20th January | 2018 | Saturday | 7:16:52 AM

पुस्तक पैताला : एक खोजी

बाबु त्रिपाठी   POSTED ON : 2018-01-06 05:33:16

पुस्तक पैताला : एक खोजी

डियर गनेस !

झोलामा पैताला बोकेर हिँडेको धेरै भयो । 

उनलाई खोज्दै पूरै पशुपति चहारेँ । कैलाससम्म पनि पुगेँ । ती गाँजा बेच्ने बाबा अचेल हराएछन् । पुलिसले पक्रेर पो लग्यो कि ¤ लीन पो भए कि ¤ बिरामी पो परे कि ¤ मलाई दिक्क लाग्यो । उनीसँग बसेर जिन्दगी र मोक्षका बारेमा अझै बात गर्ने रहर पुगिसकेको थिएन । उनको पैतालाको डोब पनि देखिनँ । बाबा कता गए भनेर कसलाई सोध्ने होला ? उनले बोक्ने झोलाको फिता चैँ त्यहीँ थियो ।

उनी बस्ने कुटीको पिँढी चैँ पुरानो, अझै पुरानो भइसकेको छ । बाँदरको बथानले टेकेको डोब अहिले त सुकिसक्यो होला । कुकुर आएर मस्त निदाउन थालेछन् । 

दिक्क मानेर फर्किएँ । ओरालो झर्दै गर्दा सिँढीमा बसेर चित्र बनाउने केटोको कलममा आँखा पुग्यो । र, उसले बनाएको चित्र टक्क अडिएको छ बडेमानको भित्तामा । शनिबारको दिन भए पो भीड हुनु । ऊ पनि आज खाली नै थियो । ऊ चैँ मान्छेको चित्र हुबहु बनाउँछ तर ढुंगामा उसले टेकेको उसको पैतालाको डोब छैन । सुख्खा ढुंगा र पानीमा पैतालाको डोब नबस्ने रहेछ । 

त्यतातिर मलिलो माटो छैन । बालुवा पनि छैन । पशुपतिप्रसादको भस्मे डनलाई सम्झिएँ । र, खोज्दै गएँ । तिनको आवाजले मलाई फेरि तान्यो । विडम्बना, भस्मेले पनि पशुपतिलाई छाडिदिएछन् । मुर्दा जलेर बाँकी रहेको काठ अब अर्कैले उठाउने गरेको छ । बालुवामा सिक्का पनि अचेल अर्कैले खोज्छ । पेन्सन पाकेछ भस्मेको पनि । 

वागमती धिमा गतिमा बगिरहेछ । वागमती पनि अचेल बिरामी परेको जस्तो लाग्न थालेको छ । वागमतीको ज्यानमा बल नभएको जस्तो लाग्छ । खै, बोकेर अस्पतालसम्म लैजानपर्ने हो कि जस्तो पनि लाग्न थालेको छ । दुब्लाउँदै गएको वागमतीको पैताला साउनतिर मोटाउला भन्ने आसा चैँ अझै बाँकी छ ।

भिआइपी लास नदेखेको पनि धेरै भइसक्यो । सयपत्रीको माला पनि खपत हुन छाडेको छ, दायाँ पटी बस्ने दिदीको गुनासो उस्तै छ । धुँवा कम देखिन्छ । 

इलेक्ट्रिकबाट लास जलाउने विधि आएपछि दाउराबाट जलाउनेहरू कम भेटिन थालेका छन् । दाउरामाथि लास बस्ने प्रथा कम हुँदै गएको छ । दाउरामाथि लास बस्दा लासको पैताला पनि गजबले देख्न पाइन्थ्यो । लकिर चैँ उही हो । ब्रहृमनाल पनि अचेल फुर्सदमै छ । 

लास पोल्ने ठाउँनिर बस्ने पुरानो तान्त्रिक पनि हराएको छ । कनफट्टाहरू चैँ कतै कतै अझै भेटिन्छन् । भिक्षाम देही अझै चलेको छ ।

हनुमानजीले पनि पेशा अर्कै अपनाइसकेछन् । हुन त ढुंगाका हनुमानजी छन्, तिनी बोल्दैनन् । तिनको पैताला पनि देखिन्न । अचेल त्यतातिर जान छाडेको छु । मोक्ष कतै छैनजस्तो लाग्छ । साँझको आरतीमा चैँ कहिलेकाहिँ पुग्छु । अनगन्ती पैतालाहरू उफ्रिन्छन् । र, फेरि घर फर्किन्छन् । मैले पनि त्यही गर्ने गरेको छु ।

