेयरमा र कांग्रेस जनलाई मेयरमा उठाएको भए तथा पोखरामा माओवादीलाई मेयर दिएको भए दुवै सिट कांग्रेस र माओवादीले पाउन पनि सक्थे । देशमा सबै जिल्लाका मानिसको सम्पर्क थलो रहेको चितवनमा मेयरमा कांग्रेस भएको भए धेरै सकारात्मक सन्देश जाने थियो । गैँडाकोट र चितवनका अरू नगरपालिकाहरूमा पनि कांग्रेसले केही राम्रो गर्ने सम्भावना हुने थियो । 

भरतपुर महानगरको चुनावको प्रभाव संसद्को चुनावमा पनि नपर्ने कुरा भएन । सम्भवतः केही सिट नै कांग्रेसले थप्ने थियो । कांग्रेस प्रतिरक्षात्मक पंक्तिमा भएको अवस्थामा देउवा र देउवापत्नी, केसी र महत बन्धुजस्ता परिवारका सदस्य चुनावमा नलडी एकजना मात्र  लड्नुपर्ने थियो ।

पंक्तिकारलाई कांग्रेसहरूले खेदिरहेको भए पनि बारम्बार सामाजिक सुरक्षा भत्ता, स्थानीय निकायलाई दिइने रकम, विद्युत्समेतका बारेमा भ्रम चिर्ने र जनतालाई सत्य कुरा प्रेषित गर्ने प्रयास गरियो । तर, ती विषय कांग्रेसका केही नेताले मात्र चुनावको अन्तिम समयमा उल्लेख गर्न थाले । लोकतन्त्रवादीहरूको सबैभन्दा ठूलो सम्पत्ति भनेको समाजका उपयुक्त कुरा नोटिसमा लिने, त्यसलाई पारख गर्ने अर्थात् छलफल गर्ने र राम्रो कुरा देखिएमा त्यसलाई लागू गर्ने हो । त्यसमा कांग्रेसका नेताहरू साह्रै असफल रहे । जनप्रियता र समाज हितलाई साथ लग्ने स्थूल प्रयास कांग्रेसबाट भएन । आफूले गरेका राम्रा कामको प्रचार गर्न सकेनन् ।

प्रदीप गिरिजस्ता विद्वान्ले यो देशमा जनतालाई देखाउने र आफ्नो क्षमता प्रयोग गर्न मन्त्री पदसम्म पाएनन् । मन्त्री बन्नु उनका लागि जरुरी छैन र उनमा त्यति लगाव पनि छैन शायद । तर, देश र जनताका लागि उनी जरुरी थिए र छन् पनि । पदको महŒवाकांक्षा नभएका, तर क्षमता भएका र देशलाई केही दिन सक्नेलाई बेवास्ता गर्नु कांग्रेसको ठूलो भूल थियो । उनीहरूले अरूको नेतृत्व विकास भएमा आफू माइनस हुने डरमा मात्र आफूलाई अल्झाए । एमालेले तीनपटकमा तीनजना प्रधानमन्त्री बनायो र त्यो व्यक्तित्व उचाइ बढ्ने कार्यले एमालेलाई फाइदा भयो । देउवालाई भने अरूलाई पेलेर नेपालमा सबैभन्दा धेरैपटक प्रधानमन्त्री बन्ने र पत्नीलाई पनि त्यही बाटोमा लैजाने चिन्ता मात्र भयो भन्ने उनको व्यवहारले देखायो । शायद चुनाव हारेको वा चुनावमा नउठेको भए पनि विश्वप्रकाश, धनराज, चन्द्र भण्डारीसमेतका केही नेतालाई कांग्रेस सरकारमा हुँदा ६ महिना मन्त्री बनाएको भए धेरै सकारात्मक सन्देश जाने थियो । जनताले उनीहरूबाट कांग्रेसलाई राम्रोसँग चिन्ने थिए । व्यक्तित्व विकासबाट लोकतन्त्र र कांग्रेसलाई नै फाइदा हुने थियो । कांग्रेसले त जितेका गगन थापाको पनि पूर्ण उपयोग गर्न चाहेन । 

कांग्रेसहरू अहिले पनि कांग्रेस हारेको होइन बरु नयाँ पालुवा पलाउन यसका पात झरेका हुन् भन्दैछन् । चुनाव हार्दा कार्यकर्तालाई हतोत्साहित हुन नदिन भन्ने कुरा यस्तै यस्तै हुन् । यो भनाइ सत्य पनि हुन सक्छ । अब ७० वर्ष उमेर कटेकाहरूलाई चुनावमा नलडाउने कार्य सम्भव छ र स्वाभाविक पनि हो । साठी वर्ष वा सोभन्दा माथिका अहिलेसम्म कुनै ठूलो हैसियत नराखेकाहरूलाई पनि काम गर्ने पद नदिन सकिन्छ । उनीहरूको भूमिका सल्लाह दिने नै हुन सक्छ । चुनावमा उम्मेदवा र अन्य पदका लागि ६० वर्षभन्दा कम उमेरका योग्य व्यक्तिलाई दिने व्यवस्था अब अपरिहार्य छ । यो अवसर पनि हो र यसले पालुवाको सन्देश दिन पनि सक्दछ ।

