23rd October | 2018 | Tuesday | 10:31:08 AM

आफ्नैलाई जोड्न नसकेको कांग्रेस

नवराज भण्डारी   POSTED ON : Wednesday, 10 January, 2018 (3:46:46 PM)

आफ्नैलाई जोड्न नसकेको कांग्रेस

प्रतिनिधिसभा र प्रदेश निर्वाचन २०७४ मा नेपाली कांग्रेसको घोषणापत्रको एउटा नारा ‘सबै अट्ने देश र सबैलाई जोड्ने कांग्रेस’ थियो । व्यक्तिवादी व्यवहार र भागबण्डाको संस्कार कांग्रेसमा यति नराम्रोसँग हाबी भएको छ कि यसले योग्य, जनप्रिय, परिश्रमी र पराक्रमी कार्यकर्तालाई लत्याएर आसेपासेलाई अवसर दिने गरेको छ । पार्टीका ऊर्जावान तथा नयाँ पुस्ताका होनहार कार्यकर्ताहरूको आस्था र निष्ठा डगमगाउने, टिक्नै नसक्ने वा पलायन हुने वातावरण बन्न थालेको छ । यस्तो भुमरीमा फसेको कांग्रेसले आफ्नै नेता–कार्यकर्तालाई जोड्न सकेको छैन भने अरूलाई कसरी जोड्न सक्छ ¤ सबैलाई जोड्न सकेको भए कांग्रेस नै पहिलो पार्टी बन्थ्यो होला । 

नेपाली कांग्रेस लोकतन्त्रका लागि नेपालमा चलेका आन्दोलनहरूको इतिहास हो । आन्दोलनहरूमा कांग्रेसले आफूलाई देश–विदेशमा शिर ठाडो गरेर हिँड्ने र विश्वास आर्जन गर्न सक्ने राष्ट्रिय शक्तिको पहिचानका साथ स्थापित ग¥यो । यही एतिहासिक पार्टीमा आज आन्तरिक सुधारको अभियान निकै शिथिल भएको छ । लोकतन्त्र भनेको पद्धतिको लिखतमात्र होइन, योसँग प्रक्रिया जोडिएको हुन्छ र प्रक्रियासँगसँगै प्रवृत्ति पनि जोडिन्छ । ‘लोकतन्त्रवादी’ सुनाउनेमात्रै होइन, देखाउने रूप हो, व्यवहार हो । त्यसैले लोकतान्त्रिक प्रक्रिया र प्रवृत्ति एकीकृत गर्दै पार्टीमा आन्तरिक लोकतन्त्र संस्थागत ढंगले विकसित हुनुपर्छ । पार्टीको आन्तरिक लोकतन्त्र, संस्थागत र संगठनात्मक क्रियाशीलताका क्रममा सद्भाव, पारदर्शिता र नेतृत्व हस्तान्तरणको सिलसिला अत्यन्त महŒवपूर्ण मानिन्छ । यसो हुन नसक्दा नेतृत्वको लागि अप्रिय होडबाजी, गुटबाजी र दिशाहीन प्रवृत्ति मौलाउँछ । नेतृत्व विश्वसनीय हुन सकेन भने नारा र पद्धतिको कुराले मात्र परिवर्तनले लक्ष्य हासिल हुनै सक्दैन । जतिसुकै राम्रो नीति बनाए पनि पनि कार्यान्वयन गर्नेको नियत सफा नभए नीति फलदायी हुँदैन । परिवर्तित परिवेश र यथार्थको धरातलबाट विश्लेषण गर्दा नेपाली कांग्रेसले आफूलाई निर्णायक नायकत्वको भूमिकामा प्रस्तुत गर्न सकको छैन । आन्तरिक लोकतन्त्र बजबुत बनाउन सकेको छैन । नेतृत्व गतिशिल बन्न सकेको छैन । यसका केही कारणहरू छन् । 

१. कांग्रेसमा आफैँले नेतृत्व गरेर प्राप्त गरेका ऐतिहासिक उपलब्धिहरू राम्ररी प्रस्तुत गर्ने सामथ्र्य र योग्यताको कमि देखियो । नेपाली कांग्रेस राष्ट्रियता र लोकतान्त्रको आन्दोलनको संवाहक हो । नेपालमा भएका हरेक परिवर्तनको नेतृत्व कांग्रेसले गरेको छ । गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा गणतन्त्र आएको हो, यो कसैले मेटाउन सक्दैन । नेपाली कांग्रेसले एउटा ठूलो इतिहासको विरासत बोकेको छ । आउने हरेक नेतृत्वले त्यो मर्म अनुभव गर्नुपर्छ । 

