20th January | 2018 | Saturday | 7:20:38 AM

फेरिदो व्यावसायिक रणनीति र नेपाल

रिसव गौतम   POSTED ON : 2018-01-09 09:09:31

फेरिदो व्यावसायिक रणनीति र नेपाल

व्यवसाय सानो होस् अथवा राष्ट्रिय र बहुराष्ट्रिय नै किन नहोस्, आजको विश्वमा लक्षित उद्देश्य हासिल गर्न वस्तु, समय, प्रतिस्पर्धी र उपभोक्ताका आवश्यकतालाई ध्यानमा राखेर रणनीतिक ढंगले अगाडि बढ्नै पर्ने भएको छ । विश्वव्यापीकरण र बहुराष्ट्रिय कम्पनीहरूको संसारभर सघन विस्तारले व्यावसायिक चुनौतीहरू थपिँदै गएका छन् । संसारको जुनकुनै स्थानमा उत्पादित वस्तु तथा सेवा अन्य कुनै पनि स्थानमा उपलब्ध हुने स्थीति सृजना भएको छ । खासगरी सञ्चार क्षेत्रमा भएको अभूतपूर्व विकासले व्यावसायिक सम्भावना र चुनौती दुवै एकैसाथ निम्त्याएको छ । त्यतिमात्र नभई, विश्वका देशहरूबीच व्यावसायिक अन्तरनिर्भरताले आर्थिक, राजनीतिक, सांस्कृतिक सबैखाले वातावरणमा प्रत्यक्ष प्रभाव पार्दै लगेको छ । 

यसरी व्यावसायिक सफलताका निम्ति सामना गर्नुपर्ने आर्थिक, राजनीतिक, सांस्कृतिक तथा कानुनी वातावरणमा विश्वव्यापीकरणका कारण क्रमिक परिर्वतन देखापर्दै गएको छ । जस्तो ः नेपालमा उत्पादित वस्तु तथा सेवाले स्वदेशमै पनि खासै बजार नपाउनुमा विश्वव्यापीकरणका कारण भित्रिएको नयाँ खालको संस्कृति, लवाइ–खवाइ तथा परिवर्तित मनोविज्ञानले धेरै प्रभाव पार्दै लगेको छ । यसर्थ नेपाली व्यावसायीहरू विश्व अर्थव्यवस्थामा चुनौतीका रूपमा उदाएका यी अनगिन्ती परिर्वतनमा बेलैमा ध्यान पु¥याएर रणनीतिक ढंगले बजारमा प्रवेश गर्नुपर्ने आवश्यकता दिनानु दिन बढ्दै गएको छ । 

प्रतिस्पर्धात्मक बजारमा आफ्नो प्रतिस्पर्धी के गर्दैछ भन्नेमा अर्कोलाई सधैँ चासो हुने गर्छ । बजारमा जानुअघि आफ्ना योजना प्रतिस्पर्धीले थाहा पाए त्यसबखत पछि हट्नुको विकल्प रहँदैन । त्यसो गर्न नसकिए ठूलो नोक्सानी व्यहोर्नु पर्ने स्थिति आउन सक्छ । खुला बजारका नाममा अस्वस्थ प्रतिस्पर्धा चुलिँदै गएको वर्तमान विश्वमा त्यसबाट बच्न रणनीति निर्माण र कार्यान्वयनको सचेत प्रयत्न अपनाउनै पर्ने हुन्छ । खुला अर्थतन्त्रको आधार उद्यमशिलता, व्यावसायिकता र सिर्जनशीलता नै हो । नेपालमा समेत खुला बजारको नाममा अनगिन्ती विकृति मौलाँउदै गएको देखिन्छ । अहिले नेपाली बजारमा ‘कर्पोरेट जासुस’ को विकृति मौलाउनु त्यसैको बलियो उदाहरण हो । अहिले अन्य मुलुकझैँ नेपालमा पनि ‘इन्टरनेट हृयासिस’ (गुप्त सुचना चोरी ) शुरू भइसकेको छ । जस्तो ः अहिले मिडियाकै कुरा गर्ने हो भने पनि, कतिपय मिडिया हाउसहरूमा कार्यरत प्रभावशाली तथा पकडवालाहरूलाई राम्रो सुविधा दिएर अर्काले लाने वा ऊमार्फत प्रतिस्पर्धीको कमजोरी पत्ता लगाउने प्रवृत्ति छ । त्यस्ता कर्मचारीको बर्हिगमनसँगै ग्राहक, पाठक तथा बजारसमेत गुमेको हुन्छ । 