यस पंक्तिकारले बारम्बार भ्रष्टाचार हटाउने र कर्मचारी कम गरेर त्यो पैसा विकास कार्यमा लगाउने तथा स्वरोजगारको वातावरण बनाउने उपायबारे लेख्यो तर त्यो कांग्रेसलाई रमाइलो कुरा जस्तो मात्र लाग्यो । यसले फास्ट ट्र्याक तीनदेखि पाँच वर्षमा सरकारले केही पैसा नलगाई बनाउने र बचेको पैसाले कमसेकम पाँच हजार मेगावाट विद्युत् उत्पादन गर्न सकिने प्रस्ताव केही कांग्रेससमक्ष राखेको होे, उनीहरूले हँसिमजाक सम्झे । एमाले र माओवादीहरूले केही गम्भीर भएर सुने । आज पनि यससँग देशको प्रशासनिक खर्च करिब पाँच वर्षमा आधा घटाउन सकिने योजना छन् । त्यो बचेको पैसाले जनतालाई स्वरोजगारी र विकासमा लगाउन सकिन्छ । अर्थात् जहिले पनि लोकतन्त्र राम्रो व्यवस्था भएकाले लोकतन्त्र भएपछि सबै भइहाल्यो नि भन्ने भ्रम नै हामी नेपालीको भाग्यजस्तो भयो । 

यहाँ कांग्रेसहरूलाई ठीक वा खराब भन्न खोजेको होइन तर असल विचार लिनेहरूले राम्रो डेलिभरी दिन नसकेपछि खराब पात्रले जित्छ नै र राम्रो विचार पनि नराम्रो हो कि भन्ने सन्देश पनि जनतामा जान्छ । त्यसभन्दा दुःखदायी घटना राजनीतिमा अरू केही हुनै सक्दैन । वास्तवमा नराम्रो विचारले पनि जनतालाई प्रभाव पार्नु भनेको राम्रो विचार भएकोले नराम्रो गर्नु नै हो भन्नेमा दुईमत छैन । 

राजनीतिमा आउने गरेका शब्दहरूमा खान नपुग्नेहरू, मध्यम वर्गहरू र उच्च वर्गहरू भन्ने गरिन्छ । निम्न वर्गको प्रतिनिधित्व माओवादीले, मध्यम वर्गको प्रतिनिधित्व एमालेले र उच्च वर्गको प्रतिनिधित्व कांग्रेसले गरेको र गर्ने भन्ने भ्रम पनि धेरैमा छ । योसमेत चुनावको समयमा मतदाताका लागि दिशान्तरको विषय भएको छ ।

लोकतन्त्रमा जनताबाट अनुमोदित हुनुपर्छ र त्यसमा सबै दलले शान्तिपूर्ण राजनीति गर्न पाउनुपर्छ भन्ने मान्यता प्रमुख र निर्णायक पनि हो । त्यसैले लोकतन्त्र मान्ने दल आफैँमा यो वर्गको प्रतिनिधि नै भन्ने धारणा आउन सके पनि त्यसभन्दा पहिला लोकतन्त्र आत्मसात् गर्ने र नगर्नेमध्ये कुन जनपक्षीय र गरिब जनताको पक्षधर भन्ने सवाल प्रधान हो । कांग्रेसले लोकतन्त्र र बहुलवादलाई आफ्नो लक्ष्यमध्येको एक बनाएको प्रस्टै हो । तर, नेपालका वामपन्थीहरूमध्ये केपी ओलीसमेतका केही नेताहरू लोकतन्त्र र बहुलवादको पक्षमा भएकोमा कुनै शंका छैन । तर, कम्युनिष्ट विचारको माध्यमबाट अगाडि बढिरहँदा त्यो पन्थमा एकदलीयताका पक्षधरहरू हाबी हुने सम्भावना एक हदसम्म छ । यो सबैभन्दा बढी घातक हुन सक्दछ । यस अवस्थाको दोष केही हदसम्म कांग्रेसलाई पनि जान सक्छ । किनभने लोकतन्त्र मानिदिएपछि अरू जे गरे पनि हुन्छ भन्ने मान्यताले गर्दा लोकतन्त्र नै बद्नाम हुन्छ ।

(लेखक अधिवक्ता हुन् ।)