२. राजा महेन्द्रले कपटपूर्वक लोकतन्त्र अपहरण गरेपछि ३० वर्षसम्म निरन्तर संघर्ष गर्दै नेपाली कांग्रेसको आहृवान र नेतृत्वमा २०४६ सालको ऐतिहासिक जनआन्दोलन सफल भयो । लामो संघर्ष र वलिदानबाट प्राप्त जनाधिकार २०५२ मा प्रारम्भ भएको माओवादी द्वन्द्व र हत्या–हिंसाको प्रकोपमा परेर निस्तेज भयो । राजाले प्रत्यक्ष शासन शुरू गरे । लोकतन्त्र र राष्ट्रमाथि आइपरेको यो दोहोरो संकटबाट नेपाली कांग्रेसले मुक्ति दिलाएको हो । २०६२÷६३ को अभूतपूर्व लोकतान्त्रिक आन्दोलनको नेतृत्व कांग्रेसले गरेको हो । राजतन्त्रको स्वेच्छाचारी युग समाप्त पारी कांग्रेसले नै माओवादी हतियार बिसाउन लगाएर दिगो शान्ति र संघीय समावेशी लोकतान्त्रिक गणतन्त्र नेपालको आधारशिला खडा गरेको हो । २०६४ सालमा थुप्रै बाधा छिचोलेर संविधानसभाको निर्वाचन गराएको हो । कांग्रेस दोस्रो पार्टी भयो, संविधान जारी हुन सकेन । दोस्रो संविधानसभाको माध्यमबाट कांग्रेसले संविधान जारी गर्ने अभियानको नेतृत्व ग¥यो । संविधान जारी भयो र निर्वाचन आयो तर कांग्रेसले आफ्नो नेतृत्वमा भएका यी उपलव्धि जनतालाई बुझाउन सकेन । राजनीतिक परिवर्तनपछि समृद्धिको नेतृत्व गर्नेमा विश्वास दिलाउन सकेन । नेपाली कांग्रेसले आफ्नो आदर्श र सिद्धान्त राम्ररी परिभाषित गर्न सकेन । रणनीति बनाउन सकेन । राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मन्त्र जप्न जान्यो तर त्यसको व्यावहारिक पाटो बुझाउन सकेन । नेता र कार्यकर्ताको प्रशिक्षण शुन्य छ ।

३. कांग्रेस विधानअनुसार कहिल्यै चल्न सकेन । गिरिजाप्रसाद कोइराला र सुशील कोइराला सभापति हुँदा विधानअनुसार चलेनन् भनेर खुब आलोचना हुन्थ्यो । अहिले पनि हालत उही छ । अझ बेहाल छ । केन्द्रीय पदाधिकारीहरूको नियुक्ति हुन सकेको छैन, केन्द्रीय विभागहरूको गठन हुन सकेको छैन । पाँचवटा जिल्लामा अधिवेशन भएको छैन । सभापतिले पद्धति बसाल्नुको साटो स्वेच्छाचारिता देखाएका छन् । नेतृत्वले जनताले पार्टीबाट के चाहेका छन् भन्ने अनिवार्य रूपमा बुझेको हुनुपर्छ । कांग्रेसमा यही बुझाइको अभाव छ । मुलुकमा भ्रष्टाचार र विकृति फैलाएको भन्ने आरोप कांग्रेसमाथि लागेको छ तर नेता–कार्यकर्ता त्यो आरोप चिरेर अघि बढ्न सक्दैनन् । उल्टै भ्रष्ट ठहरिएर सजाय पाएकाले पनि निर्वाचनमा उम्मेदवार हुन पाउनुपर्छ भन्छन् । 

४. कांग्रेस गुट, उपगुट र अन्तर्घात पर्याय नै बनेको छ । पार्टी भनेको विचार, चिन्तन र बहसका लागि अनुशासित समूह हो । पार्टीमा मत विभाजन हुनसक्छ तर मन विभाजन हुन नदिने खुबी नेतृत्वमा हुनुपर्छ । हामी कुनै खेमाको कांग्रेस होइनौँ, नेपाली कांग्रेस हौँ भन्ने भावनाको विकास अनिवार्य छ । दल पद्धतिमा कति मजबुत छ, कति संगठित छ, कति अनुशासित छ, कति चुस्त छ भनेर हेरिन्छ । नेपाली कांग्रेसमा समस्या यहीँ छ । गुटहरू कम हुनु पर्छ । गुटले पार्टीलाई बलियो बनाउनुपर्छ । गुटको संख्या वृद्धि र भागबण्डा कांग्रेसमा महारोग भएर विकास भएको छ । गुटका आधारमा हुने भागबण्डा र भागबण्डामा चित्त नबुझ्नेले गर्ने अन्तर्घातले नै कांग्रेसलाई कमजोर बनाउँदै लगेको हो । 

