22nd April | 2018 | Sunday | 11:32:47 AM

चारमिनारकी भाग्यलक्ष्मी

डा. नवराज खतिवडा   POSTED ON : Saturday, 06 January, 2018 (12:27:38 PM)

चारमिनारकी भाग्यलक्ष्मी

हामी सात जनाको समूहमा थियौँ । आधा दिनका लागि सवारीसाधन भाडामा लिएका थियौँ । चारमिनारको बिसौनी पुगेपछि चालकले छैठौँ इन्द्रिय सतर्क गराए । उनले टुटे फुटेको हिन्दीमा भने– होश गर्नू, पाकेटमारले सफाचट पारिदिन सक्छ ¤

चालकको आहृवानले मेरो ध्यान साथमा भएका बहुमुल्य सामानमा गयो । भर्खरै ‘एस बैँक’ को एटिएमबाट दश हजार दाम निकालेको थिएँ । मेरो आधुनिक थैली अर्थात वालेटमा तीनवटा बैँकका भिसा कार्ड थिए । मैले पछाडिको खल्तीबाट वालेट अगाडि सारेँ । 

रात्रिको आठ बजेको थियो । बत्तीको झिलिमिलीमा जगमगाएको चारमिनार हाम्रो सामुन्ने थियो । चारमिनार दक्षिण भारतको तेलंगना प्रदेशको राजधानी हैदरावादको प्रसिद्ध पर्यटकीय स्थल रहेछ । चारमिनारको अर्थ ‘चार स्तम्भ’ रहेछ, चारवटा विशाल खम्बामा उभिएको भवनजस्तो विशाल संरचना । भवनका चार कुनाबाट उम्रिएर आकाशिएका चारवटा स्तम्भ यो भव्य स्मारकका आकर्षण रहेछन् । चारवटा सडकको मिलन बिन्दुमा बनाइएको यो स्मारकको पहिलो तलामा एक मस्जिद रहेछ । हामी चारमिनारलाई दाहिने पारेर एक फन्को मार्न अघि बढ्यौँ । 

‘सूर्यसरको पछि चन्दा, चन्दाको पछि निर्मल गर्दै सबै एक लहर बनाएर हिँड्ने । यसो गरे हराइँदैन ।’

मेरो आदेशको पालना भयो । 

सूर्यसर र मबाहेक टोलीका अरू पाँच जनाका लागि भारत भ्रमण नौलो थियो । समूहका सुवास, निवेश र पुष्पाले भारतमा केही लामो यात्रा गरेका रहेछन् । बाँकी रक्सौल र जोगबनीसम्म पुगेका रहेछन् । यो जानकारीले कुनै जमानामा सुनेको संसार घुम्ने एक सुत्र सम्झायो– हिन्दुस्तान एक्लै घुम्न सक्ने आँटीले ससार सजिलै घुम्न सक्छ ।

घुमेकै भए पनि नयाँ ठाउँ र नयाँ परिवेशमा सतर्क हुनै पर्छ । पाकेटमारले ‘यो घुमेको रहेछ वा लालबुझक्कड रहेछ, यसको पाकेट अहिलेलाई नचलाऊँ’ भन्दैन । 

हामी चारमिनार वरिपरि जम्मा भएका हजारौँ नरनारीको हुलमा मिसिएका थियौँ । कालो बुर्का लगाएरका मुस्लिम महिलाहरू बाक्लै देखिन्थे । काला पहिरनले छोपिएका ती नारीहरूतिर संकेत गर्दै चन्दा र पुष्पालाई भनेँ– कति भाग्यमानी तिमीहरू ¤ टाइट पाइन्ट र बुट लगाएर हिँड्न पाएका छौ, तिम्रा समकक्षीसँग आफूलाई तुलना गर र जीन्दगीमा गर्व गर ।

