16th October | 2018 | Tuesday | 7:07:26 AM

वाम गठबन्धनले हेक्का राखोस्

  POSTED ON : Thursday, 04 January, 2018 (3:14:12 PM)

वाम गठबन्धनले हेक्का राखोस्


-राजन कार्की-

जिम्मी कार्टरले गिरिजा मेरो हिरो भनेका थिए, उनी हिरो बने कि जिरो, त्यसको परिणाम आमनिर्वाचनमा आएर नेपाली कांग्रेस तीन बल्ड्याङ् हुनपुगेको छ । नेपालको राजनीतिमा कांग्रेस शेरबहादुर देउवाजस्ता अहंकारीले चलाउँदैमा शेर बन्न सक्दैन भन्ने स्पष्ट हुन पुगेको छ । राजनीतिको शेर बन्न हुंकारले मात्र हुन्न, जनताको मन पुकार्न सक्नुपर्ने रहेछ । कांग्रेस नीतिमा, सिद्धान्तमा, जनबल र जनअपेक्षामा असफल भयो । निर्वाचनको परिणामको परिभाषा यही हो ।

चुनाव त हा¥यो हा¥यो, नैतिक रूपमा समेत कांग्रेस माइनस हुनपुगेको छ । चुनाव हार्नासाथ प्रधानमन्त्री देउवाले राजीनामा दिनुपथ्र्यो, त्यत्ति गरेको भए कांग्रेसको प्रजातान्त्रिक धार, आधार र छविमा दाग लाग्ने थिएन । लज्जाजनक हार भए पनि देउवाले राजीनामा दिएनन् र अहिलेसम्म पनि सत्तामा गजधम्म बसेकै छन् । यद्यपि राजीनामा दिए पनि सत्ता हस्तान्तरणको विधि सम्पन्न नभएसम्म चलाउने त उनैले थिए । चुनावभन्दा पनि यो नैतिक हार, कांग्रेसका लागि भविष्यमा चट्याङ पूर्वानुमानभन्दा फरक पर्दैन ।

बहुदलपछिको १२ वर्षे कुशासन र लोकतन्त्रको यो पछिल्लो २ सय १२ दिने शासन समाजवाद र प्रजातान्त्रिक भविष्यका लागि साढे सातको दशा नै सावित हुनपुग्यो । जसको लाभ वामपन्थीहरूले दुई हातले सोहोर्नु सोहरे । ‘वामपन्थीलाई मात र प्रजातन्त्रवादीको पुर्पुरोमा हात’ हुनपुग्यो । अहिलेको यो खड्गोमा धुकधुकीसम्म रहेको कांग्रेसले नीति, नेतृत्व र सिद्धान्तमा भएका कमजोरीको सही मन्थन गर्न सकेन भने कांग्रेसको वर्तमानमा जस्तै भविष्य पनि सूर्यग्रहण नै लाग्नेछ ।

प्रजातन्त्रवादीको सातो गयो, देश रातो देखियो । हुन त जनयुद्धकालमा पनि रगताम्मे थियो देश, त्यतिबेलाको रगतपच्छे रातो र अहिलेको जनादेशले देखाएको रातोमा भिन्नता छ । त्यो रगताम्मे रातोको कलंक धुन यो राताम्मे जनादेशले सक्ला कि नसक्ला, यसको शिरोभारो एमाले र माओवादीले बनाएको वाम मोर्चामा अन्तर्निहित छ । वाम मोर्चाले पाएको यो मौका जनघात, राष्ट्रघात धुने धोविघाट पनि हो ।

हुन त इटलीमा ग्यारीवाल्डीले योङ इटलीजस्तो क्रान्तिकारी दस्ता तयार गरेका थिए, रेडसर्टजस्तो दल खोलेका थिए । यी दस्ता र दलले इटलीको शान्ति र समुन्नतिको जग बसाले र लोकतान्त्रिक राजनीतिमा समाहित भए । जसको परिणाम आजको मजबुत इटली हो । त्यो अनुकरणीय कामको शिक्षा वाम मोर्चाले लिन सक्ला कि नसक्ला ¤

ओली र प्रचण्ड, शेक्सपियरले लेखेजस्तो कठपुतली बनेर ‘काउवार्डस् डाइ मेनी टाइम्स विफोर देयर डेथ’ को नियतिका सिकार होलान् कि जनअपेक्षाअनुसारको स्वाधीनता, समानता, न्याय र सर्वोन्नतिको परिणाम देलान् ? त्यो अग्नि परीक्षा शुरू भएको छ ।

