23rd October | 2018 | Tuesday | 10:27:15 AM

कांग्रेसको पाँच वर्षे अग्निपरीक्षा

वीरेन्द्र कटुवाल   POSTED ON : Monday, 08 January, 2018 (4:34:48 PM)

कांग्रेसको पाँच वर्षे अग्निपरीक्षा


समानुपातिकको मत परिणाम हेर्दा पहिलो हुने निर्वाचित हुने प्रणालीमा  नेपाली कांग्रेसले यसपटक जुन लज्जास्पद पराजय भोगेको छ, त्यसको मुख्य कारण प्राविधिक नै हो । आजमात्रै होइन, हिजो पनि कांग्रेसले बहुमत ल्याउनुको र ठूलो पार्टी हुनुको कारण पनि प्राविधिक नै थियो ।  

अहिलेको प्रतिनिधिसभामा नेकपा एमाले र नेपाली कांग्रेसका सभासदहरू बीच ५८ जनाको फासला छ । नेकपाएमालेको तर्फबाट १२१ सांसद हुँदा कांग्रेसका ६३ जना हुनेछन् । यो निक्कै ठूलो फरक हो । तर, लोकप्रिय मत हेर्ने हो भने एमालेले ३५ प्रतिशत र कांग्रेसले ३४ प्रतिशत प्राप्त गरेका छन् । समानुपातिकमा एमाले एक जनाले मात्रै अगाडि छ ।

नेपाली कांग्रेसको लोकप्रिय मतको इतिहास हेर्ने हो भने, यो मत निराशाजन होइन । २०४८ सालदेखि अहिलेसम्मको आमनिर्वाचमा कांग्रेसले पाएको लोकप्रिय मतको प्रतिशत हेर्ने हो भने आमनिर्वाचन २०४८, २०५२ र २०५६ मा नेपाली कांग्रेसले क्रमशः ३८, ३३ र ३७ प्रतिशत मत पाएको थियो । पहिलो संविधानसभा २०६५मा कांग्रेसको मत २२ प्रतिशतमात्रै पायो भने दोस्रोमा ३० प्रतिशत । अहिलेको ३४ प्रतिशत मतलाई सम्मानजनक नै मान्नुपर्छ । 

यदि कांग्रेस र माओवादी गठबन्धन भएको भए एमाले अहिलेको कांग्रेसको ठाउँमा हुने थियो । कम्युनिष्ट पार्टीहरू बीचको यो अभूतपूर्व चुनावी एकता नै नेपाली कांग्रेसको पराजयको मुख्य र प्रविधिक कारण हो । विगतका निर्वाचको तुलनामा कांग्रेसको लोकप्रियता भने खस्किएकै छ । यो परिणामले कांग्रेसलाई गम्भीर पाठ सिकाएको छ । उसले यो पाठ कसरी ग्रहण गर्ला, त्यसमा उसको भविष्य निर्भर रहनेछ ।  

सिद्धान्ततः पार्टीका जस्तावेजहरूले आआफ्ना अडान, विचारधारात्मक मार्गदर्शन, पक्षधरता प्रष्टसँगले बोलेकै छन् । व्यवहारतः नेपालका राजनीतिक पार्टीहरूको अडान, विचारधारा र पक्षधरता कहिले, किन परिवर्तन हुन्छ भन्ने कुरा उनीहरू आफैलाई थाहा हुँदैन । शायद पद, पैसा र भोगविलासले उनीहरूको कार्यदिशा निर्धारण गर्दछ भन्दा अतिशयोक्ति नहोला ।

सम्भवतः यसपटक कांग्रेसले त्यसैको सजाय भोग्नुप¥यो । उता एमाले र माओवादी केन्द्रले चुनावी गठबन्धन बनाए । नत्र अहिलेको कांग्रेसको ठाउँमा एमाले र माओवादी हुने थिए । 