सडक किनारा खुद्रा पसलले भरिएका थिए । मैले बिहान विकिपिडियामा चारमिनारबारे पढेको थिएँ । प्लेगको माहामारीले आक्रान्त भएको शहरलाई हैदराबादको नयाँ नाम दिँदै सुल्तान कुतुव शाहले चारमिनारको जग शिलन्यास गरेका थिए अरे । ग्रेनाइट, चुनढुंगा र सिंगमरमरले बनाइको यो प्राचीन स्मारक लगभग चार सय वर्ष पुरानो मानिँदो रहेछ । सम्राट कवि पनि भएकाले शिलान्यास गर्दा उनले कविताको रूपमा यस्तो भनेका थिए अरे– हे अल्लाहा ¤ यो मेरो शहरलाई नदीलाई माछाले भरिदिए जस्तै मान्छे मान्छेले भरिदिनू ।

सूर्यसर एकाएक मूल बाटो छोडेर दाहिने मोडिनुभयो । हामीले पिछा ग¥यौँ । अव हामी मान्छेको कम घनत्व भएको ठाउँ मूल सडक र चारमिनारको मध्यवर्ती क्षेत्रमा थियौँ । अचम्म भयो । हामी त एक भव्य मन्दिरअगाडि आइपुगेका थियौँ । मन्दिरको सिरानमा हिन्दीमा लेखिएको थियो– श्री भाग्यलक्ष्मी मन्दिर, चारमिनार । 

अंग्रजी र अन्य एक भाषामा पनि यो शीर्षक लेखिएको थियो । शीर्षकको दाहिनेतिर गणेशजीको तस्विर थियो, देब्रेतिर सरस्वतीको र बीचमा लक्ष्मीको । यो मुस्लिम समुदायको तीर्थस्थलमा एकाएक उदाएकी लक्ष्मी देख्दा सयपत्री टिप्न वगैँचामा जाँदा पारिजात भेटिएको अनुभूति भयो । म दर्शन गर्न तम्सिएँ । फूलै फूलले सजिएकी, आँखामा गाजल, ओठमा रातो लिपिस्टिक, देब्रे नाकमा कालो फुली, नाकमा दाहिनेपट्टि नत्थी, कानमा सुनका झुम्का, आज्ञाचक्रमा वृत्ताकार रातो टीका, निधारमा अर्को रातो टीका र शीरमा मुकुट– यस्ती साक्षात देवीको दर्शन पाउनुलाई मैले आफ्नो अहोभाग्य सम्झेँ । भाग्यलक्ष्मीको दर्शन मेरो जीवनकै पहिलो अवसर थियो । मैले झल्याँस्स काठमाण्डू विश्वविद्यालयको प्रांगणकी सरस्वतीदेवी सम्झेँ । जसको अनुहारमा देवीको रूपअनुरूपको आभा नभएजस्तो लाग्छ । ती मूर्तीकारलाई यहाँ ल्याएर भाग्यलक्ष्मीको मुस्कान देखाउन मन लाग्यो । 

मैले सूर्यसरलाई सोधेँ– भाग्यलक्ष्मी देवीको यो मुस्कान सरलाई कस्तो लाग्यो ?

‘भव्य, मोनालिसा मुस्कान जस्तो ।’

यसो भनेर वहाँ पनि भाग्यलक्ष्मी देवीझैँ मुस्कुराउनु भयो । 

झट्ट हेर्दा गम्भीर मुद्रा जस्तो र अलिक गहिरिएर हेर्दा मधुर मुस्कान देखिने यो मूर्तिका शिल्पकारलाई मैले नमन गरेँ । वास्तवमा मेरो अगाडि उनको कल्पना मुस्कुराइरहेको थियो । 