त्यस्तै, सरकारी कार्यालयहरूको कुरा गर्दा पनि नेपालका कतिपय व्यावसायिक घरानाहरूले सरकारी कर्मचारीमार्फत प्रतिस्पर्धीको गुप्तसूचना संकलन गर्ने गरेको पाइन्छ । त्यसबाट प्रतिस्पर्धीले कम्पनीले अर्काको भावी रणनीति र क्षमता आकलन गर्ने गरेका छन् । बाहृय मुलुकको सन्दर्भमा छिमेकी भारतमा पनि व्यावसायिक दौडमा टिकिरहन विरोधी कम्पनी र ऊसँग सम्बद्ध संस्थाका कर्मचारीलाई प्रभावमा पारी सूचना चुहाउँछन् । 

यसले के स्पष्ट गर्छ भने, अहिले विश्वमै प्रतिस्पर्धा यति धेरै चुलिएको छ कि साधारण काम गर्न पनि असाधारण संघर्ष गर्नुपर्ने भएको छ । अझ भनौँ, साधारण जीवन जीउन असाधारण संर्घष गर्नुपर्ने भएको छ । जसमा नेपालको आन्तरिक वातावरणको मात्रै प्रभाव नभएर अन्तर्राष्ट्रिय स्तरमा चुलिएको प्रतिस्पर्धाकै प्रमुख देन छ ।  

खासगरी व्यावसाय सञ्चालन गर्ने क्रममा आउने विभिन्न क्रियाकलापहरूको उचित योजना, नीति, कार्ययोजना तथा कार्यक्रमको कुशल अर्थात जुक्तियुक्त उपयोग नै व्यावसायिक रणनीति हो । ‘अक्सफोर्ड डिक्सनरी’ ले व्यावसायिक रणनीतिलाई दीर्घकालीन योजना अथवा नीति वा युद्धकौशल भनेर अर्थाएको पाइन्छ । जसको अर्थ अहिलेको अवस्थामा संगठनात्मक सफलताका लागि सिधा अथवा अल्पकालीन हिसाबले क्रियाकलाप गरेरमात्र पुग्दैन† लामो समयका लागि बजार, वस्तु, साधन बाँडफाँड, कामदारको प्रयोग, वस्तु विकास तथा वितरण जस्ता क्रियाकलाप वातावरणीय परिर्वतन अनुरूप अगाडि बढाउनु आवश्यक हुन्छ भन्ने हो । 

व्यावसायको सवल तथा दुर्वल पक्ष पहिचान गरी बजारमा दीर्घकालसम्म टिकिरहन र अधिकतम कुशलताका लागि प्रतिस्पर्धात्मक लाभ आर्जन गर्न बनाइने जुक्ति नै रणनीति हो । र, अहिलेको २१ आंै शताब्दीको सन्दर्भमा रणनीति अनिवार्य भइसकेको छ । नेपालमा भने कुशल रणनीतिका साथ अगाडि बढ्ने चलन खासै देखिँदैन । रणनीति पनि विश्वव्यापी व्यावसायिक वातावरणलाई मध्यनजर गर्दै निर्माण गर्नुपर्ने हुन्छ । जुन झनै गहन विषय हुने नै भयो । नेपालमा केही संघ संगठनहरूले रणनीतिक व्यवस्थापन अनुशरण नगरेका भने होइनन् । जस्तो ः चौधरी गु्रपले नेपालमा गणतन्त्र आइसकेपछि र संघीयतामा देश जाने निश्चित भइसकेपछि वाईवाई चाउचाउको विज्ञापन प्रर्वद्धनमा ‘हिमाल, पहाड, तराई जताततै वाईवाई’ भनेर सबैलाई समेट्न खोजेको देखिन्छ । त्यो उसको रणनीति हो । त्यस्तै अरू केहीले पनि परिस्थितिअनुसार रणनीति विकास गर्दै आएका छन् । 

यसर्थ, नेपालमा व्यावसायिक क्षेत्रमा रणनीति कार्यान्यवनको सुरुवात त भएको छ तर त्यो जति घनिभूत मात्रामा हुनुपर्ने हो, त्यो भएको छैन । नेपालका उद्यमी व्यावसायीहरूले निर्यात व्यापार प्रवद्र्धन गर्न विश्वसामु चर्चामा रहेको सगरमाथा, लुम्बिनीजस्ता स्थलहरूको परिचय झल्कने हिसाबले उत्पादित वस्तु तथा सेवाको विज्ञापन गरेर अगाडि बढ्ने रणनीति अख्तियार गर्न सक्छन् । अन्तर्राष्ट्रिय बजारको लागि मात्र नभई घरेलु बजारमा समेत प्रतिस्पर्धीहरूद्वारा उत्पादित वस्तु तथा सेवाभन्दा आफ्नाले बजार हिस्सा कब्जा गर्ने रणनीति निर्माण गरेर अगाडि बढ्न सक्छन् । त्यसका निम्ति ग्राहकका चाहना, राष्ट्रिय अन्तर्राष्ट्रिय वातावरण, प्रतिस्पर्धीको सवलता तथा दुर्वलता लगायतका यावत पक्षहरूको सुक्ष्म अध्ययन–अनुसन्धान गरेर अरूलाई जित्ने किसिमले रणनीति अख्तियार गर्न सकिन्छ । 