कांग्रेसले कम्युनिष्टहरू पनि मिल्न सक्छन् भन्ने कुरा पत्याएको थिएन । फलतः आजसम्म कम्युनिष्ट पार्टीहरूको विग्रह सुविधा लिइरहेको थियो । यसपटक उक्त सुविधा नेपालका पाएन । निश्चित थियो, यदि एमाले र माओवादी केन्द्रको गठबन्धन नभएर एक्ला एक्लै चिर्वाचनमा गएका भए ठूलो पार्टी भन्ने सुविधा फेरि पनि नेपाली कांग्रेसले नै पाउने थियो । 

हुनसक्छ यो कम्युनिष्ट गठबन्धन सम्भवतः अभूतपूर्व नै होला तर कम्युनिष्ट पार्टीहरूले प्राप्त गरेको यो मत अस्वाभाविक भने होइन । फरक के मात्रै हो भने, विगतका निर्वाचनहरूमा यो मत विभाजित हुन्थ्यो र त्यसको फाइदा कांग्रेसले लिन्थ्यो । नेपालका कम्युनिष्ट पार्टीहरूले निर्वाचनमा गठबन्धन बनाउने संस्कृति विकास गरे भने, कांग्रेस हरेक पटक पराजित हुन सक्नेछ ।  

अब कांग्रेस वामपन्थीहरूको विभाजनको फाइदा उठाएर, विपि कोइराला भनेर, प्रजातन्त्र, लोकतन्त्रको भजन गाएर र कम्युनिष्टहरूलाई निन्दा गरेरमात्रै ठूलो पार्टी बन्दैन । अब, नेपाली कांग्रेसले नेपालमा दीर्घकालीन राजनीति गर्ने र नसिद्धिने हो भने, सिद्धान्तअनुसारको व्यवहार र आचरण बनाउनै पर्छ । 

सिद्धान्त कुनै जडवस्तु होइन । सिद्धान्त गतिशील हुन्छ । २०६२–६३ को जनक्रान्तिमा कांग्रेस संवैधानिक राजतन्त्र अठ्याएर बसेको भए ऊ अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीसँगै हुने थियो । आवश्यकता प¥यो भने सिद्धान्तमा पनि रूपान्तरण गर्नुपर्छ देश र राष्ट्रको लागि । 

कांग्रेसले सिद्धान्त, व्यवहार र आचरणमा आमूल परिवर्तन गर्ने आँट गर्नुपर्छ । आगामी पाँच वर्षको अवधिमा यो अग्निपरीक्षा उत्तीर्ण गर्न नेपाली कांग्रेस र अन्य वैकल्पिक शक्तिहरूलाई निक्कै अप्ठ्यारो छ तर असम्भव भने छैन । नेपाली जनता जहिले पनि बलियो विकल्पको खोजीमा छन् । जनतले एमाले र माओवादी केन्द्रलाई उत्कृष्ट भएर भोट हालेका होइनन् । उनीहरूले भएमध्येको उत्कृष्ट विकल्प रोजेका हुन् । नेपालको राजनीतिमा उत्कृष्ट विकल्पको ठाउँ अद्यापि खाली छ । र, कमसेकम त्यो ठाउँ कम्युनिष्ट पार्टीहरूले पूरा गर्न सक्दैनन् । 

नयाँशक्ति र अन्य वैकल्पिक शक्तिहरूले त्यो खाली ठाउँ भर्न निकै मिहिनेत गर्नु पर्ला तर कांग्रेसले आफूलाई सुधार्ने हो भने त्यो सम्भव छ । आउँदो पाँच वर्षमा कांग्रेसले यो अग्निपरीक्षामा आफूलाई उत्तीर्ण बनाउन सक्छ यदि आफूलाई रूपान्तरण गर्नसक्ने हो भने । थोत्रा, ढुलमुले र अर्काको विचार बोकेर त्यो परीक्षा उत्तीर्ण गर्न सम्भव देखिँदैन ।  

नेपालका राजनीतिक पार्टीहरू आफ्नो सिद्धान्त त्यतिबेला सम्झन्छन् । कांग्रेस यस्तै पार्टी हो । जब कांग्रेसजनहरू पद, पैसा र सत्ताविलासमा हुन्थे उनीहरू आफ्नै पार्टीनेतृत्व आफ्नै सहयात्रीहरूलाई निर्वाचनमा हराउन र राजनीतिक जीवन सिध्याउन लागि पर्थे । आज नेपाली कांग्रेसलाई समयले यस्तो कठघरामा उभ्याएको छ कि उसलाई अस्तित्व रक्षा गर्नै धौधौ परेको छ । 