चारमिनारको नामले नयाँ दिल्लीको कुतुवमिनारको झल्कोसँगै आगराको ताजमहलको पनि सम्झना दिलाउँदो रहेछ । मुगल सम्राट साहजाँहले मुमताजको सम्झनामा प्रेमको प्रतीक निर्माण गरे । त्यसलाई ताजमहल भनियो । यस्तै, सुल्तान कुतुव शाहले हरिजन समुदायकी चेली भाग्यवतीको सम्झनामा चारमिनार निर्माण गरेका रहेछन् । कुतुव शाहले भाग्यवतीको दर्शन पाएकै ठाउँमा चारमिनार बनाएका हुन् भन्ने किंवदन्ती रहेछ । धर्म परिवर्तन गरेर हरिजन युवती मुस्लिम भइछन् । सम्राटकी रानी हुने शौभाग्य पाएकाले ती नारीलाई भाग्यवतीको नाम दिइएको हुनसक्ने अनुमान गरेँ । मुसलमानको आस्थाको केन्द्रमा यसरी हिन्दु मन्दिर हुनु अपत्यारिलो र अनौठो हुने नै भयो । नेपालमा पनि कतिपय धार्मिक स्थलमा हिन्दु देवीदेवता र बुद्धका मूर्तिहरू एकै परिसरमा राखिएका छन् । 

‘ठोस फोहोरमैला व्यवस्थापन’ विषयमा आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन सूर्यसर र म (सुनजोडी) स्नातकोत्तर तहका छ जना विद्यार्थी लिएर हैदरावाद गएका थियौँ । सम्मेलनमा विद्यार्थीका चार र सुन जोडीको एक गरी पाँच प्रस्तुति नेपालको तर्फबाट थिए । नेपालको सीमाबाहिर नटेकेका विद्यार्थीहरूका लागि संसार भरका अध्येताहरूसँग भेट गर्ने यो सुनौलो अवसर थियो । सम्मेलनका गतिविधमा कसरी परिणाममुखी हुने भन्ने विषयमा हाम्रो निर्देशन पाएकाले उनीहरूको हौसला बढेको थियो । विद्यार्थीलाई हँसाई हँसाई ब्रहृम खुल्नेगरी ज्ञान दिने सूर्यसरको शैलीले त्यहाँ पनि अवसर पायो । हाम्रो समूहका एक प्रस्तोताले सबै श्रोतासँग आँखा जुधाउन सकेनन् । अधिकांश समय उनी एक दुई जनामा केन्द्रित भए । उनको प्रस्तुति सकिएपछि सूर्यसरले सोध्नुभयो– तिमीले किन एउटी युवतीलाई मात्र हेरेको ?

प्रस्तोताले चुप रहे । सूर्यसरको पारो अलिकति चढ्यो । 

‘एउटीलाई मात्र हेरेपछि त्यसले मानिन भने तेरो गति के हुन्छ ?’

हामी सभाकक्षै थर्किने गरी हाँस्यौ । 

हामीले ढाकाकपडाले बनेका केही उपहार लगेका थियौँ । सम्मेलन आयोजक प्राध्यापक सज्जन घोष, बंगालादेशको खुल्ना विश्वविद्यालयका उपकुलपति प्राध्यापक आलमगिर, थाइल्याण्डका प्राध्यापक भिसु लगायतलाई हार्दिकता साथ लगाइदियौँ । 

‘तपाईंको लागि र यो तपाईंको उपल्लो आधा अर्थात बेटर हाफका लागि यो ।’ मैले अंग्रेजीमा भने । 

सूर्यसर धुरा पस्दै भन्नुभयो– यु मेड अ मिस्टेक । इट इज नट बेटर हाफ, इट इज नाइन्टी परसेन्ट ।

आफ्नो अर्धाङ्गिनीको प्रशंसा कसलाई राम्रो लाग्दैन र ¤ एक हिसाबले हेर्दा हाम्रा धर्मपत्नीहरू हाम्रालागि आधाभन्दा बढी नै हुन् । सूर्यसरको हस्यौलीभित्रको मर्म जसले पनि बुझ्न सक्थ्यो । उपहार पाउनेहरू दंग परे । 