माओ, चारु, चाउको इतिहास सकारात्मक साहसको इतिहास हो, यिनले जनघात अथवा राष्ट्रघात कहिल्यै गरेनन् । प्रचण्ड र केपी ओलीको बितेका दिनहरू भरलाग्दो जनवादी, देशवादी छैन । तिनको विगत त्यसै भन्छ । यी दुबै नेता उन्माद, भ्रष्टाचार, दुराचार, सत्तामोह, भागबण्डामा चुर्लुम्मै डुबेका प्रमाणहरू छन् । यिनीहरू बाहुबली पाल्न र खल्तीमा हाल्न जान्ने नेतामा पनि गनिन्छन् । यसकारण चुनाव विजेता र वाम मोर्चाका महान हस्ती यी दुईका सामु यक्ष प्रश्न तरवार बनेर उभिएको छ– इमान नभएकाको कलंकित अर्को चर्को अध्याय थपिने त होइन ? यी दुबै नेता जनइच्छा परिपूर्ति गर्न सफल होऊन् भन्ने हाम्रो कामना छ ।

राष्ट्र बनाउने इच्छाशक्ति भएको ‘स्टेट्स्म्यान’ नेपालको आवश्यकता हो । त्यो इच्छाशक्तिको झल्को वाममोर्चाले भाषणमा, घोषणापत्रमा दिन सफल भएको छ, जसलाई जनताले पत्याएकै हो । समृद्धि र समुन्नति अवको एजेण्डा पनि भनेका छन् यिनले । तर, सत्तामा नजाँदै जुन प्रकारको ठस्कने र मस्कने, गुट र उपगुटका रलमल र अलमल, भागबण्डाको भद्रगोल खडा गर्न थालेका छन्, यिनीहरूको इच्छाशक्ति पतन हुन थालेकोमा समाजमा चिन्ता र चासोको पारो बढ्दै गएको छ ।

विगत १२ वर्षमा ओलीले प्रचण्डलाई र प्रचण्डले ओलीको चरित्रमा शव्दवाण अर्थात लाठे मुङ्ग्रो बजारेकै हो, सिस्नो पानीले चुट्नु चुटेकै हो । चुनावअघि यी दुई एक भए । पुरानो कुरा बिर्सिएर नयाँ शृंखला सुरु भयो । मित्रताले विजयमाला पनि पहि¥यायो । एउटै माला दुबैले गला गाला जोडेर लगाए पनि । चर्चिल र रुजवेल्ट नै बन्ने सपना देखाएका हुन् ओली र प्रचण्डले । पचास वर्ष शासन गर्ने यिनको लक्ष्य छ । कांग्रेसको रुख फाँडेर सूर्य रोप्ने, सूर्य फलाउने, उदाउने यिनको उद्देश्य छ । यी दुईको राजनीतिक सम्मोहनकलाले नतिजा दियो तथापि यिनीहरू घेरिएको र यिनको सोच नफेरिएको आफन्तवाद र भतिजावादमा स्वाह हुने खतरा पनि त्यत्तिकै छ ।

यसकारण अर्को प्रश्न उठेको छ– चर्चिल र रुजेवेल्टको केमेष्ट्रीको उपज हो एटलान्टिक चार्टर । ओली र प्रचण्डको केमेष्ट्रीको उपज वामपन्थी सर्वसत्तावाद र निरंकुशता कि विधिको शासन ? देशमा १२६ जाति छन्, यिनको समानुपातिक सूचीमा न सतार छन्, न कुशवाह, कुर्मी, चमार, मुसहर, दमाई, कामी, राउटे कोही पनि छैनन् । दश पन्ध्र जातिले चलाउने सत्ताले सवासय जातिको भलो, एकता, हक र हित संरक्षण गर्ने कार्यसूची समेत यिनमा छैन । मुख्य सवाल अन्याय र गरीबीको उन्मूलन हो । वामपन्थीको आधारशक्ति भनेकै गरीबी र अन्यायपूर्ण समाज भएकाले वाममोर्चाले भनेको समृद्धि र सुशासनका लागि यिनले विशेष काम गर्लान् र ? विश्वास कम र शंका बढी गर्न ठाउँ दिन्छ ।

