20th January | 2018 | Saturday | 7:19:54 AM

आदर्श लोकतन्त्रको मान्यता

प्रदीप उप्रेती   POSTED ON : 2018-01-05 08:04:01

आदर्श लोकतन्त्रको मान्यता

विधिको शासन पद्धतिलाई मूलरूपमा विश्व समुदायलगायत नेपालले लोकतन्त्रलाई आत्मसात गर्दैै आइरहेको छ । तसर्थ सम्बन्धित मुलुकको मूल कानुन अर्थात् संविधानले प्रदान गरेको नागरिक स्वतन्त्रता एवं मौलिक हकअधिकारलाई समाजमा प्रतिस्थापन गर्नको खातिर भयरहित वातावरण निर्माण गर्दै जानुपर्ने आवश्यक भएको छ । सामान्यतया नागरिक सुरक्षाको पूर्ण प्रत्याभूति नै आदर्श लोकतन्त्रको मूल्य, मान्यता एवं सिद्धान्त हो । मूल सिद्धान्तको जगमा उठेर नागरिक समाजको हितका खातिर विभिन्न कार्य गर्ने गरिन्छ ।

यसको विपरीत त्रासउन्मुख परिस्थिति निमार्ण गरेर नागरिक समाजमा विद्यमान शान्ति तथा अमनचयनमा बाधाअवरोध उत्पन्न गर्ने काम बेलाबेलामा हुँदै आएको छ । यसरी समाजमा भयको वातावरण तयार गर्दै राज्य पक्षलाई बाध्यात्मक अवस्थामा सीमित तŒवबाट सञ्चालन हुँदै आएको अराजक गतिविधिलाई लोकतन्त्रको नाम दिन सायद सकिँदैन र यसरी समाजको रूपान्तरण गर्न सकिन्नँ । तर हालको वातावरण हेर्दा लाग्छ, सबै यसैमा प्रयत्नरत छन् । ध्वंसात्मक एवं अराजक संस्कृतिलाई कथित लोकतान्त्रिक चरित्रको संज्ञा दिन सकिँदैन । यदि यसो हुन्छ भने मुलुकलगायत विश्व जनमतलाई भ्रमित तुल्याउने चेष्ठामात्रै भएको मान्न सकिन्छ । 

आपराधिक मनोवृत्तिले भरिपूर्ण क्रियाकलापलाई विश्व जनसमुदायबाट मान्यता प्राप्त गर्न सक्षम भएमा यसले मुलुकलाई अधोगतितिर लैजान सक्छ । तर के यसरी यस्तो समूह लोकतन्त्रको हिमायती हुनसक्छन् ? यो विडम्बनापूर्ण व्यवहारले राज्य पक्षलाई अप्ठ्येरो पर्नु स्वाभाविक हुन्छ । यदि यस्तै हुने हो भने मुलुकमा निरंकुशताको विजारोपण हुने सम्भावनालाई नकार्न सकिँदैन । मुलुकमा केही समययता देखिएका यसप्रकारका घटनाले यस्तै देखाएको छ । कतिपय प्रतिनिधि घटना नभएका होइनन् ।

पछिल्लो समयमा अराजक समूहद्वारा सञ्चालित यस प्रकारको व्यवहारले अन्ततः लोकतन्त्रको उपहास हुने निश्चित छ । कथमकदाचित आफ्नो समूहबाट गलत अभिष्टहरू पूरा नहुने अवस्था आएमा आपराधिक समूहलाई सामेल गराउन किञ्चित पछि नपर्ने विश्वव्यापी प्रचलन देखिँदै आएको छ । यस प्रकारका दुःखदायी घटनाको शिकारको चपेटामा बेलाबखत नेपाल नपरेको होइन् । तर यस्तो कार्यले मुलुक र लोकतन्त्रको हित नगर्ने सबैले बुझेका छन् । कसैले किनारा लगाउन सकेका छैनन् ।

समाजमा व्याप्त त्रासका कारण नागरिक समाजले नचाहँदा नचाहँदै अराजक समूहका क्रियाकलापमा मौन समर्थन गर्नुपर्ने अवस्था आउँछ । तद्परान्त नागरिक स्वतन्त्रताको नाममा राज्य पक्षसँग अराजकतालाई साटने प्रयास गरिन्छ । यदि ध्वंसात्मक क्रियाकलापलाई समाजमा साट्ने यथोचित अवसर मिलेन भने व्यापक रूपमा जनधनको क्षति हुने सम्भावना नकार्न सकिँदैन । तसर्थ मानवीय क्षति न्यूनीकरणका अतिरिक्त लोकतन्त्रको मूल्य र मान्यताप्रति पर्नसक्ने गम्भीर खतरालाई हृदयगम गर्दै अराजक समूहसँग असान्दर्भिक सम्झौता गरी, उनीहरूको असंवैधानिक माग पूरा गर्नुपर्ने परिस्थिति सिर्जना भएका उदाहरणहरू विश्व समुदायमा नदेखिएको होइन । गैह्रसंवैधानिक कदमहरूले लोकतन्त्रको न्यूनतम मूल्य र मान्यतालाई कुण्ठित गर्दै अघोषित रूपमा अराजकतालाई प्रोत्साहित गरेको हो भन्दा फरक नपर्ला । 