त्यस दिन दिउँसो हैदरावादको प्रसिद्ध संग्रहालय भ्रमणबाट अनौपचारिक गतिविधि शुरू भयो । राजा महाराजा अर्थात नाजिमहरूले उनीहरूका हुकुमतमा प्रयोगमा ल्याएका सरसामान, हतियार र आभूषणहरूको संग्रह रहेछ । गिनिज बुकमा सूचीकृत सुल्तानकी बेगमको लुगा राख्ने दराज पनि देखियो । 

संग्रहालयपछि हैदराबादका प्रसिद्ध खरिद केन्द्रहरूमा गयौँ । मैले मोतीका दुईवटा हार किने । सूर्य सरले त्यहाँ पनि रमाइलो सिर्जना गर्नुभयो । साहुजीले हाम्रो समूहका केटाहरूलाई भने– आप लोग भी कुछ ले लिजिए ।

‘इन लोगोँका शादी नहि हुआ है ना । इसीलिए ये लोग खालि फोटो लेगेँ ।’ सुवास रयुगदीतिर देखाउँदै सूर्य सरले भन्नुभयो । 

क्यामेरा जडित मोवाइल फोन त जोसँग पनि हुन्छ तर सुवाससँग साँच्चै राम्रो क्यामेरा नै थियो । 

हाम्रा पथप्रदर्शक चालकले अत्तर पाइने पसललाई हाम्रो दोस्रो गन्तव्य बनाइदिए । किसिम किसिमका अत्तर र आवश्यकताअनुसार सानो बोतलमा खन्याएर पनि बेच्ने चलन रहेछ । स्प्रे गर्ने सुविधा पनि राख्न मिल्ने रहेछ । कोसेली स्वरूप केही किनेँ । 

मोती पसलमा सामानको न्युनतम र अधिकतम मूल्यको जानकारी लिएको थिएँ । भारु एक हजारदेखि लिएर १५–२० लाखसम्मका सामान उपलब्ध रहेछन् । चारमिनारमा हात हातमा बोकेर ल्याएका मोतीहारको दाम सुनेर म छक्क परेँ । मोल मोलाई गर्दा एउटाको भारु सयमा पनि पाइयो । मैले आँखा चिम्लेर तीन वटा हार किने । 

सूर्यसरले एउटा मोती व्यपारीलाई तानेर साउती गर्नुभयो । 

‘दो बिबियाँ हैँ, थोडा और कम करो ।’

व्यापारी मजैले हाँस्यो । उसको कालो अनुहारमा सेता दाँत टल्किए । अर्को व्यापारी आयो । हारको दाम घट्न थाल्यो । 

चन्दाले भनिन्– लौ सर ¤ हजुरले सयमा लिएको हार त यसले सयको तीनवटा दिन्छु भन्छ ।

चन्दा र पुष्पाले पछिल्लोसँग किने । पहिलोले मलाई एउटा थपिदियो । यो मेरो लागि नौलो अनुभव थियो । चारमिनारको बजार अर्थशास्त्र बुझ्न हामीलाई हम्मे परेको थियो । 

हैदरावादमा सम्मेलनस्थल त्यहाँको प्रसिद्ध कृषि विश्वविद्यालय परिसरमा थियो । परिसरको फैलावटले मलाई आश्चर्यचकित बनायो । धेरै मुलुकका विश्वविद्यालय भ्रमण गरेको छु तर घुमेका मध्ये यो अहिलेसम्मकै विशाल लाग्यो । त्यहाँको अतिथि गृह मैले स्नातक तह पढेको राँचीको विरला प्राद्यौकिक अध्ययन संस्थान जस्तै रहेछ । मलाई तीन दशकअघिको सम्झनाले भावुक बनायो । 

हाम्रा विद्यार्थीहरू फर्कने टिकट रेलकै थियो । सूर्यसर र म भने हवाई मार्गबाट कलकत्ता आउने योजना थियो । 

कलकत्तामा हामी हिन्दुस्तान पार्कको ५५ बी नामको अतिथि गृहमा बस्यौँ । भोलिपल्ट एउटा उबर लिएर विमानअड्डाका लागि प्रस्थान ग¥यौँ । ब्रिटिशको समयदेखिको प्रख्यात यो शहरका सडकमा अम्बेस्याडर कार र प्राचीन युगीन ट्रामले हाम्रो ध्यानाकर्षण ग¥यो । 