जस्तो ः चीनमा सन् १९७० को दशकबाट देङ स्याओ पिङले रणनीतिक आर्थिक विकासको प्रारम्भ गरे । त्यसयता चीनले निकै ठूलो प्रगति गरिसकेको छ । विश्वमा सबैभन्दा बढी बहुराष्ट्रिय कम्पनीहरू हाल चीनमै छन् । विश्वका जुनकुनै कुनामा चीनले विकास गरेका सामानहरू प्रयोगमा आइरहेका छन् । पछिल्लो समय विश्वका विकासोन्मुख देशमा १०० भन्दा बढी प्रमुख जलविद्युत परियोजनामा चीनका अधिकतम वित्तीय तथा व्यापारिक संस्थाहरू संलग्न छन् । ती कम्पनी निकै विशाल आकारका छन् । त्यसको ज्वलन्त उदाहरणको रूपमा ‘सिनो हाइड्रोपावर’ कम्पनीलाई लिन सकिन्छ । जुन संसारकै सबैभन्दा ठूलो जलविद्युत कम्पनी हो र यसले विश्वभर ५९ वटा शाखा विस्तार गरेको छ भनिन्छ । हाल नेपालमै पनि सिनो हाइड्रो पावरले लगानी अघि बढाएको छ । विश्वभर जलविद्युत र बाँध निर्माणका लागि चीनले गरेको इन्जिनियरिङ कौशलको रणनीतिक उद्देश्य नाफा कमाउने र कूटनीतिक प्रभावको विस्तार गर्ने देखिन्छ । यसलाई चीनको मजबुत रणनीतिको रूपमा लिन सकिन्छ । 

यो प्रगति वास्तवमा चीनको रणनीतिक कौशलका कारण नै भएको हो । चीनले नेपालको बजारको लागि पठाउने सामान बनाउँदासमेत यहाँका जनताको आर्थिक हैसियत तथा समग्र बजार तत्वहरूलाई ध्यान दिँदै आएको देखिन्छ । त्यस्तै अमेरिका तथा युरोपका धनाढ्य मुलुकहरूका लागि तिनका सबै पक्षहरूको अध्ययन गरेर उपयुक्त हुनेगरी वस्तु विकास गर्ने रणनीति अख्तियार गर्दै आएको छ । जसले गर्दा चीन विकास र सम्पन्नताको दृष्टिले विश्वमा दोस्रो स्थानमा आउन सफल भएको छ । 

चीनको रणनीतिक विकासको प्रभाव हेर्दा, विश्वका १० ठूला पुलहरूमध्ये सात वटा चीनमै छन् । उसको सबैभन्दा लामो पुलको लम्बाइ ४२ किमि रहेको समाचार बेइजिङ रिभ्युले केही पहिले प्रकाशित गरेको थियो । त्यस्तै २७ हजार मेगावाट क्षमता सम्मको एउटै जलविद्युत आयोजना चीनमा सन् २००५ देखि निर्माणाधीन छ । यस्ता कयौँ ठूला तथा दीर्घकालीन महŒवका परियोजनाहरू चीनमा क्रमिक विकास भइरहेका छन् । चीनले पछिल्लो समय महाशक्ति राष्ट्र भनिने अमेरिकाको न्युयोर्क शहरजस्ता १० वटा शहर सन् २०२५ सम्ममा निर्माण गर्ने लक्ष्य लिएको छ । 

नेपालको हालत भने झन दयनीय बन्दै गएको छ । नेपालमा रणनीतिक विकासका ठूला आयोजनाको सघन विस्तार त कुरै नगरौँ लामो समयदेखि चर्चामा रहेका आधारभूत आवश्यकताका आयोजना निर्माण समेत हुन सकेको छैन । मेलम्ची खानेपानी आयोजना, चार्चामा रहेका विभिन्न जलविद्युत परियोजना, काठमाडाँै–निजगढ फास्ट ट्र्याक, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल लगायतका ठूला रणनीतिक महŒवका आयोजना चर्चामा हुँदाहँुदै पनि निर्माण हुन सकेको छैन । 

यसर्थ, घरेलु तथा अन्तर्राष्ट्रिय व्यापार व्यवसायको विस्तार तथा सफलताका लागि चीनझै नेपालले पनि रणनीति व्यवस्थापनमा ध्यान दिनु जरुरी छ । विकासका रणनीतिक पाइला अघि नबढाउँदासम्म देशको मुहार फेरिन असम्भव छ । दक्षिण एसियाका धेरै मुलुकहरू आर्थिक समृद्धिको दृष्टिले निरन्तर उकालो चढिरहँदा नेपालको स्थिति त्यसविपरीत ओरालो लागेको छ । यस्तो अवस्थामा अब पनि विकास निर्माणको काम रणनीतिक ढंगले अगाडि नबढाउने हो भने नेपालको सुदूर भविष्य अनिश्चित छ ।