यस्ता क्रियाकलाप दलीय आधारमा होस् वा अन्य कुनै आधारमा, ती आपराधिक समूहकै गतिविधिकै कारण वृद्धि हुनगए मुलुकमा चरम अतिवादको विकास हुने निश्चित छ । यदि समयमै मुलुकको कानुनद्वारा यसलाई पूर्णनियन्त्रण गर्न सकिएन भने अवस्था जटिल हुनजान्छ । हालको परिवर्तीत परिवेशमा त अझ धेरै चनाखो हुनपर्ने हुन्छ, किनकि संघात्मकस्वरूपमा नागरिक समुदायका असंख्य मागलाई बेलामै सम्बोधन गर्नु राज्यको मूल दायित्व हुनजान्छ । तर त्यो सम्बोधन हुन सकेन भने अराजक समूह हावी हुने र अवस्था नियन्त्रणभन्दा बाहिर जानसक्ने हुन्छ । तसर्थ देशको सुरक्षासँग प्रत्यक्ष सम्बन्ध राख्ने विषयलाई नजरअन्दाज गर्नु न्यायोचित हुन्न ।

लोकतन्त्रको नाममा बेलाबखतमा हुँदै आएको अराजक गतिविधिलाई न्यूनीकरण गर्न राज्यले विशेष ध्यान पु¥याउनु अहिलेको आवश्यकता हो । ध्वंसात्मक गतिविधिमा रमाउन चाहने समूहलाई राज्यले कडा कारबाही आवश्यक छ । खासमा राज्यले वा सरकार अनि यसका विभिन्न संयन्त्रले रत्तिभर विचलिन नभई आफ्नो कार्य गर्नु लोकतन्त्रको रक्षा गरिएको महŒवपूर्ण कार्य मानिन्छ । यदि अराजक र ध्वंसात्मक गतिविधि गर्ने समूूहलाई लोकतन्त्रको नाममा छुट दिँदै जाने परम्पराको विकास हने हो भने समग्र मुलुकको विकास निर्माणले उल्टो गति लिनसक्छ । यो अवस्थामा विकासका दरहरूमा न्यूनता छाउने र आउँदो कैयौं दशकसम्म मुलुकमा स्थायित्व, शान्ति तथा आर्थिक समृद्धिमा ह्रास आउने निश्चित छ ।

शान्तिपूर्ण वातावरणमा यदि धमिलोपनको आभाष हुन्छ भने त्यस अवस्थामा लोकतन्त्रमाथि खतराको सम्भावना देख्न सकिन्छ । सम्भावित यस अवस्थालाई चिर्दै लामो समयको अन्तरालमा लोकतन्त्रले आफ्नो सही गन्तव्य निर्धारण गर्दै सफलताको पथमा अगाडि बढ्न लागेको वर्तमान परिवेशमा लोकतन्त्रको संरक्षण गर्नु जरुरी छ । यस प्रकारको वातावरण निमार्ण गर्न सम्बद्ध पक्ष असक्षम रहेको खण्डमा मुलुकमा अशान्तिको विजारोपण हुने सम्भावनालाई नकार्न सकिँदैन । कतिपय राजनीतिक मुद्दाहरू समाधानका लागि हालसम्म गरिएका प्रयासले सार्थकता पाउन सकेको छैन । 

लोकतन्त्रलाई संस्थागत गर्ने बहानामा अराजकतालाई कदापि प्रोत्साहित गर्न हुँदैन । यस्ता गतिविधिले अघोषित रूपमा लोकतन्त्रको आवरणमा ध्वंसात्मक कार्यलाई संस्थागत गर्ने प्रवृत्तिलाई मद्धत गर्दै जान्छ । यस्ता कदम लोकतन्त्रको मूल्यमान्यता तथा आर्दश विपरीत मानिन्छ । तसर्थ लोकतन्त्रमा अराजकता लाद्न प्रयत्न गर्नेलाई कारबाहीको दायरामा ल्याउनु सर्वाधिक महŒवको काम मानिन्छ । आम नागरिक समुदायको पूर्ण सुरक्षाको प्रत्याभूति प्रदान गर्न लोकतन्त्र सक्षम रहन्छ भने अराजकतामा तिरस्कारबाहेक केही प्राप्ति नहुने हँुदा मुलुकको संविधानतः प्रदान गरिएको नागरिकका सम्पूर्ण हकअधिकार कुण्ठिन हुन सक्छ । यस विषम परिस्थितिमा हरेकले लोकतन्त्रको रक्षार्थ क्रियाशील रहनु जरुरी हुनजान्छ । यसका अतिरिक्त देशको विकास तथा विस्तारका लागि अराजक गतिविधि विष वृक्ष समान भएको हुँदा यस्को निर्मूल नै संस्थागत लोकतन्त्रको जर्गेना हो भनिरहँदा गलत ठहरिन्न । लोकतन्त्रले नागरिक सुरक्षाको प्रत्याभूति दिँदै मुलकबाट अराजकतालाई क्रमशः प्रतिस्थापन गर्दै स्थायित्व, शान्ति, तथा नागरिक अधिकारको रक्षार्थ अहोरात्र दत्तचित्त भएर लाग्नेछ ।