विश्वप्रशिद्ध दार्शनिक अरविन्दले लेखेका छन् ः यदि तिम्रो मनमा दास मानसिकता, परावलम्बी चिन्तन र कलुषित विचार छ भने तिमी कहिले पनि आफ्नो माटोका लागि बाँच्न सक्दैनौ ।

अहिलेलाई अदृश्य शक्तिले अपराजेय बनाइएका अपवित्र गठबन्धनका नायक द्वय प्रचण्ड र ओली त्यस्तै शक्तिशाली बनेका हुन्, जो नेपाली जनताको आँखामा नयाँ नेपाल, धर्मनिरपेक्ष नेपाल, गणतन्त्र नेपाल, संप्रभू नेपाल बनाउने धूलो झोकेर राष्ट्रवादलाई चितामा सेलाएर नेपाली जनतालाई मलामी बनाइरहेका छन् । बाह्र वर्षमा पनि यी दुवै नेता सिंगो राष्ट्रको राजनेता बन्न नसक्नुको कारण यिनीहरूभित्र पन्पिएको सत्ता र शक्तिको महŒवाकांक्षा हो । अहिलेलाई नयाँ जनादेश पाएका छन्, हेर्दै जाऊँ– आगे आगे होता है क्या ¤

चुनाव हारेको लोकतान्त्रिक शक्ति प्रतिपक्षमा बस्नेछ भने अव वाममोर्चाभित्र सत्ता समीकरण, शक्ति बाँडफाँडको प्रतिस्पर्धा हुनेछ । राजतन्त्रको अस्त भएपछि निरंकुशतन्त्रको अन्त्य भयो, प्रजातन्त्रको सूर्य उदायो भन्ने कुरा विगत १२ वर्षले गलत सावित गरिसकेको छ । यो आमनिर्वाचनमा जनसहभागिताले प्रजातन्त्रकै पक्षमा मतदान गरेको छ । त्यो जनबललाई वामपन्थी सिद्धान्तको साँचोमा ढालियो र प्रजातन्त्रलाई गौण पारियो भने, वामपन्थीको अराजकता उत्पादन गर्ने कारखाना त्यही हुनपुग्नेछ । वाम मोर्चाले प्राप्त गरेको जनादेशमा राष्ट्र, सुशासन, स्वाधीनता र समानता प्रष्ट देखिनुपर्छ । अन्यथा वाम मोर्चाको ओरालो यात्राको प्रारम्भबिन्दु अन्यत्र खोज्नुपर्ने छैन । मुसल वाम मोर्चाभित्रै गर्भधारण गर्नेछ र अर्को महाभारतको सृष्टि वाम मोर्चाकै कोखबाट जन्मने छ ।

यतिखेर विश्व समाचारका दुई विषय छन् ः हृयारी पोर्टर पुस्तक र नेपालमा लोकतान्त्रिक शक्तिको हारसँगै वाम मोर्चाको चुनावी विजय । वाम मोर्चा जनयुद्धकारी र प्रजातान्त्रिक अभ्यास गरिरहेको दुई वामशक्तिको संगठन हो । यसको एकताका कुरा पनि चर्चामा छ । यी दुबै शक्ति पटक पटक सत्तामा गए, संविधानमा अटाए, चुनावमा विजयी बने, एकपछि अर्को तिलस्मी घटनाक्रम भइरहेका छन् । वाम मोर्चा पेण्डोराको बाकस सावित नहोस्, जनअपेक्षा पूरा गर्न ल्याकत र ताकत देखाओस् भन्ने कामना गर्नु उचित हुनेछ ।

खेलको नियम हुन्छ, राजनीतिको सिद्धान्त हुन्छ, राज्य विधिमा चल्छ । प्रजातन्त्रको सुन्दरता भनेकै यही हो । यो सुन्दरतामा आँखामा गाजल सुहायो भन्दैमा मुखभरि गाजल पोत्ने काम वाम मोर्चाले ग¥यो भने चुनावबाट उदाएको सूर्य कालाम्मे बन्नेछ । जनादेशको अपमान हुनजानेछ । यो यथार्थ वाम मोर्चाले हेक्का राख्न जरुरी छ ।

केपी ओली र प्रचण्ड सूर्य उदाए झैँ उदाएका छन्, सूर्यको राप र तापको लोकतान्त्रिक तरिकाले सदुपयोग गरून् । हार्दिक बधाई छ ।

[email protected]


Views: 54