26th April | 2018 | Thursday | 2:45:03 AM

नेपाली राजनीतिमा बाहृय प्रभाव

  POSTED ON : Tuesday, 02 January, 2018 (3:33:02 PM)

नेपाली राजनीतिमा बाहृय प्रभाव

उपेन्द्र झा

नेपाली राजनीतिले केन्द्र र प्रदेश सरकार बनाउन नयाँ जनादेश पाएको छ । शीर्षाभिमुख वाम गठबन्धनले नेपाली राजनीतिको नेतृत्व गर्न स्पष्ट बहुमत पाएको छ भने नेपाली कांग्रेसलाई विश्रामको अवस्थामा पु¥याएको छ । वाम राजनीतिको तीव्रतर प्रभाव र लोकतान्त्रिक शक्तिको क्षयीकरणले नेपाली राजनीतिमा आएको शक्ति असन्तुलनको परिस्थितिले भिन्न भिन्न कोणको विश्लेषणलाई जन्म दिएको छ ।

असहज राजनीतिको केन्द्रमा गराइएको चुनावमा वाम गठबन्धनले पाएको जनादेशले अब निर्वाध सरकार चलाउन बाटो खुलेको अनुभव गरिएको छ तर परिस्थितिले बाटो छेक्न छोडेको छैन । वाम गठबन्धन अब एकता प्रयासमा लागेको छ । माओवादी केन्द्र र एमाले पार्टीको एकीकरणमा अन्धराष्ट्रवाद प्रफुल्लित देखिएको छ भने वाम शक्तिको तीव्र विकास लोकतान्त्रिक शक्तिलाई खट्केको छ । लोकतन्त्र पुनस्र्थापनापछिका दिनमा पनि ठूला ठूला द्वन्द्वहरू आएकै छन् ।

दुई महाशक्ति बीचको नेपाल छिमेकी प्रभावको सन्तुलन कायम राख्न असफल रहेका कारण राजनीतिक अस्थिरता झेल्नु परेको छ । आफ्नो कनिष्टता, पराश्रित प्रवृत्ति, व्यक्तिगत स्वार्थ, सत्तालोलुप्ताले आत्मनिर्भरताको धरातल नै समाप्त पारिदिएको हुनाले नेपाली राजनीतिले कूटनीतिक सन्तुलन बनाउन सक्दैन । यो कहिले भारतको प्रभावमा त कहिले चीनको प्रभावमा हुन्छ । सार्वभौम सम्पन्न स्वतन्त्र राष्ट्र अनुसारको चरित्र निर्माण भएको छैन ।

वाम गठबन्धनले नयाँ जनादेशबाट अग्रता हासिल गरेपछि उसको सरकार बनाउने अधिकार स्वतः कायम भएको छ । वैधानिक आदेशानुसार वाम गठबन्धनको सरकारलाई चुनौती दिनु राजनीतिक अपराध हो । वाम गठबन्धन एकताको सुत्रमा बाँधिदै सरकार बनाउने समीकरण मिलाउन व्यस्त छ । नेपाली कांग्रेसको काम चलाउ सरकार सत्तामा रहेर पनि चुनावमा अतिशय पराजय भोगेर किनारमा पुगेको छ । कांग्रेसलाई पहाडका मतदाताले उदार चरित्रका कारण पत्याएन भने मधेशका मतदाताले ढुलमुले चरित्रका कारण मत दिएनन् ।

अन्धराष्ट्रवादका नाइकेको रूपमा उदाएको एमालेले विगतमा नाकाबन्दीको सामना गरेर भारत समक्ष आत्मसमर्पण नगरी चुनौती दिएका कारण ओली लोकप्रिय भए । राष्ट्रवादी शक्तिले एमालेको शक्तिलाई अजेय बनाउने उद्देश्यले मत दिएर शीर्षस्थानमा ल्याइदिएको छ । भारतसँग टक्कर लिन नै राष्ट्रवादीहरूले एमालेलाई नयाँ जनादेश दिएको छ । मधेशले एमालेलाई खासै पत्याएको देखिँदैन । नेपाली कांग्रेस भारतको विरोधमा उभिन सक्छ भनेर राष्ट्रवादीहरूले पत्याएनन् ।

सरकार बनाउन वाम गठबन्धन अग्रणी भूमिकामा छ भने लोकतान्त्रिक गठबन्धन माओवादी केन्द्रलाई अलग्याएर सरकार बनाउन आमन्त्रित गरिरहेको छ । यसमा लोकतान्त्रिक शक्तिकेन्द्रको सक्रियता देखिएको छ । यो प्रयास भने क्षीण देखिएको छ । प्रचण्ड वाम गठबन्धनमा नै बलियो हुने र अलग भए अस्तित्व नै समाप्त हुने अनुभवले देखाएको छ । त्यसकारण एमालेबाट प्रचण्डलाई अलग्याउने प्रयास सफल नहोला । 