सडक खुला थियो, गाडीको लहर पालतो । म पछाडि बसेर ल्यापटपमा टाइप गर्न थालेँ । सूर्यसर र चालकको संवाद जस्ताको तस्तै उतार्ने विचार आयो । सूर्यसर बोल्न थाल्नुभयो– मेरे पास भी अम्बेस्याडर जैसा ही पुराना मारुती कार है ।

‘हाँ जी ।’

‘एक बार मेरी बिबी बोले– गाडी पुराना हो गया, नये खरिद क्यो नही करते हो । मैने जवाफ दिया– बात तो सही है लेकिन क्या करुँ, पुराना चिज तो मेरे पास और भी है ।’

चालक हाँस्यो । सूर्यमान शाक्यसरसँग प्रत्युपन्न बुद्धिको खानी छ । मैले यो वाक्य मनमा दोहो¥याएँ । कुराकानी जारी रहृयो ।

‘ये क्या बन रहा है ?’ 

‘मेट्रो बन रहा है, साहब ।’

‘उपर क्यो बन रहा है ?’

‘कलकत्तामे तो अन्दर नदी है ना साहब ।’

मैले अनुमान गरेँ । भूमिगत मेट्रोको अनुभवले होला अहिले आकाशे मेट्रो बनेको । चालकले ठीकै भनेको थियो । 

हामीले आधा बाटो तय गरिसकेका थियौँ । मुख्यमन्त्री ममता बेनर्जीले हात जोडेर अभिवादन गरेको ठूलो कदको तस्विर देखियो । अब संवादमा ममताको कार्यसम्पादन क्षमताले प्रवेश पायो । 

‘दिदी ने गरिबका हक मार दिया ।’

चालकले गम्भीर भएर भन्यो । उसको इशारा टाटा स्टिल र मारुतीको कम्पनीले पश्चिम बंगालमा स्थापना गर्ने योजना बनाएका कारखानाहरूतर्फ थियो । जसलाई ममताले अस्वीकार गरेकी थिइन् । त्यसपछि तिनले भारतका अन्य राज्यमा त्यस्ता ठूला कारखाना खोलेका थिए । त्यस्तो एउटा कारखानाले मात्र हजारौँलाई रोजगारी दिन सक्छ र अर्थतन्त्रलाई ठूलो टेवा दिन्छ । 

सफा सडक, निर्माण पूरा भएको हवाईअड्डा र म्यारिबोट जस्ता अन्तर्राष्ट्रिय होटलको आगमनले कलकत्ता निद्राबाट बिउँझेको अनुमान मैले गरेँ । 

सूर्यसरले अध्यागमनमा पनि एक जना सुरक्षाकर्मीलाई मजैले हसाउँनुभयो । वहाँ मभन्दा अघि हुनुहुन्थ्यो । हाम्रा हातमा बोर्डिङ कार्ड थिए । बोर्डिङ कार्डको पछाडिको भागमा पहेँलो सारीमा सजिएकी चर्चित भारतीय नायिक प्रियंका चोपडाको तस्विर रहेछ । हट्टाकट्टा शरीका सुरक्षाकर्मी गम्भीर मुद्रामा थिए । वहाँले प्रियंकाको तस्विर माथि पारेर कार्ड दिँदै भन्नुभयो– दुसरी तरफ नही इस तरफ देखो ना ।

सुरक्षाकर्मी मुस्कुराए । मैले कल्पना गरेँ– मैले पनि यो तरिका सोच्न सक्थेँ तर बुद्धि आएन । 

यसपालिको भारत यात्राको अन्तिम चरणमा थियौँ हामी । सुन जोडीको अर्को सुन्दर विदेश यात्राको कल्पना गर्दै म प्रष्ट देखिएका हिमालमा हराएँ ।