५. कांग्रेसले राष्ट्रिय राजनीति र नेपालीका लागि सुहाउँदो नेतृत्व विकास गर्न सकेन । पार्टीभित्र गिरिजाप्रसाद कोइरालाको निरंकुश निर्णयले पनि नेतृत्व विकासमा असर परेको र खस्किँदै गएको हुनसक्छ । बिपी कोइरालादेखि शेरबहादुर देउवासम्म नेतृत्वको प्रभावकारिता हेर्दा क्षमतामा क्रमशः ह्रास आएको देखिन्छ । अहिलेका पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाको भिजन केही देखिएन । सरकारमा पनि प्रधानमन्त्रीका रूपमा देउवाले नयाँ केही दिन सकेनन् । निर्वाचन गराउन सकेको उपलव्धिको कुरा पनि जनतामा पु¥याउन सकेका छैनन् । देउवाका सल्लाहकारहरूले कस्तो सल्लाह दिन्छन् थाहा भएन । सबभन्दा ठूलो कुरा त पार्टीलाई गतिशील बनाउन र आफ्ना एजेण्डा जनस्तरमा पु¥याउन संवाद आवश्यक छ । नेतृत्वले कति पटक मिडियाका साथीहरूसँग भेटेर संवाद गरेको छ, प्रधानमन्त्रीले कतिपटक संवाद गरेका छन्, विषयगत विचार गोष्ठी, अन्तरसंवाद र परामर्श कार्यक्रम कति सञ्चालन गरेका छन् भनेर खोज्यो भने केही देखा पर्दैन । 

यस्तो भद्रगोल हुँदाहुँदै पनि अझै नेपाली कांग्रेसप्रति आम जनतामा आशा र भरोसा छ । नेतृत्वले यो भावना बुझेन भने प्रजातान्त्रिक मतदाताहरू विकल्प खोज्न थाल्छन् । त्यसको ज्वलन्त उदाहरण स्थानीय निर्वाचनमा काठमाडौँमा देखियो जहाँ कांग्रेसमा आउने धेरै मत विवेकशील र साझा पार्टीका उम्मेदवारलाई गयो । मधेसमा पनि अर्को राम्रो दल नहुँदा कांग्रेसले जित्दै आएको हो । नेपाली कांग्रेसको नेतृत्वले जनचाहनाको यो पक्ष बुझ्नमा चासो दिएको छैन । प्रखर वक्ता मानिने प्रदीप गिरि, गगन थापा, विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी, धनराज गुरुङ, प्रदीप पौडेल आदि नेताहरूले पार्टीभित्र खासै भूमिका नपाएका हुन् कि भन्ने देखिन्छ । कांग्रेसप्रति सहरी क्षेत्रका युवामा पनि आकर्षण घटेको देखिन्छ । युवा जमात तान्न कांग्रेसले सिद्धान्त, नीति र कार्यक्रमलाई जनतामाझ पु¥याउन सक्नुपर्छ । यहीअनुसारको नेतृत्व विकास हुनुपर्छ । 

६. कांग्रेसमा आन्तरिक अनुशासन अन्त्यन्तै फितलो छ । नेताहरूको दृष्टि पक्षपाती छ । वाद, प्रतिवाद र संवादको स्थितिले लोकतान्त्रिक संस्कार जीवन्त र सुदृढ बनाउन अनुकूल वातावरण निर्माण गर्छ । पार्टीका नीति तथा कार्यक्रममाथि बहस, विवाद र संवाद गर्नु अनुशासनहीनता होइन । हाल पार्टीमा विचलन आएको छ । नेताहरू वहस सृजना गर्दैनन्, जे मन लाग्यो त्यही बोल्दै हिँड्छन् । पार्टीको निर्णय अवज्ञा गर्छन् । पार्टीको नीतिमाथि वहस गर्दैनन्, विरुद्धमा बोल्छन् । कहिँ कतै कारबाही हुँदैन । किन कारबाही भएन भन्दा ‘लोकतान्त्रिक पार्टीमा यस्तै हो’ भन्छन् । नेताहरू पक्षपात गर्छन् । निर्वाचित शीर्ष नेताहरूको बोलीले पार्टीको नीति के हो भन्ने कुरामै अन्योल सृजना गरिदिन्छ । जस्तो ः धर्म निरपेक्षताका बारेमा केही नेताको विचार नै यस्तो अन्योलका लागि काफी छ । संस्थागत निर्णयको अभाव छ । सभापति जे बोल्छन् त्यही निर्णय ठान्ने परम्परा छ । 

निष्कर्ष ः कांग्रेसको बलियो पक्ष भनेको उसको प्रजातान्त्रिक ‘भोट बैंक’ नै हो, जो वाम पार्टी मिल्दा वा फुट्दा धेरै तितरबितर हुँदैन । यो ‘भोट बैंक’ सुरक्षित राख्न अहिलेको नेतृत्व सक्षम देखिँदैन । लोकतान्त्रिक पार्टीमा प्रतिस्पर्धा हुन्छ, हुनुपर्छ । प्रतिस्पर्धाबाट सक्षम नेतृत्व छानिनु पर्छ । नेतृत्वले क्षमता देखाउनु पर्छ । कांग्रेस आन्तिरिक रूपमा सुध्रिएन भने इतिहासमा सिमित हुनेछ । 

(गुल्मी, धुर्कोट)


Views: 67