आश्रम उस्तै जीर्ण बन्दै गएको छ । भत्कने अवस्थामा छ । आश्रमभित्र बस्ने बाआमाका पैतालाहरू अझै कमजोर हुँदै गएका छन् । कति बाआमाहरूले त आश्रममै जीवनको अन्तिम सास लिइसकेका पनि रहेछन् ।

किन जिन्दगी सोचजस्तो हुँदैन ? सोचिरहेछु । आश्रममा बस्ने कसका आमाबा होलान् यो पनि सोचिरहेछु । तिनका छोराछोरीका पैतालाहरू त्यतातिर किन मोडिदैनन् भन्ने पनि सोचिरहेछु । जिन्दगी बडो उदेकलाग्दो छ ।

झोलाको पैताला झोलैमा छ ।

सोच्न थालेको छु ।


बागबजार, जुन ठाउँको नाम हामीले राखिदियौँ दासढुंगा । खासमा त्यो भट्टी हो । त्यहाँ कवि, उपन्यासकार, गजलकारहरूका पैतालाहरू बाक्लै गइसकेका छन् । छानो र बनोट उही छ । शंकरदेवलाई गिज्याएर वारिपटि चुकुल नलाग्ने शौचालय बसिरहेको छ । चुकुल फेर्ने मान्छे नभएर होला भन्ठानेका छौँ । त्यहाँ पाँच थान साहुजी साउनीहरू फेरिए तर हाम्रो मन फेरिएको छैन । हुन त तेह्र सय उधारो भएको दिनदेखि हामी गएका छैनौँ । 

अचेल त्यो भट्टीमा पनि पुलिसले रेड हान्न थालेको छ । पुलिसका पैतालाहरूको आवतजावत बढी छ त्यता । साउजी त्यही भन्थे । अहिलेका साहुजी डोटीका हुन् । 

पहिला त्यहाँ बढी चल्ने भनेको तोङ्बा र छ्याङ हुन्थ्यो । त्यो बेच्न बर्जित छ अहिले । सिलप्याकचैँ बेच्न पाइन्छ । सिलप्याक बिनाको केही बेचियो भने साहुजीको पैतालाले थानासम्म दुःख पाउँछ । 

तपाईंलाई तोङ्बा र छ्याङ्को रुचि छ भने तपाईंको पैताला त्यहाँसम्म लैजान नसकिने भएको छ । सिलप्याक हो भने काठमाडौँ आएको  बेलामा दासढुंगामा एकचोटी तपाईंको पैताला पु¥याउने रहर छ । साँदेको चना र केराउ औधी मीठो गरी बनाइदिन्छिन् साउनीले । कागती नै हाल्छिन्, कस्सम ।

बाटो यता प¥यो भने सम्झनू ।

कार्की किचन छ गौशालामा । कविको किचन हो । त्यहाँ पुग्न पैतालाले गल्लीको बाटो समाउन पर्दैन । यो देशका नामी कवि लेखकहरू त्यहाँ नपुगेको को होलान् र ¤ उनीसँग पुरानो डायरी छ । त्यहाँ पुग्नुभो भने डायरीको कुरा उठाउनु होला । उनको डायरीमा २०२२ सालमा लेखिएको कविताले अचेलका कविहरूलाई गिज्याइरहन्छ । तर उनी भन्छन्–

कति लामो रहेछ

मेरो आयु

जन्मिने बित्तिकै 

मर्न भनेर हिँडेको मान्छे

अहिलेसम्म हिँड्दैछु ।

उनलाई उनको पैतालाले आजसम्म धोका दिएको छैन । त्यता पुगिहाल्नु भो भने उनको कविताको उमेर सोध्नू । र, उनको पैतालाको डोब यो देशले कुन कुन ठाउँमा गडेको छ, त्यो चैँ सोध्न नबिर्सनू । मान्छे माइडियर छन् तिनी पनि । चुस्की चैँ कम लगाउन थालेका छन् अचेल । बेला बेलामा बिरामी भई टोपल्छन् । भुटेको हरियो केराउ र तारेको आलुले तपाईंलाई खुब लोभ्याउँछ । बाटो यता प¥यो भने एकचोटि तपाईंको पैतालालाई दुःख दिनू ।