वाम गठबन्धनले चुनावमा स्पष्ट बहुमत पाउँछ भन्ने आकलन आम जनतामा थियो । लोकतान्त्रिक शक्तिले (भित्री र बाहृय) यसलाई रोक्ने प्रयास पनि गरेन । बरू वाम गठबन्धन भारतले बनाएको भनेर भारतीय बुद्धिजीवी तथा नेपाली बुद्धिजीवीको मुखबाट भन्न लगायो । यो भ्रम फैलाएर अहिले वाम गठबन्धन तोड्ने फोड्ने प्रयास छ । भ्रम फैलाएर राजनीति गर्ने जो कोहीको प्रयास नेपाल सन्दर्भमा असफल नै हुने स्पष्ट छ । 

अहिले नेपाली राजनीतिमा लोकतान्त्रिक शक्ति (भित्रको र बाहिरको) को प्रभाव क्षीण भएका कारण राजनीतिक असन्तुलन बढेको छ । वाम गठबन्धनको बहुमतले सरकार बनाउन असहज नहुने र अप्ठ्याराहरू विस्तारै हट्दै जाने विजयीहरुको आकलन छ । अनेक थरिको अन्तद्र्वन्द्वले सिर्जना गरेको विषम परिस्थितिको पृष्ठभूमिमा गराइएको चुनावले गतिरोध कायम रहनेमा शंका छैन । भित्तामा पु¥याइएको लोकतान्त्रिक शक्तिप्रति सहानुभूति राख्ने शक्तिकेन्द्रको प्रभाव न्यून भएकोले उसको असन्तुष्टी कुनै न कुनै रूपमा फुट्ने सम्भावना हुन्छ । वाम गठबन्धनले पाएको बहुमतले पनि राजनीतिक अस्थिरता हटाउन कठिन छ । वाम गठबन्धनको सरकार विरूद्ध राजनीतिक गतिरोध ल्याइयो भने परिस्थिति झन् जटिल बन्न सक्नेछ ।

भारतमा कांग्रेस (आई) को सरकार नहुन्जेल नेपालमा भारतको प्रभाव (प्रत्यक्ष र अप्रत्यक्ष) देखिएको थियो । नेपालमा बढ्दो कम्युनिष्ट प्रभाव रोक्न भारत सरकार सधैँ चिन्तित देखिन्थ्यो । नेपालको सरकारलाई (कम्युनिष्ट वा लोकतान्त्रिक) आफ्नो प्रभावमा राख्न भारतले अनेक प्रयत्न आम जनताले अनुभव गर्थे । पहिलो संविधानसभामा माओवादीको ठूलो आकारलाई लिएर चिन्तित रहने भारत नेपालमा लोकतान्त्रिक शक्तिलाई मजबुत पार्न अनेक विधि गर्थे । पहिलेको हस्तक्षेपकारी भूमिकालाई पनि मान्यता थियो । २०७० को दोस्रो संविधानसभाको चुनावमा नेपाली कांग्रेस र एमालेले पाएको चुनावी नतिजा नेपालमा लोकतान्त्रिक शक्तिलाई मजबुत पार्ने राजनीति अन्तर्गतकै परिणाम हो ।

पहिलो संविधानसभामा मधेशको मुद्दाको विरोधमा देखिएको नेपाली कांग्रेस र एमाले मधेशमा लोकप्रिय हुनै सक्दैन थिए । तर कांग्रेसले पहाडबाट भन्दा बढी मत मधेशबाट पायो । मधेश मुद्दाको विरोधमा रहेको नेपाली कांग्रेस र एमाले भारतको कांग्रेस (आई.) सरकारको बरदान पाएर शीर्षस्थानमा उक्लिन सफल हुँदा यसलाई भारतीय हस्तक्षेप भनिएन । कालान्तरमा यही एमाले मोदी सरकारमा भारतको विरोधी बन्यो । 

मोदीको उदयपछि नेपालमा भारतीय प्रभाव न्यून हुन थाल्यो । सार्क शिखर सम्मेलनताका भारतको प्रभाव सकारात्मक रूपमा बढ्ला भनेर आशा गरिएको थियो । तर, मोदीको पदार्पण कम्युनिष्ट शक्तिकेन्द्रलाई असहृय भयो र भारतको विरोध शुरू भयो । भारतले पनि कूटनीतिक सम्बन्धमात्रै राख्न चाहृयो । फलतः नेपालमा चिनियाँ प्रभाव निर्बाध रूपमा बढ्न थाल्यो । मधेशले गरेको नाकाबन्दी आन्दोलनको आरोप अनावश्यक रूपमा भारतमाथि लाग्यो । नेपालको राजनीतिबाट भारतको प्रभाव हटिसकेको कारण नेपालमा लोकतान्त्रिक शक्ति कमजोर भएको हो । मोदी सरकारमा नेपाल सन्दर्भको दृष्टिकोण अस्पष्ट रहेकोले नेपाल कालान्तरमा भारत प्रभावबाट मुक्त हुनेमा कुनै शंका छैन ।