मैले नेपाली राजनीतिका कही पात्र र प्रवृत्तिलाई महाभारतका केही पात्र र प्रवृत्तिसित तुलना गर्ने गरेको छु । महाभारत महाकाव्यमा महाज्ञानी विदुर, अजेय योद्धा भीष्मपितामह, अस्त्र विद्याका पूर्णज्ञाता गुरु द्रोणाचार्य– दुशासनले काका, बाबु, गुरु, दाजुभाइहरूको सभाको बीचमा बुहारी द्रौपदीलाई नांगेझार पारेको टुलुटुलु हेर्छन् । र पनि महाभारतमा यिनीहरूलाई नै असलपात्रको रूपमा चित्रित गरिएको छ । खलपात्र भनेर अन्धा धृतराष्ट्र, दुर्योधन, कर्ण, शकुनी अथवा दुशासनहरूलाई चिनाइएको छ ।

भनिन्छ विदुरसित यति तागत र शस्त्रास्त्र थियो अरे कि, एक पलमा महाभारतको युद्ध खतम गर्न सक्थे । भीष्मलाई कसैले हराउनै सक्दैनथ्यो । द्रोणचार्य शस्त्रास्त्रका पूर्ण ज्ञाता भइहाले । तर, यी महामहिमहरू यति लाचार छन् कि दुशासनले भाउजु द्रौपदीको चीरहरण गर्दा एक चड्कन दिन पनि आँट गर्दैनन् । हामी अन्धभक्तहरू यी सबै कुरा जान्दाजान्दै पनि विदुर, भीष्मपितामह र द्रोणार्चालाई महान योद्धा र सत्यवादी भनेर पूजा गर्दछौँ । ठीक यही प्रवृत्ति नेपालको राजनीतिमा छ र सबैभन्दा बढी कांग्रेसमा छ । कांग्रेसमा धेरै खलपात्रहरू पूज्य छन् । 

खलपात्रको गुणगान गाउने कथित  लेखक र बुद्धिजीवीहरू पनि बग्रेल्ती छन् । तर, उनीहरूको गुणगानले कांंग्रेसको साख जोगाउन सकेन । किनभने त्यहाँ सत्यता थिएन । भ्रम थियो । छलकपट थियो । 

खुसीको कुरा, नेपाली कांग्रेसको पराजयको कालो बादलको वरिपरि प्रदीप गिरिको विजयको सेतो चाँदीको घेरा पनि चम्किरहेको छ । उनको गुण नेपाली जनताले चिनेका छन् । 

थाहा छैन, कांग्रेससको नेतृत्व र कांग्रेस बुद्धिजीवीहरूले प्रदीप गिरिको विजयलाई कसरी लिएका छन् । मलाई त यस्तो लाग्छ, नेपाली जनताले कांग्रेसका नेता अब प्रदीप गिरिजस्ता स्वच्छ छविका, सिद्धान्तप्रति निष्ठावान, जनताप्रति उत्तरदायी हुनुपर्छ भन्ने शिक्षा दिएको छ ।

वामपन्थीहरू फुट्नमात्रै जान्दछन् जुट्न जान्दैनन् भन्ने कथन यसपटक झुटा सावित भयो । साँच्चै नेपालमा वामपन्थीहरू मिले भने बहुमत ल्याउने थिए भन्ने जनताको चहाना पूरा भयो । र, साँच्चै बहुमत ल्याएर देखाइदिए । काम कस्तो गर्लान् हेर्दै जाऊँला । 

नेपाली कांग्रेसले अब कम्युनिष्ट पार्टीहरू विभाजित होलान् र हामी बहुमत ल्याऊँला भनेर गौँडो कुरेर बस्ने पार्टी होइन, सबै कम्युनिष्ट पार्टीहरूको विकल्प दिने सशक्त पार्टी निर्माण गर्न सक्नुपर्छ । कांग्रेसलाई शुभकामना छ । 


Views: 52