अलि यता अर्को जक्सन छ । जहाँ बढीभन्दा बढी तराई मूलका साथीहरू भेटिनुहुन्छ । बस्ने ठाउँ नभएर कहिलेकाहिँ चैँ उभिएर ठाउँ कुर्नु पर्छ । ती पैतालाहरू बढीभन्दा बढी त साउदी, कतार, अरबतिर जान हाम्फाल्नेहरू हुन् । सबको अनुहारमा तनाव देखिन्छ । सबको अनुहारमा टेन्सन देखिन्छ । पिएको बेलामा सरकारलाई गाली गर्नेहरू त कति हो कति ¤ 

ती साउदी कतारका लागि हिँड्न तम्तयार पैतालाहरूलाई यो देशको याद आउँछ कि आँउँदैन होला ¤ हुन त पैतालाले टेकेर गएकाहरू कफिनमा बसेर आएका पनि छन् । मलाई विपिन सलामीको यो सेरले अक्सर झस्काइरहन्छ–

आउने जाने सबै याद कहाँ हुन्छन्

मलाई हिँडेकै बाटो त याद हुँदैन


पासपोर्ट बोकेर साँझतिर थुप्रै दलालहरूका पैतालाले धुलो उडाइरहेका हुन्छन् त्यतातिर । क्या जिन्दगी ¤ जहाज उडेको उडेई गर्छ । दलालको ओहोरदोहोर उत्तिकै छ । साउदी कतारको लागि आउने जानेहरूको लस्कर उत्तिकै छ । क्या जिन्दगी ¤

यति चैँ भन्छु, त्यो जक्सन, त्यहाँभित्र पसेपछि अर्को सानो संसार छ । भुल्नेहरूले केही छिनको लागि भए पनि आफ्ना तनावहरू भुलेका छन् । जिन्दगी सहज बनाइदिन्छन् एकछिनलाई । 


यता गौशाला आउनु भो भने पसौँला । बसौँला । खानेकुरा चैँ बहुत मीठो पाइन्छ । तपाईंलाई कुखुराको पाङ्ग्रा कत्तिको मनपर्छ त्यो सोधेको छैन । चाख्नु होला ।

बिरामी निको भएर टुकुटुकु हिँड्दै घर फर्कियोस्  ।

कहिले काहीँ यस्तो नहुँदो रहेछ ।

अस्पतालको बेडमा अन्तिम सास फेरेपछि स्टेचरमा बसेर लासघरतिर गुड्दै आइपुगेका अघिका जिउँदाको मनमा के के कुरा खेलेथ्यो भन्ने जान्ने जिज्ञासा हुँदा हुँदै आफन्तहरूको आँखाबाट बगेको आँसु देख्न नसकेपछि हतार हतार झ्यालको पर्दा लगाउन पर्ने बाध्यता धेरैलाई पर्दोरहेछ । उज्यालो एकाएक अन्धकारमा परिणत हुँदोरहेछ । रुवावासी चल्दोरहेछ । पैतालाले जमिन छाड्न खोज्दो रहेछ । बस्न नसकिँदो रहेछ ।

हुन त तपाईंसँग धित मर्ने गरी बस्ने मेसो मिलेको छैन । खुब बात गरौँ । यो लागिरहेछ ।

हाँस्न र रुन हामीलाई अलि बढी मन पर्न थालेको छ । तपाईंलाई चैँ म बढी हाँसेकै देख्छु । एक दिन मेसो मिल्यो भने मज्जाले रुनुपर्छ ।

अलि अगाडिको सानो भेटमा भन्नुहुन्थ्यो– कतै टाढाको बस्तीमा एक्लै कुद्ने रहर छ । कुद्ने मेसो मिलेको छ कि छैन । छैन भने पैताला किन टक्क अडियो भेटमै सोधौँला ।

भन्नपर्ने सबथोक छुटेका छन् । भेटिनेहरू पनि एक न एक दिन छुटी जानेछन् भनेझैँ  यो छुट्नु अगाडि मेरो कालो झोलामा तपाईंको पैताला अझै कैद भइरहेछ । मलाई अरू थोकभन्दा पनि मेरो कालो झोला हराउला भन्ने बढी चिन्ता छ ।